तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जापानी जलसेनाद्वारा चीनले दाबी गरेको क्षेत्रमा अभ्यास
जापानले साउथ चाइना सीस्थित विवादित जलक्षेत्रमा पहिलो पटक पनडुब्बी अभ्यास गरेको छ।
जापानको जलसैनिक प्रतिरक्षा बलले एउटा पनडुब्बी र तीनवटा जलसैनिक जहाजको प्रयोग गरी शृङ्खाबद्ध अभ्यासहरू गरेको हो।
साउथ चाइना सीको ठूलो क्षेत्रमा त्यस्तो अभ्यास गरिएको ठानिएको छ। सो क्षेत्र चीनले आफ्नो स्वामित्व भएको दाबी गर्दै आएको छ।
पनडुब्बी अभ्याससम्बन्धी टोक्योको घोषणाबारे बेइजिङले अहिलेसम्म प्रतिक्रिया दिएको छैन।
स्रोतको हिसाबले साउथ चाइना सी सम्पन्न मानिन्छ र यसमा पानीजहाजले प्रयोग गर्ने विश्वका अतिव्यस्त मार्गहरू पर्दछन्।
गत वर्ष भियतनाम भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउथ चाइना सीका कतिपय भाग आ-आफ्नो क्षेत्रमा पर्ने दाबी गर्ने देशहरूबीच मध्यस्थता गर्ने प्रस्ताव गरेका थिए।
के हो विवाद?
खासै मानव बसोबास नभएका दुई टापुका शृङ्खला प्यारासेल्स र स्प्र्याट्लिसको स्वामित्वबारे चीन, भियतनाम, फिलिपिन्स, ताइवान र मलेशियाबीच विवाद छ।
सो सागरको केही स्थानमा ब्रुनाईको पनि दाबी रहेको छ।
चीनले सयौँ वर्षदेखि आफ्नो अधिकार भएको भन्दै साउथ चाइना सीमा भएका टापुहरूको ठूलो भागमाथि आफ्नो दाबी गरेको छ।
सन् १९४७ मा चीनले आफ्नो दाबी स्पष्ट देखिने खालको एउटा नक्सा नै प्रकाशित गरेको थियो।
साउथ चाइना सी पानीजहाज हिँड्ने महत्त्वपूर्ण मार्ग हो र त्यहाँ प्रचुर मात्रामा माछा मारिन्छ।
सो क्षेत्रमा खनिज तेल र ग्यासको ठूलो भण्डार रहेको विश्वास गरिन्छ।
चीनले आफ्नो प्रभाव राख्न सो सागरमा जलसैनिक गस्ती र कृत्रिम टापु बनाउने गरेको छ।
अमेरिकाले सीमासम्बन्धी विवादमा कसैको पक्ष नलिने जनाउँदै आएको छ। तर स्वतन्त्रतापूर्वक हवाई र जलमार्ग चलिराखून् भनेर सैनिक जहाज र विमानहरू विवादित टापुहरूमा पठाउँदै आएको छ।
दुवै पक्षले साउथ चाइना सीलाई सैनिकीकरण गरेको दोषारोपण गर्दै आएका छन्।
इस्ट चाइना सीमा पनि विवाद
ज्यानुअरी महिनामा इस्ट चाइना सीका विवादित टापुहरूनजिकै चिनियाँ जलसैनिकको जहाज पुगेपछि दुई देशबीच कूटनीतिक तनाब सिर्जना भएको थियो। चीनले ती टापुहरूलाई डियाओयु भन्ने गरेको छ भने जापानले सेन्काकु।
टोक्योमा रहेका चिनियाँ राजदूतलाई बोलाएर जापानले त्यस विषयमा गम्भीर आपत्ति व्यक्त गरेको थियो।
सन् २०१२ मा जापानले ती विवादित टापुहरू एक व्यक्तिको स्वामित्वबाट किनेपछि जापान र चीनबीच सम्बन्ध चिसिएको हो।
केही वर्षदेखि चीनले ती टापुहरूतिर आफ्ना पानीजहाज पठाएर जापानले कसरी प्रतिक्रिया दिन्छ भनेर हेर्न खोजेको अनुमान गरिएको छ।