प्रतिनिधिसभामा कुनै अध्यादेश प्रस्तुत भएन, बैठक चैत्र ३ सम्मका लागि स्थगित

पुनर्स्थापना भएपछि बसेको प्रतिनिधिसभाको दोस्रो बैठक सांसदहरूको निधनमा शोकप्रस्ताव पारित गर्दै फेरि स्थगित भएको छ।

लाइभ कभरेज

  1. शिवरात्रिमा पशुपतिनाथ जान मास्क 'अनिवार्य'

    पशुपतिनाथ

    तस्बिर स्रोत, EPA

    कोरोनाभाइरस महामारीका कारण शिवरात्रिका बेला पशुपति क्षेत्रमा आउने साधुसन्तको सङ्ख्या आधाजतिले कम भएको अधिकारीहरूले बताएका छन्।

    उनीहरूका अनुसार गत वर्ष शिवरात्रिका बेला करिब सात हजार साधुसन्त पशुपति क्षेत्रमा आएका थिए।

    “यसपालि हालसम्म ३,००० जति साधुसन्तहरू आइसक्नुभएको छ। कोरोनाभाइरसका कारण र भारतको अयोध्यामा कुम्भमेला यसै बेला परेकाले यो सङ्ख्या बढ्ने सम्भावना कम छ,” पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भने।

    यसपालि कोरोनाभाइरसकै कारण पशुपतिक्षेत्रमा पहिलेको जस्तो साजसज्जा नगरिएको र मुख्य क्षेत्रमा आउने दर्शनार्थीहरूका लागि मास्क अनिवार्य गरिएको पनि उनले जानकारी दिए।

    यसपालि शिवरात्रिमा करिब ६ देखि ८ लाखसम्म दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा राखिएको ढकालले बताए।

    गत वर्ष त्यो सङ्ख्या १२ लाखभन्दा माथि रहेको उनको भनाइ छ।

    पशुपतिनाथमा साधु

    तस्बिर स्रोत, EPA

  2. विप्लव नेतृत्वको नेकपा अहिले के गर्दैछ?

    विप्लव

    तस्बिर स्रोत, EPA

    गत साता तीनबुँदे सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल अहिले के गर्दैछ र उसको रणनीति के हो भन्ने जिज्ञासमा उत्पन्न भएको छ।

    प्रतिबन्ध फुकुवा भएपछि आफूहरू राजनीतिक मुद्दासहित भेटघाटमा व्यस्त रहेको उक्त दलका नेताहरू बताउँछन्।

  3. शोकप्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित

    प्रतिनिधिसभा

    तस्बिर स्रोत, RSS

    प्रतिनिधिसभाको बुधवारको बैठक पदासीन र पूर्वसांसदहरूको निधनमा शोकप्रस्ताव पारित गर्दै चैत्र ३ गते मङ्गलवारसम्मका लागि स्थगित भएको छ।

    आजको बैठकको कार्यसूचीमा अध्यादेशहरू परेका थिएनन्।

    आजको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरू अलगअलग लहरमा बसेका थिए।

    वर्तमान प्रतिनिधिसभाका सदस्य सानु सीवा र सूर्य बहादुर केसीको निधनमा सदनले शोक प्रस्ताव पारित गरेको हो। त्यसबाहेक संविधानसभाका दुई सदस्य र अन्य १० जना भूतपूर्व प्रतिनिधिसभा सदस्यको निधनमा शोकप्रस्ताव पारित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई जानकारी गराएका थिए।

    शोकप्रस्ताव पारित गर्ने क्रममा सांसदहरूले एक मिनेट मौन धारण गरेका थिए।

    सातौँ अधिवेशनको पहिलो बैठकमा सरकारले अध्यादेशहरू प्रस्तुत गर्ने तयारी गरेको थियो।

    तर संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन अध्यादेशको विरोध गर्दै नेपाली काङ्ग्रेसले आइतवार सदन अवरुद्ध गरेको थियो।

  4. माओवादी केन्द्रले बनायो कार्यदल

    सर्वोच्च अदालतको आदेशसँगै एकीकरणपूर्वको अवस्थामा फर्किएको नेकपा (माओवादी केन्द्र) ले दलको सङ्गठनात्मक कार्ययोजना प्रस्ताव गर्न चारसदस्यीय कार्यदल गठन गरेको छ।

    उक्त कार्यदलमा नेताहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य छन्।

    बुधवारको बैठकमा अध्यक्ष प्रचण्डले नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफलबारे जानकारी गराएका थिए।

    प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिइसकेको छैन।

    पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले यो संसद् दुई वर्ष चल्ने सुनिश्चित हुनेगरी सरकार बन्नुपर्ने धारणा आफ्नो दलको रहेको बताए।

    प्रतिनिधिसभाको पुनर्स्थापना र पछिल्लो आदेशले संसद्‌मा फेरिएको अङ्कगणितसँगै केही दल र नेताहरूले समयअगावै चुनाव गरिनुपर्ने धारणा राखिरहेका छन्।

  5. मेलम्चीको पानी कहिले आउला धारामा?

    मेलम्ची

    प्राविधिक र व्यावहारिक कठिनाइ उत्पन्न नभए अबको तीन साताभित्र मेलम्चीको खानेपानी परीक्षणका रूपमा काठमाण्डू उपत्यकाका कतिपय बासिन्दाका घरसम्म वितरण भइसक्ने अधिकारीहरूले बताएका छन्।

    अहिले बहुप्रतीक्षित मेलम्ची आयोजनाको पानी उपत्यकासम्म ल्याउन निर्माण गरिएको सुरुङमार्फत् सुन्दरीजलसम्म ल्याएर सुरुङको परीक्षण भइरहेको छ। त्यसपछि सुन्दरीजलमै रहेका दुईवटा प्रशोधन केन्द्रको परीक्षण गरिने र उपत्यकामा पानी वितरण गरिने अधिकारीहरूको भनाइ छ।

    गत शनिवार मेलम्ची खोलाको पानी परीक्षणका क्रममा साढे २६ किलोमिटरको सुरुङबाट सुन्दरीजल ल्याएर वाग्मती नदीमा खसालिएको थियो। उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै उपत्यकावासीले मेलम्चीको पानी पाउने बताएका थिए।

    चासो

    त्यसपछि धेरैमा मेलम्चीको पानी कहिले काठमाण्डू उपत्यकामा आइपुग्छ भन्ने चासो देखिएको छ। त्यस्तै चासो व्यक्त गर्दै बीबीसीले कुराकानी गरेका अधिकारीहरूका भनाइमा अबको केही साताभित्रै कतिपय उपत्यकावासीका धारमा मेलम्चीको पानी आइपुग्नेछ।

    मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बीबीसीसँग भने, "मेलम्ची आयोजनाको सुरुङको अहिले परीक्षण भइरहेको छ त्यसबाहेक अन्य संरचनाहरूको परीक्षण हुन बाँकी नै छ। तर अहिले हामीले आंशिक रूपमा परिक्षण गर्ने योजना बनाएका छौँ।"

    "व्यावहारिक पक्ष हेर्दाखेरि परीक्षणकै क्रममा भए पनि चैतको दोस्रो हप्तादेखि हामी चाहिँ दिन सक्छौँ र त्यो दिने योजनामा छौँ।"

    खत्रीका भनाइमा काठमाण्ठू उपत्यकामा खानेपानी वितरण र व्यवस्थापन गर्ने निकायहरूको अनुरोधमा केही साताभित्रै परीक्षणका रूपमा घरघरमा पानी पठाउन लागिएको हो।

    सुक्खा याम

    सुक्खा याममा खानेपानी आपूर्तिमा कमी आएकाले त्यस्तो अनुरोध गरिएको उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले बताए।

    उनका अनुसार हाललाई पुरानो प्रणाली रहेका क्षेत्रमा सोही प्रणालीबाट पानी वितरण गरिनेछ। तर नयाँ प्रणालीबाट भने तत्काल पानी वितरण हुनेछैन।

    उनले भने, "नयाँ प्रणालीमा चाहिँ हामीले टेस्टिङ, कमिशनिङको काम गर्नै बाँकी भएकाले चरणबद्ध रूपमा हुँदै जान्छ। त्यो चाहिँ हाम्रो क्रम चलिरहन्छ।"

    "करिब एक डेढ वर्ष नै लाग्न सक्छ नयाँ प्रणालीमै पूरै कन्भर्ट हुनलाई।"

    हाललाई परीक्षणका रूपमा वितरण गरिने उक्त पानी वर्षा लागेपछि भने केही समयका लागि बन्द गरिने राणाले जानकारी दिए। अधिकारीहरूका अनुसार अहिले निर्माण सम्पन्न भई परीक्षणको क्रममा रहेको पहिलो चरणको मेलम्ची आयोजनाअन्तर्गत दैनिक १७ करोड लिटर पानी उपत्यका ल्याउन सकिनेछ।

  6. आज प्रतिनिधिसभामा के होला?

    प्रतिनिधिसभा

    तस्बिर स्रोत, RSS

    पुनर्स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक बुधवार दिउँसो १ बजेका लागि बोलाइएको छ।

    संसद्‌ सचिवालयले सम्भावित कार्यसूची प्रकाशित गर्दै गृहमन्त्री, स्वास्थ्यमन्त्री र कानुनमन्त्रीले विभिन्न अध्यादेश पेस गर्ने जनाएको छ।

    त्यसबाहेक आज प्रतिनिधिसभामा के होला?

  7. ह्यारी र मेगनको अन्तर्वार्ताबारे के भन्छ राजदरबार?

    ओप्रा विन्फ्रीसँग राजकुमार ह्यारी तथा उनकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कलले दिएको अन्तर्वार्तामा उठाइएका जातीय प्रकृतिका प्रसङ्ग निकै 'चिन्ताजनक' भएको भन्दै तिनलाई 'गम्भीरतापूर्वक लिइने' बकिङ्घम राजदरबारले जनाएको छ।

  8. ब्रिटेनद्वारा कोभिड खोप निर्यात रोकेको आरोप खण्डन

    कोभिड खोप

    तस्बिर स्रोत, Reuters

    ब्रिटेनले सबै कोभिड-१९ खोपको निर्यातमा प्रतिबन्ध लगाएको भनी एक वरिष्ठ युरोपेली अधिकारीले गरेको टिप्पणी पूर्ण रूपमा असत्य भएको ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले बताएका छन्।

    युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले साप्ताहिक ब्रीफिङका बेला उक्त टिप्पणी गरेका थिए।

    यसलाई लिएर विदेशमन्त्री राबले लन्डनस्थित ईयूका प्रतिनिधिलाई विदेश मन्त्रालयमा छलफल गर्न बोलाएका छन्। साथै, उनले मिशेललाई पत्र पनि लेखेका छन्। ·

    खोप कार्यक्रमको तुलना

    यही ज्यानुअरीमा ब्रिटेनले ब्रेक्जिटमार्फत् युरोपेली युनियनसँगको सम्बन्धविच्छेद गरेको थियो।

    त्यसयता ब्रसल्स र लन्डनबीच विभिन्न विषयमा मतभेद सार्वजनिक भइसकेका छन्। खोपलाई लिएर यो मतभेद त्यतिखेर आएको छ जतिखेर खोप कार्यक्रममा भएको ढिलाइका कारण ईयूको आलोचना भइरहेको छ भने ब्रिटेनले चाहिँ सफल खोप वितरण गरिरहेको भनेर प्रशंसा बटुलिरहेको छ।

    यसअघि ज्यानुअरीमै ईयूले खोप निर्यातमा नियन्त्रणबारे नयाँ नियम ल्याएको थियो जसअन्तर्गत उत्पादकहरूले पूर्वयोजनाअनुसार विक्रीवितरण गर्न पनि राष्ट्रिय सरकारहरूसँग अनुमति लिनुपर्थ्यो।

    उक्त कदमले ब्रिटेनसँग तिक्तता बढाएको थियो।

    त्यसपछि दुई पक्षले गत वर्ष सहमति गरेको उत्तर आयरल्यान्डको सीमा व्यवस्थापनको कार्यान्वयन पनि विवादको विषय बनेको थियो।

    खोप राष्ट्रवाद

    सत्ताइस २७ राष्ट्र सदस्य भएको ईयूका नेता मिशेलले ईयूमाथि 'खोप राष्ट्रवाद' को आरोप लागेकोमा आश्चर्य प्रकट गरेका थिए।

    उनले ईयूले कहिले पनि खोपको निर्यात नरोकेको जनाए।

    "यहाँ तथ्यले झुटो बोल्दैन," उनले टिप्पणी गरेका छन्।

    "यूके र अमेरिकाले उनीहरूको क्षेत्रमा उत्पादन भएका खोपको निर्यात वा खोपका सामग्रीहरूको निर्यातमा ठाडो प्रतिबन्ध लगाएका छन्।"

    "जबकि विश्वको सबभन्दा ठूलो खोप उत्पादन संरचना रहेको क्षेत्र युरोपेली यूनियनले केवल यहाँ उत्पादित खोपको निर्यात नियन्त्रणसम्बन्धी नियम ल्याएको छ," मिसेलले भनेका थिए।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  9. शुभप्रभात

    नमस्कार। शुभप्रभात।

    बीबीसी न्यूज नेपालीको दैनिक लाइभ पेजमा तपाईँलाई स्वागत छ।

    यो पेजमा हामी आज बुधवार फागुन २६ गते दिनभरिका महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना तथा अन्य सामग्री प्रकाशित गर्नेछौँ।