तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

राजावादी प्रदर्शनका क्रममा हिंसा भएपछि तीनकुने क्षेत्रमा शनिवार बिहानसम्म कर्फ्यू, धवल शम्शेर राणा र रवीन्द्र मिश्र पक्राउ

राजावादी समूहले शुक्रवार काठमाण्डूको तीनकुनेमा गरेको प्रदर्शनका बेला हिंसा भएपछि प्रशासनले केही क्षेत्रमा कर्फ्यू लगाएको छ। प्रहरीले उक्त घटनाको अनुसन्धानका लागि धवल शम्शेर राणा, रवीन्द्र मिश्र र स्वागत नेपालसहित पाँच जनालाई राति पक्राउ गरेको छ।

सारांश

  • काठमाण्डूमा शुक्रवार राजसंस्थाको पक्षमा भएको प्रदर्शनले हिंसात्मक स्वरूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिवार बिहानसम्म केही क्षेत्रमा कर्फ्यू लागु गरेको छ
  • प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र मृत्युको घटनाबारे छानबिन गर्न मन्त्रिपरिषद्‌को बैठकले गृह मन्त्रालयलाई निर्देशन दिएको छ
  • अनुसन्धानका लागि भन्दै प्रहरीले राप्रपाका सांसद तथा महामन्त्री धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित पाँच जना पक्राउ गरेको छ
  • तीनकुनेमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ
  • प्रहरीले त्यहाँ प्रदर्शनकारीहरूले आगलागी, तोडफोड र लुटपाट गरेको आरोप लगाएको छ। तर राजसंस्था पुनर्स्थापना पक्षधरहरूले गठन गरेको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले "आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले ज्यादती गरेको" आरोप लगाएका छन्
  • भृकुटीमण्डपमा गणतन्त्रवादी पक्षले आयोजना गरेको सभामा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले तीनकुनेमा 'मण्डले अराजकता' मच्चाएको आरोप लगाए
  • दाहालले विगतमा आफूहरूबाट कमजोरी भएको स्वीकार गर्दै तिनलाई सच्याउने र 'अर्को क्रान्ति'को नेतृत्व गर्ने घोषणा गरे

लाइभ कभरेज

केशव कोइराला, विष्णु पोखरेल, अशोक दाहाल र दिवाकर प्याकुरेल

  1. 'जनताका इच्छा पूरा भएका छैनन् तर गणतन्त्रबाट पछि फर्कने होइन'

    समाजवादी मोर्चाका सदस्य एवं नेपाल कम्युनिस्ट पार्टीका नेकपा नेता नेत्रविक्रम चन्द विप्लवले कुनै पनि हालतमा अब नेपालमा राजतन्त्र फर्कन नसक्ने बताए।

    उनले आफूहरू देशमा गणतन्त्र ल्याउने पछिल्लो शक्ति भएकाले आफूहरूले "अVध्यारो पैतलामुनि रहेको" शक्ति नफर्कने दाबी गरे। उनले अहिले आफूहरू चौबाटोमा पुगेको जस्तो लागेको भए पनि ती चुनौतीलाई सामना गर्दै अघि बढ्ने बताए।

    उनले भने, "जनताका सबै चाहना पूरा भएका छैनन् भन्ने हामीलाई थाहा छ। तर नेपाली जनताले गणतन्त्रमा गौरव गर्छन् र अब यसबाट पछि फर्कने होइन।"

    उनले गणतन्त्र आएपछि केही मानिसहरूको उठीबास लागेकाले उनीहरू चम्किएको पनि बताए। तर त्यस्तो शक्ति परास्त हुने उनको भनाइ छ।

    उनले राजावादीहरूले जनआन्दोलनका संयोजक बनाएका नवराज सुवेदीतर्फ सङ्केत गर्दै "कुर्सीबाट उठ्न पनि नसक्ने मान्छेले राजतन्त्र फर्काउन नसक्ने" बताए।

    उनले अहिले नेपालमा राजनीतिको "प्रहसन" भइरहेको र उनीहरूले पछुताउनुपर्ने चेतावनी दिए।

  2. भृकुटीमण्डपमा समाजवादी मोर्चाको सभा जारी, पूर्वराजालाई पम्फा भुसालको चुनौती

    राजधानी काठमाण्डूको भृकुटीमण्डपमा समाजवादी मोर्चाको सभा सुरु भएको छ। त्यहाँ नेताहरूले भाषण गरिरहेका छन्।

    उक्त सभामा बोल्दै माओवादी नेत्री पम्फा भुसालले गणतन्त्रवादीहरूले सौहार्दपूर्ण रूपमा ज्ञानेन्द्र शाहलाई उनले रोजेको स्थानमा जान दिएको स्मरण गराइन्।

    "जसरी एउटा मान्छे मरेपछि फेरि बाँच्न सक्दैन त्यसैगरी निरङ्कुश राजतन्त्रको पुनर्स्थापना सम्भव छैन," उनले सभामा भनिन्।

    उनले पूर्वराजालाई राजनीतिको रहर भए दल खोलेर चुनावमा आउन चुनौती दिइन्।

  3. तीनकुनेमा झडप

    राजावादी प्रदर्शनकारी र सुरक्षाकर्मीहरूबीच काठमाण्डूको तीनकुनेमा झडप भएको विवरणहरू आएका छन्।

    सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरू र टेलिभिजनमा प्रसारित दृश्यमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार र पानीको फोहरा प्रहार गरेको देखिएको छ।

    प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको दाबी गरिएको छ। यद्यपि बीबीसीले त्यसको आधिकारिकता पुष्टि गर्न सकेको छैन।

    सुरक्षा अधिकारीहरूले उक्त घटनाबारे प्रतिक्रिया दिइसकेका छैनन्।

  4. समाजवादी मोर्चाको प्रदर्शन यस्तो देखियो

    समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा भृकुटीमण्डपमा सभा गर्दै छ। सभास्थलतर्फ विभिन्न ठाउँबाट उनीहरूको जुलुस गइरहेको छ। समाजवादी मोर्चाको प्रदर्शन झल्काउने केही तस्बिरहरू।

  5. राजावादीहरूको सभास्थलमा जे देखियो

    राजावादीहरूले काठमाण्डूको तीनकुनेमा सभा गर्दै छन्। त्यहाँको अहिलेको अवस्था झल्काउने केही तस्बिरहरू।

  6. सुरक्षा व्यवस्था कस्तो छ?

    राजावादी र गणतन्त्रवादीको प्रदर्शनका क्रममा "झडपको स्थिति आउन नदिन" विशेष र एकीकृत सुरक्षा योजना बनाइएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले राससलाई बताएअनुसार उपत्यकाका प्रमुख चोकहरूमा प्रहरीको बाक्लो तैनाथी छ भने भइपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी तम्तयार छन्।

  7. संसद्‌का दुवै सदनको बैठक बस्दै

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विपक्षीहरूको विरोधका कारण दुई दिनदेखि अवरुद्ध संसद्‌ बैठक शुक्रवार बस्ने भएको छ।

    दुवै सदनले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभाको बैठक शुक्रवार बिहान ११ बजेका लागि र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्ने तय भएको छ।

    विपक्षीहरूले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा जबाफ दिनुपर्ने माग गर्दै अवरोध गरेपछि बैठक बस्न सकिरहेको छैन।

  8. गणतन्त्रवादीहरूको सभा भृकुटीमण्डपमा, राजावादीहरूको तीनकुनेमा

    राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले तीनकुने र गणतन्त्रको पक्षमा जनमत देखाउन भन्दै केही गणतन्त्रवादी दलहरूले भृकुटीमण्डपमा सभा गर्न लागेका छन्।

    विभिन्न स्थानबाट जुलुस आएर अन्तिममा सभामा परिणत हुने दुवै पक्षका आयोजकहरूले जनाएका छन्।

    राजावादीहरूको आन्दोलनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईले चलाइरहेको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान'ले गरिरहेको छ।

    प्रसाईलाई राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले बिहीवार आन्दोलनका 'जनकमान्डर' तोकेको थियो।

    गणतन्त्रवादीहरूको प्रदर्शनको नेतृत्व प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गरेको छ भने त्यसमा नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत कम्युनिस्ट समूहहरू सामेल छन्।

    दुवै पक्षबीच झडप हुने स्थिति बन्न सक्ने चिन्ताबीच सुरक्षा व्यवस्था कडा बनाइएको र 'सूक्ष्म निगरानी गरिएको' स्थानीय प्रशासनका अधिकारीहरूले बताएका छन्।

    एसईई परीक्षा सकिएर विद्यार्थीहरू घर पुगेपछि मात्र जुलुस सुरु गर्ने दुवै पक्षका आयोजकहरूले जनाएका छन्।

  9. स्वागतम्

    नमस्कार। तपाईँहरूलाई बीबीसी न्यूज नेपालीको यो लाइभ पेजमा स्वागत छ।

    शुक्रवार राजधानी काठमाण्डूमा राजावादी र गणतन्त्रवादी समूहहरूले आफ्नो शक्तिप्रदर्शन गर्दै छन्।

    परस्पर विरोधी दुई समूहको प्रदर्शनका कारण झडपको स्थिति बन्न सक्ने भन्दै उच्च सुरक्षा सतर्कता अपनाइएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

    ती विरोध प्रदर्शन र सभाका लागि मानिसहरू राजधानीका विभिन्न स्थानमा भेला हुन थालेको आयोजकहरूको भनाइ छ।

    हामी यो लाइभ पेजमार्फत् तपाईँलाई आजका कार्यक्रम र घटनाक्रमसँग सम्बन्धित विभिन्न जानकारी दिने छौँ।