कतार विश्वकपको सपना पूरा गर्न विदेशी खेलाडी राष्ट्रिय टोलीमा राख्दै चीन

एल्केसन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ब्राजिलका यी खेलाडीले चीनको फुटबल टोलीमा पर्न आफ्नो नाम पनि फेरेका छन्
    • Author, जीजी साओ
    • Role, बीबीसी चिनियाँ सेवा
  • Published

केही हप्ताअघि चीनले कतार विश्वकपको आफ्नो छनोट अभियान सुरु गर्दा सबैको दृष्टि दुई नयाँ अनुहारमा परेको थियो।

छब्बीस वर्षीय निको योनारिस लन्डनमा जन्मिएका हुन् भने ३० वर्षका एल्केसन केही महिनाअघिसम्म पनि ब्रजिलका नागरिक थिए।

दुवै जनालाई माल्दिभ्सविरुद्ध उसकै घरेलु मैदानमा आयोजित खेलका लागि चीनको २४ सदस्यीय पुरुष टोलीमा राखिएको थियो।

सो खेल चीनले ५-० गोलको अन्तरले जित्यो।

नागरिकताको माग

चिनियाँ राष्ट्रिय टोलीबाट पहिलो पटक खेलिरहेका एल्केसनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले खेल आरम्भ गरे तथा अन्त्यतिर दुई गोल हाने।

चीनको इतिहासमा नै पहिलो पटक कुनै पनि प्रतिस्पर्धात्मक फुटबल खेलमा सहभागी भइरहेका उनी पहिलो अङ्गीकृत नागरिक थिए।

लन्डनमा जन्मिएका योनारिसलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको भए पनि उनलाई माल्दिभ्सविरूद्ध प्रयोग गरिएन।

तर यसलाई महत्त्वपूर्ण नयाँ कदमका रूपमा लिइएको छ। सन् २००२ यता पहिलो पटक विश्वकप फुटबलमा छनोट हुने लक्ष्य लिएको एक अर्ब ४० करोड जनसङ्ख्या भएको चीनले त्यसका लागि राष्ट्रिय टोलीमा विदेशी खेलाडीलाई पनि समावेश गर्ने तत्परता देखाएको छ।

मार्चेलो लिप्पी चिनियाँ टोलीका प्रशिक्षक हुन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मार्चेलो लिप्पी चिनियाँ टोलीका प्रशिक्षक हुन्

यो उपायका बारेमा वर्षौँयता निष्कर्षविहीन छलफल चल्दै आएको भए पनि सन् २०१९ मा मात्रै यसबारे ठोस प्रतिबद्धता जनाइएको हो।

अङ्गीकृत खेलाडीहरू प्रयोग गर्नेबाहेक चीनले टोलीको प्रमुख प्रशिक्षकका रूपमा पुन: आकर्षक करार सम्झौतासहित मार्चेलो लिप्पीलाई भित्र्याउने अर्को निर्णय पनि सँगै लिएको बताइन्छ।

खराब प्रदर्शन गर्दै चिनियाँ टोली एशियन कप प्रतियोगिताबाट बाहिरिएपछि इटालीको विश्वकप विजेता टोलीका सदस्य रहेका लिप्पीले पद छाडेका थिए। तर त्यसको ११९ दिनपछि उनी पुन: पुरानै भूमिकामा फर्किएका हुन्।

त्यसयता अङ्गीकृत खेलाडीहरूको सन्दर्भ चिनियाँ खेल सञ्चारमाध्यममा एउटा तातो विषय बन्दै आएको छ।

विदेशमा जन्मिएका तर चीनबाट खेल्न आठ महिनायता आफ्नो पुरानो नागरिकता त्यागेर चिनियाँ नागरिक बनिसकेका वा बन्ने दाउमा रहेका अरू खेलाडी पनि राष्ट्रिय टोलीमा छन्।

उनीहरूले कसरी त्यस्तो गरे? फुटबल सङ्घ फिफाको नियमबाहेक उनीहरूले ध्यान दिनुपर्ने छवटा बुँदा निम्नानुसार छन्:

१. हजुरबुवा वा हजुरआमामध्ये कम्तीमा एकजना चिनियाँ

चीनले फुटबलमा आफ्नो प्रदर्शन सुधार्न चाहेको स्पष्ट छ। तर उसले चिनियाँपनमा परिवर्तन गर्न चाहेको छैन।

येनारिस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, निको येनारिस चीनले लिएका पहिलो अङ्गीकृत फुटबल खेलाडी हुन्

त्यही भएर अङ्गीकृत खेलाडीहरूलाई मौका दिने सन्दर्भमा पनि चीनले चिनियाँ मूल भएको सुनिश्चित गर्ने हिसाबमा आफ्नो प्रयास थालेको थियो।

गएको ज्यानुअरी महिनामा चीनको सुपर लीगको शीर्षस्थानतिर रहेको क्लब बेइजिङ साइनाबो ग्वोएन एफसीले गौरवपूर्ण ढङ्गले निको येनारिस र योन होउ सेटरलाई अनुबन्ध गरेको घोषणा गर्‍यो।

त्यसबेला दुवैलाई चिनियाँ भनेर अनुबन्धित गरिएको थियो।

उनीहरू चिनियाँ फुटबलको इतिहासमा नै पहिलो दुई अङ्गीकृत खेलाडी बनेका थिए।

विगतमा उनीहरू कहिल्यै चीनमा बसेका पनि थिएनन्। तर आमाहरू चिनियाँ भएकाले उनीहरू चीनको टोलीबाट खेल्नका लागि योग्य भएका हुन्।

केही महिना चीनमा खेल्नेबित्तिकै उनीहरूले नयाँ अवधारणाले आफूहरू उत्साहित भएको बताएका छन्।

"मेरी आमाको जन्म चीनमा भएको थियो," होउ सेटरले एप्रिलमा चिनियाँ सञ्चारमाध्यमसँग भनेका थिए। "यदि मैले चीनको लागि खेलेँ भने त्यो मेरो परिवारको लागि गर्वको विषय हुनेछ।"

अर्को तर्फ येनारिसले चाहिँ आफूलाई आफ्नो 'जरो' चीनमा रहेको सधैँ थाहा भएको बताए।

अहिलेलाई येनारिसलाई राष्ट्रिय टोलीमा बोलाइएको छ र उनले जुनमा एउटा मैत्रीपूर्ण खेल पनि खेलिसकेका छन्। तर २१ वर्षमा हिँडिरहेका होउ सेटरले आशा गर्ने ठाउँ धेरै छ।

२. नाम चलेको युरोपेली क्लबमा प्रशिक्षण

अङ्गीकृत खेलाडीलाई भित्र्याउने नीति नयाँ भएपनि चिनियाँ क्लब र अधिकारीहरूको रोजाइमा पर्न अरू थप कुरा पनि चाइन्छ। देशको फुटबल विकासका लागि पुरुष विश्वकपमा सहभागितालाई प्राथमिकतामा राखिएको छ।

सी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राष्ट्रपति सी पनि फुटबल मन पराउँछन्

हालसम्म एक चोटि मात्रै चीनले विश्वकप फुटबल खेलेको छ।

सन् २००२ को विश्वकपमा उसले सबै तीन खेलमा पराजय बेहोरहेको थियो र एक गोल पनि नगरी प्रतियोगिताबाट बाहिरिएको थियो।

बीस वर्षभन्दा कम उमेर समूहको विश्वकपमा पनि चीन सन् २००५ पुग्न सकेको छैन।

राष्ट्रपति सी जिन्पिङले देशको फुटबललाई प्रोत्साहन गर्न युवाहरूको प्रशिक्षणमा जोड दिने एउटा विशाल कार्यक्रम अघि बढाएका छन्।

तर आप्रवासी खेलाडीहरूलाई तात्कालिक सफलता दिलाउन प्रयोग गरिनेछ।

येनारिस आर्सनल क्लबको युवा अक्याडमीका उत्पादन हुन् भने होउ सेटर नर्वेली क्लब रोजेन्बर्गका लागि सबैभन्दा कम उमेरमा मैदान प्रवेश गरेका खेलाडी हुन्।

उनीहरू दुवैले आफू जन्मेका देशको युवा टोलीबाट खेलिसकेका छन्।

सात पटक चिनियाँ फुटबल प्रतियोगिता सीएसएल जितिसकेको ग्वान्जाओ इभरग्रान्डले फेब्रुअरी महिनामा टाइअस ब्राउनिङलाई एभर्टनबाट क्लबमा भित्र्याएको थियो।

उनका हजुरबुवा गुवाङ्डुङका भएको र उनी सन् १९६० को दशकमा ब्रिटेन गएर बसोबास गर्न थालेको बताइन्छ।

चिनियाँ सञ्चारमाध्यमले उनले चीनको नागरिकता लिइसकेको उल्लेख गरेका छन् तर फिफाले उनको योग्यताको परीक्षण गरिरहेको छ।

३. चिनियाँ क्लबमा उत्कृष्ट प्रदर्शन

गत अगस्ट महिनमा चीनले एक कदमअघि बढेर निर्णय गर्‍यो। उसले ब्रजिलमा जन्मिएका तर चिनियाँ जरो नरहेका एल्केसनलाई टोलीमा बोलायो। त्यसअघि उनले छ बर्ष चीनमा फुटबल खेलिसकेका थिए।

चीन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्ट्राइकर रिकार्डो गोलार्टले ब्रजिलको राहदानी त्यागेको बताइन्छ

यसको अर्थ चिनियाँ मूल नभएका खेलाडी पनि चिनियाँ राष्ट्रिय टोलीबाट खेल्न सक्छन् भन्ने हो।

सशक्त हान राष्ट्रवादी धारणा भएको चीनमा यो बाटोबाट राष्ट्रिय फुटबल टोलीमा पुग्न धेरै कठिन भने देखिन्छ।

उसो भए अग्रपङ्क्तिका खेलाडी अर्थात् स्ट्राइकरका रूपमा खेल्ने एल्केसनले कसरी सफलता पाए? उनी उदाहरणीय खेलाडी हुन्।

चीनको सुपर लीगमा उनी हालसम्मकै सर्वाधिक गोलकर्ता हुन् र उनले १०३ गोल गरिसकेका छन्।

अहिले चिनियाँ फुटबल समर्थक र प्रशिक्षक लिप्पी दुवै उनले अग्रमोर्चा सम्हालून् र इस्प्यानोलबाट खेल्ने वु लेईसँग मिलेर आवश्यकता परेको बेला चीनलाई जिताऊन् भन्ने चाहन्छन्।

यदि त्यसले काम गरेन भने नि?

त्यो अवस्थामा ब्रजिलको राहदानी त्यागेका भनिएका एभरग्रान्डका स्ट्राइकर रिकार्डो गोलार्टले मौका पाउन सक्छन्। उनी चिनियाँ नागरिकता लिने क्रममा रहेको बताइन्छ।

४. आफ्नो मूल नागरिकता परित्याग

स्पेनको राहदानी लिएको भए पनि लिओनेल मेसीले अर्जेन्टिनाबाट खेल्न सक्छन्। तर चीनमा त्यसो गर्न मिल्दैन।

चीनको नागरिकतासम्बन्धी कानुनले द्वैध नागरिकता लिन अनुमति दिँदैन।

त्यसको अर्थ चिनियाँ नागरिकता लिएपछि कसैले पनि अरू राहदानी राख्न मिल्दैन।

ब्राजिल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एल्केसनको मूल थलो ब्राजिल हो

केही वर्षयता चीनमा काम गर्न जाने विदेशीहरूको सङ्ख्या बढ्दै गइरहेको छ।

तर ब्रिटेन वा नर्वेको नागरिकता त्यागेर चीनमा फुटबल खेल्न जाने कुराले चिनियाँ राहदानीको बढ्दो शक्तिको मात्र सङ्केत नगरेर आर्थिक रूपमा बलियो रहेको चीनको फुटबल परिदृश्यतर्फ पनि सङ्केत गर्छ।

केही वर्ष पहिले मात्रै चिनियाँ क्लबहरूले विदेशी खेलाडीहरूलाई यति धेरै पैसा तिरेर भित्र्याउन थालेका थिए कि चीनको फुटबल सङ्घले गैरचिनियाँ खेलाडीहरूको अनुबन्धमा शत प्रतिशत कर लगाउने निर्णय लिएको थियो।

सन् २०१९ मा एल्केसनको वार्षिक तलब एक करोड १० लाख अमेरिकी डलर रहेको छ।

उनलाई ब्राजिलले एक पटक मैत्रीपूर्ण खेलका लागि बोलाए पनि उनले खेलेनन्।

अहिले ३० वर्ष पुगेका उनीसँग आफ्नो र चीनको विश्वकप सपनालाई साँचो बनाउने मौका रहेको छ।

५. उपयुक्त चिनियाँ नाम

यदि कुनै चिनियाँ खेलाडीलाई राम्ररी चिनियाँ भाषा बोल्न आउँदैन भने पनि उसको चिनियाँ नाम भने हुनैपर्छ। किनभने त्यसो हुँदा समर्थकहरूले नाम लिएर नारा लगाउन सक्छन्।

होउ सेटर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, होउ सेटरकी आमा चिनियाँ हुन्

सन् १९९० को दशकको उत्तरार्धतिर एशियाली फुटबल वा त्यसअघिको अवस्था सम्झनेहरूका लागि जापानी फुटबल लीगमा त्यस बेला खेलेका अङ्गीकृत खेलाडीहरूको नाम कण्ठै हुन सक्छ।

रूई रामोसलाई "रामासोउ रूयी" भनिन्थ्यो भने वाग्नर लोपिसलाई 'रोपिसु वागुना" अनि एलेक्स डोस सान्टोसलाई "सान्टोसु एरेसान्डोरो' भन्ने गरिन्थ्यो।

चीनमा पनि अलिकति फरक तर त्यस्तै प्रकृतिको भावना रहेको छ।

निको येनारिसलाई ली के अनि एल्केसनलाई आई केसेन भनेर बोलाइन्छ।

होउ सेटरको चिनियाँ नाम चाहिँ होउ योङ्योङ हो जुन उनले आफ्नी आमाबाट पाएको वास्तविक चिनियाँ नाम नै हो। होउ उनकी आमाको थर हो।

अलि कम चर्चा कमाएका अङ्गीकृत खेलाडीको नाम अलि बढी नै प्रशंसा गरिएको अर्थ दिने खालको छ।

ग्वाङ्डोङ सदर्न टाइगर्स फुटबल क्लबका ओलोइसियो डो सान्टोस गोन्जाल्फेस जुलाईमा चीनको नागरिक बनेका हुन्। उनको चिनियाँ नाम लुओ ग्वो (देश) फू (धनी) हो।

६. जान्नै पर्ने राष्ट्रिय गान

चीन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चीनको राष्ट्रिय गान जान्नु राष्ट्रिय टोलीमा पर्नका लागि अनिवार्य छ

"उठ! उठ! उठ!"

यो चिनियाँ राष्ट्रिय गानको एउटा मुख्य विशेषता भएको पङ्क्‍ति हो। 'मार्च अफ भोलन्टिअर्स' भनिने उक्त राष्ट्रिय गान मैदानमा उत्रिँदा येनारिस र एल्केसन दुवैले चीनको म्यान्डारिन भाषामा नै गाउन सक्छन्। तर दुवै जना उत्तिसारो चिनियाँ भाषामा पोख्त भने छैनन्।

चीनको फुटबल सङ्घले चिनियाँ खेलाडी भइसकेपछि कम्तीमा उनीहरूले त्यस्तो गर्न सक्नुपर्छ भन्ने प्रावधान नै राखेको छ।

त्यसबाहेक जुनसुकै ढङ्गले भए पनि खेल जित्नै पर्ने प्रयास खेलाडीहरूले गर्नुपर्नेछ।

त्यही भएर चीनले यस पटक ठूलो अपेक्षा राखेको छ। विदेशी र स्थानीय खेलाडीहरूको योगदानका कारण आफ्नो राष्ट्रिय गान सन् २०२२ मा कतारमा गुन्जियो भन्ने चीनको चाहना छ।