धान दिवस: नेपालमा धानको महत्त्वबारे जान्नैपर्ने यी कुरा

धान खेती
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी नेपाली सेवा
  • Published

सुरुवाती वर्षा कमजोर हुनाका कारण यसपालि धान दिवसको बेला कृषक तथा अधिकारीहरू चिन्तित देखिन्छन्।

विवरणहरूका अनुसार हालसम्म केवल दश-बाह्र प्रतिशत मात्र रोपाईँ सकिएको छ।

तर धानको उत्पादनमा हुने घटबढले नेपालमा कृषक वा कृषि अधिकारीहरूका माझ मात्र हलचल उत्पन्न हुँदैन।

नेपालमा किन धान यति धेरै महत्त्वपूर्ण?

यसै पनि आम नेपालीका लागि बिहानबेलुकाको खानेकुरा भनेकै भात भन्ने बुझिन्छ।

त्यसैले खाद्य सुरक्षाका दृष्टिकोणले दुई छाक दालभात आम नेपालीको निम्ति अत्यन्तै महत्त्वपूर्ण छ।

त्योबाहेक धानचामल भनेको यहाँका धेरै मानिसहरूको संस्कृति, संस्कार एवं परम्परासँग पनि जोडिएको छ।

सबभन्दा महत्त्वपूर्ण चाहिँ धानको नेपाली अर्थतन्त्रसँगको सम्बन्ध हो।

खेतीपाती

"समग्र कृषिले देशको कुल गार्हस्थ उत्पादनमा साढे २६ प्रतिशत योगदान दिएको छ। कुल कृषि उत्पादनमा धानको २० प्रतिशत योगदान छ," कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ विनोद भट्टराईले बताए।

त्यसको अर्थ के हो भने धानको उत्पादनमा हुने घटबढको समग्र आर्थिक वृद्धि दरमा समेत उल्लेख्य प्रभाव पर्छ।

आकाशको भर

अर्थतन्त्रको यति धेरै महत्त्वपूर्ण पाटो हुँदाहुँदै पनि धान उत्पादनको लागि नेपाल अझैपनि आकाशकै भर पर्नु परिरहेको छ।

हुन त चालु आर्थिक वर्षमा नेपालले निकै राम्रो परिमाणमा धान उत्पादन गर्न सक्यो।

यो वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भयो। तर यसको मुख्य कारण गएको वर्षभर भएको राम्रो वर्षात मानिन्छ।

पूर्व सचिव एवं कृषिविद् हरि दाहाल भन्छन्, "तर यसपटकको सुरुवाती कमजोर वर्षा लगायतका कारणले आउने वर्ष अप्ठेरो पर्ने सम्भावना पनि छ। सबभन्दा मुख्य कुरा त हामीले राम्रो सिँचाइ सुविधा अनि मलखादको व्यवस्था गर्न सकेका छैनौँ।"

कुल कृषियोग्य भूमिमध्ये मुस्किलले २० प्रतिशत जतिमा बाह्रैमासा सिँचाइ सुविधा उपलब्ध छ। बाँकीमा त आकाशकै भर हो।

"उपलब्ध भएका ठाउँका सिँचाइ सुविधा पनि कति त भन्नुमात्रका छन्। ती प्रभावकारी छैनन्," दाहालले बताए।

मलको सदाबहार सङ्कट

मलखादजस्ता अन्य आवश्यक विषयमा पनि नेपाल कमजोर नै मानिन्छ। त्यसैले दक्षिण एसियामा नेपालको उत्पादकत्व थोरै रहेको छ।

खेतीपाती गर्नुपर्ने बेला देशैभर किसानहरू मलको खोजीमा दौडनुपर्ने बाध्यता अझै जारी नै देखिन्छ।

तिनै किसानमध्येकी एक हुन् झापा बुद्धशान्ति गाउँपालिकाकि विमला लिम्बु जसलाई अहिले सोही चटारोले छोपेको छ।

आइतबार धान रोप्ने दिन बिहानैदेखि धानको बिउ काढ्न व्यस्त भएकी उनको गुनासो भने सरकारप्रति थियो।

धान फाँट

उनले धान रोप्नका लागि चाहिने युरिया, डिएपी तथा पोटासलगायत रासायनिक मल नपाएको गुनासो गरिन्।

"धेरै सहकारीहरूमा गयौँ तर मल पाइएन। भारतको पानीट्याङ्कीबाट साइकलमा घुमाउँदै ल्याएको मल किन्न हामी बाध्य भयौँ। तर मल कस्तो हो थाहा छैन," उनले भनिन्।

दस कठ्ठा जमिनका लागि करिब एक बोरा मल खरिद गरेर धान रोप्न लागिएको उनले बताइन्।

अर्की किसान इन्द्र लिम्बुले उनको एक बिघा ७ कठ्ठा जग्गाका लागि २५ केजी मात्र रासायनिक मल पाएको बताइन्।

उनले भनिन्, "अब यति जग्गाका लागि त्यति मलले के हुन्छ र? अब बालुवा मिसाएर छर्नु त होला नि।"

प्रायः किसानको हालत उस्तै छ।

आत्मनिर्भर कहिले?

यो चालु आर्थिक वर्षमा निकै धेरै धान उत्पादन भएको सरकारले बताउँदै गर्दा बर्सेनि दशौँ अर्ब रुपैयाँको चामल आयात भइरहेको आँकडा पनि आएका छन्।

"सोझो हिसाबले नेपाललाई पूर्ण आत्मनिर्भर हुन ७० लाख मेट्रिक टन धान बर्सेनि चाहिने देखिन्छ," दाहालको भनाइ छ।

तर सरकारी अधिकारीहरू चाहिँ सहरका बासिन्दाले बासनादार आयातित चामल रुचाउनाका कारण चामल आयातको परिमाण बढेको हुन सक्ने बताउने गरेका छन्।

"केही दशक अगाडि नेपाल धानमा आत्मनिर्भर थियो भनिन्छ। त्यतिखेर जनसङ्ख्या पनि थोरै र भात खाने जनसङ्ख्या अझ कमै थियो। अहिले उत्पादनका साथै यो जनसङ्ख्या पनि बढेको छ। तर सहरका हुने खाने वर्गले वास्मति जस्ता चामल खाने गर्दा आयात पनि बढेको छ," कृषि मन्त्रालयका कृषि अर्थ विज्ञ भट्टराईले बताए।

सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य राखेको छ।

त्यसका लागि धानको पनि उत्पादन उस्तै अनुपातमा दोब्बर हुनुपर्छ।

तर सिँचाइ, मलखाद, बीउबीजन, यान्त्रिकरण तथा कृषि कामदार अभावजस्ता विद्यमान समस्या ज्यूँ का त्यूँ रहेसम्म उक्त लक्ष्य आकाशको फल मात्र हुन सक्ने जानकारहरू बताउँछन्।