तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

पुटिनद्वारा रुसी सेनालाई पूर्वी युक्रेनमा जान आदेश, रुसविरुद्ध पश्चिमा देशको प्रतिबन्ध

रुसले पूर्वी युक्रेनमा सेना परिचालन गर्ने घोषणा गरेपछि अमेरिका, यूके र अरू देशहरूले रुसविरुद्ध विभिन्न प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्।

लाइभ कभरेज

  1. युक्रेनले के भन्यो?, रुसले जस्तोसुकै टिप्पणी गरे पनि युक्रेनको अन्तर्राष्ट्रिय सीमा परिवर्तन हुँदैन: युक्रेनी राष्ट्रपति

    मङ्गलवार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसी कदमले आफ्नो देशको अखण्डता र सम्प्रभुताको उल्लङ्घन भएको बताएका छन्।

    रुसले जस्तो सुकै टिप्पणी गरे पनि युक्रेनको अन्तर्राष्ट्रिय सीमा परिवर्तन नहुने उनले बताए।

    रुसको कदमले शान्ति स्थापना गर्ने प्रयास र अन्तर्राष्ट्रिय वार्ताको विद्यमान प्रक्रियालाई ध्वस्त पारेको युक्रेनले जनाएको छ।

    जेलेन्स्कीले युक्रेनले शान्ति चाहेको र राजनीतिक तथा कूटनीतिक समाधानको समर्थन गर्ने बताए।

    ‘‘हामी डराएका छैनौँ,’’ आफ्नो राष्ट्र अन्तर्राष्ट्रिय साझेदारहरूबाट स्पष्ट अनि प्रभावकारी कदमहरूको पर्खाइमा रहेको बताउँदै उनले घोषणा गरे।

    युक्रेनले कसैलाई केही पनि नदिने जेलेन्स्कीले वाचा गरेका छन्।

  2. युक्रेन सङ्कट चुलियो

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने बताउँदै रुसी सेनालाई ती क्षेत्रमा शान्ति स्थापनाका लागि परिचालन हुन आदेश दिएपछि युक्रेन सङ्कट चुलिएको छ।

    स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्।

    रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बताइएको छ।

    उक्त कदमले युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित छन्।

    यस विषयमा आज दिनभरि हुने घटनाक्रम यो लाइभ पेजमा अपडेट गरिने छ।