तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले किन भने, 'म भ्रष्टाचारको राजा होइन'
दक्षिण अफ्रिकाका भूतपूर्व राष्ट्रपति जेकब जुमाले आफूमाथि लागेको भ्रष्टाचारको आरोपलाई, उनकै शब्दमा, राजनीतिक वृत्तबाट उनलाई हटाउने उद्देश्यले गरिएको षड्यन्त्र भएको बताएका छन्।
उनको कार्यकालमा भ्रष्टाचारको जालो फैलाइएको भन्ने आरोपहरूमाथि अनुसन्धान गरिरहेको न्यायाधीश नेतृत्वको एउटा छानबिन समितिमा पहिलो पटक उपस्थित भएका जुमाले यस्तो बचाउ गरेका हुन्।
नाराबाजी
भूतपूर्व राष्ट्रपति जुमा छानबिन टोली रहेको भवनमा प्रवेश गर्दै गर्दा बाहिर उनका समर्थकहरूले उनको पक्षमा नारा लगाएका थिए।
उनलाई सन् २०१८ को फेब्रुअरीमा राजीनामा गर्न बाध्य बनाइएको थियो।
जुमाको स्थानमा त्यसबेलाका उपराष्ट्रपति सिरिल रामापोसा राष्ट्रपति नियुक्त भए र उनले दक्षिण अफ्रिकाको भ्रष्टाचारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए।
रामापोसाले जुमाको नौ वर्षे कार्यकाललाई "व्यर्थको समय"का रूपमा अर्थ्याएका थिए।
विवादास्पद गुप्ता परिवार
जुमामाथि लगाइएका आरोपहरू भारतीय मूलका विवादास्पद गुप्ता परिवारसँग उनको सम्बन्धमा केन्द्रित छन्।
उक्त परिवारमाथि मन्त्रिपरिषद्का नियुक्तिहरूमा प्रभाव पारेको र भ्रष्टाचारका माध्यमबाट धेरै नाफा हुने खालका सरकारी ठेक्काहरू हात पारेको आरोप लागेको छ।
जुमामाथि वाट्सन परिवारले सञ्चालन गर्ने बोसासा नामक एउटा लजिस्टिक कम्पनीबाट घुस लिएको पनि आरोप लागेको छ।
तर ती सबै कम्पनीहरूले अनुचित कार्य गरेको भन्ने आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्।
समितिमा उपस्थित हुँदा सहज देखिएका जुमाले उनलाई हटाउन विदेशी जासुसी संयन्त्रहरूले दशक लामो षड्यन्त्र बुनेको आरोप लगाए।
तर उनले कुनै पनि त्यस्ता संयन्त्रको नाम भने लिएनन्।
न्यायाधीश रे जोन्जोले नेतृत्व गरेको छानबिन टोली समक्ष उनले आफूलाई भ्रष्टहरूको राजा भनेर गाली गरिएको र हरेक खाले नराम्रा नामहरू राखिएको गुनासो गरे।
तर त्यस्ता कुराहरूमा आफ्नो कहिल्यै पनि संलग्नता नरहेको उनले बताए।
जुमाले विवादास्पद गुप्ता परिवारलाई राज्य कब्जा गर्न दिइएको र उनीहरूका निम्ति देशको लिलामी गरेको भन्ने आरोपप्रति आपत्ति जनाए।
छानबिन टोलीसमक्ष उनले "के मैले टेबल माउन्टेन भनिने त्यहाँको पहाडी श्रृङ्खलाको बोलकबोल गरेँ वा मैले जोहानेसबर्गको बोलकबोल गरेँ?" भनेर प्रतिप्रश्न गरेका थिए।
ठट्टा
सुनुवाइको अन्त्यमा उनी सामान्य मुद्रामा देखिएका थिए।
उनले हाँस्दै एउटा भिडियो ट्विट गरेका छन् र त्यसमा ठट्यौलो पारामा उनले "जुमा पतन हुनै पर्छ" भन्दै गुन्गुनाएको देखिन्छ।
छानबिनबाट भएका धेरै खुलासाहरू जुमा र रङ्गभेदको अन्त्यपश्चात् दक्षिण अफ्रिकामा गएका भारतीय तीन दाजुभाइको गुप्ता परिवारबीचको सम्बन्धबारे केन्द्रित रहेका छन्।
गुप्ता दाजुभाई - अजय, अतुल र राजेश गुप्ता, भारतको उत्तर प्रदेश राज्यको साहरनपुरबाट सन् १९९३ मा दक्षिण अफ्रिका सरेका थिए।
यी दुई परिवारबीच यति नजिकको सम्बन्ध बन्यो कि त्यसका लागि मानिसहरूले "जुप्ता" भन्ने शब्दलाई नै चलनचल्तीमा ल्याइदिए।