कोभ्याक्सले नेपाललाई कोभिड खोप दिने, यूकेमा मिश्रित खोपको परीक्षण सुरु

बिहीवार दिनभरिका विभिन्न प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरूको विवरण।

लाइभ कभरेज

  1. यमनमा हुथी विद्रोहीविरुद्धको अभियानमा अमेरिकाले 'समर्थन अन्त्य गर्ने'

    अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने बताएका छन्।

    साउदी अरेबियाको नेतृत्वमा भइरहेका आक्रामक कारबाहीलाई दिइँदै आएको अमेरिकी समर्थन र हतियारको विक्री आफ्नो प्रशासनले रोक्ने उनले बताएका हुन्।

    बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय सम्वाददाता लीज डुसेटले बाइडनको यो कदमलाई एकदमै महत्त्वपूर्ण भनि व्याख्या गरेकी छन्।

    उनी भन्छिन्, "यो युद्ध अन्त्य गर्नका लागि कठिन छ भन्ने विषयमा कसैलाई पनि दुविधा छैन तर राष्ट्रपति बाइडनले पहिलो कदम चालेका छन् र यसले एकदमै सशक्त सङ्केत गरेको छ।"

    द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बाइडनले बताएका छन्।

    तर साउदीहरूलाई उनीहरूको भूभाग र सार्वभौमिकताको रक्षाका लागि अमेरिकाले गर्दै आएको सहायता जारी राख्ने उनले बताए।

    यमन

    तस्बिर स्रोत, Reuters

  2. उइगर शिविर: बलात्कारका घटनासम्बन्धी समाचारपछि अमेरिका र यूकेद्वारा निन्दा

    अमेरिकी सरकारले चिनियाँ शिविरहरूमा उइगर मुस्लिम महिलामाथि योजनाबद्ध रुपमा बलात्कार हुने गरेको भन्ने विवरणसहितको बीबीसी समाचारबाट आफू "गहिरो रुपमा विक्षुब्ध" भएको जनाएको छ।

    "यी अत्याचारहरूले मनमा झट्का लागेको छ र यस्तो गर्नेले गम्भीर परिणाम भोग्नैपर्छ," एक प्रवक्ताले भने।

    यूके सरकारका मन्त्री नाइजल याडम्सले बिहीवार संसद्‌मा बोल्दै उक्त समाचारले “स्पष्ट रुपमा राक्षसी कार्य” देखाएको बताएका छन्।

    चिनियाँ शिविरहरूमा एक लाखभन्दा बढी उइगर र अन्य अल्पसङ्ख्यकलाई थुनेर राखिएको आकलन गरिन्छ।

    बीबीसीले बुधवार प्रकाशित गरेको खोजमूलक सामग्रीमा प्रहरी र अन्य सुरक्षाका लागि खटिएकाहरूले महिलाहरूमाथि योजनाबद्ध रुपमा बलात्कार गर्ने गरेको, यौन दुर्व्यवहार गरेको र यातना दिएको भन्ने स्वयं पीडित महिलाले बताएका थिए।

    चिनियाँ विदेश मन्त्रालयले भने ती आरोपहरू अस्वीकार गरेको छ र बीबीसीले "झुटो समाचार लेखेको" आरोप लगाएको छ।

    उइगर महिला
  3. बेल्जियमको अदालतद्वारा इरानी कूटनीतिज्ञलाई २० वर्ष जेलसजाय

    बेल्जियममा अवस्थित अदालतले फ्रान्समा सन् २०१८ मा हजारौँ निर्वासित इरानीहरूको एउटा र्‍यालीमा बम विस्फोट गराउने षड्यन्त्र गरेको अभियोगमा एक इरानी कूटनीतिज्ञलाई २० वर्षको जेलसजाय सुनाएको छ।

    भिएनामा रहेका बेला कूटनीतिज्ञ असादोल्लाह असादीले इरानी सत्तालाई सघाएको अदालतले ठहर गरेको छ।

    प्रहरीका अनुसार बेल्जियमको एक दम्पतीलाई असादीले विस्फोटक पदार्थ भएको एउटा प्याकेट दिएका थिए।

    विस्फोटको योजना विफल तुल्याइएको थियो।

    अभियोजनकर्ताहरूका अनुसार त्यसो नगरिएको भए रक्तपात हुनसक्थ्यो।

    राजदूतहरू, पश्चिमा राजनीतिज्ञहरू तथा डोनल्ड ट्रम्पका वकिल रुडी जुलिआनी लगायतले त्यो र्‍यालीमा सहभागिता जनाएका थिए।

    तेहरानमा सन् १९७९ मा भएको क्रान्तियता कुनै पनि युरोपेली सरकारले इरानी अधिकारीमाथि आतङ्कवादी आक्रमणको आरोपमा मुद्दा चलाएको यो नै पहिलो घटना हो।

  4. कहाँ छिन् आङ सान सू ची?

    सू ची

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, फाइल तस्बिर

    सोमवार म्यान्मारको सेनाले नियन्त्रण लिएपछि नेत्री आङ सान सू चीको अवस्थाबारे स्पष्ट जानकारी आएको छैन।

    तर उनलाई राजधानीस्थित उनकै घरमा नजरबन्दमा राखिएको अनुमान गरिएको छ।

    उनीविरुद्ध आयात-निर्यातसम्बन्धी कानुन उल्लङ्घन गरेको र सञ्चारका अवैधानिक उपकरणहरू राखेको आरोप लगाइएको छ।

    ती आरोपहरू प्रहरीले अदालतमा पेस गरेको एउटा उजुरीमा उल्लिखित छन्। उक्त दस्तावेजमा सू चीलाई "प्रतिवादीलाई सोधपुछ गरेपछि साक्षीलाई सोध्न, प्रमाण माग्न र कानुनी परामर्शदाता खोज्न" हिरासतमा लिइएको जनाइएको छ।

    राष्ट्रपति विन मिनलाई राष्ट्रिय विपत् व्यवस्थापन कानुनअन्तर्गत मुद्दा चलाइएको छ। निर्वाचनका बेला कोभिड-१९ नियन्त्रणका लागि लागु गरिएको नियम मिचेर २२० वटा गाडीको लस्कर निकालेर समर्थकहरू भेटेको अभियोग उनीविरुद्ध छ।

    यो पनि पढ्नुहोस्

    • 'प्रजातन्त्रकी प्रतिमूर्ति' आङ सान सू चीको प्रतिष्ठा कसरी ओरालो लाग्यो
    • राष्ट्रसङ्घका प्रमुखद्वारा सैन्य कू विफल पार्न आह्वान
  5. जसको कमाइ गर्ने टयाक्सी हडतालमा जल्यो

  6. रेडक्रसले कोभिड खोपका लागि ११ करोड डलर दिँदै

    अन्तर्राष्ट्रिय रेडक्रसले गरिब देशहरूलाई कोरोनाभाइरसको खोपमा सघाउनेबारे आफ्ना योजना सार्वजनिक गरेको छ।

    खोपमा विश्वको ठूलो हिस्साको पहुँच नभए कोरोनाभाइरस फैलिने क्रम जारी रहने उसले चेतावनी समेत दिएको छ।

    एघार करोड डलर बराबरको योजना सबैभन्दा बढी जोखिममा रहेका समुदायहरूप्रति लक्षित छ।

    गरिब देशहरूलाई कोरोनाभाइरस खोपका लाखौँ मात्रा उपलब्ध गराउने कार्यक्रम रहेको विश्व स्वास्थ्य सङ्गठनलाई रेडक्रसले बन्दोबस्तीका सामानमा सहयोग गर्नेछ।

    खोप सुरक्षित रहेको कुरामा विश्वास दिलाउन र गलत सूचनाविरुद्ध लड्ने कार्यमा पनि रेडक्रसले सघाउनेछ।

  7. कोभिड अपडेट: थप १७१ सङ्क्रमित, दुई जनाको मृत्यु

    कोभिड

    गएको २४ घण्टाको अवधिमा नेपालमा थप १७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    कुल ३,८७८ जनामा गरिएको परीक्षणमा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्। तीमध्ये काठमाण्डू उपत्यकाका ७८ जना छन्।

    सो अवधिमा २२७ जना निको भएका छन्।

    हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २,२७७ रहेको छ। तीमध्ये १,४२६ जना उपत्यकामा रहेका छन्।

    बिहीवार कुल ६१ जना सघन उपचार कक्षमा र १४ जना भेन्टिलेटरमा उपचाररत छन्।

  8. यो सूक्ष्म रोबटले क्यान्सर कोषको सिकार गर्न सक्छ

    भिडिओ क्याप्शन सुरु हुँदैछ, क्यान्सरको सिकार गर्ने सूक्ष्म रोबट

    अमेरिकास्थित कोर्नेल यूनिभर्सिटीका वैज्ञानिकहरूले "चारखुट्टे" सूक्ष्म रोबट बनाएका छन्। त्यो रोबटले कुनै दिन मानवशरीरभित्र प्रवेश गरेर विभिन्न रोगसँग सङ्घर्ष गर्ने अपेक्षा गरिएको छ।

    आँखाले नदेखिने यस्ता रोबट अङ्ग्रेजी भाषामा वाक्य टुङ्ग्याउन लेखिने चिह्न (.) मा १० वटा अट्न सक्छन्। के हुन् यसका अरू विशेषता?

    हेर्नुहोस् यो भिडिओ।

  9. म्यान्मारमा फेसबुक बन्द, सैन्य कू भएको चौथो दिन देशको अवस्था के छ?

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

    म्यान्मारका सैनिक शासकहरूले फेसबुकलाई देशभित्र प्रतिबन्ध लगाएका छन्।

    अधिकारीहरूले धेरै नागरिकका लागि इन्टरनेटको पर्याय रहेको फेसबुक ‘स्थिरता’का लागि बन्द गरिएको बताएका छन्।

    सोमवार कू गरेपछि सैनिक शासनको विरोध गर्ने मुख्य माध्यम फेसबुक रहेको थियो।

    कूको विरोधमा सांसदहरूले संसद् परिसर छोड्न अस्वीकार गरेका छन् भने याङ्गुन सहरमा भाँडा ठटाएर विरोध गर्ने क्रम बढेको छ।

    त्यहाँको सञ्चार तथा सूचना मन्त्रालयले फेसबुक फेब्रुअरी ७ सम्म बन्द रहने बताएको छ। म्यान्मारका आधा जनसङ्ख्याले फेसबुक प्रयोग गर्ने गर्छन्।

    म्यान्मारमा फेसबुकले मोबाइलमा एप चलाउँदा मोबाइल डेटाको पैसा नलाग्ने बनाएको छ।

  10. यसरी हुँदैछ रुसी कोभिड खोपलाई नेपालमा मान्यता दिलाउने प्रयास

  11. क्यान्सरका कारण स्तन गुमाएकी नेपाली महिलाको अनुभव, आज विश्व क्यान्सर दिवस

    भिडिओ क्याप्शन सुरु हुँदैछ, 'एउटा स्तन निकाल्नुपर्‍यो तर छोरीलाई अर्को स्तनबाट स्तनपान गराएँ'

    क्यान्सरका कारण दाहिने स्तन निकाल्नुपरे पनि छोरीलाई देब्रे स्तनबाट स्तनपान गर्न सक्दा खुसी लागेको शुभेच्छा घिमिरे बताउँछिन्।

  12. आमहडतालप्रति सामाजिक सञ्जालमा पोखिएको वितृष्णा र आक्रोश

  13. कोभिडविरुद्ध भिन्नभिन्न खोप प्रयोगको परीक्षण

    खोप लगाउँदै

    तस्बिर स्रोत, Getty Images

    हाल कोरोनाभाइरसविरुद्ध विभिन्न खोपहरूले आपत्कालीन स्वीकृति पाइसकेका छन्।

    त्यस्तो स्वीकृति पाएका अक्सफर्ड-एस्ट्राजेनेका, फाइजर-बायोन्टेक तथा मोडेर्ना खोपहरू केही साताको अन्तरालमा दुई मात्रामा लगाउनुपर्छ।

    तर ब्रिटेनमा भिन्नभिन्न खोपको दुई मात्रा लगाउँदा कस्तो प्रभाव पर्छ भनेर हेर्न नयाँ अध्ययन थालिएको छ।

    पहिलो मात्रामा एक किसिमको खोप अनि दोस्रो मात्रामा अर्को किसिमको खोप लगाउँदा त्यसले कोभिड १९ विरुद्ध शरीरमा थप सुरक्षा प्रदान गर्छ कि गर्दैन भनेर सो अध्ययनमा हेरिनेछ।

    अनुसन्धानकर्ताहरूले अक्सफर्ड तथा फाइजर खोपहरूको मिश्रण गरेर यसो गर्दा शरीरले उत्पादन गर्ने एन्टिबडी तथा टी कोषहरूको स्तरको अध्ययन गर्नेछन्।

    यो अनुसन्धानको उद्देश्य खोप वितरणलाई कम झन्झटिलो र लचिलो बनाउने रहेको छ ताकि कुनै एक खोपको आपूर्तिमा समस्या आइपरेपनि त्यसले धेरै असर गर्दैन।

    यस अध्ययनमा ५० वर्षमाथि उमेरका ८२० जना स्वयंसेवक सामेल गरिनेछन्।

  14. नेपालले कोभ्याक्सबाट साढे २२ लाख मात्रा खोप पाउने

    कोभिशील्ड

    तस्बिर स्रोत, Reuters

    नेपालले कोभ्याक्सअन्तर्गत भारतको सीरम इन्स्टिट्यूटले उत्पादन गरेको कोभिशील्ड खोप २२ लाख ५६ हजार मात्रा पाउने कोभ्याक्सले जनाएको छ। उक्त खोप अक्सफर्ड र एस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेका हुन्।

    सो खोपको आपूर्ति फेब्रुअरीको अन्त्यसम्ममा हुन सक्ने अनुमान गरिएको छ।

    कोभ्याक्सले बुधवार प्रकाशित गरेको अन्तरिम वितरण अनुमानका अनुसार दक्षिण एशियाका अन्य देशहरूले पाउने मात्रा

    • बाङ्ग्लादेश: एक करोड २७ लाख ९२ हजार मात्रा
    • भुटान: एक लाख आठ हजार मात्रा
    • भारत: नौ करोड ७१ लाख ६४ हजार मात्रा
    • मालदिभ्स: एक लाख आठ हजार मात्रा
    • पाकिस्तान: एक करोड ७१ लाख ६० हजार मात्रा र
    • श्रीलङ्का: १६ लाख ९२ हजार मात्रा

    कोभ्याक्सको अनुसार अन्तरिम वितरण अनुमान तयारी सुरु गर्नका लागि मात्रै हो र यो परिवर्तन हुनसक्छ।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

    कोभ्याक्स के हो?

    सन् २०२० को एप्रिलमा मा विश्व स्वास्थ्य सङ्गठन, युरोपियन कमिशन र फ्रान्सले स्थापना गरेको एक्सेस टु कोभिड-१९ टूल्सको एउटा अङ्ग कोभ्याक्स हो।

    ग्याभी, भ्याक्सीन अलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेेर्डनेस इनोभेटर्सले संयोजन गर्ने कोभ्याक्सले खोप विकासका लागि अनुसन्धान र उत्पादनलाई सहयोग गर्छ। यसले सबै देशलाई समान खोप वितरण गर्ने र सन् २०२१ को अन्त्यसम्म दुई अर्ब मात्रा खोप वितरण गर्ने लक्ष्य लिएको छ।

    कोभ्याक्स सुविधाअन्तर्गत ७८ देशले खोप किन्नेछन् भने ग्याभी-कोभ्याक्स-एएमसीअन्तर्गत ९२ वटा कम आय भएका देशले विकास अनुदान वा निजी क्षेत्रको सहयोगमा खोप पाउने छन्।

    नेपालले एएमसीअन्तर्गत सुविधा पाउन लागेको हो।

  15. अफगान शान्तिप्रक्रिया विफल हुने चिन्ता

    अफगानिस्तान (फाइल तस्बिर)

    तस्बिर स्रोत, EPA

    तस्बिरको क्याप्शन, फाइल तस्बिर

    अफगानिस्तानको भ्रमणमा रहेका युरोपेली सङ्घका एक वरिष्ठ कूटनीतिज्ञले त्यहाँ हिंसा बढिरहेकाले गृहयुद्धको वास्तविक खतरा रहेको बताएका छन्।

    युरोपेली सङ्घका सङ्कट व्यवस्थापनका आयुक्तले अफगान शान्तिप्रक्रिया विफल हुने सम्भावना धेरै रहेको बताएका हुन्।

    गत वर्ष सेप्टेम्बर महिनामा शान्ति प्रक्रियाको थालनी भए पनि त्यसयता त्यो प्रक्रिया डगमगाएको छ।

    उनले सरकार र तालिबानका प्रतिनिधिबीच वार्ता गराउन सबै प्रयास गरिनुपर्ने बताएका हुन्। उनले अफगानिस्तानमा मानवीय सङ्कटको मुख्य कारण नै जारी द्वन्द्व रहेको र अहिले करिब आधा जनसङ्ख्या भोकमरीको अवस्थामा पुग्न लागेको बताए।

    अमेरिकाको चासो

    अमेरिकी संसद्ले तयार गरेको एउटा प्रतिवेदनले जो बाइडन प्रशासनलाई अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने योजनालाई पछाडि सार्न आह्वान गरेको छ।

    शान्तिप्रक्रियाबारे तालिबान गम्भीर नभएको हुनसक्ने आशङ्का व्यक्त गर्दै उनीहरूबाट कू गर्ने प्रयास हुनसक्ने सम्भावना व्यक्त गरिएको छ। अमेरिकाले पहिला गरेको सम्झौताअनुसार आउँदो मे १ तारिखमा अफगानिस्तानबाट २,५०० सैनिक फिर्ता हुने योजना छ।

  16. लाइभ अपडेटमा स्वागत छ

    नमस्कार। शुभप्रभात।

    आज बिहीवार दिनभरि हामी यहाँ नेपाल तथा विश्वका अन्य स्थानका महत्त्वपूर्ण घटनाक्रमबारे समाचार प्रकाशित गर्नेछौँ।

    आज बिहान समाचार हेर्न पाउनुभएको छैन भने अहिलेसम्मका मुख्य अन्तर्राष्ट्रिय र राष्ट्रिय घटनाक्रम यसप्रकार छन्:

    • उग्र दक्षिणपन्थी अतिवादी समूह द प्राउड बोइजलाई क्यानडाले आतङ्कवादी सङ्गठनको सङ्ज्ञा दिएको छ। सबै पुरुषहरू रहेको आप्रवासनविरोधी उक्त समूहले आफूलाई “पश्चिमा सर्वोच्चतावादी” भनी व्याख्या गर्छ। उक्त समूह क्यानडा, अमेरिका र अन्तर्राष्ट्रिय तहमा सक्रिय छ र त्यसको स्थापना एक क्यानडेलीले गरेका हुन्
    • अमेरिकी संसद्ले तयार गरेको एउटा प्रतिवेदनले जो बाइडन प्रशासनलाई अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता गर्ने योजनालाई पछाडि सार्न आह्वान गरेको छ। शान्ति प्रक्रियाबारे तालिबान गम्भीर नभएको हुनसक्ने भन्दै उनीहरूले सैन्य कूको प्रयास गर्न सक्ने भन्दै त्यस्तो आह्वान गरिएको हो। यसअघिको प्रशासनले सम्झौतामा हस्ताक्षर गरे अनुसार आउँदो मे महिनाको पहिलो तारिखमा बाँकी रहेका २५ सय अमेरिकी सुरक्षा फौज फिर्ता हुन बाँकी छ।
    • अस्ट्रेलियन ओपन प्रतियोगिता अर्को साता सुरु हुने टेनिसका अधिकारीहरूले बताएका छन्। यसअघि सयौँ खेलाडी र सहयोगी कर्मचारीहरू अनिवार्य रूपमा आफैँ अलग्गिएर बस्नुपर्ने घोषणा गरिएको थियो। होटलका एक कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि उक्त प्रतियोगितामा सहभागी हुने ६०० हाराहारी खेलाडी र अधिकारीहरूलाई क्वारन्टीनमा राखिएको थियो।
    • नेपालको निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि ७ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने भन्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ।
    • सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा आफैँ लिखित उत्तर पेस गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपाका एक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डको नाममा आदेश जारी गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक सात दिनभित्र सबै ब्यहोरा सहित आफै लिखित जवाफ दिन प्रचण्डलाई भनेको छ।
    • म्यान्मारमा सेनाले कू गरेको तेस्रो दिन जननिर्वाचित नेत्री आङ सान सू चीमाथि प्रहरीले कैयौँ अभियोगहरू दर्ता गरेको छ।प्रहरी दस्तावेजहरूका अनुसार फागुन ३ गतेसम्म उनी हिरासतमा रहनेछिन्। नेत्री सूचीमाथि आयात तथा निर्यातसम्बन्धी कानुनहरूको उल्लङ्घन गरेको र सञ्चारका अवैध उपकरणहरू राखेको लगायतका अभियोग लगाइएको छ।
    • संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले सोमवार म्यान्मारमा भएको कू विफल हुने सुनिश्चित पार्न विश्व समुदायलाई आह्वान गरेका छन्