रुसको बमबारीमा परेको मारिओपोलको नाटकघरमा अझै सयौँ बन्धक
रुसले आक्रमण गरेको मारिओपोलको एउटा नाटकघरबाट हालसम्म १ सय ३० जनाको उद्धार गरिएको छ। १३ सय मानिसहरू अझै भग्नावशेषमा फसिरहेको युक्रेनका मानवअधिकार आयुक्तले बताएका छन्।
लाइभ कभरेज
हमला गरिएको मारिओपोलको नाटकघरबाट १३० को उद्धार गरिएको सरकारी भनाइ
युक्रेनको मानवअधिकार आयुक्तको कार्यालयले रुसले आक्रमण गरेको मारिओपोलको एउटा नाटकघरको भग्नावशेषबाट हालसम्म १ सय ३० जनाको उद्धार गरिएको जनाएको छ।
रुसले उक्त नाटकघरमाथि बमबारी गर्दा त्यहाँका भूमिगत आश्रयस्थलमा सयौँ मानिसहरूले आश्रय लिइरहेका थिए।
हमलाले नाटकघरको भवन क्षतिग्रस्त बनेको छ।
टेलिभिजन सम्बोधनमा युक्रेनका मानवअधिकार आयुक्तले उद्धार कार्य जारी रहेको र त्यहाँ भवनको तल्लो भागमा १३ सय मानिसहरू अझै फसिरहेको बताए।
तस्बिर स्रोत, Azov/Reuters
रुसलाई हतियार नदिन बाइडनले चीनसँग अनुरोध गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडनले रुसलाई युक्रेनसँग लड्न चीनले सैनिक सामग्री उपलब्ध गराउन नहुनेमा जोड दिदैँछन्।
आज अबेर चिनियाँ राष्ट्रपति सी जीनपिङसँग हुने टेलिफोन कुराकानीमा उनले त्यस्तो अनुरोध गर्ने भएका हुन्।
अमेरिकी अधिकारीहरूले रुसी हमलाको आलोचना गर्न विफल भएकोमा बेइजिङको निन्दा गर्दै आएका छन्।
बाइडनले बिहीवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “एक विशुद्ध ठग” र “एक हत्यारा तानाशाह” भन्दै उनले युक्रेनमा मानिसहरू विरुद्ध “अनैतिक युद्ध” घोषणा गरेको आरोप लगाएका थिए।
यसअघि बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेका थिए।
त्यसको प्रतिक्रिया स्वरुप क्रेम्लिनका प्रवक्ताले बाइडनको टिप्पणी ‘पूर्ण रूपमा अस्वीकार्य र माफी दिन लायक नभएको’ बताएका थिए।
तस्बिर स्रोत, Getty Images
युक्रेनबाट भागेर पोल्यान्ड पुग्नेको सङ्ख्या २० लाख
युक्रेन युद्ध सुरु भएयता २० लाख मानिसहरू युक्रेनबाट भागेर पोल्यान्ड पुगेको त्यहाँको सीमा रक्षा निकायले जनाएको छ।
उक्त सङ्ख्या शुक्रवार जीएमटी समय अनुसार ८ बजे २० लाख पुगेको पोलिस बोर्डर गार्ड एजेन्सीले आफ्नो ट्विटर खातामा लेखेको छ।
त्यसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन्।
वार्स विश्वविद्यालयका एक आप्रवासन अनुसन्धान प्राध्यापकका अनुसार पोल्यान्डबाट पाँच लाख भन्दा बढी व्यक्ति अन्यत्र गइसकेका छन्।
अधिकांश मानिसहरू वार्स र क्राकाउ जस्ता ठूला शहरमा छन् र त्यहाँका अधिकारीहरूले आवास उपलब्ध गराउने आफ्नो क्षमता कटिसकेको जनाएका छन्।
१४,२०० रुसी सैनिकको मृत्यु भएको युक्रेनी दाबी
रुसले युक्रेनमा आक्रमण गर्न थालेको आज तेइसौँ दिन हो। युक्रेनका रक्षामन्त्रीले अहिलेसम्म अनुमानित १४,२०० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्।
दुवै सेनामा भएको मानवीय क्षतिको विवरण पुष्टि गर्न निकै कठिन छ। किनभने रुस र युक्रेन दुवैले निकै फरक सङ्ख्या बताउने गरेका छन्।
मार्च ३ मा रुसले आफ्ना ४९८ सैनिकको मृत्यु भएको जनाएको थियो। तर त्यसपछि रुसले हताहत हुने सैनिकको तथ्याङ्कबारे रुस मौन छ।
अमेरिकी अधिकारीहरूले झन्डै ७,००० रुसी सैनिकको मृत्यु भएको हुनसक्ने बिहीवार बताएका थिए। उनीहरूका अनुसार घाइते हुने रुसी सैनिकको सङ्ख्या १४,००० जति हुनसक्छ।
युक्रेनले रुसी पक्षमा आफूले पुर्याएको क्षतिको विवरणमा यस्तो दाबी गरेको छः
४५० वटा ट्याङ्क ध्वस्त
९३ वटा विमान ध्वस्त
११२ हेलिकप्टर ध्वस्त
४३ वटा विमानभेदक प्रणाली बिगारिएको
बीबीसीले यी कुनै दाबी पनि स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
ल्भिभस्थित विमानस्थलनजिकै रहेको एउटा भवनमा रुसले शुक्रवार हवाई आक्रमण गरेको विवरण प्राप्त भएको छ।
त्यहाँका नगरप्रमुखले आफ्नो टेलिग्राममा विमानस्थलमा नभएर नजिकै रहेको भवनमा बम प्रहार भएको लेखेका छन्। तर त्यहाँ कोही हताहत नभएको उनले जानकारी दिएका छन्।
रुसी आक्रमणको निसानामा परेको भवनमा विमान मर्मत सम्भार हुने गरेको बताइएको छ। तर उक्त भवनमा काम पहिला नै रोकिएको उनले जानकारी दिएका छन्।
उक्त स्थानमा उद्धारकर्मी पुगिसकेको उनले बताएका छन्।
कहाँ छ ल्भिभ?
ल्भिभ पोल्यान्डको सीमबाट केवल ७० किलोमिटर टाढा छ। यो सहर पूर्वी र दक्षिणी युक्रेनमा सङ्घर्ष भइरहेका स्थानभन्दा निकै टाढा छ।
त्यहाँ यसअघि बमबारी भएको थिएन। ल्भिभभन्दा ३० किलोमिटर पर रहेको एउटा एउटा सैन्य तालिम केन्द्रमा पाँच दिनअघि त्यस्तै आक्रमण भएको थियो।
ल्भिभस्थित बीबीसी संवाददाताका अनुसार उक्त सहरलाई आज बिहान बमबारी हुनुअघिसम्म सुरक्षित स्थान मानिएको थियो।
पोल्यान्डको बाटोबाट युक्रेनमा अस्त्र आपूर्ति रोक्ने उद्देश्यले त्यसो गरिएको हुनसक्ने उनको धारणा छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
X पोस्ट समाप्त
अस्ट्रेलिया र जापानद्वारा रुसमाथि प्रतिबन्ध घोषणा
अस्ट्रेलिया र जापानले रुसमाथि थप प्रतिबन्धहरू घोषणा गरेका छन्।
क्यान्बराले रुसी अर्बपति ओलेग देरिपास्का र भिक्टोर भेक्सेल्बर्ग, ११ वटा ब्याङ्क र सरकारी निकायहरूलाई प्रतिबन्ध लगाएको छ।
रुसको केन्द्रीय ब्याङ्कलाई पनि उक्त सूचीमा समावेश गरेर अस्ट्रेलियाले सरकारी ऋण जारी गर्ने र प्रबन्ध गर्ने सबै सरकारी निकायलाई लक्षित गरिएको अस्ट्रेलियाका विदेशमन्त्रीले बताएका छन्।
जापानले थप १५ रुसी नागरिक र नौ संस्थालाई प्रतिबन्ध लगाएको छ। त्यसमा सरकारी स्वामित्वको अस्त्र निर्यातकर्ता रोसोबोरोनएक्सपोर्ट पनि छ।
पश्चिमी युक्रेनमा हवाई आक्रमणको चेतावनी दिन साइरन
पश्चिमी युक्रेनका विभिन्न क्षेत्रमा शुक्रवार बिहान हवाई आक्रमणको चेतावनी दिन साइरन बजिरहेको विवरण प्राप्त भएको छ।
युक्रेनको राष्ट्रिय समाचारसंस्था युक्रिनफोर्मका अनुसार रिभ्ने, भोलीन, ल्भिभ, टेर्नोपिल र इभानो-फ्रान्किभ्स्क क्षेत्रमा साइरन बजेको सुनिएको हो।
जर्मनीले 'नयाँ बाटो खोजिरहेको' युक्रेनी राष्ट्रपतिको दाबी
तस्बिर स्रोत, Facebook/ Zelensky
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मनीले रुसबाट पर जान "नयाँ बाटो खोजिरहेको" बताएका छन्। फेसबुकमार्फत् बिहीवार राति सम्बोधन गर्ने क्रममा उनले त्यसो भनेका हुन्।
उनका अनुसार बिहीवार जर्मन सांसदहरूलाई आफूले "राष्ट्रपतिका रूपमा मात्र नभएर एक युक्रेनी नागरिक र एक युरोपेलीका रूपमा पनि" सम्बोधन गरेका हुन्।
"एक नागरिक जसले धेरै वर्षदेखि जर्मन राज्यले आफूविरुद्ध पर्खाल बनाएको जस्तो महसुस गर्दै आएको छ। अदृश्य तर ठोस पर्खाल।"
मन्तव्यमा उनले जर्मनहरूलाई नयाँ किसिमको ‘बर्लिन वाल’ भत्काउन गर्न आह्वान समेत गरे। त्यस पर्खालले अहिले दमनबाट स्वतन्त्रतालाई विभाजित गरेको उनको भनाइ थियो।
जेलेन्स्कीले विभाजनको उक्त पर्खालमा जर्मन ऊर्जा नीति र व्यापारिक स्वार्थले योगदान पुर्याएको भन्दै आलोचना गरेका थिए।
राति युक्रेनी नागरिकलाई सम्बोधन गर्दै उनले भने, "हामीले दशकौँसम्म जर्मनीलाई अर्थतन्त्रका निम्ति लडिरहेको देखेका छौँ। नयाँ रुसी ग्यास पाइपलाइनहरू र युरोपेली सपनाका लागि लडेको देखेका छौँ। कुनै किसिमको सहायताको सपना जुन रुसले लामो समयदेखि गम्भीरतापूर्वक लिएको छैन।"
"जर्मनहरूको दृष्टिकोण परिवर्तन भइरहेको हामी देख्न सक्छौँ," उनले भने, "अनि यो धेरै महत्त्वपूर्ण कुरा हो - हामी जर्मनीले नयाँ बाटो खोजिरहेको देख्न सक्छौँ।"
जर्मनीले शीतयुद्धको अन्त्यदेखि व्यवसाय, व्यापार र ऊर्जासँग सम्बन्धित कुरा प्रयोग गरेर पश्चिममा शान्तिपूर्ण रुसलाई एकीकृत गर्ने प्रयास गरेको छ।
तर युक्रेनमा गरिएको आक्रमणले त्यस्तो आशा अन्त्य गरको छ र जर्मनीलाई तत्काल अन्य क्षेत्रमा व्यापारका अवसरहरू खोज्न प्रेरित गरेको छ।
प्रतिबन्धले विकासोन्मुख राष्ट्रलाई असर पुग्ने चीनको तर्क
तस्बिर स्रोत, Getty Images
संयुक्त राष्ट्रसङ्घका लागि चीनका प्रतिनिधिले सुस्त गतिमा विश्वको अर्थतन्त्र राम्रो अवस्थामा फर्किरहेको बेला रुसविरुद्ध प्रतिबन्ध लगाउनु गल्ती हुने बताएका छन्।
"तथ्यहरूले प्रतिबन्धको प्रयोगबाट कुनै समस्या समाधान हुँदैन भन्ने प्रमाणित गरिसकेका छन्। बरु त्यसले नयाँ समस्याहरू उत्पन्न गराउँछ," राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा बोल्दै झाङ जुनले भने।
पश्चिमा राष्ट्रहरूले रुसविरुद्ध एकपछि अर्को प्रतिबन्ध थपिरहेको बेलामा चेतावनी दिँदै त्यस्तो उपायले खाद्यान्न र ऊर्जा सङ्कट बढ्ने तथा विशेषतः विकासोन्मुख राष्ट्रमा मानिसहरूको जीविकोपार्जनमा क्षति पुर्याउने बताए।
उनले चीन अन्तर्राष्ट्रिय समुदायजस्तै युक्रेनमा युद्धविराम हुनुपर्ने पक्षमा रहेको दोहोर्याए।
"सबै पक्षले आगोमा घिउ थप्न नभई शान्तिवार्ताका लागि थप काम गर्नेछन् भन्ने हाम्रो अपेक्षा छ।"
अमेरिकी अधिकारीहरूका अनुसार रुसले चीनसँग सैन्य र आर्थिक सहायता मागेको छ भने चीनले त्यसका लागि आफू तयार रहेको देखाएको छ।
रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमण जारी राख्न सङ्घर्ष गरिरहेको बेलायती रक्षा मन्त्रालयको पछिल्लो गुप्तचर आकलनले जनाएको छ।
"युक्रेनमा कमजोर हुँदै गएको रुसी आक्रमणलाई खाद्य सामग्रीको समस्याले घेरिरहेको छ," प्रतिवेदनमा उल्लेख गरिएको छ।
सैनिकहरूले उनीहरूको सीमित गतिशीलता र हवाई लडाकु विमानहरूको अभावका कारण "खाना र इन्धनजस्ता आधारभूत आवश्यक वस्तु" अन्य सेनाहरूलाई प्रभावकारी ढङ्गमा पुनः आपूर्ति गर्न सकेका छैनन्।
"युक्रेनको निरन्तर प्रत्याक्रमणहरूले रुसलाई आफ्नो आपूर्ति लाइनको रक्षा गर्न ठूलो सङ्ख्यामा सेना फिर्ता लग्न बाध्य तुल्याएको छ। यसले रुसको आक्रमण क्षमतालाई निकै सीमित गरिरहेको छ।"
प्रतिवेदनले बिहीवार अमेरिकाले गरेको आकलनलाई प्रतिविम्बित गर्छ जसमा रुसको सेना "देशभित्र नै अल्झिएका छन्" भनिएको थियो।
युक्रेनमा रुसी फौजको अपहरणमा परेका मेयरको बयान
तस्बिर स्रोत, Reuters
युक्रेनी शहर मेलिटोपोलका
मेयरले बीबीसीलाई बताएअनुसार रुसी फौजले अपहरण गरेपछि उनलाई एउटा गोप्य स्थानमा
रहेको सानो र बन्द कोठाभित्र राखेका थिए।
गत शुक्रवार रुसी सैनिकहरूले
उनलाई अपहरण गरेका थिए।
इभान फेडोरोभका अनुसार
दशजना रुसी सैनिकले हरक्षण उनलाई सुरक्षा दिइरहेका थिए।
नियन्त्रणमा आफूलाई
कुनै हानि चाहिँ नपुर्याइएको उनले बताएका छन्।
गत बुधवार युक्रेनी
सेनाको एउटा कारबाहीपछि उनी मुक्त भएका हुन्।
युक्रेनमा बिहीवार चार हजार व्यक्तिको उद्धार
तस्बिर स्रोत, Reuters
युक्रेनका
अधिकारीहरूले देशका विभिन्न शहरमा मानव निकासमार्गमार्फत् बिहीवार करिब चार हजार
नागरिकलाई उद्धार गरिएको बताएका छन्।
सहमति भएका नौ
वटामध्ये आठवटा निकासमार्गमा योजनाअनुसार काम भइरहेको अधिकारीहरूले उल्लेख गरेका
छन्।
तीमध्ये घेराबन्दीमा
परेको मारिओपोलको पनि एउटा रहेको छ।
रुसी फौजहरूले
खार्किभको दक्षिण-पश्चिममा रहेको मारिफास्थित एउटा विद्यालय तथा सांस्कृतिक केन्द्रमाथि आक्रमण
गर्दा २० जना मारिएको विवरणमा जनाइएको छ।
चीनले रुसलाई सैन्य उपकरण आपूर्ति गर्नसक्छः ह्वाइट हाउस
तस्बिर स्रोत, Reuters
चीनले रुसलाई सैन्य
उपकरण आपूर्ति गर्नसक्ने र युक्रेनविरुद्ध त्यसको प्रयोग हुनसक्ने विषयमा अमेरिकाको
ठूलो चिन्ता रहेको ह्वाइट हाउसले जनाएको छ।
वाशिङ्गटनमा एउटा
पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनमाथि रुसी अतिक्रमणको
निन्दा गर्न अस्वीकार गरेको चीनको मुहारमा उसले चाहिरहेका सबै कुरा देखिएको टिप्पणी
गरिन्।
अमेरिकी राष्ट्रपति जो
बाइडनले शुक्रवार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग टेलिफोन वार्ता गर्दैछन्।
संयुक्त राष्ट्रसङ्घका
लागि चिनियाँ राजदूतले वार्ताहरूमार्फत् शान्ति बहाली गर्नुपर्ने पक्षमा बेइजिङ
रहेको बताएका छन्।
युक्रेनमा लडाइँ रोक्न पुटिनले अघि सारे यी माग
तस्बिर स्रोत, Reuters
युक्रेनमा जारी लडाइँ
अन्त्य गराउने उद्देश्यका साथ रुसले अघि सारेका मागहरू टर्कीले सार्वजनिक गरेको छ।
बिहीवार एउटा टेलिफोन वार्ताका
क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना टर्किश समकक्षी रेजेप तय्यीप एर्दोआनलाई
शान्ति सम्झौताका निम्ति रुसका ठोस मागहरू बताएका हुन्।
युक्रेन तटस्थ
बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठनको सदस्यता लिन नहुने रुसी माग रहेको
छ।
त्यसैगरी युक्रेनले पूर्वी
भूभागहरू छोड्नुपर्ने तथा सन् २०१४ मा मस्कोले आफूमा गाभेको क्राइमियालाई युक्रेनले
रुसकै हिस्साको रूपमा मान्यता दिनुपर्ने माग पनि पुटिनले अघि सारेका छन्।
विश्व स्वास्थ्य
सङ्गठनले युक्रेनमा स्वास्थ्य संस्थाहरूमाथि ४३ वटा आक्रमण गरिएको आफूले पुष्टि
गरेको जनाएको छ।
ती आक्रमणमा परी ज्यान
गुमाउने र घाइते हुनेमा स्वास्थ्यकर्मीहरू पनि रहेको उसले उल्लेख गरेको छ।
स्वास्थ्य
संस्थाहरूमाथि गरिएका हमलाहरूबाट अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन भएको डब्ल्यूएचओका
महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले सुरक्षा परिषद्समक्ष भने।
अत्यावश्यकीय आपूर्तिहरू
पुर्याउन राष्ट्रसङ्घीय टोलीहरू विफल भइरहेको पनि उनले बताए।
राष्ट्रसङ्घका
अधिकारीहरूका अनुसार रुसले युक्रेनमाथि आक्रमण शुरू गरेयता अहिलेसम्म १,९०० जना मारिएको पुष्टि भएको छ।
मृतकमध्ये ५२ जना
बालबालिका भएको अधिकारीहरूले बताएका छन्।
लाइज पेजमा स्वागत छ
शुभप्रभात
रुसले युक्रेनमाथि आक्रमण गरेयता हामी महत्त्वपूर्ण घटनाक्रमबारे अद्यावधिक गर्दै आएका छौँ।
आज दिनभरि पनि हामीले मुख्यमुख्य घटनाक्रमबारे समाचार सामग्री पस्कनेछौँ।