नेपालको औषधि व्यवस्था विभागले भारतीय कोभ्याक्सीनलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ।
लाइभ कभरेज
धन्यवाद
आज नेपालमा कोभ्याक्सीनलाई अनुमति, प्रतिनिधिसभाको बैठकमा भएका सम्बोधन, महान्यायाधिवक्ता
अग्नि खरेलको राजीनामा तथा राष्ट्रपति विद्यादेवी भण्डारीको बाङ्ग्लादेशमा हुन
लागेको भ्रमणका एजेन्डासहितका घटनाक्रम चर्चामा रहे।
हामीले त्यसबारे
तथा विभिन्न अन्तर्राष्ट्रिय समाचार सङ्क्षिप्त रूपमा यहाँ प्रस्तुत गर्यौँ।
यसका साथै आजका
लागि हामी यो लाइभ पेज यहीँ समापन गर्दैछौँ। धन्यवाद।
राष्ट्रपतिको बाङ्ग्लादेश भ्रमणमा पारवहन मार्गबारे महत्त्वपूर्ण सहमति हुने
आगामी साता राष्ट्रपति विद्यादेवी भण्डारीको बाङ्ग्लादेश भ्रमणका बेला नेपाललाई उसले दिएको थप पारवहन
मार्गको औपचारिक घोषणा गरिने अधिकारीहरूले बताएका छन्।
बाङ्ग्लादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको जन्म शतवार्षिकी
समारोहका कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीलाई निम्तो गरिएको हो।
नेपालको औषधि व्यवस्था विभागले भारतीय कम्पनी भारत
बायोटेकले विकास गरेको कोभ्याक्सीन नामक कोभिडविरुद्धको खोपलाई आपत्कालीन
प्रयोगको अनुमति दिएको छ।
विभागका महानिर्देशक भरत भट्टराईका अनुसार यो सहित अब ३ वटा
खोपले त्यसरी आपत्कालीन अनुमति प्राप्त गरिसकेको छ।
“अक्सफर्ड आस्ट्राजेनेकाको सिरम इन्स्टिच्युटबाट उत्पादित कोभिशिल्ड, चिनियाँ सिनोफार्म अनि भारत बायोटेकको
कोभ्याक्सीनले यसरी अनुमति पाएका छन्,” उनले बीबीसी
न्यूज नेपालीलाई बताए।
कोभ्याक्सीनलाई कोभिशिल्डजस्तै २
देखि ८ डिग्री तापक्रममा राख्न सकिन्छ। यो खोपको पनि दुई मात्रा लगाउन जरुरी
हुन्छ।
विभागले निजी क्षेत्रलाई पनि खोप
ल्याउन सहज हुनेगरी पक्रियाहरू अघि बढाइएको भट्टराईले बताए।
तस्बिर स्रोत, Getty Images
म्यान्मार प्रदर्शन: बीबीसी पत्रकार आङ् थुरा पक्राउ
म्यान्मारमा सुरक्षा फौज तथा सैन्य शासनको विरोधमा उत्रिएका
प्रदर्शनकारीहरूबीच झडपहरू भइरहँदा बीबीसी बर्मिज सेवाका पत्रकार आङ् थुरालाई
पक्राउ गरिएको छ।
राजधानी नेपिद्अमा एउटा अदालतबाहिर रहेर समाचार सङ्कलन
गरिरहेका बेला उनलाई सादा पोशाकमा आएका पुरुषहरूले लिएर गएका हुन्। थप पढ्नुहोस्
विमानको भाडा बढ्यो
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, फाइल तस्बिर
नेपालमा हवाई इन्धनको मूल्यवृद्धि भएपछि विमान कम्पनीहरूले भाडा बढाएका छन्।
राष्ट्रिय समाचार समितिका अनुसार वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ।
सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिवारदेखि लागु हुनेगरी भाडा बढाएको उल्लेख गरेको छ।
नेपाल आयल निगमले चैत ३ गते मध्यरातदेखि लागु हुनेगरी हवाई इन्धनमा प्रतिलिटर रु २ बढाउने निर्णय गरेको थियो।
सङ्घका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्तव्यमा साविकको मूल्यमा सबैभन्दा बढी रु ९० र कम्तीमा छोटो दूरीमा रु पाँच भाडा बढेको छ।
राससका अनुसार काठमाडौँ–धनगढीमा रु ९०, काठमाण्डू-भद्रपुरमा रु ६० भाडा बढेको छ भने पर्वतीय उडानमा रु ७० बढेको छ।
हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ।
प्रतिनिधिसभामा आज के भयो?
प्रतिनिधिसभाको बैठकले सभामुख अग्नि सापकोटाद्वारा प्रस्तुत विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई स्वीकृत गर्यो।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गरे।
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, मन्त्री लीलानाथ श्रेष्ठ
आजको बैठकमा दलीय आधारमा नेकपा एमालेका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँड र नेकपा माओवादी केन्द्रका तर्फबाट पम्फा भुसाल बोले।
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, मन्त्री प्रदीप ज्ञवाली
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड
त्यसैगरी राजपाका तर्फबाट राजकिशोर यादव, राष्ट्रिय जनमोर्चाका तर्फबाट दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवाल पनि बोले।
परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्या भण्डारी बाङ्ग्लादेशको राजकीय भ्रमणमा जान लागेको जानकारी दिएका थिए।
सांसदहरूले बोलेपछि प्रतिनिधिसभाले पूर्वसांसद तथा संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गर्यो।
सभामुख सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक चैत्र १० गते मङ्गलवार दिउँसो १ बजे बस्ने जानकारी दिए।
चीन र अमेरिकाबीच ‘असामान्य चर्काचर्की’
तस्बिर स्रोत, Reuters
नयाँ अमेरिकी प्रशासन र चीनका वरिष्ठ अधिकारीहरूबीच भएको
पहिलो प्रत्यक्ष बैठकमा दुवै पक्षबीच असामान्य चर्काचर्की भएको छ।
अलास्कामा भएको बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी
ब्लिङ्कनले साइबर आक्रमण, दबावपूर्ण आर्थिक नीति तथा मानवअधिकारको विषयलाई
लिएर चीनको आलोचना गरेका थिए।
चीनका स्वेच्छाचारी व्यवहारका कारण विश्वव्यापी स्थिरता
कायम गर्ने नियमहरू जोखिममा परेको उनले बताएका थिए।
प्रत्युत्तर दिँदै चीनका वरिष्ठ कूटनीतिज्ञ याङ जियचीले वाशिङ्टनले
आफ्नो शक्तिको प्रभावमा अन्य देशहरूलाई दबाउने गरेको आरोप लगाए।
उनले अमेरिकाभित्र मानवअधिकारको अवस्था तल्लो बिन्दुमा
पुगेको भन्दै अश्वेत अमेरिकीहरूको हत्या भइरहेको आरोप लगाए।
अलास्काको एङ्करेज सहरमा भएको उक्त बैठकमा भएको चर्काचर्की सञ्चारमाध्यमका
प्रतिनिधिहरूले प्रत्यक्ष देखेका थिए। एक घण्टासम्म विवाद चलिरह्यो।
शुक्रवार पनि बैठक जारी रहनेछ।
सो बैठकमा अमेरिकी विदेशमन्त्री ब्लिङ्कन तथा राष्ट्रिय
सुरक्षा सल्लाहकार जेक सुलिभन अनि चिनियाँ विदेशमन्त्री वाङ यी तथा चीनका सबभन्दा
वरिष्ठ विदेश नीतिसम्बन्धी अधिकारी याङ जियची सहभागी थिए।
अग्नि खरेलको राजीनामा प्रधानमन्त्री कार्यालयबाट शीतल निवास पठाइयो
महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।
आज दिउँसो आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएको बताए।
प्रधानमन्त्रीको कार्यालयले खरेलको राजीनामा राष्ट्रपति कार्यालयमा पठाइसकिएको जनाएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा २०७४ साल फागुनमा खरेल महान्यायाधिवक्ता नियुक्त भएका थिए।
खरेल वरिष्ठ अधिवक्ता हुन्।उनी नेकपा एमालेबाट दुवै संविधानसभाका सदस्य थिए।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो मन्त्रिपरिषद्मा उनले कानुनमन्त्रीको जिम्मेवारी पनि वहन गरेका थिए।
प्रतिनिधिसभाको बैठक फेरि सुरु
सर्वोच्च अदातलको फैसलापछि पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज चौथो पटक बसिरहेको छ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्या भण्डारी बाङ्ग्लादेशको औपचारिक राजकीय भ्रमणमा जान लागेको जानकारी दिएका छन्।
उनले सर्वोच्च अदालतको निर्णयबाट प्रतिनिधिसभाभित्रबाटै राजनीतिक स्थायित्व खोज्न बाध्यात्मक स्थिति र निर्देशन प्राप्त भएको प्रसङ्ग उल्लेख गर्दै त्यसका लागि आफ्नो दल (नेकपा एमाले) र सरकार प्रतिबद्ध भएको बताए।
सुरुमा प्रतिनिधिसभाको बैठकमा भएको अवरोधप्रति असन्तुष्टि व्यक्त गर्दै उनले त्यसले राम्रो सङ्केत नगरेको बताए।
सरकारलाई एसिड आक्रमण, कोभिड खोप, बलात्कार र टीआरसी आदि विषयसम्बन्धी अध्यादेश ल्याउन नदिइएकोमा उनले असन्तुष्टि व्यक्त गरे।
महान्यायाधिवक्ता अग्नि खरेलको 'राजीनामा'
तस्बिर स्रोत, RSS
महान्यायाधिवक्ता अग्नि खरेल पदबाट राजीनामा दिने निर्णय गरेको उनी निकटस्थ स्रोतहरूले बताएका छन्।
उनले दिउँसो १ बजे आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेका छन्।
यसबारे बीबीसीले सोधेको प्रश्नमा खरेलले भनेः "मैले पत्रकार सम्मेलन गर्न लागेकाले मानिसहरूले अनुमान गरेको हुनसक्छ। बाँकी कुरा पत्रकार सम्मेलनमै भनौँला।"
महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो।
मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्या भण्डारीले २०७४ साल फागुनमा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्।
वरिष्ठ अधिवक्ता खरेल नेकपा एमालेबाट दुवै संविधानसभाका सदस्य थिए।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो मन्त्रिपरिषद्मा उनले कानुनमन्त्रीको जिम्मेवारी पनि वहन गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको मुद्दामा खरेलले उक्त कदमको प्रतिरक्षा गरेका थिए।
के दुइटा मास्क लगाउँदा कोरोनाभाइरस छेक्न सकिन्छ?
भिडिओ क्याप्शन सुरु हुँदैछ, दुइटा मास्क लगाउनु ठिक कि बेठिक?
भारत र पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या फेरि बढ्न थालेको देखिएको छ।
नेपालमा परीक्षणको सङ्ख्या घटेको भए पनि दैनिक १०० को हाराहारीमा कोभिड पुष्टि हुने गरेको छ। कोरोनाभाइरसबाट जोगिने उपायमा मास्कको प्रयोग पनि पर्छ।
तर के दुइटा मास्क लगाउँदा सङ्क्रमणबाट जोगिन सकिन्छ त? हेर्नुहोस् यो शिक्षाप्रद भिडिओ।
कोरोनाभाइरसः नेपाल-भारत सीमामा फेरि सतर्कता
तस्बिर स्रोत, EPA
तस्बिरको क्याप्शन, भारतका केही स्थानमा कोरोनाभाइरस फेरि उच्च फैलिन थालेपछि प्रतिबन्धहरू लगाउन थालिएको छ
भारतमा कोरोनाभाइरस सङ्क्रमण फेरि बढ्न थालेपछि त्यहाँ काम गर्न गएका नेपालीहरू घर फर्किन सक्ने आकलन गर्दै नेपाल-भारत सीमाक्षेत्रमा
विभिन्न योजना अगाडि सारिएको नेपाली अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका अनुसार अहिले १३ वटा नाकामा रहेका हेल्थ
डेस्कलाई सक्रिय पारिएको छ।
कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका मानिसलाई एन्टिजन परीक्षण गरेर मात्रै घर
जान दिइने सरकारको योजना छ।
गत वर्ष पनि भारतबाट फर्किएका व्यक्तिले सङ्क्रमण गाउँगाउँसम्म फैलाएको भन्दै सरकारले सबैलाई होम क्वारन्टीनमा बस्न आग्रह गरिने बताइएको छ।
नेपालमा अहिले पुष्टि हुने सङ्क्रमणको सङ्ख्या १०० को हाराहारीमा छ भने भारतमा दैनिक हजराौँ मानिसमा कोभिड देखिएको छ।
कोभिड नियन्त्रणका लागि भारतका केही स्थानमा फेरि प्रतिबन्धहरू लगाइएको छ।
स्वागतम्
शुभप्रभात। नमस्कार।
बीबीसी न्यूज नेपालीको दैनिक लाइभ पेजमा स्वागत छ।
यो पेजमा हामी आज शुक्रवार दिनभरि महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना र समाचारहरू सङ्क्षिप्त रूपमा प्रस्तुत गर्नेछौँ।