तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
किएभमा कर्फ्यु घोषणा, मेयर भन्छन्, 'परिस्थिति खतरनाक'
रुसले युक्रेनका धेरै सहरहरूमा बमबारी जारी राखेको छ भने राजधानी किएभको आवासीय क्षेत्रमा पनि आक्रमणहरू भएका छन्।
लाइभ कभरेज
यूकेद्वारा थप प्रतिबन्धको घोषणा
संयुक्त अधिराज्यले थप ३७० रुसी नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको छ। त्यसबाट उनीहरूको सम्पत्ति रोक्का हुने र यात्रामा प्रतिबन्ध लाग्नेछ।
यी हुन् सूचीमा रहेका व्यक्ति:
- दिमित्रि मेदभेदेभ:रुसी राष्ट्रपति (सन् २००८-२०१२), प्रधानमन्त्री (२०१२-२०२०) र हाल रुसी सुरक्षा परिषद्का अध्यक्ष
- दिमित्रि पेस्कोभ: पुटिनका प्रवक्ता
- सर्गेइ सोइगु: रुसी रक्षामन्त्री
- मारिया जाखारोभा: रुसी विदेशमन्त्रालयकी प्रवक्ता
यसअघि संयुक्त अधिराज्यले व्यापार प्रतिबन्धहरू लगाएको थियो जसमा भोड्कामा थप ३५ प्रतिशत कर लगाइएको थियो।
किएभमा ३५ घण्टाका लागि कर्फ्युको घोषणा
रुसले युक्रेनमाथि आक्रमण थालेको २० औँ दिनमा राजधानी किएभका मेयर भिटाली क्लित्स्कोले आज रातिबाट बिहीबार बिहानसम्म ३५ घण्टाका लागि कर्फ्यु लगाइने बताएका छन्।
उनले अहिले किएभले खतरनाक र कठिन क्षणको सामना गरिरहेको पनि बताएका छन्।
उनले मङ्गलवार बिहान आवासीय भवनहरूमा रुसी हवाई हमला हुँदा चारजनाको ज्यान गएको बताए।
मानिसहरूलाई कर्फ्युका बेला घरमै बस्न वा बमबारीबाट जोगिनका लागि बनाइएका आश्रयस्थलमा बस्न उनले आह्वान गरेका छन्।
रुसी सैनिकलाई आत्मसमर्पण गर्न जेलेन्स्कीको आह्वान
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सैनिकहरूलाई आत्मसमर्पण गर्न आह्वान गरेका छन्।
सोमवार राति टीभीमा गरेको एउटा सम्बोधनमा उनले रुसी सैनिकहरूले चेचन्या द्वन्द्वमा भन्दा युक्रेनमा ठूलो क्षति बेहोर्नुपरेको दाबी गरे।
उनका अनुसार त्यसबाट रुसी सैनिकहरूले युद्धबाट केही उपलब्धि नहुने बुझिसकेका थिए।
"मलाई थाहा छ तपाईँहरू बाँच्न चाहनुहुन्छ," उनले भने। आत्मसमर्पण गरे उनीहरूसँग मानवका रूपमा भद्र व्यवहार गरिने उनको भनाइ थियो।
केही दिनअघि जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका थिए।
एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको दाबी गरेका थिए। तर बीबीसीले त्यस्तो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताएका थिए।
"उनीहरूले [अनुमानित] १२,००० जना गुमाउँदा मलाई प्रसन्नता छैन, यसले मलाई खुसी बनाउँदैन... संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन," उनले भनेका थिए।
दुई देशबीच वार्तालाई निरन्तरता दिइने अपेक्षा छ। जेलेन्स्कीका अनुसार अहिलेसम्म वार्तामा राम्रो प्रगति भएको छ।
खेअर्सन कब्जामा लिइएको रुसी दाबी
रुसको रक्षा मन्त्रालयका एक प्रवक्ताले युक्रेनको दक्षिणी खेअर्सन क्षेत्र रुसी सेनाको पूर्ण नियन्त्रणमा आएको दाबी गरेका छन्।
तर बीबीसीले इगोर कोनाशेन्कोभको उक्त दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।
इन्टर्फ्याक्स-एभीएन समाचारसंस्थाले उनलाई उद्धृत गर्दै रुसले खेअर्सन आफ्नो कब्जामा लिएको समाचार प्रकाशित गरेको छ।
केही दिनअघि खेअर्सनवासीहरूले रुसी अतिक्रमणको विरोधमा प्रदर्शन गरेका थिए।
उनीहरूलाई चेतावनी दिन रुसी पक्षले हावामा गोली चलाएको देखिएको थियो।
हेर्नुहोस् यो भिडिओ
रुसी सेनाका चारवटा हेलिकप्टर र एउटा विमान खसालेको युक्रेनी दाबी
युक्रेनमाथि रुसले आक्रमण गरको बीसौँ दिनमा युक्रेनी सेनाले दैनिक बिहान दिने जानकारीमा यस्तो दाबी गरेको छ -
- युक्रेनी भूमिमा हात पारेको उपलब्धि व्यवस्थापन गर्न रुसी सैनिकहरू केन्द्रित भएका छन् र अगाडि बढ्न असफल भएका छन्
- रुसी सैनिकहरूले संवेदनशील संरचनाहरूमा क्षेप्यास्त्र र बम प्रहार गर्न जारी राखेका छन्
- रुसी सेनाले कब्जा गरेका भूभागहरू आफ्ना घाइते सैनिकलाई उपचार गर्न प्रयोग गरिरहेको छ
- युक्रेनी सेनाले रुसका चारवटा हेलिकप्टर, एउटा विमान र एउटा क्रूज मिसाइल खसालेको छ
- दक्षिणी तटीय सहर मरिऊपोललाई कब्जा गर्ने रुसी प्रयासलाई युक्रेनले निस्तेज पारिदिएको छ र ब्ल्याक सी क्षेत्रमा रुसद्वारा थप जलसेना पठाउने कुनै सङ्केत देखिएको छैन
- रुसी सैनिकहरूको नैतिक बल र मनोवैज्ञानिक अवस्था एकदमै कमजोर देखिएको छ र रुसी सैनिकहरूले नेतृत्व गर्न अस्वीकार गरिरहेका छन्।
तर बीबीसीले यी कुनै पनि दाबीलाई पुष्टि गर्न सफल भएको छैन।
आवासीय भवनमा हवाई आक्रमण हुँदा दुई जनाको मृत्यु
युक्रेनको आपत्कालीन सेवा प्रदान गर्ने निकायले किएभस्थित एउटा आवासीय भवनमा रुसले हवाई आक्रमण गर्दा दुई जनाको मृत्यु भएको जनाएको छ।
त्यहाँबाट ३५ जनाको उद्धार गरिएको थियो।
रुसले सोमवार राति रुसले गरेका आक्रमणहरूमा परेर क्षति पुगेका भवनहरूको सूची किएभ नगर प्रशासनले प्रकाशित गरेको छ।
घाइते सैनिकहरूलाई भेट्न युक्रेनी राष्ट्रपति अस्पतालमा
कहिले सकिएला युक्रेन-रुस युद्ध?
युक्रेन सरकारका एक सल्लाहकारले ढिलोमा मे महिनाको सुरुतिर युद्ध सकिने आफ्नो अपेक्षा रहेको बताएका छन्। त्यतिबेलासम्म रुससँग आक्रमणका लागि आवश्यक स्रोतसाधनको अभाव हुनेछ।
"मलाई लाग्छ मेभन्दा पछि हैन, मेको सुरुतिर नै एउटा शान्ति सम्झौता हुनुपर्छ," ओलेस्की आरेस्तोभिचले भने। उनी युक्रेनी राष्ट्रपतीय कार्यालय प्रमुखका सल्लाहकार हुन्।
उनले आगामी महिनाहरूमा हुनसक्ने दुईवटा परिदृश्यबारे पनि चर्चा गरे।
उनका अनुसार "सैनिक फिर्ती र सबै कुरासहित" एक-दुई साताभित्र नै शान्ति सम्झौता हुन सक्ने सम्भावना रहेको नत्र दोस्रो चरणका लागि अरूलाई, जस्तै सिरियालीलाई, संलग्न गराएर मध्य वा अप्रिल अन्तिमतिरसम्म एउटा सम्झौता गर्न प्रयास हुनेछ।
अमेरिकाले यसअघि रुसले युक्रेनमा लड्न सिरियालीहरूलाई भर्ती गरेको दाबी गरेको थियो। तर त्यस्तो दाबी पुष्टि हुन सकेको छैन।
गत साता रुसी र युक्रेनी विदेशमन्त्रीबीच टर्कीमा वार्ता भएको थियो।
आरेस्तोभिच रुस-युक्रेन वार्तामा संलग्न छैनन्।
किएभको मेट्रो स्टेशनमा क्षति
किएभको मेट्रो सञ्जालले ट्विटरमार्फत् मङ्गलवार बिहान भएको एउटा विस्फोटनका कारण लुकियानिभ्स्कास्थित रेल स्टेशनको अग्रभाग र कार्यालयहरूमा क्षति पुगेको जानकारी दिएको छ।
उक्त स्टेशन किएभको केन्द्रनजिकै छ।
क्षतिका कारण उक्त स्टेशन बन्द भएको छ।
अब्रामोभिचसँग सम्बन्धित विमान मस्को पुग्यो - रिपोर्ट
चेल्सी फुटबल क्लबका मालिक तथा रुसी धनाढ्य रोमन अब्रामोभिचसँग सम्बन्धित एउटा विमानले रुसको राजधानी मस्कोमा अवतरण गरेको विवरण समाचारसंस्था रोएटर्सले प्रकाशित गरेको छ।
उडानहरूको अवस्था अनुगमन गर्ने वेबसाइट FlightRadar24 ले दिएको जानकारी उक्त समाचारमा प्रयोग गरिएको छ।
उक्त वेबसाइटका अनुसार त्यो जेट इजरेलबाट उडेर टर्की हुँदै रुस पुगेको हो।
अब्रामोभिचसँग इजरेल र पोर्चुगलको पनि नागरिकता छ। रोएटर्सका अनुसार उनलाई सोमवार तेल अभिभस्थित बेन गुरिअन विमानस्थलमा देखिएको थियो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्बन्ध भएको भन्दै यूकेले उनीविरुद्ध प्रतिबन्ध लगाएको थियो। त्यसपछि ईयूले पनि उनीविरुद्ध प्रतिबन्ध घोषणा गर्यो।
अब्रामोभिचले पुटिनसँग आफ्नो सम्बन्ध नभएको दाबी गरेका छन्।
यो पनि पढ्नुहोस्
- यूकेले रोमन अब्रामोभिचमाथि लगाएको प्रतिबन्धले क्लबको विक्री अवरुद्ध
- चेल्सी बेचेर युक्रेनका युद्धपीडितलाई सहयोग गर्ने मालिकको घोषणा
रुसले युक्रेनमाथि आक्रमण गरेपछि देश छोडेर हिँडेका रुसी
किएभमा विस्फोटन, एउटा आवासीय भवनमा आगो
युक्रेनको राजधानी किएभमा मङ्गलवार बिहान सबेरै विस्फोटनहरूको आवाज सुनिएको विवरण त्यहाँस्थित पत्रकारहरूले दिएका छन्।
त्यसपछि किएभस्थित एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचारसंस्था युक्रिनफोर्मले जनाएको छ।
यसबारे थप जानकारी आइसकेको छैन।
केही समयअघि सहरको पश्चिमपट्टि बाहिरी भेगमा दुईवटा विस्फोटन भएको स्थानीय टेलिभिजन च्यानल युक्रेन२४ ले जनाएको छ।
रुसले प्रहार गरेका क्षेप्यास्त्रमा 'नौलो उपकरण'
अमेरिकी अधिकारीहरूका अनुसार युक्रेनमा रुसले प्रहार गरेका बलिस्टिक क्षेप्यास्त्रहरूमा पहिला थाहा नभएको छद्म साधन जडान गरिएको र त्यसका कारण क्षेप्यास्त्रलाई बीचमै रोक्न नसकिने भएको न्यूयोर्क टाइम्सले जनाएको छ।
नाम उल्लेख नगरिएका एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले छोटो दूरीको इस्कान्डर-एम बलिस्टिस्क क्षेप्यास्त्रमा जडित एक फुट लामो त्यस्तो साधनमा रेडिओ सङ्केत उत्पन्न गराउने विशेष उपकरण हुने गरेको र त्यसका कारण प्रहार गरिएको क्षेप्यास्त्र रेडारले पत्ता लगाउन नसक्ने विवरण प्रकाशित गरेको छ।
त्यसबाहेक आइरहेका क्षेप्यास्त्रलाई आफूतिर आकर्षित गर्न प्रत्येक साधनमा तापको एउटा स्रोत पनि हुन्छ। ती अमेरिकी अधिकारीहरूका अनुसार सन् १९७० को दशकदेखि नै पारमाणविक युद्धशीर्षमा भेदन प्रक्रियामा सहयोग गर्ने त्यस प्रकारको साधन प्रयोग हुँदै आएको छ।
सामाजिक सञ्जालमा अस्त्रविज्ञहरूले पहिचान गर्न नसकिएका त्यस्ता साधनका तस्बिरहरू प्रेषित गरेका छन्।
फेब्रुअरी २४ मा युक्रेनमा रुसले आक्रमण गरेपछि रुसी सेनाले ९०० वटा क्षेप्यास्त्र प्रहार गरिसकेको एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले सोमवार संवाददाताहरूलाई बताएका थिए।
चर्नोबल परमाणु केन्द्रमा विद्युत् आपूर्ति सुरु
संयुक्त राष्ट्रसङ्घको आणविक ऊर्जा निकाय आईएईएले चर्नोबल परमाणु केन्द्रमा विद्युत् आपूर्ति पुनः सुरु भएको जनाएको छ।
आईएईएका अनुसार नजिकै भएको युद्धका कारण प्रयोगयोग्य अवस्थामा नरहेका तारबार हटाएर उक्त परमाणु केन्द्रमा विद्युत् आपूर्ति सुनिश्चित गरिएको युक्रेनी निकायहरूले बताएका छन्।
युक्रेनका परमाणु केन्द्रहरूमा उत्पन्न भएको सुरक्षासम्बन्धी समस्याले विश्वव्यापी रूपमा चिन्ता र चासो बढाएको छ।
यो पनि पढ्नुहोस्
- युक्रेनस्थित परमाणु केन्द्रमा विकिरणको मात्रा बढ्यो
समाचारबीचमै युद्धको विरोध, कार्यक्रम अवरुद्ध
युक्रेनसँगको युद्धको विरोध जनाउने क्रममा रुसको प्रमुख टेलिभिजन च्यानल मध्येको च्यानल वानको साँझको समयको मुख्य समाचार कार्यक्रम अवरुद्ध भएको छ।
एक जना महिला समाचार वाचिकाको पछाडि प्लाकार्ड लिएर पुगेकी थिइन जसमा : युद्ध गर्न नहुने उल्लेख गर्दै प्रोपोगान्डाको विश्वास नगर्न आग्रह गरिएको थियो।
उक्त टेलिभिजन च्यानलले लगत्तै पहिले नै रेकर्ड गरिएको अर्को रिपोर्ट प्रसारण सुरु गरेको थियो।
एउटा स्वतन्त्र अनुगमन समूहका अनुसार ती महिला च्यानल वानकी सम्पादक मध्ये एक हुन्।उनी पक्राउ परेको बताइएको छ।
युक्रेनमा अघि बढ्ने रुसी प्रयास 'रोकिएको' दाबी
भीषण बमबारी भइरहेको भए पनि युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिन देखि रोकिएको पेन्टागनले जनाएको छ।
उसको पछिल्लो मूल्याङ्कन अनुसार युक्रेनी सहरहरूले बहादुरीपूर्वक आफ्नो रक्षा गर्न सफल भएका छन्।
अमेरिकी रक्षा मन्त्रालयले युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना हवाई हमलामा पनि त्यति धेरै अघि बढ्न नसकेको जनाएको छ।
दिनभरि गोलाबारी भएको राजधानी किएभमा रातको समयमा विस्फोटन भएका छन्। थप यो लिङ्कमा
किएभमा हिँड्दै गरेका मानिस अगाडि क्षेप्यास्त्र खस्यो
युक्रेनको राजधानी किएभमा पार्क छेउमा हिँड्दै गरेका एक जना मानिसको अगाडि क्षेप्यास्त्र प्रहार भएको भिडिओ अनलाइनहरूमा पोस्ट भएको छ।
रुसी फौजले धेरै युक्रेनी सहरहरूमा बमबारी जारी राखेको छ।
राजधानी किएभको आवासीय क्षेत्रमा सोमवार भएको बमबारीमा एक जनाको मृत्यु भएको थियो।
अनलाइनहरूमा देखिएको किएभको सडकमा भएको क्षेप्यास्त्र प्रहारको भिडिओको आधिकारिकता बीबीसीले पुष्टि गरेको छ।
एक सय ६० भन्दा बढी गाडीमा मारिओपोल छाड्दै सर्वसाधारण
रुसी सेनाको घेराबन्दी भएका सहरमा फसेका सर्वसाधारणहरूको सुरक्षित रूपमा उद्धार गर्ने कैयौँ असफल प्रयास पश्चात् रुसी सेनाको घेराबन्दीमा परेको युक्रेनी सहर मारिओपोलबाट ठूलो सङ्ख्यामा मानिसहरूलाई गाडीमा राखेर अन्यत्र लाने कार्य सुरु भएको छ।
एक सय ६० भन्दा बढी गाडीहरू उत्तर पश्चिम तर्फ जापोरिज्या जाने क्रममा छन्।
तर ती गाडीहरू रुसी सेनाको नियन्त्रणमा रहेका क्षेत्र अनि रात्रिकालीन कर्फ्युबाट प्रभावित भएको बताइएको छ।
मारिओपोलका उप मेयरले रुसी आक्रमणका कारण भाग्न तत्पर सर्वसाधारणले आफ्नै प्रयासमा उक्त सहर छोडेको बताएका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार मस्कोले अझै पनि मारिओपोलमा सहायताका लागि अनुमति दिएको छैन। तर रुसले भने त्यसको विपरीत दाबी पेस गरेको छ।
लाइभ पेजमा स्वागत छ
शुभप्रभात!
रुसले युक्रेनमाथि आक्रमण गरेयता महत्त्वपूर्ण घटनाक्रमबारे हामीले निरन्तर अद्यावधिक गर्दै आएका छौँ।
आज दिनभरि पनि हामी मुख्यमुख्य घटनाक्रमबारे समाचार सामग्री पस्किरहनेछौँ।
कृपया हामीसँगै रहनुहोला।