अबको समाचार होमपेजमा
आजका लागि यो लाइभ पेजलाई यहीँ विश्राम दिइन्छ।
ताजा र विस्तृत समाचारका लागि बीबीसी नेपाली सेवाको वेबसाइटको होमपेजमा जानुहोला।
हाम्रो लाइभ पेजमा आउनुभएकोमा हार्दिक धन्यवाद।
विश्वभरि कोरोनाभाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउने मानिसको सङ्ख्या बढिरहेको छ। नेपालमा पनि कोभिड-१९ पुष्टि हुने क्रम जारी छ। विगत २४ घण्टामा पीसीआर विधिबाट २,२०० वटा भन्दा बढी परीक्षण भएको छ।
आजका लागि यो लाइभ पेजलाई यहीँ विश्राम दिइन्छ।
ताजा र विस्तृत समाचारका लागि बीबीसी नेपाली सेवाको वेबसाइटको होमपेजमा जानुहोला।
हाम्रो लाइभ पेजमा आउनुभएकोमा हार्दिक धन्यवाद।

सोमवार र मङ्गलवार सङ्क्रमण पुष्टि भएका १० व्यक्ति केही दिनअघि भारतबाट रेलमार्ग हुँदै आएको स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईँले जानकारी दिएका छन्।
झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिका क्षेत्रको दशगजाबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर गाउँपालिकाले निर्माण गरेको क्वारन्टीनमा राखेको थियो।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले उनीहरूलाई सीधै क्वारन्टीनमा राखिएको र उनीहरूको संसर्गमा अरू नआएकाले ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नु नपर्ने र समुदायमा जोखिम न्यून भएको बताए।
भारतका विभिन्न स्थानबाट आएका र सोही क्वारन्टीनमा राखिएकामध्ये नौ जनामा आज सङ्क्रमण पुष्टि भएको हो। हिजो साँझ पनि एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो।
कोरोनाभाइरस सङ्क्रमित फेला परेपछि कचनकवल गाउँपालिकामा हिँडडुलमा कडाइ गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मङ्गलवार अपराह्णसम्म थप २७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ।
अब सङ्क्रमितको कुल सङ्ख्या ४०२ पुगेको छ। तीमध्ये झापाका एक ६२ वर्षीय पुरुससहित ३७ जना निको भएको मन्त्रालयका प्रवक्ताले बताएका छन्।
आज काठमाण्डू उपत्यकामा पाँच र झापामा नौसहित १३ जिल्लामा कुल २९ जनामा कोभिड-१९ पुष्टि भएको हो।
सबै प्रदेशका कुल ३६ जिल्लामा सङ्क्रमित भेटिएका छन्।
परीक्षण
विगत २४ घण्टामा पीसीआर विधिबाट २,२८० वटा परीक्षण गरिएको छ।
अहिलेसम्म उक्त विधिबाट ३२,६०४ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
अहिले देशका विभिन्न स्थानमा २१,६२३ जना क्वारन्टीनमा र ४५७ जना आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।
हिजो ८० जनामा सङ्क्रमण पुष्टि भएको थियो। अहिलेसम्म दुई जनाको मृत्यु भएको छ।

आज कुन जिल्लामा कति सङ्क्रमित भेटिए?
अहिले सबै प्रदेशमा कोरोनाभाइरस सङ्क्रमण पुगिसकेको छ।
तीमध्ये प्रदेश नं ५ र प्रदेश नं २ मा क्रमशः सर्वाधिक सङ्क्रमित छन्।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि नेपाल-भारत सीमा बन्द गरिएको भए पनि लुकीछिपी आउनेजाने क्रम रोकिएको छैन।
नेपालका विभिन्न जिल्लामा भारतबाट आएका व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकाले मानिसहरूको अनियन्त्रित आवागमन रोक्न भनेर मोरङ्गको दक्षिणी सीमावर्ती तीनवटा नगरपालिकाले अब सीमानाकामा म्यादी प्रहरी परिचालन गर्ने तयारी गरेका छन्।
सीमामा खटिएका सुरक्षाकर्मीलाई सघाउने उद्देश्यले सुरुमा तीन महिनाका लागि करारमा म्यादी प्रहरी भर्ना गर्न लागिएको रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिएका छन्।
रतुवामाई, सुनवर्षी र रङ्गेली नगरपालिकाका जनप्रतिनिधिसहित कोरोनाभाइरस नियन्त्रण नगरस्तरीय कार्यदलको हालै बसेको बैठकले प्रत्येक नगरपालिकाले २३ जना म्यादी प्रहरी नियुक्ति गर्ने निर्णय गरेको थियो।
रतुवामाई नगरपालिकाले म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया थालिसकेको छ।


बाँकेको नरैनापुरमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका ५९ जनालाई कहाँ राख्ने विषयमा निर्णय लिन अधिकारीहरूलाई सकस परेको छ।
पहिला सबै जनालाई नेपालगन्ज लैजाने बताइएको थियो। पछि नेपालगन्ज, कोहलपुर र खजुरा लग्ने निर्णय भयो।
तर विरोध भएपछि फेरि नेपालगन्जस्थित लायन्स डेन्टल अस्पताल र कोहलपुरको कृषि तालिम केन्द्रमा राख्ने भनियो।
तर कोहलपुर नगरपालिकाबाट विरोध भएपछि सबै सङ्क्रमितलाई नेपालगन्जमा राख्नेर त्यसपछि सहमति जुटाएर खजुरामा राख्न सकिने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।
"कोहलपुरको कृषि तालिम केन्द्रस्थित क्वारन्टीनमा बसिरहेका २० जनाभन्दा बढीलाई महेन्द्र बहुमुखी क्याम्पसमा सारेर त्यहाँ सङ्क्रमितलाई आइसोलेशनमा राख्ने सहमति भएको छ," यसअघि जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले बीबीसीलाई बताएका थिए।
नरैनापुरको लक्ष्मणपुर स्वास्थ्यकेन्द्रमा आवश्यक पूर्वाधार नभएको भन्दै सङ्क्रमितहरूलाई साधनसम्पन्न स्थानमा चिकित्सकीय निगरानीमा अलग्गै राख्नुपर्ने आवाज उठेको थियो।
एकथरीले सङ्क्रमितलाई नेपालगन्ज ल्याउनुपर्छ भने पनि अर्कोथरीले सम्बन्धित गाउँपालिकामै राख्नुपर्ने तर्क गरेका थिए।
स्वास्थ्यकर्मी र सुरक्षा अधिकारीहरूबीच सङ्क्रमितलाई आइसोलेशनमा राख्ने र नरैनापुरलाई सील गरिएको विषयमा कुरा छलफल भएको थियो।
आइसोलेशनको टुङ्गो नलागेका कारण सोमबार पुष्टि भएका सङ्क्रमितहरू हिजो राति अरूसँगै एउटै स्थानमा बसेको बताइएको छ।
क्वारन्टीनमा कसलाई सङ्क्रमण भएको हो भनेर सूचना नदिइएकाले सबैलाई सँगै राख्नुपरेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।
मङ्गलवार बिहान मात्र सबै सङ्क्रमितलाई पहिचान गरी अलग राखिएको इलाका प्रहरी कार्यालय भोज-भगवानपुरका प्रहरी इन्चार्ज मानबहादुर बीसीले जानकारी दिए।
प्रहरी उपरीक्षक वीरबहादुर ओलीले नरैनापुरमा भएका केही क्वारन्टीनमा प्रयोगशालाबाट लगिएको परीक्षण हेरेर सङ्क्रमितहरूलाई नाम बोलाउँदै पहिचान गर्नुपरेको हो।


तस्बिर स्रोत, ANI
भारतको बिहारमा एउटा ट्रक र बस जुध्दा घर फर्किरहेका नौ जना मजदुरको मृत्यु भएको छ।
प्रहरीका अनुसार ज्यान गुमाउने मजदुरहरू ट्रकमा सवार थिए र तिनीहरू पश्चिम बङ्गालबाट आआफ्नो घर फर्कँदै थिए।
कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण लाखौँ आप्रवासी कामदारहरू भारतका विभिन्न राज्यमा अलपत्र परेका छन्। घर फर्किन धेरैले जोखिमपूर्ण यात्रा गर्ने गरेका छन्।
समाचारसंस्था पीटीआईले एक प्रहरी अधिकारीलाई उद्धृत गरी प्रकाशित गरेको समाचारका अनुसार ती मजदुरहरू छ दिनअघि कोलकाताबाट साइकलमा हिँडेका थिए र बाटोमा तिनीहरूले ट्रक चढेका थिए।
उनीहरूको चम्पारण जिल्लाका बासिन्दा भएको प्रहरीको भनाइ छ।
यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण भेटिएका व्यक्ति ४१ दिन भारतको क्वारन्टीनमा बसेर जेठ १ गते गाउँ फर्किएका थिए।
उनी दैलेखको आठबीस नगरपालिकाका स्थायी बासिन्दा हुन्।
आफू चैत २० गतेदेखि वैशाख ३० गतेसम्म टनकपुरस्थित भारतीय क्वारन्टीनमा बसेको उनले बताए।
उनी किन भारत गएका थिए र कसरी घर फर्किए? पढ्नुहोस् ती व्यक्तिको कथा यस्तो छ।

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस महामारीबाट नेपालको अर्थतन्त्रमा गम्भीर प्रभाव परेको भए पनि त्यसबाट निराश र हतोत्साह नभई काम गर्नुपर्ने बताएका छन्।
संसद्मा सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले कोरोनाभाइरससँग लड्दै र निको पार्दै जनजीवनलाई सामान्य बनाउनुपर्ने बताएका छन्।
सरकारले जनतासँग छलछाम गर्न नहुने र नगर्ने भन्दै उनले प्याकेज प्रस्तुत गर्दा राज्यले धान्न सक्ने र दीर्घकालीन हुनुपर्ने टिप्पणी गरे।
उनका अनुसार सरकारले बेरोजगार भएकालाई यथासम्भव रोजगारीको अवसर उपलब्ध गराउनेछ।
ओलीले मानवजातिले कोरोनाभाइरसलाई परास्त गर्ने र नेपाललाई 'कोरोनाभाइरसमुक्त' बनाइने विश्वास व्यक्त गरे।
अरू के भने?
कोभिड-१९ देखिएका दुई जनाको निधन भएकोमा दुःख व्यक्त गर्दै उनीहरूले कोरोनाभाइरसकै कारण मात्र नभएर अन्य जटिलताका कारण ज्यान गुमाएको हुनसक्ने उल्लेख गरे।
तर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कोभिड-१९ को सङ्क्रमण पाइएकाले उनीहरूको ज्यान कोरोनाभाइरसका कारणले गएको स्वीकार गरिएको उल्लेख गरे।
अधिकांश सङ्क्रमण बाहिरबाट आउनेले सारेको उल्ले
गर्दै भारतबाट आउने व्यक्तिहरूबाट नेपालमा समुदायमा सङ्क्रमण सर्ने अवस्था देखिएकाले सजग हुनुपर्ने उनले बताए।
चीनको वुहान, इटलीजस्ता स्थानबाट आएको भाइरसभन्दा भारतबाट प्रवेश गरेको कोरोनाभाइरस अलि शक्तिशाली रहेको उनको भनाइ थियो।
उनले भने, "सिमानामा आएर बस्नेलाई जनप्रतिनिधिका दबावले पनि रोक्न सकिएन। कहाँबाट सर्यो र कोबाट सर्यो भन्न सकेका छौँ। अझै पनि हामी नियन्त्रण गर्न सक्छौँ।"
प्रधानमन्त्रीले नेपालमा हालसम्म ३४ जिल्लामा ३७७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको पनि संसद्लाई जानकारी गराए।
उनले देशभरि वडावडा तहसम्म क्वारन्टीन बनाउने गृहकार्य सरकारले अघि बढाएको बताए।
प्रधानमन्त्रीले कोरोनाभाइरसको नियन्त्रणभन्दा पनि सरकारलाई असफल देखाउने प्रयास भएको भन्दै सरकारले देशलाई कोरोनाभाइरसमुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखिएको बताए।

तस्बिर स्रोत, RSS

कर्णाली प्रदेशको दैलेखमा हिजो एक व्यक्तिमा कोभिड-१९ देखिएपछि अब नेपालका सबै सात प्रदेशमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको छ।
अहिले प्रदेश नं ५ र प्रदेश नं २ मा सर्वाधिक सङ्क्रमित छन्।
अहिलेसम्म मृत्यु हुनेहरूको सङ्ख्या दुई छ भने ३६ जना निको भएर अस्पतालबाट बिदा भएको बताइएको छ।
कुन प्रदेशमा कति सङ्क्रमण र मृत्यु भएको छ? हेर्नुहोस् यो नक्सामा।
एउटा अमेरिकी कम्पनीले बनाएको खोपको प्रयोगबाट मानव शरीरको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्न सकिन्छ भन्ने प्रारम्भिक सङ्केत प्राप्त भएको दाबी गरेको छ।
उक्त खोपको सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ।
थप विवरण यहाँ छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनमा ३० दिनभित्र ठोस परिवर्तन नभए अमेरिकाले दिने सहयोग स्थायी रूपमा रोक्ने चेतावनी दिएका छन्।
ट्रम्पले डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससलाई लेखेको पत्रमा त्यस्तो चेतावनी दिएका हुन्।
उनले ट्वीट गर्दै उक्त पत्र सार्वजनिक गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त

भारतमा एक लाख जनाभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
यो एशियामा सर्वाधिक सङ्ख्या हो। यसअघि चीनमा सर्वाधिक सङ्क्रमित थिए।
राज्य सरकारहरूले कोरोनाभाइरस रोकथाम र नियन्त्रण गर्न लगाइएको लकडाउन केही खुकुलो बनाएको भोलिपल्ट यो सङ्ख्या पुगेको हो।
भारतमा सङ्क्रमणको उत्कर्ष जुन महिनामा पुग्ने बताइएको छ।
विगत २४ घण्टामा देशभरि ४,९७० जनामा कोभिड-१९ पुष्टि भएको थियो भने १३४ जनाको मृत्यु भएको थियो।
भारत सरकारका अनुसार अहिलेसम्म १,०१,१३९ जना सङ्क्रमित फेला परेका छन्।
भारतभरि कुल ३,१६३ जनाको कोभिड-१९ बाट मृत्यु भएको र ३९,००० जनाभन्दा बढी निको भएको तथ्याङ्क छ।
नमस्कार। बीबीसी नेपाली न्यूजको लाइभ पेजमा स्वागत छ।
आज जेठ ६ गते मङ्गलवार हामी दिनभरि यो लाइभ पेजमा कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित नेपाल र विश्वका महत्त्वपूर्ण समाचार र जानकारीहरू प्रकाशित गर्नेछौँ।
विश्वभरि कोरोनाभाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ।