क्योटो एनिमेशन स्टुडियो: आगजनीको घटनामा कम्तीमा ३३ जनाको मृत्यु

Published
पढ्ने समय: २ मिनेट

जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

स्थानीय सञ्चारमाध्यमहरूले प्रहरीलाई उद्धृत गर्दै एक जना मानिस 'क्योटो एनिमेशन को' स्टुडियोमा प्रवेश गरेको जनाएका छन्।

प्रहरीले ४१ वर्षीय सन्दिग्ध व्यक्तिले पेट्रोल छर्केर आगो लगाइदिएको बताएका छन्।

जापानी प्रसारक एनएचकेका अनुसार केही मानिसहरूको अवस्था अझै पनि अज्ञात छ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले उक्त घटनाप्रति खेद व्यक्त गर्दै त्यसको पीडा शब्दमा व्यक्त गर्न नसकिने बताएका छन्।

उनले मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

नाम नखुलाइएका ती सन्दिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ। घाइते भएकाले उनलाई पनि अस्पताल लगिएको छ।

घटना कसरी भयो?

स्टुडियो भएको तीनतले भवनमा स्थानीय समयानुसार बिहान १०:३० बजे आगो लागेको थियो। उद्धारको काम भइरहेको छ।

टोक्योस्थित बीबीसी संवाददाता रुपर्ट विङ्फिल्ड-हाएसका अनुसार प्रत्यक्षदर्शीहरूले आगो लागेपछि ठूलो विस्फोटन भएको सुनिएको बताएका छन्।

"एक व्यक्तिले तरल पदार्थ फ्यालेर त्यसमा आगो लगाए," स्थानीय प्रहरी प्रवक्ताले एएफपीलाई भने।

एनएचकेका अनुसार ती व्यक्तिले आगो लगाउँदै "अब तिमीहरू मर" भन्ने आशयको टिप्पणी गरेका थिए।

ती सन्दिग्ध व्यक्तिको सो स्टुडियोसँग कस्तो सम्बन्ध छ भन्ने स्पष्ट भइसकेको छैन।

सो भवननजिकै बस्ने एक ५९ वर्षीया महिलाले समाचारसंस्था क्योदोलाई भनिन्, "डढेको केश भएको एक व्यक्ति लडिरहेका थिए अनि त्यहाँ रगत लागेका पदचिह्न थिए।"

स्टुडियोबारे के थाहा छ?

क्योटो एनिमेशन सन् १९८१ मा स्थापना भएको थियो।

त्यसले "के-अन" र "द मेलन्कली अफ हारुही सुजुमिया" जस्ता एनिमेशन कार्यक्रमहरू बनाएको छ।

क्योटो एनिमेशनले बनाएका सामग्रीको तस्बिरसहित प्रशंसकहरूले सामाजिक सञ्जालमा सो घटनाबारे आश्चर्य र क्षोभ व्यक्त गरेका छन्।

यो पनि पढ्नुहोस्