तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वकप टी-२० एसिया छनौट: नेपाललाई अब बाँकी दुवै खेल जित्नु पर्ने बाध्यता
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
आइसीसी टी-२० विश्वकपको एसिया छनौट पार गर्न संघर्ष गरिरहेको नेपालले अब कुवेत र सिंगापुर विरुद्ध जित हात पार्दै छनोट पार गर्ने स्पष्ट मार्गचित्र पाएको छ।
कप्तान पारस खड्का ढाडको समस्याबाट गुज्रिरहेका छन्। उनले कुवेत विरुद्धको शनिवारको खेल खेल्न पनि सक्छन् वा नखेल्न पनि। तर त्यसलाई चिन्ताको विषय मानिएको छैन।
चिन्ताको विषय चाहिँ सिंगापुरको वर्षे मौसम हो।
कतारसँग पहिलो खेल हारेपछि अप्रत्यासित अप्ठेराहरुको सामना गर्दै आएको नेपाली क्रिकेट टोली सिंगापुरमा सञ्चालन भइरहेको आइसीसी विश्वकप टी-२० एसिया छनोटमा अब दुई खेल जित्नै पर्ने बाध्यतामा छ।
ती खेलहरु शनिवार कुवेतसँग र आइतवार अन्तिम खेल आयोजक सिंगापुरसँग छ। र, शनिवार र आइतवारको मौसम पुर्वानुमानले वर्षा हुनसक्ने सङ्केत देखाएको छ।
नेपालका पूर्व कप्तान विनोद दास भन्छन्, "नेपालको लागि बाधक केही हुन्छ भने त्यो वर्षामात्र हुन सक्नेछ। बाँकी खेल जित्ने जिम्मा खेलाडीहरूको हातमा छ ।"
मलेसिया विरुद्धको खेल अघि पनि लगातार २ घण्टा वर्षा भइदिँदा झन्डै खेल रद्द भएको थियो। धन्न पछि वर्षा रोकिँदा ९ ओभरको खेल सम्भव भएको थियो र नेपाल झन्डै प्रतियोगिताबाट बाहिरिनबाट जोगिएको थियो।
सुहाउँदो नतिजा
मलेसियालाई हराएपछि रनरेटमा पछि पर्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको नेपालले दुई दिन आराम पाउँदा अन्य खेलमा पनि आरामदायी नतिजा हेर्न पायो।
शुक्रवार मलेसिया आयोजक सिंगापुरसँग ८ विकेटले हार्यो भने कुवेतले पनि कतारलाई १० रनले पराजित गर्यो।
यी दुई नतिजा नेपालले खोजे जस्तै भयो। यो नतिजाले मलेसिया र कतार शीर्ष स्थानको दौडबाट बाहिरिएका छन्।
जसले गर्दा नेपाल रन रेट सहितको जित्नुपर्ने स्थितिबाट मुक्त भएको छ।
अब नेपालले कुवेत र सिंगापुर विरुद्ध स्पष्ट जित हात पारे विजेता बन्दै टी-२० को ग्लोबल छनौटमा पुग्नेछ।
अहिले अंक तालिकामा सिंगापुर ५ अंक सहित शीर्षस्थानमा छ। दोश्रो स्थानमा रहेको कुवेतसँग ३ अंक छ।
यी दुई टोलीले नेपालसँग मात्र खेल्न बाँकी छ।
नेपाल, मलेसिया र कतारको समान २/२ अंक छ। बाँकी दुई खेलको जितले नेपाल ६ अंक सहित शीर्ष स्थानमा पुग्नेछ।
नेपालको हातमा
प्रतियोगिता खेल्नु पूर्व नेपाल प्रतियोगिताको सहज दावेदार राष्ट्र थियो।
एकदिवसीय मान्यता पाएको, टी-२० विश्वकप खेलिसकेको राष्ट्र सहभागी पाँच टोलीमा नेपालमात्रै थियो।
तर कतारसँग अप्रत्यासित हात बेहोरेसँगै स्थिति अप्ठेरो बन्दै गएको हो।
तर मलेसियासँगको खेलसँगै खेलमा पुनरागमन जनाएको नेपालले खेल नियन्त्रणमा लिन सक्ने विश्वास गर्छन् पुर्व कप्तान दास।
पारस खड्काको चोट, मध्यक्रमको ब्याट्सम्यानमा देखिएको अविश्वास, बलरहरू धारिलो बन्न नसकेको वा फिल्डिङ फितलो भएको भन्ने विश्लेषणलाई बिर्सिएर अगाडि बढ्नुपर्ने उनको धारणा छ।
भन्छन्, "बिर्सन नहुने कुरा के हो भने नेपाल यी सबै राष्ट्रभन्दा उच्च कोटीको टोली हो। आफ्नो स्वाभाविक खेल खेले नेपालले अरु केही सोच्नै पर्दैन।"
कप्तान पारस खड्काले आफू खेलमा फर्किने विश्वास देखाइसकेका छन् र भनेका छन्, "पहिलो खेलको नतिजा बिर्सेर हामीलाई अगाडि बढ्नु छ। अब हामीलाई गल्ती गर्ने कुनै छुट छैन।"
सतर्क
सिंगापुरको इन्डियन एसोसियसनको सानो मैदानमा नेपालले सचेत रहनुपर्ने विषय मध्यक्रमको ब्याटिङ र कमजोर जस्तो देखिएको फिल्डिङलाई मानिएको छ।
प्रशिक्षक दास भन्छन्, "पारस, ज्ञानेन्द्र मल्ल र शरद भेषावकर जस्ता सिनियर खेलाडीहरू दबाबमा हुन सक्छन्। तर १९ वर्षका युवाहरू रोहित पौडेल र पवन सर्राफ पनि छन्। उनीहरू बेञ्चमा हुनुको अर्थ अन्य खेलाडी झन राम्रो हुनु हो। त्यसैले मध्यक्रम चिन्ताकै विषय होला जस्तो मलाई लाग्दैन।"
प्रशिक्षक राजु बस्नेत टोलीलाई टस जिते फिल्डिङ गर्दै रन पछ्याउन सुझाव दिन्छन्। उनी भन्छन्, " सिंगापुरको त्यो मैदान सानो छ। नेपाली खेलाडीहरूले हिसाब गरेर रन जोड्न सक्छन्।"
कतार विरुद्धको हारले नेपाली खेलाडीहरूलाई हरेक खेलमा गम्भीर हुन सिकाएको धेरैको अनुमान छ। त्यसैले प्रशिक्षकहरु भन्छन्, "ठुलै उथल पुथल नभए नतिजा नेपालकै पक्षमा हुनेछ।"