तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सावित्रा भण्डारीको भारतीय लिगमा उत्कृष्ट प्रदर्शन
नेपाली स्ट्राइकर सावित्रा भण्डारीको निर्णायक गोलसँगै उनले खेल्ने तमिलनाडुको टोली सेथु एफसीले भारतमा आयोजित भारतीय महिला फुटबल लिग, इन्डियन विमिन्स लिग, आईडब्लूएलको उपाधि जितेको छ।
भारतको पञ्जाबस्थित गुरु नानक रंगशालामा भएको फाइनलमा सेथु स्पोर्ट्सले मणिपुर पुलिस स्पोर्ट्स क्लब विरुद्ध १ गोलले पछि परेको अवस्थामा ३ गोल फर्काउँदै उपाधि आफ्नो पक्षमा पारेको हो।
प्रतिद्वन्द्वी मणिपुर पुलिसविरुद्धको लिगको पहिलो खेलमा मैदान छिरेको २८ सेकेन्डमा नै गोल गरेर प्रतियोगिताको शुरुआत गरेकी स्ट्राइकर सावित्राले सोही क्बल विरुद्धको फाइनलमा उपाधि जिताउने २ गोल गरेर भारतीय लिगको व्यावसायिक खेल यात्रा टुंग्याएकी छिन्।
खेल १-१ को बराबरीमा चलिरहेको बेला सावित्राले खेलको ६१ औं मिनेटमा टोलीलाई अग्रता दिलाएकी थिइन् भने ७० औं मिनेटमा अर्को गोल थप्दै उपाधि पक्का गरेकी थिइन्।
स्ट्राइकर भण्डारी सहित नेपाली मिडफिल्डर अनिता बस्नेतले भारतीय लिगमा पहिलो पटक यो सिजनमा प्रवेश गरेका हुन्।
गोल
जसमा स्ट्राइकर भण्डारीले खेलेका हरेक खेलहरुमा गोल गरेकी थिइन्।
मैदानमा एकजना विदेशी खेलाडी मात्र खेलाउन पाइने नियमका कारण अनिताले भने धेरै मौका पाइनन्।
प्रतियोगिताको मुख्य खेलाडी बन्न सफल सावित्राले भने प्रतियोगिता भरीमा १५ गोल गरिन्, जसमा २ वटा ह्याट्रिक सामेल छ।
मणिपुर विरुद्धको पहिलो खेलमा ४ गोल गरेकी सावित्राले सेमिफाइलनमा एसएसबी सेन्ट्रल वुमन्स फुटबल क्लबलाई ८-१ को फराकिलो अन्तरले पराजित गर्दा पनि ४ गोल गरेकी थिइन्।
आइडब्लुएलको यो तेस्रो संस्करण हो। नेपाली खेलाडी अनुबन्धित भएको भने यो पहिलो पटक हो।
स्ट्राइकर भण्डारी भारु ८५ हजार र मिडफिल्डर अनिता बस्नेत भारु ६५ हजारमा सेथु फुटबल क्लबबाट अनुबन्धित भएका बताइएको छ।