नेत्रविक्रम चन्द पार्टीको आक्रमणले ग्रामीण दूरसञ्चार सञ्जालमा समस्या

निजी दूरसञ्चार सेवा प्रदायक एनसेलका चार दर्जनभन्दा बढी 'बीटीएस' टावरमा आक्रमण भएसँगै ग्रामीण दूरसञ्चारमा प्रतिकुल असर परेको सरकारी अधिकारीहरूले जनाएका छन्।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताहरूले करिब ३० जिल्लाका बीटीएस टावरमा आक्रमण गरेको बताइएको छ।
आक्रमणमा परेका टावरहरूलाई चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउने गरी काम अघि बढाए पनि विकट स्थानमा रहेका टावरहरूमा सेवा सुचारु गर्न केही समय लाग्ने एनसेलका अधिकारीहरूले जनाएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आक्रमणमा परेका अधिकांश टावर 'रिपीटर' अर्थात् अन्य टावरलाई समेत सुचारु राख्न मद्दत गर्ने किसिमका भएको हुँदा आक्रमण भएका जिल्लाहरूमा टेलिफोन तथा इन्टरनेट सेवामा असर परेको हो।
कहाँ भयो आक्रमण?
बाग्लुङ्ग, पर्वत, दैलेख, डडेलधुरा, अछाम, डोटी, गोर्खा, सिन्धुपाल्चोक र कैलालीमा लगायतका जिल्लामा रहेका टावर आक्रमणमा परेको एनसेलले जनाएको छ।
"विकट स्थानहरूमा देशैभरि सञ्जाल भएका नेपाल टेलिकम र एनसेल दुवैको उपस्थिति कम छ जसले गर्दा हाल भएको क्षतिले दूरसञ्चार सेवा नै अवरुद्ध बनाउने अवस्था सृजना गरिदिएको छ," प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए।
"प्राय:जसो रिपीटर टावरमा समस्या परेको हुँदा करिब तीन दर्जन टावरमा प्रत्यक्ष क्षति भए पनि त्यसले करिब १२० वटा अन्य टावरको सञ्चालनमा समेत असर पुर्याएको छ।"
टेलिकम टावरहरूमा आक्रमणको शृङ्खला बढेपछि प्राधिकरणले शुक्रवार एउटा विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवाका रूपमा स्थापित दूरसञ्चार सेवाको पूर्वाधारमा क्षति नपुर्याउन अपिल गरेको छ।
प्राधिकरणका अनुसार सामान्यतया एउटा बीटीएस टावरले पाँचदेखि सात हजार प्रयोगकर्ताहरूलाई सेवा दिन सक्ने क्षमता राख्छ।
तर ग्रामीण क्षेत्रमा बाक्लो बसोबास नहुने हुँदा बीटीएसको क्षमताकै आधारमा कति सर्वसाधारणलाई त्यसले प्रभावित पारेको छ भन्ने कुराको निर्क्योल गर्न भने गाह्रो हुने खनाल बताउँछन्।
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स प्रमुख बिशाखा खड्काले भने टावरमा भएको क्षतिका कारण एक लाख ५० हजार भन्दा बढी ग्राहक एनसेलको सुविधाबाट वञ्चित भएको दाबी गरिन्।
"५० भन्दा बढी टावर र २५० भन्दा बढी 'चेन साइट' मा समस्या परेको छ," बीबीसी नेपाली सेवासँग कुरा गर्दै खड्काले भनिन्।
चन्दको दलको आक्रमणमा नेपाल टेलिकमको भने एउटा मात्र टावर परेको सह-प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
अर्घाखाँची जिल्लामा बीटीएस टावरमा आगजनी भएको तर स्थानीय वासिन्दाहरूले तत्काल बिजुलीको तार काट्नुका साथै आगो निभाएकाले ठुलो क्षति भने नभएको उनले जानकारी दिए।
'सरकारको सतर्कता आवश्यक'
पूर्व गृहसचिव सूर्य सिलवाल दूरसञ्चार पूर्वाधारमा भइरहेका आक्रमण रोक्नका लागि सरकार चनाखो हुनुपर्ने बताँउछन।
पुष्पकमल दाहाल नेतृत्वमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले (माओवादी) सशस्त्र द्वन्द्व शुरू गर्दा पनि दूरसञ्चार पूर्वाधार निसानामा पर्ने गरेको सम्झँदै हाल भएका आक्रमणका शृङ्खलाहरूलाई सरकारले सामान्य आक्रमणका घटनाका रूपमा अर्थ्याउन नहुने बताए।
"विसं २०५४-२०५५ साल तिर दूरसञ्चार पूर्वाधारमा खतरा बढ्दै गए पछि सुरुमा प्रहरी र पछि गएर सेना नै परिचालन गर्नु परेको थियो," सिलवालले भने।
"हालको अवस्था हेर्दा महत्त्वपूर्ण स्थानहरूमा रहेका टावरहरूमा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने देखिन्छ।"
खनालले उक्त विषयमा प्राधिकरणले सञ्चार मन्त्रालयमार्फत गृह मन्त्रालयसँग छलफल गरेको र सुरक्षा व्यवस्था कडा बनाइने प्रत्याभूति आफूले पाएको बताए।
एनसेलकी खड्काले हाल टावर रहेका स्थानमा सरकारले सुरक्षा बढाएको बताएकी छन्।
कति छन् प्रयोगकर्ता?
नेपालभर जीएसएम र सीडीएमए गरेर अहिले झन्डै चार करोड ३१ लाख मोबाइल फोनमा सेवा प्रदान गरिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जीएसएम सेवा मात्रै दिँदै आएको एनसेलको ग्राहक सङ्ख्या एक करोड ६५ लाखभन्दा बढी छ।
उक्त कम्पनीले प्रदान गर्दै आएको थ्रीजी र फोरजी इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ६७ लाखभन्दा बढी रहेको छ।




















