नेपालमा हिजोदेखि के भएको हो?
नेपालको राजनीति तरङ्गित हुनेगरी हिजोदेखिभएका मुख्य घटनाहरूमा सर्सर्ती एकनजर:
- सत्तारूढ दल नेकपाभित्रको विवाद चर्कँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा हिजो आइतवार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले संसद्को तल्लो सदन विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्यो।
- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेको जानकारी गराइन्। भण्डारीले संविधानको धारा ७६ को १ र ७ अनि धारा ८५ को उपधारा १ लाई आधार बनाएर विघटनको गरेको राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
- नेकपाका ९० जना सांसदहरूले आइतवार नै संसद् सचिवालयमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्। तर सो प्रस्ताव कतिबेला दर्ता गरिएको भन्नेमा विवाद देखिएको छ। सार्वजनिक गरिएको प्रस्तावको तस्बिरमा बिहान १०:५० लेखिएको छ भने संसद् सचिवालयले दिउँसो ३:३० मा दर्ता गरिएको जानकारी दिएको छ।
- प्रतिनिधिसभा विघटन भएपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै केपी ओली नेतृत्वको सरकारका सातजना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री बिना मगर छन्। तर पूर्वमाओवादीका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले राजीनामा दिएका छैनन्।
- प्रतिनिधिसभा विघटन गरिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले त्यसको चर्को विरोध गरेका छन्। काठमाण्डूसहित देशका विभिन्न भागमा उक्त कदमविरुद्ध जुलुसहरू पनि निस्किएका छन्।
- नेकपाको 'स्थायी कमिटीको आइतवार बसेको बैठक'ले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लग्ने निर्णय गरेको छ। बैठकले प्रधानमन्त्रीको सिफारिसलाई असंवैधानिक कदमको संज्ञा दिएको छ।