युक्रेन-रुस युद्धसम्बन्धी ताजा घटनाक्रम के छन्?
शुभप्रभात।
युक्रेन-रुस युद्धसम्बन्धी लाइभ पेजमा स्वागत छ। अन्य दिनजस्तै आज शनिवार पनि हामी दिनभरि यो पेजमा युक्रेन-रुस युद्धसम्बन्धी घटनाक्रमहरू राख्नेछौँ।
हिजोसम्मका घटनाक्रमका लागि यो पेजमा जानुहोस्।
हिजो रातिदेखि अहिलेसम्मका प्रमुख घटनाक्रम यसप्रकार छन्:
- नेटोले ‘नो-फ्लाई जोन’ स्थापनाका लागि अस्वीकार गरेपछि युक्रेन राष्ट्रपतिले उक्त सैन्य सङ्गठनका नेताहरूको आलोचना गरेका छन्।
- रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ। केही विवरणहरूका अनुसार त्यहाँ ट्विटर र यूट्यूबको पहुँचमा पनि रोक लगाइएको छ।
- अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन बैठकमा, युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा भएको रुसी आक्रमणलाई लापरबाहीपूर्णको संज्ञा दिएको छ।
- "ईश्वरको कृपाले, हिजो राति सम्भावित एक पारमाणविक प्रकोपबाट संसार बच्यो," संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले भनिन्।
- परमाणु ऊर्जा केन्द्रका केही भवनहरू आगो लागेपछि रुसी सेनाले केन्द्रलाई कब्जामा लिएको थियो। जसका कारण केहीको मृत्यु र केही घाइते भएको युक्रेनको दाबी छ।
- तर रुसले त्यहाँ कुनै सुरक्षा खतरा नभएको र केन्द्रमा गोली प्रहार गरेको कुरा "असत्य" भएको बताउँदै आएको छ।
- अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूका अनुसार केन्द्रमा कुनै रेडियोधर्मी पदार्थ नरहेको र सुरक्षित रहेको बताएका छन्।
- पश्चिमा अधिकारीहरूका अनुसार रुसका तीन कमान्डरहरू अग्रपङ्क्तिमा गएपछि मारिएका छन्।