युक्रेन युद्ध: अघि बढ्ने रुसी प्रयास केही दिनदेखि 'रोकिएको' अमेरिकी रक्षा मन्त्रालयको दाबी

Published

भीषण बमबारी भइरहेको भए पनि युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिन देखि रोकिएको पेन्टागनले जनाएको छ।

उसको पछिल्लो मूल्याङ्कन अनुसार युक्रेनी सहरहरूले बहादुरीपूर्वक आफ्नो रक्षा गर्न सफल भएका छन्।

अमेरिकी रक्षा मन्त्रालयले युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना हवाई हमलामा पनि त्यति धेरै अघि बढ्न नसकेको जनाएको छ।

दिनभरि गोलाबारी भएको राजधानी किएभमा रातको समयमा विस्फोटन भएका छन्।

युक्रेनको उत्तर पश्चिम क्षेत्रमा एउटा टेलिभिजन च्यानलमा भएको हवाई हमला पश्चात् भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धार कार्यमा अधिकारीहरू खटिएका छन्।

फेब्रुअरी २४ तारिखमा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले हालसम्म कुनै पनि ठूलो युक्रेनी सहर नियन्त्रणमा लिन सकेको छैन।

चीनलाईअमेरिकी चेतावनी

यसैबीच युक्रेनमाथि आक्रमण गरेसँगै लगाइएका प्रतिबन्धबाट जोगिन रुसलाई मद्दत गरे त्यसको परिणाम चीनले भोग्नुपर्ने अमेरिकाले जनाएको छ।

चिनियाँ विदेशमन्त्रालयले भने अमेरिकामाथि मिथ्या सूचना फैलाएको आरोप लगाएको छ।

रुसले पनि चीनसँग सैन्य सहायता मागेको अस्वीकार गरेको छ।

वासिङ्टनस्थित अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले पछिल्ला दिनहरूमा रुसले चीनसँग ड्रोन सहितका सैन्य सामाग्री उपलब्ध गराउन आग्रह गरेको उल्लेख गरेका छन्।

सोमवार अमेरिकाले आफ्ना साझेदारहरूलाई रुसलाई सैन्य अनि आर्थिक सहायता उपलब्ध गराउन चीन खुला रहेको चेतावनी दिएको थियो।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चिनियाँ उच्च कूटनीतिक अधिकारी याङ्क जीअचसँग रोममा भेटवार्ता गरे लगत्तै यस्तो विवरण सार्वजनिक भएको हो।

उनले सात घण्टासम्म चलेको वार्ताका क्रममा अमेरिकी चासोहरूको उठान गरेको बताइएको छ।

बेइजिङमा एक पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले उक्त लडाइँमा चीनको भूमिकाबारे वासिङ्टनले 'गलत नियत राखेर' भ्रम फैलाइरहेको आरोप लगाए।

उनले चीनले शान्ति र संवादका लागि अनुरोध गर्दै रचनात्मक भूमिका खेलिरहेकोमा जोड दिएका छन्।

क्रेम्लिनका प्रवक्ता दिमित्रि पेस्कोभले पनि रुसले चीनसँग सैन्य सहयोग नमागेको भन्दै 'युक्रेनमा आफ्नो विशेष कारबाही जारी राख्ने स्वतन्त्र सामर्थ्य' रुससँग रहेको बताए।

उनले युक्रेनको कारबाहीसम्बन्धी रुसी योजनाले पूर्वनिर्धारित समयतालिकाभित्रै 'मूर्तरूप लिने' बताए।

राष्ट्रपति पुटिनले चाहे जसरी कारबाही अघि नबढिरहेको भन्ने अमेरिका र युरोपेली सङ्घका धारणालाई मस्कोले जानकारीमा लिएको पनि क्रेम्लिनले बताएको रोर्यटर्स समाचार संस्थाले जनाएको छ।