तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

अर्थमन्त्री पौडेलले संसद्‌मा बजेट प्रस्तुत गरे, राजावादी समूहको आजको कार्यक्रम पनि सकियो

संवैधानिक व्यवस्थानुसार अर्थमन्त्री विष्णु पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकमा नयाँ आर्थिक वर्षको बजेट पेस गरेका छन्। आजै राजावादी समूहहरूले काठमाण्डूमा गरेको कार्यक्रम सकिएको छ।

सारांश

  • संविधानले तोकेअनुसार आज जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडलेले वार्षिक बजेट पेस गर्न थालेका छन्, यसअघि उनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका थिए
  • सरकारी कर्मचारीहरूको अपेक्षाविपरीत सरकारले यसपालि पनि तलब बढाएन, महँगी भत्ता भने बढाएर मासिक रु ५,००० पुर्‍यायो
  • आज अठारौँ गणतन्त्र दिवसका अवसरमा देशभरि विभिन्न कार्यक्रम आयोजना गरिएको छ
  • गणतन्त्रलाई उत्सवका रूपमा मनाउने भन्दै सत्तारूढ नेकपा एमालेले आफ्ना कार्यकर्तालाई सडकमा सांस्कृतिक झाँकी र बाजागाजासहित उपस्थित गराएको छ
  • राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजावादी समूहहरूले आजदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्
  • यसै साता प्रधानमन्त्री केपी ओलीले गणतन्त्र दिवसका दिन '११ बजेदेखि २ बजेसम्म' काठमाण्डू नियन्त्रण गर्न कार्यकर्तालाई गरेको आह्वानलाई राष्ट्रिय मानवअधिकार आयोगले 'चिन्ताजनक' भनेको छ
  • गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गर्दै आएका विपक्षी दलले बजेट ल्याउन दिन बैठक अवरोध गरेनन्

लाइभ कभरेज

  1. टुँडिखेलमा प्रधानमन्त्री ओलीले के भने?

    गणतन्त्र दिवस २०८२ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।

    गणतन्त्र “हजारौँ जनताको बलिदानबाट र त्यागबाट” आर्जन गरिएको स्मरण गर्दै उनले यो जनताको व्यवस्था भएकाले “यसमा यदि कमजोरी भयो भने गणतन्त्रको होइन, निर्णयकर्ताको कमजोरी” हुन सक्ने र “निर्णयमा हुने कमजोरीलाई निर्णयबाटै सच्याउने सुविधा” भएको बताएका छन्।

    “मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्यप्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट चल्ने प्रणाली स्थापित गरेका हौँ। हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण दिवसको मूल्य हामीले कहिल्यै बिर्सनु हुँदैन, बिर्सने छैनौँ।”

    “....राजतन्त्रलाई प्रश्नभन्दा माथि राखिन्थ्यो, गणतन्त्रमा आलोचनाबाहिर कोही रहन्नन्। आज तपाईँ सरकारको आलोचना गर्न सक्नुहुन्छ, गर्न पाउनुभएको छ। हामी सरकार बदल्न पाउँछौँ, निडर भएर लेख्न बोल्न पाउँछौँ। अर्काको अधिकारमा दख्खल नदिई आफ्नो अधिकारको वकालत गर्न पाउँछौँ। किनभने हामी गणतन्त्रमा छौँ। यही स्वतन्त्रता, यही उत्तरदायित्व हाम्रो शक्ति हो।”

    उनले गणतन्त्रलाई नारामा नभई व्यवहारमा संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिएका छन्।

    “गणतन्त्र कुनै दलको स्वामित्व होइन, यसको मालिक जनता हो। लोकतान्त्रिक गणतन्त्र ‘जनताको लागि, जनताद्वारा, जनताको’ शासन प्रणाली हो।... राम्रो वा नराम्रोको उत्तरदायित्व पनि जनताकै हातमा छ। जनताको अधिकार र उत्तरदायित्वको संयोजन गर्न सक्दा मात्र गणतन्त्रले हाम्रो सुन्दर देश नेपाललाई विकास समृद्धि र सुशासनको अत्युत्कर्षमा पुर्‍याउन सक्ने छ।”

  2. राजसंस्था पक्षधरको कार्यक्रम रत्नपार्कमा

    राजसंस्था पक्षधर दल तथा समूहहरूले काठमाण्डूको रत्नपार्कमा कार्यक्रम गर्दै छन्।

    राजसंस्था अन्त्य भएको दिन पारेर उनीहरूले जेठ १५ गतेबाट निरन्तर आन्दोलन गर्न लागेको बताएका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बीबीसीलाई बताएअनुसार राजधानीका विभिन्न सात स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा हुने छ।

    “त्यहाँ नारा, जुलुस नाचगानसहितका प्रस्तुतिका साथै नेताहरूले सम्बोधन गर्नुहुने छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

    “सम्भावित घुसपैठलाई ध्यानमा राखी हामीले व्यापक रूपमा जनपरिचालन गर्ने छौँ,” कुनै अप्रिय घटना नहोओस् भन्दै उनले भने।

    गत चैत १५ गते राजसंस्था पक्षधर शक्तिहरूको कार्यक्रम हिंसात्मक हुँदा दुई जनाको ज्यान गएको थियो भने कैयौँ घाइते भएका थिए।

  3. एमालेको कार्यक्रममा केन्द्रीय नेताले सम्बोधन गर्ने

    उत्सवका रूपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको सत्तारूढ नेकपा एमालेले काठमाण्डूको भृकुटीमण्डपमा कार्यक्रम गर्दै छ।

    सो पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बीबीसी न्यूज नेपालीलाई बताएअनुसार काठमाण्डूका विभिन्न स्थानबाट बाजागाजा र सांस्कृतिक झाँकीसहितका र्‍याली अपराह्ण भृकुटीमण्डपमा पुग्ने छ।

    “त्यसपछि सबै सहभागीहरू रत्नपार्कको परिक्रममा गरी फेरि भृकुटीमण्डप पुग्ने छन्,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

    “भृकुटीमण्डपमा केन्द्रीय नेताले गणतन्त्रको औचित्यबारे सङ्क्षिप्त मन्तव्य राखेपछि कार्यक्रम समापन हुने छ।”

    यसअघि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेठ १५ गते काठमाण्डू एमालेको नियन्त्रणमा हुनुपर्ने आशयको अभिव्यक्ति दिएपछि त्यसको व्यापक आलोचना भएको थियो।

    राष्ट्रिय मानव अधिकार आयोगदेखि विभिन्न पक्षले समेत त्यसप्रति चासो व्यक्त गरेका थिए।

  4. शान्तिपूर्ण प्रदर्शन गर्न मानवअधिकार आयोगको अपील

    राष्ट्रिय मानव अधिकार आयोगले आज राजतन्त्रवादी र गणतन्त्रवादी दलहरूले राजधानी काठमाण्डूमा गर्न लागेका जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन आह्वान गरेको छ।

    आयोगले ती प्रदर्शनको सन्दर्भमा अपनाइने सुरक्षा सतर्कता सम्बन्धमा काठमाण्डू र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला प्रहरी प्रमुखहरूसँग बुधबार छलफल गर्दै उक्त अपील गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    राससका अनुसार आयोगका अध्यक्ष तपबहादुर मगरले "शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्तिसुरक्षाको प्रबन्ध मिलाउँदा मानवअधिकारका मूल्यमान्यतालाई आत्मसात् गर्न" सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्।

    आयोगले विभिन्न टोलीहरू बनाई प्रदर्शनको मानव अधिकारको कोणबाट अनुगमन पनि गरिने जनाएको छ।

  5. देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम

  6. सुरक्षाकर्मीको ‘बाक्लो’ तैनाथी, सबै अवस्थासँग जुझ्ने रणनीति: नेपाल प्रहरी

    गणतन्त्र दिवसका दिन एकातिर औपचारिक समारोह तथा सत्ताधारी दलका झाँकी प्रदर्शन अनि अर्कोतिर राजावादीहरूले सडक आन्दोलन गर्ने भनिरहेकाले काठमाण्डूमा सुरक्षाकर्मीहरूको ‘बाक्लो’ तैनाथी गरिएको नेपाल प्रहरीका प्रवक्ताले बीबीसीलाई बताएका छन्।

    “विभिन्न कार्यक्रम हुने भनिएको हुनाले ती सबैलाई दृष्टिगत गरी हामीले बाक्लो उपस्थिति गराएका छौँ,” प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताए।

    “सम्भावित जुनसुकै सुरक्षा चुनौतीहरूलाई विश्लेषण गरेर तदनुरूप कुनै पनि अप्रिय घटना भयो भने तत्काल नियन्त्रण गर्ने गरी पर्याप्त सुरक्षा तैनाथी गरेका छौँ।”

    दुईथरी समूहको आपसी झडप नहोस् भनेर दुईथरी समय निर्धारण गरिएको जानकारी प्राप्त भएको उनले बताए।

    सुरक्षा बन्दोबस्तीका लागि काठमाण्डू जिल्ला सुरक्षा समन्वय समितिले आवश्यक समन्वय गरिसकेको उनले बताए।

    “सुरक्षा बल एकीकृत परिचालन हुने हो त्यसैले सशस्त्र प्रहरी बल पनि सँगै खटिएको अवस्था छ।”

    बिहानै टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा औपचारिक गणतन्त्र दिवसको समारोह सुरु भएको छ।

    बिहान १० बजेपछि नेकपा एमालेले सांस्कृतिक झाँकी तथा बाजागाजासहित प्रदर्शन गर्ने भनेको छ भने दिउँसो २ बजेपछि राजावादी समूहहरूलाई प्रदर्शनको अनुमति दिइएको विवरण आएका छन्।

  7. मन्त्रिपरिषद्ले बजेट अनुमोदन गर्ने

    अर्थमन्त्री विष्णु पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा दिउँसो प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक बस्ने राष्ट्रिय समाचार समितिले जनाएको छ।

    राससका अनुसार उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ।

    आजै प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आयोगको बैठक पनि बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

    अर्थमन्त्री पौडेलले दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने छन्।

  8. गणतन्त्र दिवसमा नेताहरूको सन्देश, राजनीतिक उपलब्धिमात्र पर्याप्त नभएको भनाइ

    गणतन्त्र दिवसका अवसरका राष्ट्रपति रामचन्द्र पौडेलले सन्देश दिँदै 'गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने र त्यसका लागि शासकीय चरित्र बदल्नुपर्ने' भनेका छन्।

    “हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु,” राष्ट्रपति पौडेलले भनेका छन्।

    “जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्ने छैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन।”

    प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई 'शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन' भनेर स्मरण गरेका छन्।

    “मुकुटको होइन - मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन,” प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल फेसबुकबाट सन्देश दिएका छन्।

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले 'भ्रष्टाचार, असमानता र शासकीय कमजोरीजस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुने' बताएका छन्।

    राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले “गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुनै नसक्ने” उल्लेख गरेका छन्।

    विभिन्न राजनीतिक दलका अन्य नेताहरूले पनि गणतन्त्रका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका छन्, “संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्र समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ।”

    प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा 'दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको' बताएका छन्।

    “माओवादीको सचेत पहल र आमउत्पीडित जनसमुदायको सहभागितामा सञ्चालित जनयुद्धको जग तथा अन्य गणतान्त्रिक शक्तिको समेत सहकार्यमा भएको ऐतिहासिक जनआन्दोलनको बलबाट गणतन्त्र स्थापना भएको हो। गणतन्त्रवादी यथास्थिति र प्रतिगामी हर्कतका विरुद्ध सङ्घर्ष गर्दै गणतन्त्र र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनुपर्छ,” प्रचण्डले भनेका छन्।

    विसं २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको औपचारिक अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो।

  9. स्वागतम्

    नमस्कार। तपाईँलाई बीबीसी न्यूज नेपालीको यो लाइभ पेजमा स्वागत छ।

    आज जेठ १५ गते गणतन्त्र दिवस। सरकार र गणतन्त्रवादी शक्तिहरूले यो दिनलाई विशेष रूपमा मनाउँदै आएका छन्।

    संविधानमा व्यवस्था गरिएअनुसार आजै अर्थमन्त्रीले संसद्‌मा वार्षिक बजेट पेस गर्ने छन्।

    आजको दिनका यी र अन्य घटनाक्रमसँग सम्बन्धित विषय आज हामी यो लाइभ पेजमार्फत् तपाईँलाई जानकारी गराउने छौँ।