सरकारले प्रतिनिधि सभा भङ्ग गर्दै जनमतका लागि पुनः
निर्वाचनमा जाने गरेको निर्णयको केही साना दलहरूले आफ्नो आधिकारिक धारणा तय
गरेका छन्।
राष्ट्रिय जनमोर्चा पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता
लिँदै पछिल्लो कदमलाई 'असंवैधानिक' बताएको छ।
“अहिले विकल्प खोज्नुपर्ने अवस्था होइन। पार्टीको आन्तरिक
कलहलाई लिएर संसद् सुरु गर्नुपर्ने अवस्थामा प्रधानमन्त्रीले असंवैधानिक कदम
चालेका छन्। यो लोकतन्त्र माथिको आक्रमण हो,” नेतृ दुर्गा पोखरेलले बताइन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन
विक्रम सिंहले सरकारको कदमलाई 'गलत र अधिनायकवादी' ठहर गरेको बताए।
“कुनै
राजनीतिक कारणले वा कुनै संवैधानिक कारणले यो गरिएको होइन। नेकपाको अन्तर कलहमा
आफ्नो पक्ष कमजोर भएपछि यो कदम चालिएको को हो। यो बिलकुल गलत छ भन्ने हाम्रो ठहर हो,” उनले भने।
सरकारको विरुद्धमा आफ्नो दलले देशव्यापी रूपमा कार्यक्रमहरू गर्ने तयारी गरेको
उनले जानकारी दिए।
अर्को दल नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भने
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताएको राष्ट्रिय
समाचार संस्थाले उल्लेख गरेको छ।
“प्रधानमन्त्रीको
कदमले देशलाई खतराबाट रोकेको छ, तत्काल देशलाई भड्खालोबाट जोगाएको छ, पार्टी
फुटे अर्को बन्ला, देश फुटे के गर्ने ? यतिखेर ओलीले देश फुट्नबाट जोगाउनुभएको छ, तर यो
सङ्कट अझै टरेको छैन, आगामी दिनमा अझै खतरा छ, चलखेल अझै हुन्छ, यसतर्फ अब
जनता सजग हुनु जरुरी छ,” राससले तयार पारेको समाचारमा नेता बिजुक्छेले बताएको उल्लेख छ।