निर्वाचनका पछिल्ला विवरण: प्रदेशसभाको प्रत्यक्षतर्फ कुन प्रदेशमा कुन दल अगाडि?

मतदान भएको चार दिन बित्दै गर्दा भावी संसद् र प्रदेशसभाको तस्बिर प्रस्ट हुँदै गरेको छ।

लाइभ कभरेज

  1. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी देशभरिका गतिविधिका ताजा विवरणका साथ सुरु भएको हाम्रो लाइभ अपडेट आजलाई यति नै। प्रिय पाठकहरूलाई धन्यवाद दिँदै हामी प्रत्यक्ष अपडेटबाट बिदा चाहन्छौँ।

  2. प्रदेशसभातर्फ सुदूरपश्चिम प्रदेशको अवस्था

    सुदूरपश्चिम प्रदेशमा माओवादी ६ स्थानमा विजयी हुनुका साथै १ स्थानमा अगाडि छ भने कांग्रेस ४ स्थानमा विजयी भई ६ स्थानमा अगाडि छ।

    त्यहाँ नागरिक उन्मुक्ति पार्टी २ स्थानमा विजयी र ३ स्थानमा अगाडि छ भने एमाले २ स्थानमा विजयी र १ स्थानमा अगाडि छ।

    त्यस्तै एकीकृत समाजवादी २ स्थानमा अगाडि रहेको छ भने १ जना स्वतन्त्रले जितेका छन्।

    सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ जना सदस्य हुनेछन्।

    कञ्चनपुरमा विजयी भएका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, कञ्चनपुरमा विजयी भएका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू
  3. प्रदेशसभातर्फ कर्णाली प्रदेशको अवस्था

    कर्णाली प्रदेशमा कांग्रेस ५ स्थानमा विजयी र ३ स्थानमा अगाडि छ भने माओवादी ३ स्थानमा विजयी र ६ स्थानमा अगाडि छ।

    त्यस्तै एमाले २ स्थानमा विजयी भई १ स्थानमा अगाडि छ भने एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

    कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरी ४० जना सदस्य चयन हुनेछन्।

  4. प्रदेशसभातर्फ लुम्बिनी प्रदेशको अवस्था

    लुम्बिनी प्रदेशमा एमालेले ७ स्थानमा विजयी हुनुका साथै १० स्थानमा अगाडि छ भने कांग्रेस पनि ७ स्थानमा विजयी र १० स्थानमा अगाडि रहेको छ।

    त्यहाँ जसपा र लोसमा २-२ स्थानमा विजयी भएका छन् भने माओवादी १ स्थानमा विजयी हुनुका साथै ४ स्थानमा अगाडि देखिएको छ।

    त्यस्तै नागरिक उन्मुक्ति पार्टी एक स्थानमा विजयी र एक स्थानमा अगाडि छ भने राप्रपा २ र जनमत पार्टी १ स्थानमा अगाडि देखिएका छन्।

    उक्त प्रदेशमा ३ जना स्वतन्त्र उम्मेदवारले जितेका छन्।

    लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ जना सदस्य चयन हुनेछन्।

  5. प्रदेशसभातर्फ गण्डकी प्रदेशमा कुन दलको अवस्था के?

    गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ नेकपा एमाले ६ स्थानमा विजयी भएको छ भने ६ स्थानमा अगाडि रहेको छ।

    उक्त प्रदेशमा नेपाली कांग्रेस ५ स्थानमा विजयी भएको छ भने १० स्थानमा अगाडि रहेको छ।

    त्यस्तै माओवादी ३ स्थानमा विजयी भएको र १ स्थानमा अगाडि रहेको छ।

    उक्त प्रदेशमा समाजवादीका तर्फबाट एक जना विजयी भएका छन् भने एक जना स्वतन्त्र उम्मेदवार पहिले नै निर्विरोध निर्वाचित भइसकेका छन्।

    गण्डकी प्रदेशमा प्रत्यक्षबाट ३६ र समानुपातिकतर्फ २४ गरी ६० जना सदस्य चयन हुनेछन्।

  6. प्रदेशसभातर्फ वाग्मतीमा को अगाडि?

    वाग्मती प्रदेशमा नेपाली कांग्रेस १३ स्थानमा विजयी र १० स्थानमा अग्रस्थानमा रहँदै प्रत्यक्षतर्फ हालसम्म अन्य दलभन्दा अगाडि देखिएको छ।

    दोस्रो स्थानमा रहेको एमालेले हालसम्म ७ स्थानमा जितेको छ भने ८ स्थानमा अगाडि रहेको छ भने तेस्रो स्थानको माओवादीले ५ स्थानमा विजय हासिल गर्दै ६ स्थानमा अग्रता लिएको छ।

    त्यस्तै नेकपा समाजवादीले ४ स्थानमा जितेको छ भने १ स्थानमा उक्त दल अगाडि छ।

    उक्त प्रदेशमा नेपाल मजदुर किसान पार्टीले एक स्थानमा जितेको छ भने राप्रपा ७ र हाम्रो नेपाली पार्टी १ स्थानमा अगाडि छन्।

    वाग्मती प्रदेशमा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ गरी ११० जना सदस्य चयन हुनेछन्।

  7. प्रदेशसभातर्फ मधेस प्रदेशको अवस्था

    मधेस प्रदेशमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस र एमालेको अवस्था उस्तै देखिएको छ।

    कांग्रेसले हालसम्म ९ स्थानमा जितेको छ भने ३ स्थानमा अगाडि रहेको छ।

    एमालेले चाहिँ ६ स्थानमा जितेको छ भने ६ स्थानमा अगाडि रहेको छ।

    उक्त प्रदेशमा पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएको जनमत पार्टी तेस्रो स्थानमा देखिन्छ।

    जसपाले हालसम्म ५ स्थानमा जितेको छ भने ३ स्थानमा अगाडि रहेको छ।

    त्यस्तै ५ स्थानमा जितेको लोसपा र ३ स्थानमा अगाडि देखिएको छ।

    जनमत पार्टीले भने ५ स्थानमा जितेको छ र १ स्थानमा अगाडि छ।

    माओवादीले ३ स्थानमा जित र २ स्थानमा अग्रता लिएको छ।

    एकीकृत समाजवादी भने २ स्थानमा विजयी भएको छ र २ स्थानमा अगाडि छ।

    त्यस्तै ३ स्थानमा स्वतन्त्रले जितेका छन् र अन्य ३ स्थानमा पनि स्वतन्त्र नै अगाडि छन्।

    मधेस प्रदेशमा प्रत्यक्षबाट ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ जना सदस्य चयन हुनेछन्।

  8. प्रदेशसभातर्फ प्रदेश-१ मा कुन दल अघि?

    ओखलढुग्गाको विजय र्‍याली

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, ओखलढुग्गाको विजय र्‍याली

    प्रदेश-१ मा प्रतिपक्षी एमालेले हालसम्म १० स्थानमा जित हासिल गरेको छ भने १३ स्थानमा अगाडि रहेको छ।

    सत्ताधारी कांग्रेसले भने उक्त प्रदेशमा ८ स्थानमा जित हासिल गरेको छ र १० स्थानमा अगाडि रहेको छ।

    त्यस्तै ४ स्थानमा जित हासिल गरेको माओवादी ४ स्थानमा अगाडि छ।

    त्यसै गरी १ स्थानमा विजयी राप्रपा १ स्थानमै अगाडि छ भने नेकपा समाजवादी ३ स्थानमा अगाडि देखिएको छ।

    प्रदेश-१ मा प्रत्यक्ष ५६ र समानुपातिक ३७ गरी ९३ जना सदस्य चयन हुनेछन्।

  9. प्रदेशसभाको प्रत्यक्षतर्फ कुन प्रदेशमा कुन दल अगाडि?

    सात वटै प्रदेशसभा तर्फको बिहीवार साँझसम्मको प्रारम्भिक नतिजामा प्रत्यक्षतर्फ तीन वटा प्रदेशमा नेपाली कांग्रेस र एउटा प्रदेशमा नेकपा एमाले अगाडि देखिएको छ।

    दुई वटा प्रदेशमा भने कांग्रेस र एमाले बराबरी हैसियतमा देखिएका छन्।

    त्यस्तै एउटा प्रदेशमा नेकपा माओवादी केन्द्र अगाडि छ।

    समानुपातिकतर्फ चार वटा प्रदेशमा प्रतिपक्षी नेकपा एमाले अगाडि देखिएको छ।

    त्यस्तै कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टी प्रारम्भिक नतिजामा एक-एक प्रदेशमा अगाडि रहेका छन्।

    अन्तिम नतिजा आउँदा समानुपातिकमा पनि प्रत्यक्षको जस्तै मत आएमा अधिकांश प्रदेशमा हालको सत्ताधारी गठबन्धन नै अगाडि हुनसक्ने देखिएको छ।

    यद्यपि निर्वाचन आयोगले अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने बताएको छ।

  10. ओली-प्रचण्ड फोनवार्तापछि माओवादी नेता के भन्छन्?

    देवेन्द्र पौडेल

    तस्बिर स्रोत, RSS

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन कुराकानी गरेकै दिन माओवादीका एक नेताले "भविष्यमा ओलीसँगको सहकार्यलाई नकार्न नसकिने" बताएका छन्।

    बिहीवार साँझ बीबीसीसँग कुराकानी गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका माओवादी नेता देवेन्द्र पौडेलले उक्त कुरा बताएका हुन्।

    उनले माओवादीको मत केही घटे पनि आफ्नो दलले "देशको राजनीतिमा भूमिका हुने" खालको सिट ल्याउने आशा रहेको बताए।

  11. सांसद बन्न लिङ्देनले फेरि रोके सिटौलालाई

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई सांसद बन्न पुनः रोकेका छन्।

    झापाको क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सिटौलालाई लिङ्देनले हराएपछि सिटौलाको संसद्को यात्रामा विराम लागेको हो।

    एमालेको साथ पाएका लिङ्देनले सिटौलालाई ३ हजार २ सय ७६ मतले हराएका छन्।

    लिङ्देनले ४० हजार ६४८ मत ल्याएका छन् भने सिटौलाले ३७ हजार ३७२ मत ल्याएका छन्।

    २०७४ सालको संसदीय निर्वाचनमा पनि झापा ३ मा लिङ्देन र सिटौलाबीच नै प्रतिस्पर्धा भएको थियो।

    त्यस बेला पनि सिटौला एमालेको साथ पाएका लिङ्देनसँग हारेका थिए।

    यस पटक पनि झापा ३ मा २०७४ सालको जस्तै प्रतिस्पर्धा भएको थियो।

    लिङ्देन र सिटौलाबीच नै मुख्य प्रतिस्पर्धा रहेको थियो।

    लिङ्देन सिटौलाको संसद् यात्रालाई रोक्ने र केपी शर्मा ओलीको संसद् यात्रालाई सहज बनाइदिने पात्रको रूपमा देखिएका छन्।

    २०७४ सालमा पनि सिटौलालाई रोकेर लिङ्देनले ओलीलाई सहयोग गरेका थिए ।

    यस पटक सोही किसिमको ओली-लिङ्देनबीचको सहकार्य देखिएको थियो ।

  12. निर्वाचन आयोगको तथ्याङ्कमा किन कम देखाउँछ मतपरिणाम?

    मतगणना

    तस्बिर स्रोत, Reuters

    निर्वाचन आयोग नेपालले हालसम्म ६० भन्दा बढी क्षेत्रको प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवारहरूको अन्तिम मतपरिणाम आइसकेको जनाएको छ।

    यद्यपि, आयोगकै वेबसाइटमा भने हालसम्म ४२ वटा क्षेत्रको मात्र अन्तिम नतिजा प्रकाशित भएको छ।

    त्यसको कारण के हो त?

    प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको पछिल्लो निर्णय अनुसार सबै तथ्याङ्क प्रणालीमा अद्यावधिक नगरिएको हो।

    “आयोगको पछिल्लो निर्णय अनुसार एउटा बक्सामा हुनुपर्ने मतपत्र अर्को बक्सामा परेको खण्डमा, मतपत्र जुन मतपेटिकामा हुनु पर्ने हो त्यसैमा गणना गर्ने भनिएको छ।“

    उदाहरणको लागि: ”निर्देशन अनुरूप पहिलो प्रतिनिधिसभातर्फ प्रत्यक्षको गणना सकिए पनि समानुपातिकतर्फको मतपेटिकामा प्रत्यक्षकै मत खसेको रहेछ भने त्यसलाई फेरि गन्नु पर्‍यो। त्यसैले अन्तिमसम्म पर्खिएका हौँ।“

    सबै गणना सम्पन्न भएको स्थान वा पछि कुनै एक मतपेटिकामा हुनु पर्ने मत अर्कोमा भेटिएको खण्डमा त्यसलाई रद्द गर्ने राजनीतिक सहमति भएका ठाउँको परिणाम मात्र आयोगले सार्वजनिक गरेको उनको दाबी छ।

    उनले अब मङ्सिर १२ देखि १३ गतेसम्ममा सबैको नतिजा सार्वजनिक हुने जिकिर गरे।

  13. पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल विजयी

    माधवकुमार नेपाल

    तस्बिर स्रोत, RSS

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर एकबाट निर्वाचित भएका छन्।

    नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्तालाई साढे ६ हजार भन्दा बढी मत अन्तरले पराजित गर्दै उनी सांसद चुनिएका हुन्।

    आधिकारिक मत परिणाम घोषणा हुन बाँकी रहेको हाम्री संवाददाता माधुरी महतोले जनाएकी छन्।

    लामो समय एमालेका महासचिव रहेका नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको अन्तर सङ्घर्ष चर्किएपछि आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गरेका थिए।

  14. चितवनबाट रवि लामिछाने विजयी

    रवि लामिछाने

    तस्बिर स्रोत, Getty Images

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका छन्।

    हाम्रा संवाददाता ईश्वर जोशीले दिएको जानकारी अनुसार यसबारे आधिकारिक घोषणा हुन भने बाँकी छ।

    यसअघि काठमाण्डूका चारवटा निर्वाचन क्षेत्र र ललितपुरको एउटा निर्वाचन क्षेत्रमा उक्त दलका उम्मेदवारहरू विजयी भएका विवरण आइसकेका छन्।

    उनको दल प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फको गणनामा पनि तेस्रो स्थानमा छ।

  15. समानुपातिकमा एमाले अघि अघि, पछ्याउँदै कांग्रेस, प्रतिनिधिसभातर्फ तेस्रोमा घण्टी

    मतगणना

    तस्बिर स्रोत, EPA

    निर्वाचन आयोगले जारी राखेको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा नेकपा एमाले सबैभन्दा अघि देखिएको छ।

    उक्त निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा ११० जना सांसद्हरू चुनिन्छन्।

    सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभन्दा करिब ५० हजार मत बढी ल्याएको एमालेले झन्डै ५ लाख २५ हजार मत ल्याएको छ।

    बिहिवार बिहान ११ बजेसम्म कांग्रेसले ४ लाख ८५ हजार भन्दा बढी मत ल्याएको निर्वाचन आयोगको वेबसाइटमा राखिएको विवरणमा उल्लेख छ।

    तेस्रो स्थानमा पहिलो पटक आम चुनाव लडिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी छ जसले २ लाख ६८ हजार भन्दा बढी मत ल्याएको छ।

    चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले करिब २ लाख ४२ हजार मतप्राप्त गरेको आयोगको भनाइ छ।

    पाँचौँ स्थानमा रहेको राप्रपाले करिब १ लाख ३० हजार मत ल्याएको छ।

    चार वटा प्रदेश सभाको प्रारम्भिक गणनामा पनि समानुपातिक प्रणालीतर्फ एमाले अघि रहेको छ र उसलाई कांग्रेसले पछ्याइरहेको छ।

    तर मधेस प्रदेशमा कांग्रेस र कर्णाली प्रदेशमा माओवादी केन्द्रले बढी मत ल्याएको प्रदेशसभा अन्तर्गतको समानुपातिक मतबारे राखिएको विवरणमा उल्लेख छ।

    सातवटा प्रदेश अन्तर्गत गठन हुने प्रदेशसभामा समानुपातिक प्रणालीबाट २२० जना सांसद् निर्वाचित हुन्छन्।

  16. एमाले महासचिव शंकर पोखरेल पराजित, रेखा शर्मा विजयी

    शंकर पोखरेल र रेखा शर्मा

    तस्बिर स्रोत, RSS/Facebook

    नेकपा एमालेका महासचिव शङ्कर पोखरेल दाङ्को क्षेत्र नम्बर २ मा पराजित भएका छन्।

    उक्त निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रकी नेतृ एवं पूर्वमन्त्री रेखा शर्मा विजयी भएकी हुन्।

    उनले साँघुरो मत अन्तरले जित हासिल गरेको हाम्रा बुटवल संवाददाता माधव नेपालले जनाएका छन्।

    मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी रहेको छ।

    शर्मा त्यहाँ सत्ता गठबन्धनकी साझा उम्मेदवार रहेकी थिइन्।

  17. ‘फ्लोर क्रस’ गर्दा प्रदेश सभासद पद गुमाएका ज्वाला र थापा प्रतिनिधिसभामा निर्वाचित

    मतगणना

    तस्बिर स्रोत, RSS

    पार्टी ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गर्दा प्रदेश सभासदको पद गुमाएका सल्यानका प्रकाश ज्वाला र दैलेखका अम्मरबहादुर थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

    पार्टीको ह्वीप उल्लंघन गदै कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकार बचाउँदा नेकपा एमालेले दुवै जनालाई सांसद पदबाट हटाएको थियो।

    एमाले विभाजन हुँदा उनीहरू दुवैजना एकीकृत समाजवादी पार्टीमा लागेका थिए।

    दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट ८४९ मतको अन्तरले आफ्ना पूर्व सहयात्री एमालेका रवीन्द्रराज शर्मालाई पराजीत गदै थापा विजयी भएका छन्।

    थापाले १८,२५६ मत र शर्माले १७, ४०७ मत पाएका छन्।

    यस्तै स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५,९११ मतान्तरले पराजित गदै प्रकाश ज्वाला पनि विजय भएका छन्।

    ज्वालाले ३५,७०० मत र शाहले १९,७८९ मत ल्याएको निर्वाचत आयोगले जनाएको छ।

    दुवैजनाले बामलोकतान्त्रिक गठबन्धनको बलमा चुनाव जित्न सफल भएका छन्।

    ज्वाला नेकपा एकीकृत समाजवादीका उपमहासचिव र थापा कर्णाली प्रदेश इन्चार्ज हुन्।

    तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता टिकाउन फ्लोर क्रस गर्दा सभासद पद गुमाएका चार जना मध्ये कालिकोटका कुर्मराज शाही र डोल्पाका नन्दसिंह बुढा भने चुनावको मुखैमा एमालेमा फर्किएकाथिए।

    एमालेमा फर्किएका शाहीलाई एमालेले प्रदेशसभा सदस्यमा टिकट दिए पनि बुढाले भने टिकट पाएनन्।

  18. बीबीसी नेपाली सेवाको लाइभ पेजमा स्वागत छ।

    मंसिर ४ गतेको निर्वाचनपश्चात् अहिले देशको ध्यान र चासो पछिल्ला मतपरिणामहरूप्रति केन्द्रित भइरहेका छन्। मतपरिणाम तथा निर्वाचनसँग सम्बन्धित विभिन्न जानकारीहरू हामी यहाँ प्रस्तुत गर्नेछौँ।