तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आफ्नी श्रीमतीबारे 'अशिष्ट टिप्पणी' गर्ने ब्रजिलका राष्ट्रपति बोल्सोनारूको फ्रान्सका राष्ट्रपति माक्रोँद्वारा आलोचना
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ आफ्नी श्रीमतीबारे गरिएको अशिष्ट टिप्पणीलाई अनुमोदन गरेको भन्दै ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारूविरुद्ध खनिएका छन्।
ब्रजिलका राष्ट्रपतिका एक समर्थकले माक्रोँकी श्रीमती ६६ वर्षीया ब्रिगिटबारे एउटा फेसबुक पोस्ट गरेका थिए।
सो पोस्टमा ब्रिगिट तथा बोल्सोनारूकी ३७ वर्षीया श्रीमती मिसेल बोल्सोनारूको रूपरङ्गको तुलना गर्न खोजिएको छ।
अनि त्यसैको तल लेखिएको छ - "अब तपाईँले थाहा पाउनुहुनेछ किन माक्रोँले बोल्सोनारूको आलोचना गर्छन्?"
सो पोस्टमा टिप्पणी गर्दै बोल्सोनारूले पोर्चुगिज भाषामा ठट्टाको शैलीमा लेखेका छन्: "त्यसरी (उनलाई) नहोच्याऊ… हा हा हा।"
के भने माक्रोँले?
बोल्सोनारूको त्यस्तो टिप्पणीबारे सोध्दा माक्रोँले त्यो 'अत्यन्त अशिष्ट' र 'दु:खद' भएको बताए।
"उनले मेरी श्रीमतीबारे निकै अनादरपूर्ण कुराहरू गरेका छन्। ब्रजिलका जनताप्रति मेरो उच्च सम्मान छ। म त आशामात्र गर्न सक्छु कि उनीहरूले चाँडै उपयुक्त राष्ट्रपति पाउनेछन्," जी सेभन बैठकका बेला आयोजित पत्रकार सम्मेलनमा माक्रोँले भने।
दुईबीचको तिक्तता किन?
पछिल्ला टिप्पणीहरू खासमा यी दुई नेताबीच केही दिनयता विकसित तिक्तताको परिणाम हुन सक्छ।
अमेजन जङ्गलमा फैलिएको भयानक आगलागीपश्चात् दुईबीच कूटनीतिक तिक्तता बढेको हो।
माक्रोँले विश्वनेताहरूलाई उक्त आगलागीबारे केही गर्न मनाउने प्रयासको अगुवाइ गरेका छन्।
माक्रोँले सो आगलागीलाई 'अन्तर्राष्ट्रिय सङ्कट' भनेका छन्।
आलोचकहरूले त्यसको दोष बोल्सोनारूको पर्यावरणप्रतिकूल कार्यशैलीलाई दिएका छन्।
बोल्सोनारू के भन्छन्?
तर बोल्सोनारूले भने माक्रोँलाई 'औपनिवेशिक मानसिकता' बाट ग्रसित भएको आरोप लगाएका छन्।
दक्षिणपन्थी राष्ट्रपति बोल्सोनारूले महिला, अश्वेत तथा अल्पसङ्ख्यक समुदायप्रति दुर्वचन गरेका निकै उदाहरणहरू छन्।
एउटा कुख्यात घटनामा उनले सन् २०१४ को सेप्टेम्बरमा संसद्मा वामपन्थी सदस्य मारिया डो रोजारियोबारे टिप्पणी गर्दै "म तिमाीलाई बलात्कार गर्दिनँ किनकि तिमी त्यसका लागि योग्य छैनौ" भनेका थिए।
त्यस्तै सन् २०१७ को एप्रिलमा आफ्नै छोरीका बारे उनले गरेको एक टिप्पणी पनि निकै विवादास्पद रह्यो।
त्यतिखेर उनले भनेका थिए - "मेरा पाँच बालबच्चा छन्। चार छोरा र त्यसपछि म अलि कमजोर भएँ र छोरी जन्मिई।"