तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पी चिदम्बरम: भ्रष्टाचारको आरोपमा भारतका पूर्वअर्थमन्त्री पक्राउ
भारतमा प्रहरीले देशका भूतपूर्व अर्थमन्त्री पी चिदम्बरमलाई भ्रष्टाचारको आरोपमा दिल्लीस्थित उनको घरबाट पक्राउ गरेको छ।
सम्पति शुद्धीकरणसँग समेत जोडिएको उनको पक्राउलाई केही भारतीय टेलिभिजन च्यानलमा प्रत्यक्ष देखाइएको थियो।
दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिनपछि उनलाई पक्राउ गरिएको हो। सो अभियोगमा उनका छोरा पनि मुछिएका छन्।
उक्त अभियोग 'भारतीय जनता पार्टीको राजनीतिक उद्देश्यबाट प्रेरित रहेको' उनका वकिलले अदालतमा बताएका थिए।
दुई पटक भारतको अर्थमन्त्री भइसकेका चिदम्बरम विपक्षी कंग्रेस पार्टीका वरिष्ठ नेता हुन्।
सन् १९८४ यता भारतीय सांसदका रूपमा रहेका उनी गृहमन्त्री पनि भएका थिए।
आरोप के छ?
अनुसन्धानकर्ताहरूले उनी एक मलेशियाली कम्पनीले गरेको दूरसञ्चार संस्था एयरसेलको गैरकानुनी अधिग्रहणमा संलग्न रहेको आरोप लगाएका छन्।
उनीमाथि सन् २००७ मा अर्थमन्त्री हुँदा घुस खाएर विदेशी लगानीलाई बाटो खोलिदिएको आरोप पनि छ।
चिदम्बरमले भने त्यसलाई अस्वीकार गर्दै आएका छन्।
आईएनएक्स समूहसँगको उक्त प्रकरणमा सीबीआई र आर्थिक अपराधको अनुसन्धान गर्ने भारतीय निकायले उनी र उनका छोरा कार्ती चिदम्बरमको अनुसन्धान गरिरहेको छ।
कंग्रेस पार्टीका कार्ती चिदम्बरम तमिलनाडु राज्यबाट प्रतिनिधित्व गर्ने सांसद हुन्।
पक्राउ गर्नुभन्दा अघिल्लो रात अधिकारीहरू सोधपुछका लागि चिदम्बरमको घर पुगेका थिए। तर उनले आफू त्यहाँ नभएको बताए।
सीबीआईले कार्ती चिदम्बरमलाई सन् २०१८ मा पक्राउ गरे पनि पछि उनलाई जमानतमा छाडिएको थियो।
यो पनि पढ्नुहोस्