नेकपाको आधिकारिकतादेखि म्यान्मारको अवस्था र अमेरिकाको न्यूयोर्कमा ठूलो हिमपातसम्म विभिन्न प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरूको लाइभ अपडेट।
लाइभ कभरेज
कोरोनाभाइरस उपचारका लागि अर्बौँ चन्दा उठाएका पूर्वसैनिकको सङ्क्रमणकै कारण निधन
महामारीका
बेला अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको उपचारका लागि दशौं लाख पाउण्ड चन्दा उठाएका क्याप्टेन सर टम
मूरको निधन भएको छ।
१ सय वर्षका मूरलाई सास फेर्न समस्या भएपछि गत साता अस्पतालमा भर्ना गरिएको थियो।
उनले ३.३ करोड पाउण्ड जुटाएर बिरामीको उपचारका लागि ब्रिटेनको सरकारी अस्पताल एनएचएसलाई दिएका थिए।
सेनाबाट अवकाश पाएका मूरले सयौँ जन्मदिनअगाडि आफ्नो बगैँचाको १०० फन्को मारेर ठूलो रकम चन्दा
उठाएका थिए।
उनलाई एउटा विशेष समारोहमा महारानी
एलिजावेथले सम्मान पनि गरेकी थिइन्।
तस्बिर स्रोत, PA MEDIA
पुटिनका कट्टर आलोचकलाई साढे तीन वर्षको जेल सजाय सुनाइयो
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी एलेक्सी नभाल्नीलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षका लागि जेलमा पठाउने निर्णय सुनाएका छन्।
न्यायाधीशले दोषी प्रमाणित गरेर जेलमा पठाउने निर्णय सुनाएपछि नभाल्नीले त्यसलाई राष्ट्रपति पुटिनविरुद्ध आफूले चुनौती दिएकाले आफ्नो आवाज दबाउन त्यसो गरिएको बताएका छन्।
नोभिचोक नामक स्नायु प्रणालीमा असर गर्ने विष प्रयोग गरिएका नभाल्नी महिनौं जर्मनीमा उपचार गरेर फर्किएपछि उनलाई पक्राउ गरेर जेलमा हालिएको थियो।
उनलाई जेलमा राखिएयता रुसभर विभिन्न सहरमा दशौं हजार मानिसहरूले विरोध प्रदर्शन गर्दै आएका छन्।
तस्बिर स्रोत, Reuters
ब्रेकिंग, नेपालमा भूकम्पको धक्का
काठमाण्डू र पोखरा उपत्यकासहित मध्य नेपालका विभिन्न स्थानमा राति १० बजे आसपास भूकम्पको धक्का महसुस भएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था यूएसजीएसले सो समयमा ४.६ म्याग्निट्यूडको भूकम्प मापन गरेको छ।
यूएसजीएसले उपलब्ध गराएको प्रारम्भिक विवरणअनुसार भूकम्पको केन्द्रबिन्दु गण्डकी प्रदेशको चित्रे भन्ने स्थानबाट ५१ किलोमिटर पूर्वोत्तरमा पर्छ।
उसको नक्सामा भूकम्पको केन्द्रबिन्दु अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने देखिन्छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
X पोस्ट समाप्त
रुसी कोभिड खोप ‘करिब ९२ प्रतिशत प्रभावकारी’
रुसद्वारा विकसित कोरोनाभाइरस विरुद्धको खोप ९१.६ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाहरूले देखाएका छन्।
स्पुत्निक फाइभ खोपको तेस्रो चरणका परीक्षणका नतिजाहरू ल्यान्सट जर्नलमा प्रकाशित
गरिएको हो।
करिब बीस हजार सहभागीले त्यो खोपका दुई मात्रा लिएको जनाइएको छ।
ठूलो स्तरमा परीक्षण नै नगरी रुसी अधिकारीहरूले अनुमोदन गरेको भन्दै खोपलाई लिएर
चिन्ताहरू व्यक्त भइरहेका थिए।
आर्जेन्टिना र बोलिभिया लगायतका देशले आफ्नो खोप कार्यक्रममा स्पुत्निक फाइभ
प्रयोग गर्ने बताइसकेका छन्।
तस्बिर स्रोत, Reuters
तस्बिरको क्याप्शन, करिब बीस हजार सहभागीले त्यो खोपका दुई मात्रा लिएको जनाइएको छ।
बालबालिका तस्करी १५ वर्षमा तीन गुनाले बढ्योः राष्ट्र सङ्घ
विगत
१५ वर्षयता बालबालिका तस्करी गर्ने क्रम तीन गुनाले बढेको संयुक्त राष्ट्रसङ्घले
जनाएको छ।
लागुऔषध
तथा अपराधसम्बन्धी राष्ट्रसङ्घीय कार्यालयको एउटा अध्ययन प्रतिवेदन अनुसार सन्
२०१८ मा १४८ वटा देशमा बालबालिकाको अवैध ओसारपसारका करिब ५० हजार घटना भएको तथ्याङ्क छ।
वास्तविक
सङ्ख्या अझ बढी हुनसक्ने प्रतिवेदनमा उल्लेख छ।
बालिकाहरूलाई
मुख्यतः यौनशोषणका लागि र बालकहरूलाई बलपूर्वक श्रम गराउनका लागि तस्करी गर्ने
गरिएको राष्ट्रसङ्घले जनाएको छ।
कोरोनाभाइरस
महामारीका कारण लाखौँ मानिस कामविहीन बन्न पुगेकाले र बालबालिकाहरू विद्यालय जान
नपाइरहेकाले अवस्था झन् खराब हुनसक्ने प्रतिवेदनले औँल्याएको छ।
युरोपेली सङ्घलाई खोप आपूर्ति गर्न भारत इच्छुक
विश्वकै
सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी भारतको सीरम इन्स्टिट्युटका प्रमुखले युरोपेली
सङ्घलाई खोप आपूर्ति गर्न चाहेको र त्यसका लागि सक्षम रहेको बताएका छन्।
सीरम
इन्स्टिट्युट्ले अक्सफर्ड-एस्ट्राजेनेकाद्वारा विकसित खोप उत्पादन गरिरहेको छ।
बीबीसीसँग
कुरा गर्दै इन्स्टिट्युटका प्रमुख अदार पुनावालाले आपूर्तिका लागि विद्यमान
नियमहरूमा परिवर्तन गर्न आग्रह गरे।
त्यसो
गरिएमा युरोपमा चाँडै खोप आपूर्ति गर्न सकिने उनले बताए।
सीरम
इन्स्टिट्युटले दैनिक कोरोनाभाइरस खोपको २५ लाख मात्रा उत्पादन गरिरहेको छ।
त्यसमध्ये
अधिकांश भारतमा प्रयोग गरिँदैछ भने बाँकी छिमेकी देशहरूलाई उपलब्ध गराइँदैछ।
कोभ्याक्स
कार्यक्रममार्फत् गरीब देशहरूलाई ठूलो मात्रामा खोप उपलब्ध गराउने योजना पनि छ।
अहिले म्यान्मारको अवस्था कस्तो छ?
तस्बिर स्रोत, Reuters
तस्बिरको क्याप्शन, सू चीलाई नजरबन्दमा राखिएको अनुमान गरिएको छ
म्यान्मारमा नेत्री आङ सान सू चीसहित सयौँ निर्वाचित सांसदहरू सेनाको नियन्त्रणमा छन्।
सेनाले शासन आफ्नो हातमा लिएर नेताहरूलाई पक्राउ गरेपछि उनीहरूलाई मुक्त गर्ने माग देश तथा विदेशबाट भइरहेको छ।
सू ची अहिले कहाँ छिन् भन्ने स्पष्ट छैन।
सेनाले देशमा एक वर्षका लागि सङ्कटकाल लगाएको छ।
तर सूचीको दलसम्बद्ध स्रोतहरूले नेत्री सूची र राष्ट्रपतिलाई उनीहरूकै घरमा नजरबन्दमा राखिएको जनाएका छन्।
म्यान्मारमा विरोध प्रदर्शन भएको थाहा भएको छैन तर अवज्ञाका घटनाहरू हुन थालेका छन्। उनको दलले सू चीलाई तत्काल छोड्न माग गरेको छ।
अहिले म्यान्मारमा असहज किसिमको शान्ति छ।
सोमवार राति र मङ्गलवार बिहान सडकहरू सुनसान देखिए। प्रमुख सहरहरूमा राति कर्फ्यू लागेको थियो।
सेनालाई सडकमा गस्ती गरिरहेको देख्न सकिन्छ।
सोमवार अवरुद्ध भएको सञ्चार प्रणाली मङ्गलवार पूर्ववत् सञ्चालनमा आएपछि फोन र इन्टरनेट चल्न थालेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
X पोस्ट समाप्त, 2
कोभिड-१९ बाट थप एक जनाको मृत्यु
कोभिड-१९ बाट गएको २४ घण्टामा नेपालमा थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा २,९४६ पीसीआर परीक्षणबाट थप १७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने २५९ जना निको भएका छन्।
अहिले पुष्टि भएका सक्रिय सङ्क्रमितको कुल सङ्ख्या २,४०० रहेको छ।
चीनमा नक्कली कोभिड खोप!
तस्बिर स्रोत, EPA
चीनमा ८० जनाभन्दा बढी मानिसलाई कोरोनाभाइरसको नक्कली खोप बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
राजधानी बेइजिङ र पूर्वी चीनका विभिन्न स्थानमा छापा मारेर झन्डै ३,००० मात्रा नक्कली खोप बरामद भएको छ।
त्यस्तो नक्कली काम गत सेप्टेम्बरदेखि सुरु भएको अनुमान गरिएको छ।
यो साताको अन्तिमतिर चिनियाँ नववर्षको उत्सव सुरु हुनुअघि चीन पाँच करोड मानिसलाई कोभिड खोप दिन प्रयासरत छ।
विगतमा चीनमा म्याद सकिएका खोप वितरणसहित विभिन्न खालका जनस्वास्थ्यसँग सम्बन्धित विवादहरू उत्पन्न भएका थिए।
प्रचण्ड-नेपाल समूहद्वारा आधिकारिकता माग गर्दै निर्वाचन आयोगमा पत्राचार, नेकपा विवाद 'नयाँ चरणमा'
Article Information
Author, फणीन्द्र दाहाल
तस्बिर स्रोत, RSS
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव कुमार नेपाल समूहले निर्वाचन आयोगमा आफ्नो
पक्ष आधिकारिक रहेको दाबी पेस गरेको छ।
पार्टीको केन्द्रीय समितिका २९० सदस्य 'हराहारीको' हस्ताक्षरसहित आधिकारिकता माग गर्दै पत्र
बुझाइएको नेता झलनाथ खनालले बताए।
उनले पछिल्लो निर्णयसँगै नेकपाको आधिकारिकता
विवाद निरूपणको नयाँ चरणमा प्रस्तुत गरेको बताए। खनालका अनुसार दलको आधिकारिकतासम्बन्धी विवाद समाधान नभएसम्म
चुनाव अघि नबढ्ने बताए।
“खेलाडी तयार नभई निर्वाचन हुन सक्दैन भन्ने कुरा
निर्वाचन आयोगले राम्रोसँग बुझेको छ,” उनले भने।
शीर्ष नेताहरू प्रचण्ड र नेपालसहित उक्त
पक्षले निर्वाचन आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ बमोजिम आफ्नो
पक्षलाई मान्यता दिनुपर्ने माग गरेको हो।
उक्त दुईवटा दफाले दुई वा दुई भन्दा बढी दल वा
एउटै दलका दुई वा दुईभन्दा बढी पक्षबीच दलको नाम, दलको छाप, झण्डा वा चिह्न र पदाधिकारी, केन्द्रीय
समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता निरूपणबारे व्यवस्था गरेको छ।
यसअघि प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समितिको बैठकले
प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटाउँदै आधिकारिकता दाबी गर्ने
निर्णय गरेको थियो।
उक्त समूहले विष्णु पौडेललाई नेकपा महासचिवबाट
हटाउने निर्णय पनि गरेको थियो।
यो पनि पढ्नुहोस्
प्रचण्ड-माधव नेपाल पक्षद्वारा आधिकारिकता दाबी तर ओली पक्ष भन्छ, ‘बाटो बन्द’
निर्वाचन आयोगको निर्णयबाट केपी शर्मा ओली पक्ष उत्साहित, प्रचण्ड पक्षले उठायो प्रश्न
साधारण सदस्य पनि नरहनेगरी केपी शर्मा ओलीलाई 'निष्कासन' गर्ने प्रचण्ड-माधव नेपाल पक्षको निर्णय
म्यान्मारको अर्थतन्त्रमा क्षति पुग्ने डर
तस्बिर स्रोत, Getty Images
ठूला व्यापारिक संस्था र विश्लेषकहरूले म्यान्मारमा भएको सैन्य कूका कारण देशको अर्थतन्त्रलाई हानि पुग्न सक्ने बताएका छन्।
कम्पनीहरूका अनुसार सैन्य कदमका कारण अर्बौँ डलरको वैदेशिक लगानी जोखिममा परिसकेको छ।
अमेरिकाले म्यान्मारविरुद्ध प्रतिबन्ध लगाउन सकिने बताएको छ।
तर अधिकांश लगानी एशियाका देशबाट आउने भएकाले अमेरिकाको निर्णयको ठूलो प्रभाव नपर्न सक्छ।
विश्व ब्याङ्कका अनुसार गत वर्ष सिङ्गापुरबाट सर्वाधिक लगानी आएको थियो।
सिङ्गापुरबाट ३४ प्रतिशत र हङ्कङबाट २६ प्रतिशत वैदेशिक लगानी भित्रिएको थियो।
म्यान्मारमा सेप्टेम्बरमा सम्पन्न सन् २०२० को आर्थिक वर्षमा ५.५ अर्ब अमेरिकी डलर वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो।
अमेरिकामा भीषण हिमपात, न्यूयोर्कमा सङ्कटकाल
तस्बिर स्रोत, Reuters
अमेरिकाको पूर्वी तटीय क्षेत्रमा हिमपातका कारण हवाई उडानहरू रद्द र खोपकेन्द्रहरू बन्द हुनुका साथै न्यूयोर्क र न्यूजर्सीमा सङ्कटकाल घोषणा गरिएको छ।
स्थानीय समयानुसार सोमवार मध्यदिनसम्म न्यूजर्सी र पेन्सल्भेनियामा १९ इन्च र न्यूयोर्कमा १७ इन्च हिउँ परेको बताइएको छ।
तस्बिर स्रोत, EPA
अमेरिकी मौसम विभागले मङ्गलवारपछि मात्रै हिमपात कम हुने बताएको छ।
न्यूयोर्कमा सोमवार बिहानैदेखि अत्यावश्यक पर्दाबाहेक अन्य यात्रामा प्रतिबन्ध लगाइएको छ भने मङ्गलवार विद्यालय बन्द गरिएका छन्।
हिमपातका कारण १,६०० भन्दा बढी हवाई उडानहरू रद्द भएका छन्।
तस्बिर स्रोत, Reuters
चक्रपथमा नेपाली सेनाको अभ्यास
तस्बिर स्रोत, RSS
सोमवार राति नेपाली सेनाका बख्तरबन्द गाडीहरूले काठमाण्डू उपत्यकामा चक्रपथ परिक्रमा गरेर सैन्य अभ्यास गरेका छन्।
नेपाली सेनाले नियमित अभ्यासका लागि त्यसो गरिएको जनाएको छ।
सबै पृतनाअन्तर्गत रहेका एकाइहरूले माघ २१ गते बुधवार विभिन्न स्थानमा फेरि त्यस्तै अभ्यास गर्ने उसको भनाइ छ।
भिडिओ क्याप्शन सुरु हुँदैछ, काठमाण्डूको सडकमा सेनाको बख्तरबन्द गाडी
सैन्य कूको निन्दा, म्यान्मारविरुद्ध प्रतिबन्ध लगाउने अमेरिकी चेतावनी
तस्बिर स्रोत, Reuters
तस्बिरको क्याप्शन, विश्वभरि म्यान्मारको राजदूतावासबाहिर सैन्य कदमको विरोध गर्दै प्रदर्शनहरू भएका छन्
संयुक्त राष्ट्रसङ्घ, अमेरिका र यूकेले म्यान्मारको सैन्य कूको निन्दा गरेका छन्।
सेनाले सोमवार राष्ट्रपति र नेत्री आङ सान सू चीसहित नागरिक नेताहरूलाई नियन्त्रणमा लिएर देशमा सङ्कटकाल घोषणा गरेको थियो।
अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारविरुद्ध पुनः प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।
गत दशकमा म्यान्मारमा प्रजातन्त्र स्थापना भएपछि अमेरिकाले प्रतिबन्धहरू फिर्ता लिएको थियो।
संयुक्त राष्ट्रसङ्घका महासचिवले सेनाको कदम "प्रजातान्त्रिक सुधारका लागि गम्भीर प्रहार" भएको टिप्पणी गरेका छन्।
राष्ट्रसङ्घले पक्राउ परेका कम्तीमा ४५ जनालाई मुक्त गर्न माग गरेको छ।
यूकेका प्रधानमन्त्रीले सू चीको गिरफ्तारीलाई "अवैधानिक" भनेका छन्।
ईयूका नेताहरूले पनि सेनाको कदमको निन्दा गरेका छन्।
चीनले सबै पक्षलाई आफ्ना मतभिन्नता समाधान गर्न आग्रह गरेको छ।
स्वागतम्
नमस्ते। तपाईँलाई हाम्रो लाइभ पेजमा स्वागत छ।
आज माघ २० गते सोमवार। हामी यो पेजमा नेपाल तथा विश्वका अन्य स्थानमा विकसित मुख्य घटनाक्रमबारे समाचार तथा अन्य सम्बन्धित सामग्री प्रकाशित गर्नेछौँ।
तपाईँको कुनै सुझाव र जिज्ञासा भए हामीलाई सम्पर्क गर्ने इमेल nepali.letters@bbc.co.uk हो।