तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

कोरोनाभाइरस अपडेट: अस्पतालबाट भाग्न खोजे पर्सामा प्रहरीले 'गोली पनि हान्न सक्ने', सीमावर्ती जिल्लामा भारतबाट नेपालीहरू भित्रिँदै

केही दिनअघि नारायणी अस्पतालबाट कोभिड-१९ भएका दुई व्यक्ति भागेका थिए। उनीहरूलाई पछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

लाइभ कभरेज

  1. अबको अपडेट होमपेजमा

    आजका लागि यो लाइभ पेजलाई यहीँ विश्राम दिइन्छ।

    यतिन्जेल हामीलाई साथ दिनुभएकोमा तपाईँहरूप्रति हार्दिक आभार व्यक्ति गर्छौँ। अबको अपडेट हाम्रो होमपेजमा हुनेछ।

    हाम्रो रेडिओ कार्यक्रम नेपाली समयानुसार साँझ ८:४५ बजे र सोमवार बिहान ७:१५ बजे सुन्न नबिर्सनुहोला। धन्यवाद।

  2. आइसोलेशनबाट भाग्न खोजे प्रहरीले 'गोली पनि हान्न सक्ने'

    पर्सामा कोभिड-१९ पुष्टि भएका व्यक्ति अस्पतालबाट भागे आवश्यक परे प्रहरीलाई गोली चलाउन सक्ने अधिकार दिइएको पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले बताएकी छन्।

    प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको सङ्कट व्यवस्थापन समितिको बैठकले त्यस सम्बन्धमा निर्णय गरेको हो।

    गत बुधवार नारायणी अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका दुई सङ्क्रमित शौचालयको झ्यालबाट हाम फालेर भागेका बताइएको थियो।

    प्रहरीले ती दुवैलाई त्यही राति निणन्त्रणमा लिएर पुनः अस्पताल फिर्ता ल्याएको थियो।

    सङ्क्रमितलाई भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्ने व्यक्तिले समाजमा अरूलाई सङ्क्रमण सार्न सक्ने भएकाले उनीहरूलाई नियन्त्रणमा लिन आवश्यकता हेरेर बल प्रयोग गर्ने निर्णय भएको अधिकारीहरूले बताएका छन्।

    प्रहरी उपरीक्षक गङ्गा पन्तले भनिन्, "दुई सङ्क्रमित भागेको खबर पाएपछि खोजी कार्य तीव्र पारिएको थियो। फेला परेपछि पनि उनीहरूलाई सीधै समात्न समेत समस्या भयो। त्यसकारण अबउप्रान्त यस्तो घटना नदोहोरियोस् अर्थात् उनीहरूबाट प्रभावित भएर अरूले यस्तो काम नगरून् भनेर पनि यस्तो निर्णय भएको हो।"

  3. अहिलेसम्म पीसीआर विधिबाट झन्डै २४ हजार परीक्षण

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले १५,८६३ जना देशका विभिन्न स्थानमा क्वारन्टीन रहेको बताएको छ।

    तीमध्ये प्रदेश नं ५ मा सबैभन्दा धेरै ८,३२५ जना र वाग्मती प्रदेशमा सबैभन्दा कम ११७ जना छन्।

    अहिले सङ्क्रमित र सम्भावित सङ्क्रमित गरी कुल २६७ जनालाई आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै राखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

    मन्त्रालयले दिउँसो ३:२० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म पीसीआर विधिवाट जम्मा २३,९१४ वटा र आरडीटी विधिबाट ६३,०८५ वटा परीक्षण गरिएको छ।

    उदयपुरका एक सङ्क्रमित कोरोनाभाइरसमुक्त भएर कोशी अस्पतालबाट बिदा भएपछि नेपालमा अहिलेसम्म पुष्टि कोभिड-१९ बाट निको हुनेको सङ्ख्या ३६ पुगेको छ।

  4. बाँकेमा भारतबाट नेपाली भित्रिने क्रम बढ्दो

    प्रदेश नं ५ को बाँके जिल्लामा बिहीवार राति भारतबाट ८१९ जना नेपाल भित्रिएका छन्।

    • नेपालगन्जको जमुनाहा नाकाबाटः ६८८
    • नरैनापुर गाउँपालिकाको भगवानपुर नाकाबाटः ८९
    • डुडुवा गाउँपालिकाको खडैचा नाकाबाटः ४२

    दुई दिनअघि नरैनापुरबाट भित्रिएका आठ जनामा कोरोनाभाइरस पुष्टि भएको छ। नरैनापुरबाट अझै भित्रिने क्रम बढिरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

    नरैनापुरबाट नेपाल भित्रिनेको सङ्ख्या ५३० पुगेको छ भने खडैचाबाट भित्रिनेको सङ्ख्या १०८ पुगेको स्थानीय अधिकारीहरूलाई उल्लेख गर्दै बीबीसी संवाददाता विमला चौधरीले बताइन्।

    स्थानीय प्रशासनले सीमापारि भारतको क्वारन्टीनमा रहेका नेपालीलाई भित्र्याउने नीति लिएपछि हिजो मात्र जमुनाहा नाकाबाट ६८८ जना भित्रिएका थिए।

    त्यसमध्ये बाँकेका बासिन्दालाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारन्टीनमा राखिएको छ।

    कर्णाली प्रदेश र अन्यत्रका बासिन्दालाई आरडीटी विधिबाट परीक्षण गरेर पठाउने तयारी भइरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

    बाँकेका विभिन्न क्वारन्टीनमा भएका १७० जनासहित कुल १४८३ भारतीय नागरिकलाई हिजो राति नै सीमापारि पठाइएको नेपाली अधिकारीहरूले बताएका छन्।

    जमुनाहा नाकाबाट आज नेपाली भित्र्याउने कार्य रोकेर हिजो आएका मानिसहरूलाई व्यवस्थापन गर्ने काम भइरहेको जानकारी वलीले दिए।

  5. इङ्ग्ल्यान्डमा प्राथमिक विद्यालय खोल्ने योजना र विरोध

    इङ्ग्ल्यान्डको एउटा ठूलो शैक्षिक संस्थाले आगामी महिनादेखि ३५ वटा प्राथमिक विद्यालय खोल्ने योजना सार्वजनिक गरेको छ।

    तर शिक्षकहरूको सङ्गठनले तत्काल विद्यालय खोल्दा असुरक्षा हुने भन्दै उक्त योजनाको विरोध गरेको छ।

    थप विवरण यहाँ

  6. पूरै विश्वलाई आतङ्कित पारेको कोरोनाभाइरस वास्तवमा के हो?

  7. प्रदेश नं ५ मा १०० जनाभन्दा बढीमा 'सक्रिय सङ्क्रमण'

    अहिलेसम्मको विवरणअनुसार प्रदेश नं ५ मा सर्वाधिक १०२ जना व्यक्तिमा कोभिड-१९ पुष्टि भएको छ।

    त्यसपछि प्रदेश नं २ मा ९९ जनामा कोरोनाभाइरस भेटिएको पुष्टि भएको छ। तर तीमध्ये चार जना भाइरसमुक्त भइसकेको सरकारको भनाइ छ।

    कर्णाली प्रदेशमा भने कसैमा पनि कोभिड-१९ भेटिएको पुष्टि भएको छैन।

    • कुन प्रदेशमा कति सङ्क्रमित छन् र कति जना निको भए? हेर्नुहोस् यो अन्तर्क्रियात्मक नक्सामा
  8. सिङ्गापुरमा 'यान्त्रिक कुकुर'ले यसरी गर्छ गस्ती

    सिङ्गापुरमा सार्वजनिक उद्यानहरूमा मानिसहरूले एकअर्काबीच पर्याप्त दूर कायम राखून् भनेर 'यान्त्रिक कुकुर' प्रयोग गरिएको छ।

    कोरोनाभाइरस नियन्त्रणका लागि यो उपाय अवलम्बन गरिएको हो।

    हेर्नुहोस् यो भिडिओ।

  9. बाँदरमा गरिएको परीक्षणमा कोरोनाभाइरसको खोप 'प्रभावकारी'

    ब्रिटेनस्थित अक्सफर्ड यूनिभर्सिटीमा कोरोनाभाइरसविरुद्ध विकास गरिएको एउटा खोपको प्रारम्भिक परिणाम उत्साहजनक देखिएको उक्त अनुसन्धानमा संलग्न अमेरिकी तथा ब्रिटिश वैज्ञानिकहरूले बताएका छन्।

    उक्त अनुसन्धानमा छवटा बाँदरमा खोप दिएर परीक्षण गरिएको र त्यो कोरोनाभाइरसविरुद्ध प्रभावकारी देखिएको थियो।

    अब मानिसमा उक्त खोपको परीक्षण हुने बताइएको छ।

    अनुसन्धानको प्रतिवेदनमा वैज्ञानिकहरूले ती बाँदरको शरीरमा ठूलो परिमाणमा कोरोनाभाइरस प्रवेश गराउनुअघि उक्त खोप लगाएका थिए।

    खोपका कारण बाँदरको शरीरमा १४ देखि २८ दिनभित्र एन्टीबडी बनेको र त्यसले कोरोनाभाइरसको प्रतिकार गरेको बताइएको छ।

    अहिले विश्वका विभिन्न देशमा विभिन्न किसिमका खोप विकास गर्ने र परीक्षण गर्ने काम भइरहेको छ।

    यो पनि पढ्नुहोस्

    • खोप कहिलेसम्म बन्छ?
    • कोभिड-१९ विरुद्ध बन्ने भ्याक्सीन गरिब देशले सजिलै पाउलान् त?
  10. पूर्वराजा र पूर्वरानी काठमाण्डू फर्किँदै

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापाबाट काठमाण्डू फर्किन सवारीसाधन चलाउने अनुमितपत्र, पास, फेरि उपलब्ध गराइएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताएका छन्।

    गृह मन्त्रालयको अनुमति लिएर मात्रै पास जारी गर्नुपर्ने प्रावधान लागु भएपछि उनलाई पहिला दिइएको पास रद्द भएको थियो।

    पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल आज बिहान झापाबाट काठमाण्डू हिँडिसकेका बताइएको छ।

    सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन लगाएपछि पूर्वराजदम्पती झापाको दमकमा रोकिएका थिए।

    थप विवरण यहाँ

  11. ब्रेकिंग, भारतमा कोभिड-१९ का मृत्यु हुनेको सङ्ख्या २६०० नाघ्यो, दक्षिण एशियामा सर्वाधिक प्रभावित देश

    भारत दक्षिण एशियामा कोरोनाभाइरस महामारीका कारण सर्वाधिक प्रभावित भएको देखिएको छ।

    • सङ्क्रमितको सङ्ख्याः झन्डै ८२,०००
    • मृतकको सङ्ख्याः २,६४९
    • निको हुनेको सङ्ख्याः झन्डै २८,०००
    • सर्वाधिक प्रभावित राज्यः महाराष्ट्र
    • महाराष्ट्रमा सङ्क्रमित र मृतकको सङ्ख्याः २७,५२४ र १,०१९

    भारतपछि पाकिस्तान सर्वाधिक प्रभावित भएको छ। दक्षिण एशियामा भुटान र नेपालबाहेक अरू देशमा कोभिड-१९ का कारण मानिसहरूको मृत्यु भएको छ।

  12. बाँकेमा भेटिएका आठ सङ्क्रमित भारतबाट फर्किएका थिए, विमला चौधरी, नेपालगन्ज

    बाँकेमा सङ्क्रमण पुष्टि भएका सबै आठ जना भारतबाट फर्किएर क्वारन्टीनमा बसिरहेका व्यक्ति भएको बुझिएको छ।

    उनीहरू नरैनापुर गाउँपालिकाका विभिन्न वडाका बासिन्दा हुन्।

    भेरी अस्पतालमा गरिएको परीक्षणमा १८ देखि ३६ वर्ष उमेरका ती पुरुषमा सङ्क्रमण देखिएको हो। अहिले नरैनापुरमा ४४१ जना क्वारन्टीनमा छन्।

    नयाँ सङ्क्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर वा नेपालगञ्जस्थित डेन्टल अस्पतालमा चिकित्सकीय निगरानीमा अलग्गै (आइसोलेशनमा) राख्ने विषयमा छलफल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

    प्रदेश नं ५ को बाँके जिल्लामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ३३ पुगेको छ।

    नेपालमा कोरोनाभाइरस: कुन प्रदेशमा कति सङ्क्रमित छन् र कति जना निको भए? हेर्नुहोस् यो अन्तर्क्रियात्मक नक्सामा

  13. नेपालमा थप नौ जनामा सङ्क्रमण पुष्टि

    नेपालमा थप नौ जनामा कोरोनाभइरस सङ्क्रमण पुष्टि भएको छ।

    योसँगै अहिलेसम्म सङ्क्रमित पुष्टि भएका व्यक्तिको सङ्ख्या २५८ पुगेको छ

    शुक्रवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार सङ्क्रमितमध्ये एक जना मकवानपुर र आठ जना बाँकेका हुन्। उनीहरू सबै पुरुष हुन्।

  14. विश्वभरिका प्रमुख घटनाक्रम

    नमस्कार।

    आज जेठ २ गते शुक्रवार हामी दिनभरि यो लाइभ पेजमा कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित नेपाल र विश्वका महत्त्वपूर्ण समाचार र जानकारीहरू प्रकाशित गर्नेछौँ।

    • कोभिड-१९ का कारण विश्वभरि ज्यान गुमाउने मानिसको सङ्ख्या ३,००,००० पुगेको छ।
    • जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभरि ४४ लाखभन्दा बढी मानिसमा सङ्क्रमण पुष्टि भएको छ।
    • कोरोनाभाइरस महामारीबाट सर्वाधिक सङ्क्रमित अमेरिकामा १४ लाख जनाभन्दा बढी सङ्क्रमित भएका छन्। तीमध्ये मृतकको सङ्ख्या ८६,००० पुग्न लागेको छ।
    • अमेरिकामा न्यूयोर्क राज्यमा २७,००० जनाभन्दा बढीको मृत्यु भएको छ।
    • नेपालमा पनि कोभिड-१९ पुष्टि हुने क्रम जारी छ। आज बिहानसम्म कुल २५८ जनामा सङ्क्रमण पुष्टि भएको छ। नेपालमा प्रदेश नं ५ र २ सर्वाधिक प्रभावित छन्।