रुसले अस्थायी युद्धविराम पालना नगर्दा सर्वसाधारणले सहर छोड्न नपाएको युक्रेनको आरोप

युक्रेनका दुई सहरबाट नागरिकलाई सुरक्षित बाहिरिन दिन सहमति गरिएको युद्धविराम रुसले पालना नगरेको किएभको आरोप छ भने रुसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले नागरिकलाई सहर छोड्न नदिएको दाबी गरेको छ।

लाइभ कभरेज

  1. अमेरिका र पोल्यान्डले युक्रेनमा सोभियतकालीन विमानहरू पठाउने तयारी

    अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी अधिकारीहरूले पोल्यान्डसँगएउटा सहमति गर्न चाहिरहेको छ जस अनुसार अमेरिकाले पोल्यान्डलाई एफ-१६ जेट लडाकु विमानहरू दिनेछ जसको सट्टामा पोल्यान्डले युक्रेनलाई सोभियतकालीन विमान उपलब्ध गराउने सम्झौताको तयारी गरेको छ।

    भोलोदिमिर जेलेन्स्की र तीन सयभन्दा बढी अमेरिकी सांसदहरू बीचको बैठकपछि अमेरिकाले युक्रेनलाई रुसविरुद्ध सहयोग गर्ने कदम उठाएको हो। बैठकमा युक्रेनका राष्ट्रपतिले आफ्नो देशलाई थप विमानहरू अत्यावश्यक रहेको बताएका थिए।

    "हामी यस विषयमा पोल्यान्डसँग छलफल गरिरहेका छौँ र हाम्रा नेटोका सहयोगीहरूसँग पनि परामर्श लिइरहेका छौँ," ह्वाइट हाउसका एक अधिकारीले अमेरिकी सञ्चारमाध्यमसँग भने। युक्रेनलाई विमानहरू हस्तान्तरण गरेको खण्डमा अमेरिकाले पोल्यान्डलाई के प्रदान गर्न सक्छ भन्नेले यसबारेको निर्णय निर्धारण गर्छ।

    युक्रेनका पाइलटहरू रुसी-निर्मित विमान प्रणालीहरू उडान गर्न विशेष तालिम प्राप्त भएकाले त्यस्तै विमान आवश्यक रहेको बताइएको छ।

    राष्ट्रपति जो बाइडनले शनिवार साँझ जेलेन्स्कीसँग कुरा गरेको र अमेरिकाले युक्रेनलाई सुरक्षा, मानवीय र आर्थिक सहायता "बढाउँदै" र थप कोष सुरक्षित गर्न काङ्ग्रेससँग सहकार्य गरिरहेको ह्वाइट हाउसले बताएको छ।

  2. युक्रेन रुस तनाव

    शुभप्रभात।

    युक्रेन-रुस युद्धसम्बन्धी लाइभ पेजमा स्वागत छ। अन्य दिनजस्तै आज आइतवार पनि हामी दिनभरि यो पेजमा युक्रेन-रुस युद्धसम्बन्धी घटनाक्रमहरू राख्नेछौँ।

  3. युक्रेन युद्धको विरोधमा इङ्गल्यान्डदेखि थाईल्यान्डसम्म प्रदर्शन

    विश्वभर विभिन्न सहरमा युक्रेन युद्धको विरोधमा हजारौँले प्रदर्शन गरेका छन्।

    तलका तस्बिरहरू थाईल्यान्ड, इङ्गल्यान्ड, क्रोयसिया र स्वीट्जरल्यान्डमा भएका प्रदर्शनका हुन्।

    युद्धको विरोधमा प्रदर्शन

    तस्बिर स्रोत, EPA

    युद्धको विरोधमा प्रदर्शन

    तस्बिर स्रोत, Reuters

    युद्धको विरोधमा प्रदर्शन

    तस्बिर स्रोत, EPA

    युद्धको विरोधमा प्रदर्शन

    तस्बिर स्रोत, EPA

    युक्रेन युद्धको लाइभ पेज आज शनिवारको लागि बन्द भएको छ।

    भोलि आइतवार युक्रेनमाथि रुसले आक्रमण गरेपछि विकसित प्रमुख घटनाक्रमको विवरणसहित लाइभ पेज प्रकाशन गर्नेछौँ।

  4. रुसमा सैन्य कानुन लागु गर्ने योजना छैन: पुटिन

    युक्रेन

    तस्बिर स्रोत, Getty Images

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा सैन्य कानुन लागु गर्ने कुनै योजना नरहेको बताएका छन्।

    राष्ट्रिय टेलिभिजनमा देखाइएको एरोफ्लट विमान सेवाका कर्मचारीहरूसँग भेटघाटमा पुटिनले आफ्ना कदमहरू ‘सैन्य कारबाही लक्षित क्षेत्रमा बाह्य उक्साहटका घटनाका आधारमा’ मात्र चालिने बताए।

    “तर हामीसँग त्यस्तो अवस्था छैन र त्यस्तो अवस्था आउने समेत छैन,” उनले भने।

    यसअघि पुटिनले सैन्य कानुन लागु गर्न लागेको भन्ने चर्चाहरू सुरु भएका थिए।

    त्यस्तो अवस्थामा सामान्य नागरिक कानुनहरू निलम्बित हुन्छन् वा सरकारी कामकारबाहीमा सैनिकहरू संलग्न हुन्छन्।

    उनले ‘ठूलो आकारको बाह्य त्रास’ भएमा प्रयोग गर्न सकिने अन्य आपत्कालीन उपायहरू रहेको बताए।

    तर तिनको समेत प्रयोग गर्ने कुनै योजना नभएको बताए।

    र उनले युक्रेनमाथि 'नो फ्लाई जोन' लागु गर्ने जुनसुकै देश युक्रेन युद्धमा सहभागी भएको रूपमा हेरिने समेत बताए।

  5. रुसको विमानसेवाको बेलारुसबाहेक सबै अन्तर्राष्ट्रिय उडान रद्द

    युक्रेन

    तस्बिर स्रोत, Reuters

    रुसको राष्ट्रिय विमान कम्पनी एरोफ्लटले मार्च ८ देखि लगभग सबै अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ।

    आफ्नो सेवा अवरुद्ध गर्नुलाई उसले ‘थप परिस्थितिहरू’ कारण रहेको जनाएको छ।

    उक्त विमान सेवाका अनुसार आन्तरिक र छिमेकी देश बेलारुससँगका उडानहरूमा भने त्यसको कुनै असर पर्ने छैन।

    युरोपेली सङ्घ, यूके, अमेरिका र क्यानडाले आफ्ना आकाशमा रुसी विमानहरू उड्न प्रतिबन्ध लगाउँदा त्यसले उपलब्ध अन्य गन्तव्य र हवाई मार्गमा असर देखा परेको छ।

    रुसले समेत उड्डयन क्षेत्रमा त्यस्तो जवाफी प्रतिबन्ध लगाएको छ।

    अन्तर्राष्ट्रिय प्रतिबन्धहरू रुसको उड्डयन क्षेत्रमाथि समेत लक्षित छन्। जसले गर्दा एरोफ्लट र अन्य रुसी विमान कम्पनीहरूलाई सामान्य रूपमा सेवा दिन कठिन भएको छ।

  6. युक्रेनी ‘राष्ट्रवादी’ले सर्वसाधारणलाई सहर छोड्न दिएनन्: रुस

    युक्रेन

    तस्बिर स्रोत, Getty Images

    अस्थायी युद्धविराम भनिए पनि शनिवार मारिओपोमा रुसको आक्रमण जारी रहँदा सर्वसाधारण सुरक्षित स्थानतर्फ जान नपाएको युक्रेनी अधिकारीले बीबीसीलाई बताएका थिए।

    तर रुसको रक्षा मन्त्रालयले उक्त घटनाको फरक विवरण प्रस्तुत गरेको छ।

    रुसको रिआ समाचार संस्थाले जनाए अनुसार मन्त्रालयले भनेको छ: "युक्रेनी ‘राष्ट्रवादीहरू’ले नागरिकलाई सहर छोड्न दिएनन्।"

    युक्रेनी फौजलाई रुसले 'राष्ट्रवादी' भन्ने गर्छ।

    रुसी रक्षा मन्त्रालयले सर्वसाधारणका लागि मानवीय सहयोगद्वार बनाएपछि रुसी सेनामाथि हमला गरिएको पनि दाबी गरेको छ।

  7. पश्चिमा विश्वमाथि रुसले लगायो ‘आर्थिक डकैती’को आरोप

    युक्रेन

    तस्बिर स्रोत, Reuters

    कयौँ पश्चिमा कम्पनीहरू रुसबाट फर्कने वा त्यहाँ काम रोक्ने निर्णय लिइरहँदा रुस सरकारले पश्चिमा विश्वलाई ‘आर्थिक डकैती’मा संलग्न भएको आरोप लगाएको छ।

    मस्कोले त्यस्ता कदमविरुद्ध जवाफ दिने क्रेमलिनले जनाएको छ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले त्यो जवाफ कस्तो हुनेछ भन्ने खुलाएनन्।

    तर त्यो रुसी स्वार्थको पक्षमा हुने उनले बताए।

    यूके, युरोपेली सङ्घ र अमेरिकी सरकारबाट रुसी संस्था एवं राष्ट्रपति पुटिननिकट ठानिने अरबपतिहरूमाथि व्यापक प्रतिबन्ध लगाइएपछि मस्कोको यस्तो भनाइ आएको हो।

    पेस्कोभले बाँकी विश्वबाट एक्लिन रुस निकै ठूलो भएको समेत बताए।

    उनले विश्व ‘अमेरिका र युरोपभन्दा निकै ठूलो भएको’ बताए।

    पेस्कोभले रुसले युक्रेनमा युद्धको रिपोर्टिङमा प्रतिबन्ध लगाउने कठोर कानुनलाई स्वीकृत गर्ने कदमको समेत बचाउ गरेका छन्।

    उनले भने, “त्यस्तो कानुन तत्काल आवश्यक थियो किनभने हाम्रो देशविरुद्ध अभियानका रूपमा मात्र नभएर अभूतपूर्व सूचना युद्ध छेडिएको छ।”

  8. ब्रेकिंग, 'मारिओपोलबाट सर्वसाधारणलाई बाहिर लैजाने काम रोकियो'

    सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने काम स्थगित गरिएको स्थानीय अधिकारीले जनाएका छन्।

    रुसी पक्षले अस्थायी युद्धविरामलाई लागु नगरेको भन्दै सो कार्य स्थगित गरिएको युक्रेनी अधिकारीको भनाइ छ।

    उनीहरूले नागरिकहरू फरकफरक ठाउँमा गएर आश्रय लिनुपर्ने भन्दै छिट्टै थप जानकारी दिइने समेत जनाएका छन्।

    केहीबेरअघि बीबीसीसँग उक्त सहरका उपप्रमुखले मारिओपोलमा अझै बमबारी भइरहेको र निकाशमार्ग सकिने स्थानमा लडाइँ भइरहेको बताएका छन्।

    त्यसअघि उक्त शहरका एक बासिन्दाले आफूले प्रत्येक तीनदेखि पाँच मिनेटमा एउटा बम पड्किएको आवाज सुनेको बताएका थिए।

    यसअघि दुई देशले मानवीय सहायता द्वारमा अस्थायी युद्धविराम गर्ने सहमति गरेका थिए।

  9. के चीनले युक्रेन युद्ध रोक्न थप प्रयास गर्न सक्छ?

  10. शीतकालीन पारालिम्पिक्स पदक तालिकाको शीर्षस्थानमा युक्रेन

    युक्रेन

    तस्बिर स्रोत, Getty Images

    युद्धबाट एकै छिन ध्यान मोडौँ।

    बेइजिङमा जारी शीतकालीन पारालिम्पिक्सको पहिलो दिन युक्रेन पदकतालिकाको शीर्ष स्थानमा रहेको छ।

    उसले तीन स्वर्णसहित सात पदक प्राप्त गरेको छ।

    रुसी हमलाकाबीच २० खेलाडीसहित युक्रेनी टोली चीन गएको थियो।

    रुस र बेलारुसका खेलाडीहरूलाई उक्त प्रतिस्पर्धामा सहभागी हुन प्रतिबन्ध लगाइएको छ।

  11. लड्नका लागि ६६,००० भन्दा धेरै युक्रेनी स्वदेश फर्किए: रक्षामन्त्री

    युक्रेन

    रुसी हमलापछि धेरैजसो चर्चा युक्रेनको सेना रुसको भन्दा तुलनात्मक रूपमा थोरै भएकामा केन्द्रित देखिन्छ।

    र अझै रुसी फौजले दबाबमा पारिरहँदा आफ्नो देशका लागि लड्न भनेर ६६,२२४ जना युक्रेनीहरू स्वदेश फर्केको युक्रेनका रक्षामन्त्रीले दाबी गरेका छन्।

    विदेशबाट फर्कने निर्णय गर्नेमध्ये एक ५६ वर्षीय फुटबल प्रशिक्षक समेत छन्।

    युरी भर्निडबले मल्डोभाको एउटा क्लबलाई गत वर्षको च्याम्पिअन्स लीगमा रिअल मड्रिडविरुद्ध अचम्मलाग्दो जित दिलाएका थिए।

    उनले आफ्ना छोराले रुसले हमला गरेको बताएकै बेला स्वदेश फर्कने निर्णय लिएको बताए।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  12. कारको क्यामेरामा कैद रुसी आक्रमणको दृश्य

  13. मारिओपोलका नगरप्रमुख: हामीसँग मानिसहरूलाई निस्कन दिनुको विकल्प थिएन

    मारिओपोलका नगरप्रमुख भादिम बाइच्यानकोले आफ्नो सहरबाट एउटा मानवीय सहायता द्वार खोलेको घोषणापछि एउटा भावुक वक्तव्य जारी गरेका छन्।

    “मारिओपोल सडक र घरहरू होइन,” उनले भनेका छन्। “यो त यहाँका बासिन्दा हुन्।”

    उनले थप भनेका छन्, “हस्तक्षेपकर्ताहरूको निरन्तरको, क्रूर गोलाबारीबीच आफ्ना बासिन्दालाई सुरक्षित निस्कने अवसर दिनुभन्दा अर्को उपाय देखिएन।”

    युक्रेन

    तस्बिर स्रोत, Getty Images

  14. पहिले र अहिले: १४ तस्बिरमा रुसी आक्रमणले गरेको विनाश

    रुसी आक्रमण

    रुसी क्षेप्यास्त्र आक्रमणले युक्रेनका सहरहरू ध्वस्त पारेको छ।

    आक्रमणअघि र आक्रमणपछिका तस्बिरहरूले गत हप्ता रुसले गरेको आक्रमणपछि आवासीय क्षेत्रहरूमा भएको विनाश देखाउँछ।

    हेर्नुहोस् सात स्थानको पहिले र अहिलेका तस्बिरहरूको तुलना:

  15. युक्रेनमा रुसी आक्रमणको दशौँ दिन: प्रमुख घटनाहरू

    रुसले युक्रेनमा आक्रमण गरेको दश दिन भएको छ।

    युक्रेनी शरणार्थी पोल्यान्डसँगको सीमामा जम्मा हुने क्रम जारी छ।

    आक्रमण सुरु भएदेखि हालसम्म भएका मुख्य घटनाक्रमहरू यस्ता छन्:

    • हताहतमा परेका आम मानिसको सङ्ख्या कति पुग्यो अझै स्पष्ट छैन। तर संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायका अनुसार २४ फेब्रुअरीयता १० लाखभन्दा बढी मानिसहरू युक्रेनबाट पलायन भएका छन् र लाखौँ मानिसहरू अन्यत्र जाने क्रम जारी छ।
    • आक्रमणका कारण ध्वस्त हुने पहिलो प्रमुख युक्रेनी सहर खेअर्सन थियो।
    • रुसी क्षेप्यास्त्रहरूले राजधानी किएभ र दोस्रो ठूलो सहर खार्किभलाई पनि निसाना बनाएका छन्। सडकबाट किएभतर्फ लागेको विशाल रुसी फौज हाल रोकिएको छ।
    • मारिओपोको दक्षिणी बन्दरगाह अझै पनि रुसी घेराबन्दीमा छ र रुसी सेनाहरू अर्को बन्दरगाह ओडेसातर्फ पनि बढेका छन्। दुवै बन्दरगाहलाई कब्जा गर्दा युक्रेनको सामुद्रिक पहुँच बन्द हुन्छ।
    • रुसी सेनाले शुक्रवार घण्टौँसम्म आक्रमण गरेपछि युरोपको सबैभन्दा ठूलो जापोरिज्जिया पारमाणविक ऊर्जा केन्द्रलाई पनि कब्जामा लिएको छ। यस कदमलाई विश्वका नेताहरूले आलोचना गरेका छन् र उनीहरूले यसले ठूलो विनाश निम्त्याउन सक्ने आकलन गरेका छन्।
    • सन् १९८६ मा दुर्घटना भएयता निष्क्रिय चेर्नोबल ऊर्जा केन्द्र पनि रुसी नियन्त्रणमा छ।
    • युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा ‘नो-फ्लाई जोन’ लागू गर्ने प्रस्ताव निरन्तर अस्वीकार गरेकोमा पश्चिमा राष्ट्रहरूको आलोचना गरेका छन्। उनले भने,"मर्ने सबै मानिसहरू त्यहीँ कारणले मर्ने छन्।“
    • अमेरिका र युरोपेली सङ्घले रुसको केन्द्रीय ब्याङ्क साथै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको भित्री समूह लक्षित गर्दै सम्पत्ति रोक्का गर्ने व्यापक प्रतिबन्धहरू लगाएका छन्। प्रतिबन्धको बीचमा रुबलको भाउ घटेको छ जसले व्यापार, लगानी र मानिसको यात्रालाई पनि असर गरेको छ।
    • रुसले युक्रेनमा युद्धको रिपोर्टिङमा प्रतिबन्ध लगाउने कठोर कानुनलाई स्वीकृत गरेपछि बीबीसीलगायत स्वतन्त्र सञ्चारमाध्यमहरूले रुसमा पत्रकारिता स्थगित गरेका छन्।
    • सामसङ, एअरबीएनबी र कार्टियरजस्ता कम्पनीहरूले रुसमा गर्ने निर्यात स्थगित गरेका छन्।
  16. ब्रेकिंग, दुई युक्रेनी सहरमा मानवीय सहयोग द्वार खोलेको रुसको भनाइ

    युक्रेन

    तस्बिर स्रोत, Reuters/Ukrainian military handout

    रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपोल र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १० बजेबाट मानवीय सहयोग मार्ग खुल्ने जनाएको छ।

    त्यहाँबाट आमनागरिकलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरिएको रुसी रक्षा मन्त्रालयलाई जनाउँदै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्।

    यद्यपि बीबीसीले अहिलेसम्म युक्रेनी पक्षबाट त्यसको पुष्टि गरिएको थाहा पाएको छैन।

    यसअघि मारिओपोका नगरप्रमुखले जारी नाकाबन्दीबीच रुसी फौजबाट ‘क्रूर हमलाहरू’ भइरहेको भन्दै मानवीय मार्ग माग गरेका थिए।

    झन्डै चार लाख ५० हजार जनसङ्ख्या भएको मारिओपोमा युक्रेनको मुख्य व्यापार बन्दरगाह छ।

    रुस-क्राइमिया सडक मार्गमा पर्ने त्यो मुख्य युक्रेनी सहर हो।

    भोल्नोभाखा भने कमै परिचित सानो सहर हो।

    यो मारिओपोलको उत्तरतर्फ पर्छ जहाँ हमला सुरु भएदेखि ठूला मुडभेड भइरहेको छ।

    युक्रेन

    तस्बिर स्रोत, @AyBurlachenko/Reuters

  17. १२ लाखले युक्रेन छोडे: राष्ट्रसङ्घ

    रुसी आक्रमणका कारण करिब १२ लाख मानिस युक्रेन छोडेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी उच्च निकायको तथ्याङ्क छ। पलायन हुनेको आधाभन्दा बढी सङ्ख्या छिमेकी मुलुक पोल्यान्डमा पुगेको छ।

    बिहीवार, ३ मार्चसम्म उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार करिब ६५०,००० मानिस पोल्यान्ड पुगेका हुन्। त्यस्तै १५०,००० हङ्गेरी र बाँकी अन्य युरोपेली राष्ट्रहरूमा पुगेका छन्।। छिमेकी मल्डोभा, स्लोभाकिया र रुमेनियामा बाँकी ठूलो सङ्ख्यामा शरणार्थीहरू रहेका छन्।

    यूएनएचसीआरका अनुसार “बाँकी धेरै देश भित्र र बाहिर हिँडिरहेका छन्।"

    "उनीहरूलाई सुरक्षा र सहयोगको खाँचो छ। अवस्थाबारे थाहा हुँदै जाँदा, अनुमानित ४० लाख मानिसले युक्रेन छोड्न सक्छन्।"

    आक्रमण अघि युक्रेनको कुल जनसङ्ख्या करिब चार करोड ४० लाख थियो।

  18. सिङ्गापुरले लगायो रुसमाथि प्रतिबन्ध

    सिङ्गापुरले युक्रेनमा मस्कोको युद्धको विरोध गर्दै रुसविरुद्ध प्रतिबन्ध लगाउने बताएको छ।

    सिङ्गापुरले विगतमा यस्तो निर्णय विरलै गर्ने गरेको थियो।

    त्यहाँको एक प्रमुख वित्तीय केन्द्रले रुसी ब्याङ्कहरूमा निर्यात नियन्त्रण र वित्तीय प्रतिबन्ध लागु गर्नेछ।

    त्यस्तै क्रिप्टोकरेन्सी लेनदेनमा प्रतिबन्ध लगाउने छ र वित्तीय संस्थाहरूलाई रुसको केन्द्रीय ब्याङ्कलाई सहयोग पुर्‍याउन सक्ने सेवाहरू प्रदान गर्न रोक लगाउने छ।

    विदेशमन्त्री भिभियन बालाकृष्णनले यसअघि संसद्मा सिङ्गापुरले "रुसविरुद्ध उपयुक्त प्रतिबन्ध लगाउन र प्रतिबन्ध लगाउनका लागि अन्य धेरै समान विचारधारा भएका देशहरूसँग मिलेर काम गर्ने" योजना बनाएको बताएका थिए।

    प्रतिबन्धहरू लागु गर्ने क्षेत्रीय छिमेकीहरूमध्ये यो पहिलो मुलुक हो। यद्यपि दक्षिण पूर्व एशियाली राष्ट्र सङ्घका अन्य सदस्यहरूले रुसको कार्यको निन्दा गरेका छन्।

    विदेशमन्त्री भिभियन बालाकृष्णन

    तस्बिर स्रोत, Getty Images

  19. रुसमा कुन-कुन सञ्चारमाध्यमको सेवा ठप्प?

    बीबीसी, सीएनएन, ब्लुमबर्ग, सीबीएस न्यूज र एबीसी न्यूजले रुसमा आफ्नो सेवा निलम्बन गर्ने निर्णय गरेका छन्।

    राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको नयाँ कानुनले युक्रेनमा जारी युद्धको बारेमा "मिथ्या समाचार" फैलाएको अभियोगमा मानिसहरूलाई १५ वर्षसम्म जेल सजाय दिनेछ।

    कानुन लागु भएपछि रुसमा स्वतन्त्र रिपोर्टिङ बन्द गरिने सम्भावना छ। त्यहाँ समाचार संस्थाहरूलाई युक्रेनमा जारी द्वन्द्वलाई "युद्ध" भनेर उल्लेख गर्न अनुमति दिइएको छैन।

    सीबीएसका प्रवक्ताले प्रसारण नगर्ने जानकारी दिँदै भनेका छन्, "हामीले नयाँ मिडिया कानुनलाई मध्यनजर गर्दै हाम्रो समूहको परिस्थितिको निगरानी गरिरहेका छौँ।"

    एबीसीले पनि सेवा रोक्ने निर्णय नयाँ कानुनमा आधारित भएको बताउँदै भनेको छ, "स्थितिको मूल्याङ्कन गर्न र रुसमा हाम्रा समूहहरूको सुरक्षामा यसले कस्तो अर्थ राख्छ भनेर निर्धारण गर्न आवश्यक छ।“

    यसअघि शुक्रवार बीबीसी, सीएनएन र ब्लुमबर्गले रुसभित्रको सेवाहरू निलम्बन गरेको थियो।

    रुसको सञ्चार नियामक निकायले फेसबुक, ट्विटर, यूट्यूब र अन्य स्वतन्त्र स्थानीय सञ्चारमाध्यमहरूमा पहुँचमा पनि रोक लगाएको छ।

  20. सर्बियामा निस्कियो पुटिनको समर्थनमा र्‍याली

    सर्बियाको राजधानी बेलग्रेडमा हजारौँ मानिसले युक्रेनमा रुसी आक्रमणको समर्थनमा गर्दै प्रदर्शनमा भाग लिएका छन्।

    करिब ४,००० मानिस रुसी जार निकोलस द्वितीयको सालिकको अगाडि भेला भएर र्‍यालीमा सहभागी भए। त्यहाँ उनीहरूले रुस र सर्बियाको राष्ट्रिय गान बजाए र दुई देशबीच दाजुभाइको सम्बन्ध रहेको बताए।

    प्रदर्शनकारीहरूले रुसी झन्डा र राष्ट्रपति भ्लादिमिर पुटिनको तस्बिर बोकेर सहर हुँदै रुसी दूतावासतिर लागेका थिए।

    सर्बिया आफूलाई युरोपेली नेताहरूबाट टाढा नबनाई र युरोपियन युनियनमा समावेश हुने आफ्नो आकाङ्क्षालाई नछोडी मस्कोसँगको सम्बन्धलाई शान्त पार्ने प्रयास गर्दै छ। उसका लागि सन्तुलनको यस प्रयास कठिन छ।

    रुसको समर्थनमा जुलुस

    तस्बिर स्रोत, Reuters