डडेलधुरामा ५.४३% मत बदर, 'मतपत्रमा तीन ठाउँमा औँठाछाप', प्रकाश पार्की, डडेलधुरा
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डडेलधुरामा यसपटक ५.४३ प्रतिशत मत बदर भएको निर्वाचन आयोगको तथ्याङ्कले देखाएको छ।
जिल्लामा कुल ४५ हजार ५ सय ४३ मत खसेकोमा ४३ हजार ६७ मत सदर भएका छन् भने २ हजार ४ सय ७६ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय, डडेलधुराले जनाएको छ।
यसअघिको २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने जिल्लामा ६.२२ प्रतिशत मत बदर भएको थियो।
उक्त निर्वाचनमा ५१ हजार २०३ मत खसेकोमा ४८ हजार १६ मत सदर र ३ हजार १८७ मत बदर भएका थिए।
एउटै मतपत्रमा तीन ठाउँमा औँठाछाप
मतगणनाका क्रममा एउटै मतपत्रमा तीन ठाउँमा औँठा छाप लगाइएको समेत भेटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सहायक निर्वाचन अधिकृत गणेशबहादुर विष्टका अनुसार केही मतपत्रमा दुई वा सोभन्दा बढी चुनाव चिन्हमा मत छाप लगाएको पाइएको थियो।
कुनै पनि चिन्हमा छाप नलगाइकन खाली छोडिएका मतपत्रहरू समेत भेटिएको उनले बताए।