निर्वाचनका ताजा परिणाम: कांग्रेस-एमाले अघिअघि, राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याउँदै

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका ताजा परिणाम आउँदै गर्दा प्रारम्भिक सङ्केतहरू चाखलाग्दा देखिएका छन्

लाइभ कभरेज

  1. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी देशभरिका गतिविधिका ताजा विवरणका साथ सुरु भएको हाम्रो लाइभ अपडेट आजलाई यति नै। प्रिय पाठकहरूलाई धन्यवाद दिँदै हामी प्रत्यक्ष अपडेटबाट बिदा चाहन्छौँ।

  2. एक साताभित्र मतगणना सकिन्छ: निर्वाचन आयोग

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक साताभित्र मतगणना सकिने बताएका छन्।

    मङ्गलवार साँझ बीबीसीसँग कुराकानी गर्दै उनले उक्त जानकारी दिएका हुन्।

    पौडेलले भने, “अहिले चारवटै बक्सा खोलेर एकैपटक गनेकाले केही ढिलाइ भइरहेको हो। अहिले प्रत्यक्षको पनि र समानुपातिकको पनि आइरहेको छ।”

    “अब एकै पटक हप्ता दिनभित्र सबै मतगणना सकिन्छ।”

    निर्वाचन आयोग

    तस्बिर स्रोत, EC

  3. उदयपुर-२ मा एमालेका रायमाझी निर्वाचित

    उदयपुर-२ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्।

    उनले नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडालाई पराजित गरे।

    निर्वाचन आयोगका अनुसार रायमाझीले १५,२५१ मत ल्याए भने उनका प्रतिस्पर्धी खतिवडाले १२,८९३ मत ल्याएका छन्।

    यो क्षेत्रमा माछा चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार रामकुमार राईले १०३७९ मत पाएका छन्।

  4. एमालेले खोल्यो प्रदेशमा खाता

    नेकपा एमालेले प्रदेशसभामा पनि खाता खोलेको छ।

    ललितपुर क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा एमालेका रामेश्वर श्रेष्ठ निर्वाचित भएका छन्।

    उनले ८२९८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी राप्रपाका धनराम केसीले ६८५१ मत ल्याए।

    यो प्रदेशसभामा कांग्रेसकी रिसा श्रेष्ठ तेस्रो भइन्।

  5. रोकिएका दुई स्थानमा 'शान्तिपूर्ण चुनाव', बाजुराको बुढीगङ्गा नगरपालिकामा भने 'राजनीतिक विवादका कारण पुनः मतदानको मिति टुङ्गो लागेको छैन।'

    मतदान

    तस्बिर स्रोत, RSS

    मङ्सिर ४ गते विभिन्न विवाद तथा झडपका कारण निर्वाचन स्थगित भएका सुर्खेत र गुल्मीका मतदान केन्द्रहरूमा आज निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

    आयोगका सह प्रवक्ता कमल भट्टराईले दुवै जिल्लामा शान्तिपूर्ण मतदान सम्पन्न भएको जानकारी दिए।

    सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भएको थियो।

    सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदान स्थलका तीन वटा केन्द्रको मतदान आइतवार रद्द गरिएको थियो।

    गुल्मीको कालीगण्डकी गाउँपालिका २ अर्बेनीमा मतपत्रबारे अन्योलका कारण विवाद सिर्जना भएपछि मतदान प्रक्रिया रोकिएको थियो।

    नवलपुर पूर्वमा पनि स्थगित भएको मतदान कार्यक्रम सोमवार सम्पन्न गरिएको थियो।

    अधिकारीहरूका अनुसार बाजुराको बुढीगङ्गा नगरपालिकामा भने “राजनीतिक विवादका कारण पुनः मतदानको मिति टुङ्गो लागेको छैन।"

    “त्यहाँबाट केही कागजपत्र प्राप्त हुन बाँकी छ। आवश्यक जानकारी प्राप्त भएपछि मतदानको निम्ति नयाँ मिति तय हुन्छ,” भट्टराईले भने।

  6. प्रदेशसभातर्फ हालसम्म कति स्थानको नतिजा आयो?

    निर्वाचन आयोगले प्रदेशसभातर्फ हालसम्म ६ स्थानको अन्तिम नतिजा आएको विवरण राखेको छ।

    आयोगका अनुसार मधेस प्रदेशका दुई स्थान र गण्डकी प्रदेशका चार स्थानको अन्तिम नतिजा आएको हो।

    मधेस प्रदेशको सप्तरी क्षेत्र नम्बर-२ (१) र २ (२) दुवैमा सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवारले जितेका छन्।

    प्रदेशतर्फको क्षेत्र नम्बर-१ बाट उक्त दलका सतिशकुमार सिंह र क्षेत्र नम्बर-२ बाट सोही दलका महेशप्रसाद यादव निर्वाचित भएका हुन्।

    त्यस्तै गण्डकी प्रदेशको मुस्ताङका प्रदेशसभातर्फका दुवै र मनाङको एक क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

    मुस्ताङको प्रदेशसभा क्षेत्र नम्बर- १ बाट नम्डु गुरुङ र क्षेत्र नम्बर- २ बाट विकल शेरचन विजयी भएका हुन्।

    मनाङको प्रदेशसभा क्षेत्र नम्बर- १ बाट कांग्रेसकै मुनिन्द्रजङ्ग गुरुङ विजयी भएका छन्।

    सोही जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर-२ बाट चाहिँ स्वतन्त्र उम्मेदवार राजीव गुरुङ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

  7. काठमाण्डू ४ मा ठूलो मत अन्तरसहित गगन थापा विजयी, 'परिवर्तनको वेगका निम्ति तयार रहेको' दाबी

    गगनकुमार थापा

    तस्बिर स्रोत, RSS

    काठमाण्डू क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका नेता गगनकुमार थापा प्रतिनिधिसभाका निम्ति निर्वाचित भएका छन्।

    उनले कुल २१,३०२ मत प्राप्त गरेको निर्वाचन आयोगले उल्लेख गरेको छ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता राजन भट्टराईले १३,८५५ मत प्राप्त गरेर पराजित भए।

    थापाले आफूले संसद्मा रहेर नेपाली कांग्रेसको सांसदहरूले छान्ने संसदीय दलको नेता बन्ने प्रक्रियामा हस्तक्षेप गर्ने बीबीसीसँगको अन्तर्वार्तामा बताएका थिए।

    थापाले भनेका थिए,”पाँच वर्षको लागि हामीलाई स्थिरता चाहिएको छ। त्यसो भयो भने हामीले सही ढङ्गमा शासन गर्न सक्छौँ।”

    राजनीतिक दल तथा नेताहरूको क्षमतामाथि स्वयं प्रश्न गरेका उनले आफू “परिवर्तनको वेगका निम्ति तयार रहेको” बताएका छन्।

  8. जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता, जाजरकोटमा माओवादीका उपमहासचिवसमेत रहेका शक्तिबहादुर बस्नेत फराकिलो अन्तरले अगाडि छन्

    जुम्लामा मतगणना

    जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रबहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन्।

    शाहीले गठबन्धनका साझा उम्मेदवार माओवादीकी गोमा गौतम (कुँवर) लाई झन्डै तेब्बर मतले पछाडि पारेका छन्। शाहीले ४ हजार ९१ मत ल्याउँदा गौतमले एक हजार ४ सय ४९ मत प्राप्त गरेकी छन्।

    कर्णालीका १० जिल्लामध्ये ६ जिल्लामा मतगणना जारी छ।

    यो प्रदेशको रुकुम पश्चिम र कालिकोटमा मङ्गलवारबाट मतगणना सुरु भएको छ। सुर्खेत २, दैलेख, सल्यान र जुम्लामा मतगणना सोमवारबाटै सुरु भएको हो।

    अन्य ४ जिल्लाको मतगणना भने सुरु हुन सकेको छैन।

    जारी मतगणना अनुसार नेपाली कांग्रेस २, नेकपा एमाले १, नेकपा एकीकृत समाजवादी १, नेकपा माओवादी १ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा अग्रता कायम गरेका छन्।

    दुई निर्वाचन क्षेत्र रहेको प्रदेश राजधानी सुर्खेतको क्षेत्र नम्बर १ मा आइतबार रद्द भएको निर्वाचन आज बिहान ७ बजेबाट सुरु भएको छ।

    सुर्खेत क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस अगाडि देखिएको छ।

    कांग्रेसका हृदयराम थानीले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बिसीलाई पछाडि पार्दै अग्रता कायम गरेका छन्। २६ हजार १ सय २५ मत गणना हुँदा थानीले ११ हजार ८ सय ८५ मत प्राप्त गरी अग्रता लिएका छन् भने एमालेका बिसीले १० हजार २ सय ४३ मत प्राप्त गरेका छन्।

    थानी पूर्व सहकारी मन्त्री हुन भने बिसी पहिलो पटक संसदीय चुनावमा देखा परेका छन्।

    यस्तै सल्यानमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले ८ हजार ९ सय ७ मत प्राप्त गरी फराकिलो मतान्तरले अग्रता कायम गरेका छन्, भने उनका प्रतिस्पर्धी स्वतन्त्रका राजेन्द्रबहादुर शाहले ४ हजार १ सय ६७ मत प्राप्त गरेका छन्।

    २ निर्वाचन क्षेत्र रहेको दैलेखका दुवै निर्वाचन क्षेत्रमा पनि मतगणना जारी छ। दैलेख १ मा एमालेमा लामो समय मिलेर काम गरेका पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा देखिँदा एमालेका रविन्द्रराज शर्माले ३ हजार ४ सय १५ मत प्राप्त गरी अग्रता लिएका छन्।

    शर्माका प्रतिस्पर्धी समाजवादीका जिल्ला अध्यक्ष अमरबहादुर थापाले २ हजार ८ सय ७४ मत प्राप्त गरेका छन्।

    यस्तै दैलेख २ मा कांग्रेसका दिक्पालकुमार शाहीले ४ हजार १ सय ८२ मत प्राप्त गरी अग्रता कायम गर्दा शाहीका प्रतिस्पर्धी एमालेका लक्ष्मीप्रसाद पोखरेलले ३ हजार ७८ मत प्राप्त गरेका छन्। शाही २०७४ मा एमालेका राजबहादुर बुढासँग पराजित भएका थिए भने, पोखरेल २०७० को संविधानसभा सदस्यसमेत हुन्।

    यस्तै कर्णाली प्रदेश निर्वाचन आयोगका अनुसार जाजरकोटमा माओवादीका उपमहासचिवसमेत रहेका शक्तिबहादुर बस्नेत फराकिलो अन्तरले अगाडि छन्।

    बस्नेतले २ हजार २ सय ८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका निरज आचार्यले १ हजार ७ सय ७६ मत प्राप्त गरेका छन्।

    हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, र मुगुमा भने अझै मतपेटिका सङ्कलनको कार्य सम्पन्न हुन सकेको छैन। सडक सञ्जाल नपुगेका क्षेत्रहरूबाट मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भएपछि ढिला भएको सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयहरूले जानकारी दिएका छन्।

    हेलिकप्टर अझै पुग्न सकेको अवस्था छैन। प्रदेश निर्वाचन कार्यालयका अनुसार ढिलाइ भएको आज बेलुकासम्म मत पेटिका सम्बन्धित जिल्ला सदरमुकाम आइपुग्ने जनाएको छ।

    मतपेटिका सङ्कलन भएपछि मतगणनाको काम अगाडि बढ्ने बताइएको छ।

  9. प्रदेशसभामा तीन ठाउँको नतिजा, कांग्रेस अघिअघि पछ्याउँदै एमाले, गण्डकीमा कांग्रेसबाट २ प्रदेशसभा सदस्य निर्वाचित भइसकेका छन् भने एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

    मतगणना

    तस्बिर स्रोत, RSS

    प्रदेशसभातर्फ भइरहेको मतगणनाको प्रारम्भिक नतिजामा अधिकांश प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र एमालेले अग्रता लिएका छन्।

    निर्वाचन आयोगका अनुसार कांग्रेसले सुदूर पश्चिम प्रदेश बाहेक सबैमा अग्रता लिएको छ भने एमाले दोस्रो स्थानमा छ।

    सुदूर पश्चिम प्रदेशमा चाहिँ एमालेले अग्रता लिएको छ।

    बिहान ११:३० बजेसम्म प्रदेश १ मा कांग्रेसले ११ स्थानमा र एमालेले ९ स्थानमा अग्रता लिएका छन्।

    यो प्रदेशमा माओवादी र एकीकृत समाजवादीले चार-चार स्थानमा अग्रता लिएका छन्।

    त्यस्तै मधेश प्रदेशमा कांग्रेसले ९ र एमालेले ७ स्थानमा अग्रता लिएका छन्।

    यहाँ माओवादीले ६ स्थानमा अग्रता लिएको छ भने जनता समाजवादी र जनमत पार्टीले बराबर चार-चार स्थानमा अग्रता लिएका छन्।

    बाग्मतीमा कांग्रेसले १३ र एमालेले १२ स्थानमा अग्रता लिएका छन्।

    यो प्रदेशमा माओवादी र राप्रपाले बराबर तीन-तीन स्थानमा अग्रता लिएका छन्।

    गण्डकीमा कांग्रेसबाट २ प्रदेशसभा सदस्य निर्वाचित भइसकेका छन् भने एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

    यो प्रदेशमा मनाङका दुवै र मुस्ताङको एक प्रदेशसभा क्षेत्रको परिणाम घोषणा भइसकेको छ।

    यो प्रदेशमा कांग्रेसले थप ८ स्थानमा र एमालेले ७ स्थानमा अग्रता लिइरहेका छन्।

    माओवादी केन्द्रले तीन स्थानमा अग्रता लिएको छ।

    प्रदेशसभातर्फ लुम्बिनीमा कांग्रेस १० स्थानमा र एमाले ७ स्थानमा अघि छ।

    यहाँ माओवादीले ३ र लोसपाले २ स्थानमा अग्रता लिइरहेका छन्।

    कर्णालीमा कांग्रेसले २ र एमाले तथा माओवादीले एक-एक स्थानमा अग्रता लिइरहेका छन्।

    सुदूरपश्चिममा एमाले अगाडी छ। यहाँ एमाले ५ कांग्रेस ४ र समाजवादी एक स्थानमा अगाडि छन्।

  10. काठमाण्डू १ मा प्रकाशमान सिंह निर्वाचित, 'आधिकारिक घोषणा हुन बाँकी', राप्रपाका रवीन्द्र मिश्र थोरै मतान्तरले पराजित भए। कसले कति मत ल्याए?

    प्रकाशमान सिंह

    तस्बिर स्रोत, Photo: Prakash Man Singh/Facebook

    काठमाण्डू क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवारहरूलाई प्राप्त मत गणना सकिएको छ।

    सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलका अनुसार उक्त क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् तर हालसम्म परिणामको आधिकारिक घोषणा भएको छैन।

    निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो विवरण अनुसार सिंहले ७,१४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७,०१८ मत प्राप्त गरेका छन्।

    यसअघिको चुनावमा पनि सिंहले मिश्रलाई जितेका थिए।

    यसअघि मनाङ र मुस्ताङमा पनि नेपाली कांग्रेसकै उम्मेदवारहरू क्रमशः टेकबहादुर गुरुङ र योगेश गौचन थकाली निर्वाचित भएका छन्।

  11. मतदानस्थलबाट मतपेटिका ल्याउनै मुस्किल, सडक र मौसमका कारण मतगणना प्रभावित, ७० वटा मतदानस्थलबाट मतपेटिका गणनास्थलमा पुगेका छैनन्

    काठमाण्डूमा जारी मतगणना

    तस्बिर स्रोत, RSS

    आइतवार मतदान सम्पन्न भए पनि केही मतदानस्थलबाट मतपेटिकाहरू अझै पनि गणनास्थलसम्म पुर्‍याउन नसकेको निर्वाचन आयोगले जनाएको छ।

    सडक यातायातको पहुँच नभएका र प्रतिकुल मौसमी अवस्थाका कारण देशभरका ७० मतदानस्थलहरूबाट मतपेटिका सम्बन्धित जिल्ला सदरमुकामसम्म पुर्‍याउन नसकेको आयोगका सह प्रवक्ता कमल भट्टराईले बीबीसीसँग बताए।

    “मङ्गलवार बिहानसम्म केही स्थानबाट मतदान पेटिका मतगणनास्थलमा ल्याउन सुरु गरिएको छ। तर विकट हिमाली क्षेत्रहरूमा भने मौसमका कारण समस्या सिर्जना भएको हो,” उनले प्रस्ट्याए।

    प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत ७ जिल्लाको सडक यातायात सुविधा पहुँच नभएका स्थलबाट मतपेटिका तथा निर्वाचन सामग्री सम्बन्धित मतगणनास्थल ल्याउन नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिँदै छ।

    हुम्ला, सोलुखुम्बु, बझाङ, गोरखा, मनाङ, सङ्खुवासभा र डोल्पा जिल्लाको विभिन्न मतदानस्थलका दर्जनौँ केन्द्रहरूबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिएको हो।

    मतदान सम्पन्न भएका ठाउँहरूबाट गणनाका निम्ति समयमै मतपेटिका नपुग्नुले नतिजा समयमा सार्वजनिक गर्ने आयोगको दाबीमा प्रभाव पार्ने जानकारहरूले बताएका छन्।

  12. प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले, दुवैतर्फ पछ्याउँदै रास्वपा, प्रत्यक्षतर्फ केही स्थान जितिसकेको नेपाली कांग्रेस ४४ ठाउँमा अगाडि छ भने समानुपातिकमा एमालेको झण्डै ९ हजार मत बढी छ।

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नेपाली कांग्रेका प्रकाशमान सिंहले जितेका भए पनि निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ।

    निर्वाचन आयोगका अनुसार अहिलेसम्म प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ।

    नेपाली कांग्रेसले दुई ठाउँमा जीत सुनिश्चित गरेको छ भने ४४ ठाउँमा अग्रता लिइरहेको छ।

    उता एमालेले भने ३६ ठाउँमा अग्रता लिइरहेको छ।

    पहिलोपटक चुनावमा उठेको राष्ट्रिय स्वतन्त्र पार्टी ११ ठाउँमा अग्रतासहित तेस्रो स्थानमा छ।

    त्यसपछि माओवादी केन्द्र र एकीकृत समाजवादी क्रमश: १३ र ६ स्थानमा अग्रता सहित चौथो र पाँचौ स्थानमा रहेका छन्।

    समानुपातिक तर्फ भने नेकपा एमाले ७१ हजारभन्दा बढी मतसहित अगाडि छ भने कांग्रेस करिब ६२ हजार मतसहित दोस्रोमा छ।

    प्रत्यक्षतर्फजस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ३१ हजार भन्दा केही बढी मतसहित तेस्रो स्थानमा रहेको छ। त्यस्तै माओवादी केन्द्र चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ स्थानमा छन्।

    प्रदेश सभा तर्फ पनि पहिलो र दोस्रोमा कांग्रेस, एमाले नै छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा आफ्ना उम्मेदवार उठाएको थिएन।

  13. निर्वाचन प्रभावित स्थानहरूमा पुनः मतदान, ‘राजनीतिक विवाद’का कारण बाजुरामा अन्योल, ‘राजनीतिक विवाद’का कारण बाजुरामा पुन: मतदानको टुङ्गो लागेन

    सुर्खेतमा पुन: मतदानको लागि लाममा मतदाताहरू

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, सुर्खेतमा पुन: मतदानको लागि लाममा मतदाताहरू

    मङ्सिर ४ गते विभिन्न विवाद तथा झडपका कारण स्थगित मतदान प्रक्रिया मङ्गलवार पुनः सुरु भएको छ। निर्वाचन आयोग नेपालका सह प्रवक्ता कमल भट्टराईका अनुसार सुर्खेतको तीन वटा केन्द्रमा मतदान जारी छ।

    सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले राष्ट्रिय समाचार समितिलाई बताएका छन्।

    सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीन वटा केन्द्रको मतदानआइतवार रद्द गरिएको थियो।

    “आज बिहान ७ बजेदेखि सुरु भएको छ। यहाँका तीन मतदान केन्द्र गरी दुई हजार नौ सय २६ मतदाता सङ्ख्या रहेको छ,” अधिकृत हितप्रसाद पौडेलले भनेका छन्।

    त्यस्तै आयोगका सह प्रवक्ता भट्टराईले बीबीसीलाई दिएको जानकारी अनुसार गुल्मीको कालीगण्डकी गाउँपालिका २ अर्बेनीमा पनि आजै पुनः मतदान सुरु भएको छ। त्यहाँ पनि मतपत्रबारे अन्योलका कारण विवाद सिर्जना भएपछि मतदान प्रक्रिया रोकिएको थियो।

    नवलपुर पूर्वमा पनि स्थगित भएको मतदान कार्यक्रम सोमवार सम्पन्न गरिएको थियो।

    अधिकारीहरूका अनुसार बाजुराको बुढिगङ्गा नगरपालिकामा भने “राजनीतिक विवादका कारण पुनः मतदानको मिति टुङ्गो लागेको छैन।“

    “त्यहाँबाट केही कागजपत्र प्राप्त हुन बाँकी छ। आवश्यक जानकारी प्राप्त भएपछि मतदानको निम्ति नयाँ मिति तय हुन्छ,” भट्टराईले भने।

  14. बीबीसी नेपाली सेवाको लाइभ पेजमा स्वागत छ।

    देशभरि मतगणना जारी रहँदा मतपरिणाम तथा निर्वाचनसँग सम्बन्धित विभिन्न जानकारीहरू हामी यहाँ प्रस्तुत गर्नेछौँ।