पूर्व राजा ज्ञानेन्द्र: सवारी पासबारे प्रशासन र पूर्व राजाको सचिवालयको आ-आफ्नै दाबी

Published
पढ्ने समय: २ मिनेट

पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापाबाट काठमाण्डू फर्कनका लागि जारी गरिएको सवारी पास रद्ध गरिएको दुई घण्टाभित्रै उपलब्ध गराइएको अधिकारीहरूले दाबी गरेका छन्।

अधिकारीहरूका अनुसार लकडाउनका बेला काठमाण्डू प्रवेश गर्ने सवारी साधनहरूमा कडाइ गरिएका कारण उनको यात्राका लागि जारी गरिएको पास फिर्ता लिइएको थियो।

उक्त विवरण सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा केहीले विरोध गरेका थिए। लकडाउनकै बेला नेता तथा अन्य व्यक्तिहरू निर्बाध रूपमा यात्रा गरिरहेका बेला पूर्व राजपरिवार माथि गरिएको व्यवहार राम्रो नभएको भन्दै सरकारी निर्णयको आलोचना गर्नेहरू पनि बाक्लै थिए।

केही हप्ता अघि मात्रै सांसद सुरेन्द्र यादवलाई जनकपुरबाट केही नेता तथा नेपाल प्रहरीका प्रमुख समेत रहिसकेका सर्वेन्द्र खनाल सहितको टोलीले काठमाण्डू ल्याएका थिए।

त्यसबेला कुनै पनि निकाय बाट रोकटोक नभएको यादवले बताउँदै आएका छन्। पूर्व राजा र उनकी पत्नी कोमल पछिल्ला केही महिनादेखि दमकस्थित हिमालयन टी गार्डेनमा बसिरहेका थिए।

के भएको थियो?

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार बिहीवार पूर्व राजाको यात्राका लागि सवारी पास जारी गरिएको थियो।

सामान्य प्रक्रिया स्वरूप आफूहरूले पास जारी गरेको तर गृह मन्त्रालयको अनुमति लिएर मात्रै पास जारी गर्नुपर्ने प्रावधान लागु भएको अवस्थामा आफूहरूले उक्त पास पक्रिया नपुगेको भन्दै तत्काल रद्द गरेको उनले स्वीकार गरे।

"हामीले आफैँ प्रक्रिया पुगेन भनेर पास रद्द गरेका हौँ। पछि गृहबाट अनुमति प्राप्त भए पछि हिजै पास दिइएको हो," उनले बीबीसीसँग भने।

रानामगरका अनुसार पहिलो पटक पास बिहीवार साँझ करिब ५ बजेतिर जारी गरिएको थियो। लगत्तै रद्द गरिएको उक्त पास गृह मन्त्रालयबाट करिब ६ बजे निर्देशन प्राप्त भए पछि पुनः जारी गरेर करिब ७ बजे नै उपलब्ध गराइएको उनले दाबी गरे।

"यो प्रक्रियागत त्रुटि थियो। हामीले हिजै रद्द गरेको पास पुन: जारी गरेका हौँ," उनले भने।

तर पूर्व राजाको सञ्चार मामिला हेर्दै आएका फणिराज पाठक भने राति १० बजे मात्रै सवारी पास जारी गरिएको बताउँछन्।

"सरकारकै निर्देशनमा पनि खासमा झन्डावाला गाडी वा सुरक्षाकर्मीहरूले पहरा दिएको गाडिलाई पास नचाहिने खाले व्यवस्था उल्लेख गरिएको छ। तर पूर्व राजाले देशको कानुन पालना गर्दै प्रशासनको अनुमति लिन चाहनु भएको हो," उनले भने।

"म काठमाण्डूमै भएकाले यसबारे धेरै जानकारी भने भएन।"

सर्वसाधारणसहित नेताहरूमाथि पनि 'कडाइ गरिने'

केही हप्ता अघि मात्रै नेपाली कांग्रेसका नेता कृष्ण सिटौला आफ्ना छोराको विवाहका क्रममा काठमाण्डूबाट परिवारसहित झापा पुगेका थिए।

त्यस बाहेक अन्य नेता र विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरू पनि निर्बाध रूपमा हिँडिरहेको विवरणहरू बेला बेलामा आउने गरेका छन्।

रानामगरका अनुसार पछिल्लो परिस्थितिमा अब त्यस्तो गर्न सम्भव हुने छैन। विशेष गरी काठमाण्डू प्रवेश गर्न चाहनेहरूमा त्यस्तो कडाइ गरिएको उनको भनाइ छ।

"त्यसकारण अब कृष्ण सिटौला काठमाण्डू जानु परे पनि पास लिनुपर्छ," उनले भने।

शुक्रवार बिहान ८ बजे पूर्व राजा सहितको ४ वटा गाडी काठमाण्डूतर्फ हिँडेको बताइएको छ।

अगुवा पछुवासहित सुरक्षाकर्मीको दुईवटा गाडी, पूर्व राजा र उनकी पत्नी सवार गाडी र उनको सचिवालयका सदस्य रहेको अर्को एउटा गाडीलाई अनुमति दिइएको बताइएको छ।