प्रजातन्त्र दिवस: मुक्ति सेनाका पूर्वलडाकु खड्गजीत बरालको सम्झनामा २००७ सालको क्रान्ति

Keyframe #6
Published

नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा राणा शासनविरुद्ध भएको सशस्त्र क्रान्तिमा लागेका युवा खड्गजीत बराल पछि लोकसेवाको परीक्षा दिएर प्रहरी सेवामा प्रवेश गरे।

चवालीस वर्षको उमेरमा महानिरीक्षक बनेका उनले प्रहरी सङ्गठनको नेतृत्व छ वर्ष जति गर्न पाए।

फागुन ७ गते प्रजातन्त्र घोषणा गरिए पनि 'क्रान्तिमा धोका भएको' भन्दै विद्रोह गरेका उनी त्यसपछि कैदमा पनि परे।

एकानब्बे वर्षीय बरालले बीबीसीसँगको कुराकानीमा गरेको त्यसबेलाको सम्झना:

हरेक वर्ष प्रजातन्त्र दिवस फागुन ७ गते आउँदा प्रत्येक जागृत नेपालीलाई जस्तै मलाई पनि खुसी लाग्छ। तर प्रजातन्त्र दिवस मेरो लागि अलि अर्कै किसिमको दिन हो।

यो प्रजातन्त्र दिवस प्रजातान्त्रिक आन्दोलनको एउटा परिणाम हो। राणा अधिनायकवादी शासनविरुद्ध जनताले नेपाली कांग्रेसको नेतृत्वमा जुन आन्दोलन गरेका थिए, त्यसकै एउटा पाटो हो यो।

त्यो क्रान्ति भारत बिहारस्थित बैरगनियामा भएको सम्मेलनको घोषणाअनुसार भएको हो।

घोषणाको नाम नै 'डु अर डाई' अर्थात् 'गर या मर'। त्यसको उद्देश्य थियो कि हामी सबै मृत्यु मन्जुर गर्न तयार हुने तर एकतन्त्रीय राणाशासन मासेरै छाड्ने।

भारतमा जेल

खड्गजीत बराल

तस्बिर स्रोत, khadgajeetbaral/facebook

तस्बिरको क्याप्शन, सन् १९९० को दशकमा गणेशमान सिंहका साथ उनकै निवासमा बराल

म त्यसबेलासम्म कांग्रेस भइसकेको थिएँ। त्यसअघि म हिन्दुस्तानमा अङ्ग्रेज विरुद्धको 'भारत छोडो' आन्दोलनका क्रममा पनि पक्राउ परेँ।

हामी तीन-चारजना नेपाली विद्यार्थीहरू थियौँ। आजाद हिन्द फौजका दुईजना गोर्खाली कमान्डर दुर्गा मल्ल र दलबहादुर थापा मगरलाई पक्राउ गरेपछि भारतीयहरूले जुलुस निकाल्थे।

"उनीहरू देशभक्त हुन्, जेलमा नहाल" भनेर सहभागी पनि जुलुसमा सहभागी हुन्थ्यौँ। त्यसक्रममा हामी पनि पक्राउ पर्‍यौँ।

एक-डेढ महिना जेल बस्नु पर्‍यो। पछि उनीहरूलाई मृत्यदण्ड दिइयो।

पुष्पलालसँगको भेट

हामी भारतको गोरखपुरमा पढ्दा नेपाली विद्यार्थीको एउटा सानो सङ्गठन थियो। त्यसमा हामी १५-२० जना थियौँ। कांग्रेसको बैठकमा हामी जान्थ्यौँ।

राजा वीरेन्द्र र खड्गजीत बराल

तस्बिर स्रोत, khadgajeetbaral/facebook

तस्बिरको क्याप्शन, स्वर्गीय राजा वीरेन्द्रसँग म्यानमारको नेपाली राजदूतावासमा त्यहाँको राजदूत हुँदा खड्गजीत बराल

तर कांग्रेसभन्दा पनि प्रजातन्त्रको पक्षमा प्रचार गरिन्थ्यो।

एक दिन एकजना व्यक्ति हामीसँग आएर १५-२० मिनेट भेट गर्नुभयो।

"विद्यार्थी कति छन्? कहाँकहाँ, कुनकुन जिल्लाबाट आउनु भएको छ? तपाईँहरूको सङ्गठन छ कि छैन?..." यस्तैयस्तै कुरा गर्नु भयो।

राजनीतिक कुरा केही पनि भएन। हामीलाई त पछिमात्र थाहा भयो उहाँ त पुष्पलाल श्रेष्ठ हुनुहुँदो रहेछ।

'क्रान्तिमा धोका, प्रजातन्त्रमा जेल'

मेरो बुवा भारतीय फौजमा भएको हुनाले पार्टीले मलाई हातहतियार, गोलाबारुद र अनुभवी जनशक्ति ल्याउने जिम्मा दिएको थियो।

म भारतमा जहाँजहाँ गोर्खाली फौजको क्यापहरू थिए, गोर्खाली बस्तीहरू थिए, त्यहाँ जान्थेँ। र, सामर्थ्यअनुसार भैरहवामा रहेको हाम्रो मोर्चामा सामान पुर्‍याउने गर्थेँ।

खड्गजीत बराल

तस्बिर स्रोत, khadgajeetbaral/facebook

तस्बिरको क्याप्शन, भिएतनामको राजदूत छँदा खड्गजीत बराल त्यहाँको राष्ट्रपति भवनमा

भारतमा त्रिपक्षीय सम्झौता भएपछि राणा शासन अन्त्यको घोषणा गरियो।

तर राणा प्रधानमन्त्री बन्ने र मन्त्रिमण्डलमा कांग्रेस र राणाको आधाआधा हिस्सेदारी हुने भन्ने सुनेपछि हामीले विरोध गर्‍यौँ।

हामी भैरहवा मोर्चामा रहेकाहरूले राति ११ बजे बसेर त्यसविरुद्ध निर्णय नै गर्‍यौँ।

हामी तीन सयदेखि पाँच सय जनासम्म थियौँ। फागुन ९ गते भारतीय फौजले हामीमाथि गोलाबारुद र मोर्टार हमला गर्‍यो। एक-डेढ घण्टासम्म आक्रमण गरिरहे। हाम्रो समूहका नौ-दश जना मारिए। हामीलाई आत्मसमर्पण गराउन बाध्य पारे।

त्यो बडो दु:खदायी समय थियो। किन कि हाम्रै भूमिमा पसेर विदेशी फौजले सार्वभौमसत्ता र प्रजातन्त्रको पक्ष एवम् राणा शासनविरूद्ध क्रान्ति गर्ने हामीविरुद्ध नै कारबाही गरे।

आत्मसमर्पण गरेपछि हामीलाई हातगोडा बाँधेर दुईदुई रातसम्म खेतमा सुताए। पानीसम्म अलिअलि दिन्थे, खाना केही दिएनन्। पछि राणाको फौज पुगेपछि हामीलाई उनकै जिम्मा लगाए। हामीलाई भैरहवा जेलमा राखियो।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

तीन-साढे तीन महिना बसेपछि विद्यार्थीलाई छाड्ने आदेश गयो। पहिले ४०-४५ जना हामी विद्यार्थी छुट्यौँ। पछि अरू सबै पनि रिहा गरिए।

त्यतिखेर पनि हामीले भन्यौँ—बैरगनिया सम्मेलनको प्रण 'मृत्यु वा मुक्ति' थियो। त्यहाँ राणाहरूसँग सम्झौता गर्ने कुनै कुरा थिएन। त्यसको बर्खिलाप भयो। तर त्यो सम्झना गराउने हामी जेल जानु पर्‍यो।

(लामो हाँसो हाँस्दै) राजनीति यस्तो हुन्छ के!

(उनलाई सोधियो - माओवादीका कतिपय नेता-कार्यकर्ताले अहिले त्यस्तै भनिरहेका छन्। पुरानो सन्दर्भ अहिले पनि मिल्दो छ?)

क्रान्तिको हिसाबले सोच्दा त्यो त मिल्छ।

नयाँ जीवन आरम्भ

मेरो बुवा भारतीय फौजमा कप्तान हुनुहुन्थ्यो। उहाँले छोरा आफ्नो देशमा जति हुनुपर्ने भइहाल्यो, मेरो पनि जागिर धेरै लामो छैन। तेरो भविष्य छ, शिक्षा पूरा गर्नुपर्छ भनेपछि म पढ्न गएँ।

खड्गजीत बराल

तस्बिर स्रोत, khadgajeetbaral/facebook

तस्बिरको क्याप्शन, प्रहरी महानिरीक्षक हुँदा बराल नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा

म कान्छो छोरा। मैले शिक्षा पूरा गर्नुपर्छ भन्ने बुवा, मेरो जेठो र माइलो दाइको ठूलो जोड थियो।

बाह्र साल (२०१२) मा स्नातकोत्तर गरेपछि लाग्यो जागिर त गर्नुपर्‍यो। डुल्दै काठमाण्डू आएँ। लोकसेवाको जाँच दिएर नेपाल प्रहरीमा भर्ना भएँ।

कम उमेरमा प्रहरी महानिरीक्षकको रूपमा सङ्गठनको जिम्मेवारी काँधमा आयो। अहिले ९१ वर्षको उमेरमा आफ्नो जीवनको सिंहावलोकन गर्दा उतारचढाव र आरोह-अवरोहको कथा जस्तो लाग्छ।

पार्टीको लडाकु कसरी व्यवसायिक प्रहरी?

प्रहरीमा नाम निस्किएको खबर बुवालाई सुनाएँ।

उहाँले दुईतीन पटक नै भन्नुभयो - "तैँले राम्ररी सोच्नुपर्छ। किनकि तेरो जुन अतीत रह्यो, तेरो जुन बानी र भावना छ त्यसले गर्दा प्रहरी सेवाभन्दा अरू नै सेवा खोज्नु पर्छ।"

तर आफ्नोआफ्नो भाग्य भन्ने पनि हुँदो रहेछ। यही सेवामा सबैभन्दा कम उमेरमा प्रहरी सङ्गठनको प्रमुख भएँ।

खड्गजीत बराल

तस्बिर स्रोत, khadgajeetbaral/facebook

तस्बिरको क्याप्शन, राष्ट्रसङ्घको प्रमुख सम्पर्क अधिकृतको रूपमा क्याम्बोडियामा कार्यरत रहँदा बराल

जो बुद्धि, जाँगर र इमान थियो त्यो लगाएर काम गरेँ। सबैभन्दा ठूलो इमान हो। इमान ठिक भयो र व्यासायिक दक्षता भयो भने सफलता पाइने रहेछ।

पूर्वपार्टी कांग्रेसका नेताले राजनीतिमा आउन वा सेवामा रहँदा पनि प्रभावित गर्न भने खोजेनन्। उनीहरूले "ए, बरालजी पनि प्रहरीमा आउनु भएछ" भन्थे।

गणेशमान सिंहले आफ्नो आत्मकथामा मेरोबारे पनि प्रसङ्ग उल्लेख गर्नु भएको छ।

आफूसँगै क्रान्तिमा लागेका कतिपय साथीहरू मुक्ति सेनाबाट रक्षा दल हुँदै २०१२ सालमा प्रहरीमा आएका थिए।

पञ्चायतले राजदूत कसरी बनायो?

करिब छ वर्ष महानिरीक्षक भएपछि सानोमा डुलेघुमेको गाउँमा गएर बसेको थिएँ।

जेठो छोरा दक्षिण भारतमा पढ्थ्यो। ऊ बिरामी भएपछि हेर्न म त्यता गएँ।

त्यही बेला मैले राजदूतमा सिफारिस भएको खबर पाएको हुँ।

त्यो पनि चमत्कार, प्रकृति र भाग्यको कुराजस्तो लाग्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बराल अहिले ९१ वर्षका भए