तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

प्रधानसेनापतिद्वारा वार्ताका लागि आह्वान

काठमाण्डू र देशका विभिन्न स्थानमा जेन जी भनिने युवा पुस्ताले गरेको सडक प्रदर्शनमा प्रहरीले घातक बल प्रयोग गर्दा जीउधनको क्षति भएपछि देशभरि त्यसको विरोध चर्किएको छ। राष्ट्रपति र प्रधानसेनापतिले वार्ताका लागि आह्वान गरेका छन्।

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन्
  • प्रधानमन्त्रीको राजीनामापछि पनि प्रदर्शनकारीहरूले काठमाण्डूका विभिन्न स्थानमा आगजनी गरेका छन्
  • राष्ट्रपतिले आन्दोलनरत पक्षलाई संयमित हुन र वार्तामा बस्न आह्वान गरेका छन्
  • काठमाण्डू उपत्यकाका तीनसहित विभिन्न जिल्लामा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको भए पनि विरोधप्रदर्शन जारी छ
  • प्रदर्शनकारीहरूको भिड छिरेपछि नक्खु कारागारले थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई मुक्त गरेको छ
  • जेन जी युवा पुस्ताले सोमवार गरेको सडक आन्दोलनमा प्रहरीले घातक बल गर्दा १९ जनाको मृत्यु भएको थियो। मङ्गलवार प्रहरीले गोली प्रहार गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको निजामती कर्मचारी अस्पतालले जनाएको छ

लाइभ कभरेज

  1. संविधान पालना गराउन नेपाली सेना 'प्रतिबद्ध', फणीन्द्र दाहाल

    नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले संविधानको पालना गराउन सेना प्रतिबद्ध रहेको बताएका छन्।

    जेन जी प्रदर्शनको दोस्रो दिन देशका विभिन्न ठाउँमा लगाइएको कर्फ्यू माझ तोडफोडका विवरणहरू आइरहेका छन्।

    बीबीसीसँग कुरा गर्दै उनले भने, “नेपाली सेना संविधानको पालना गराउन प्रतिबद्ध छ। अहिले म योभन्दा बढी बोल्न सक्ने अवस्थामा छैन।”

  2. शोकमा डुबेको छ नेपालगन्जको एउटा टोल, विमला चौधरी

    काठमाडौंमा भएको जेन जी प्रदर्शनमा नेपालगन्जको एउटै टाेलका दुई युवाको मृत्यु भएपछि धम्बोजी क्षेत्र शोकाकुल बनेको छ।मृतकहरू २३ वर्षीय सुलभ श्रेष्ठ र वर्ष १९ का आयुष थापा हुन्।

    एक्लो छोरा गुमाएकी आमा बिना खड्का श्रेष्ठ पीडासँग अचेतजस्तै छिन् । कहिले होस आउँदा "मेरो छोराको लास छिटो घर ल्याइदेऊ, मेरो छोराको लासमाथि कसैले राजनीति नगर" भनेर बरबराउने गरिरहेकी छन् । घर वरिपरि रुवाबासी, आफन्त र छिमेकीहरूको भिड छ । आफन्त र छिमेकीहरू श्रेष्ठकी आमालाई सान्त्वना दिन आउने क्रम जारी छ।

    श्रेष्ठ काठमाण्डूमा सिभिल इन्जिनिअरिङ अध्ययन गर्दै थिए । उनको मृत्यु भएको खबर सुन्नासाथ बुवा नरेन्द्र श्रेष्ठ सोमवार साँझ हवाइमार्ग हुँदै काठमाडौं गएका छन्।

    ज्यान गुमाउने अर्का युवा आयुष थापा मगर फ्रान्स जाने तयारीमा काठमाण्डू गएका थिए। उनका बुबा सुशील थापा मगर र आमा पुनम थापा मङ्गलबार बिहान विमानबाट हुँदै काठमाडौं गएका छन् ।

    आयुषको बुवाआमा काठमाडौं गएकाले उनको घर अहिले सुनसान छ । आफन्तहरू घरमा आउँदै फर्किँदै गरेका छन् । पीडित परिवारले सरकारप्रति कडा रोष प्रकट गर्दै भनेका छन्, "हाम्रा सन्तानलाई अपराधीझैँ ताकीताकी गोली हानियो । उनीहरू दोषी थिएनन्, आफ्ना माग सडकमा राखिरहेका थिए । तर निर्दोष युवाको रगत बगाएर सरकारले हाम्रो घरै रित्याइदियो।"

    नेपालगन्ज-१ का वडाध्यक्ष प्रमोद रिजालले आन्दोलनमाथि भएको दमनलाई “अकल्पनीय र अमानवीय” बताएका छन्।

    “शान्तिपूर्ण ढङ्गले माग राख्न सडकमा ओर्लिएका युवामाथि यसरी गोली प्रहार हुनु राष्ट्रकै लागि लज्जास्पद हो । सत्यतथ्य छानबिनबिना वास्तविकता बाहिर आउँदैन । दोषी जो भए पनि कारबाही हुनैपर्छ । राज्यकै संयन्त्र दोषी ठहरियो भने त्यसलाई पनि कानुनको कठघरामा उभ्याउनुपर्छ ।”

    उनले दुःख प्रकट गर्दै थपे, “फुल्दै गरेका होनहार युवाहरू गुमाउनु देशकै ठूलो क्षति हो । राज्यले देखाउनुपर्ने संवेदनशीलता र जिम्मेवारी देखाउन सकेको छैन । यसको जिम्मेवारी लिनैपर्छ ।”

    रिजालका अनुसार पीडित परिवारप्रति ऐक्यबद्धता जनाउन मङ्गलबार वडा कार्यालयले विज्ञप्ति जारी गरी वडाभरिका विद्यालय तथा कार्यालय बन्द गर्ने निर्णय गरिएको छ।

    सोमवार प्रदर्शनकारीहरू मारिएपछि नेपालगन्जमा पनि त्यसविरुद्ध प्रदर्शन सुरु भएको छ। प्रदर्शनकारीहरूले बीपीचोकमा टायर बालेर बाटो अवरुद्ध पारेका छन्।

  3. ईयूद्वारा स्वतन्त्र अनुसन्धानको आह्वान

    नेपालमा जेन जी युवा पुस्ताले गरेको विरोधप्रदर्शनका क्रममा भएको हिंसाप्रति युरोपेली सङ्घ ईयूले गहिरो दुःख व्यक्त गरेको जनाएको छ।

    युरोपेली सङ्घले मङ्गलवार विज्ञप्तिमा जारी गर्दै सोमवार प्रदर्शकारीहरू मारिएका घटनाको स्वतन्त्र अनुसन्धान हुनुपर्ने जनाएको छ।

    ईयूले संयम अपनाउन आह्वान गरेको छ र अधिकारीहरूलाई जीवनरक्षाका लागि आवश्यक सबै उपायहरू अपनाउन आग्रह गरेको छ।

    "ईयूले मतभेदहरू समाधान गर्न र सबै मौलिक अधिकारहरू कायम राख्ने सुनिश्चितका लागि सबै पक्षहरूबीचको संवादलाई प्रोत्साहन गर्छ," ईयूले भनेको छ।

  4. खानेपानीमन्त्री यादवले पनि दिए राजीनामा

    खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन्। उनी जसपाका नेता हुन्।

    आज सरकारबाट राजीनामा दिने उनी तेस्रो मन्त्री हुन्। यसअघि स्वास्थ्यमन्त्री प्रदीप पौडेल र कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले राजीनामा घोषणा गरिसकेका छन्।

    "प्रिय युवा भाइबहिनीहरू, तपाईँ नै मेरो प्रथम सहयोगी र मेरो जोस र ऊर्जाका सूत्रधार हुनुहुन्छ। हिजो जेन जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु," यादवले लेखेका छन्।

    "हामी सबैलाई संयम अपनाई युवा पुस्तालाई सही मार्गदर्शन दिन र सहयोग गर्न अपील गर्दछु।"

    उनी पर्साबाट निर्वाचित सांसद हुन्।

  5. रास्वपाका सांसद असिम शाह र तोसिमा कार्कीद्वारा राजीनामा, गनी अन्सारी

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाह र तोसिमा कार्कीले सांसद पदबाट राजीनामा दिएका छन्।

    जेन जी पुस्ताको प्रदर्शनमाथि भएको हिंसात्मक हस्तक्षेपलगायत कारण देखाउँदै आफूले राजीनामा दिएको शाहले बीबीसीलाई बताए।

    रास्वपाकी सुमना श्रेष्ठले पनि सांसद पदबाट राजीनामाको घोषणा गरेकी छन्।

    “संसद्‌मा बसेर चुप लाग्नु या यस्ता गलत नीतिहरूलाई मौन समर्थन गर्नु मेरो पुस्ता, मतदाता र मेरो देशको भविष्यसँग ठूलो विश्वासघात हुने छ भन्ने दृढ विश्वासका साथ मैले यो निर्णय गरेको हुँ,” शाहले भनेका छन्।

    रास्वपा प्रतिनिधिसभामा रास्वपा चौथो ठूलो दल हो।

    यसअघि रास्वपा सभापति रवि लामिछानेले आवश्यक परे सांसदहरूलाई राजीनामाका लागि तयार रहन भन्दै अनुरोध गरेको उनको पार्टीले जनाएको थियो।

    सहकारी रकम अपचलनसम्बन्धी मुद्दा लामिछाने हाल कारागारमा छन्।

  6. रास्वपा सांसद सुमना श्रेष्ठको राजीनामा

    रास्वपाकी सुमना श्रेष्ठले पनि सांसद पदबाट राजीनामाको घोषणा गरेकी छन्।

    "सांसदको काम भनेको सरकारलाई जबाफदेह बनाउने हो। तर सरकारले जबाफदेहिताको सिमाना पार गरिसक्यो। यो अवस्थामा नरसंहारकारी सरकारले दिने बिजनेस सम्हाल्ने काममा सीमित भएको संसद्‌मा सदस्य भएर बस्न नैतिकताले दिएको छैन। यसैले सांसद पदबाट राजीनामा दिँदै छु," उनलाई उद्धृत गर्दै उनको सचिवालयले भनेको छ।

    पूर्वशिक्षामन्त्री श्रेष्ठले सोमवार पनि जेन जीको प्रदर्शनमा समर्थन गरेकी थिइन्।

  7. स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा राजीनामा घोषणा

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदबाट मङ्गलवार नै राजीनामा दिन लागेको बीबीसीलाई बताएका छन्।

    “जेन जी पुस्ताले उठाएका जायज मागहरूलाई सरकारले सम्बोधन गर्नुपर्थ्यो। तर त्यसमा हामी चुक्यौँ। त्यसैले समस्या समाधानका लागि मार्गप्रशस्त होओस् भनेर मैले राजीनामा दिन लागेको हुँ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

    जेन जी पुस्ताले रगत बगाउनुपरेको देखिरहन नसक्ने पौडलले बताए।

    यसअघि नेपाली कांग्रेसबाट मन्त्री रामनाथ अधिकारीले पनि जेन जी प्रदर्शनकारीमाथि राज्यबाट भएको बल प्रयोगप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिने घोषणा गरेका थिए।

    सोमवार १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका थिए।

  8. प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

    प्रधानमन्त्री केपी ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेका छन्।

    मध्याह्न एउटा अपील जारी गर्दै ओलीले राजधानीसहित देशको विभिन्न भागमा सोमवार भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति 'आफू दुःखी भएको' उल्लेख गरेका छन्।

    शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्दै ओलीले सम्बद्ध पक्षसँग संवाद थालिएको उल्लेख गरेका छन्।

    "सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई यो विषम परिपिस्थतिमा संयम रहन विनम्र अनुरोध गर्दछु," ओलीले भनेका छन्।

  9. अदालतहरूमा मुद्दाको सुनुवाइ स्थगित

    जेन जी पुस्ताको प्रदर्शनपछि उत्पन्न तनावसँगै देशका प्रमुख स्थानहरूमा स्थानीय प्रशासनहरूले कर्फ्यू जारी गरेका छन्। कर्फ्यूका कारण आवागमनमा असर परेपछि अदालतका कारबाही समेत प्रभावित भएको छ।

    सर्वोच्च अदालतले मङ्गलवार एउटा सूचना जारी गर्दै नियमित पेसी तोकिएका मुद्दाको सुनुवाइ स्थगित गरिएको जनाएको छ।

    बन्दी प्रत्यक्षकरणको निवेदन र पूरकबाट पेस हुने जरुरी प्रकृतिका निवेदनमाथि चाहिँ कारबाही हुने सूचनामा उल्लेख छ।

    उच्च अदालत पाटनले पनि “सेवाग्राहीको आवागमन, सुविधा र सहजता समेतलाई मध्यनजर गरी यस अदालतमा आज सुनुवाइ हुने भनी पेसी तोकिएका मुद्दाहरूको सुनुवाइ नहुने ब्योहोरा सबैको जानकारीका लागि अनुरोध छ” भनी जनाएको छ।

  10. युवापुस्ताको विश्वास जित्ने कदम चाल्न पूर्व राष्ट्रपति विद्या भण्डारीको आग्रह

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आन्दोलनरत युवाका मागबारे संवाद सुरु गर्न राजनीतिक नेतृत्वलाई आह्वान गरेकी छन्।

    एक विज्ञप्ति जारी गर्दै भण्डारीले युवाको विश्वास जित्ने कदम चाल्न पनि आग्रह गरेकी छन्।

    “नवपुस्ताको भावना र मर्मलाई हामी सबैले गम्भीरतापूर्वक आत्मसात् गर्न आवश्यक छ भन्ने मेरो दृढ विश्वास रहेको छ। तसर्थ नेपाल सरकार, जिम्मेवार राजनीतिक दलहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई आन्दोलनरत युवाले अघि सारेका जायज मागप्रति संवेदनशील भई यथाशीघ्र वार्ता र संवादमार्फत समस्याको दिगो समाधान खोज्न हार्दिक आह्वान गर्दछु,” भण्डारीको विज्ञप्तिमा भनिएको छ।

    “सरकार, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाज सबैलाई मिलेर हालको तनावलाई संवेदनशील ढङ्गले समाधान गर्न र युवापुस्ताको विश्वास जित्ने कदम चाल्न आग्रह गर्दछु।”

    दुई कार्यकाल राष्ट्रपति रहिसकेकी भण्डारीले सोमवारको प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट ठूलो सङ्ख्यामा युवा विद्यार्थीहरूको निधन भएको घटनाबाट आफू मर्माहत भएको उल्लेख गरेकी छन्।

  11. धनगढीस्थित देउवा निवासमा आगजनी र तोडफोड, हिक्मत रावल

    प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवासमा आक्रमण गरेका छन्।

    मङ्गलवार बिहान प्रदर्शनकारीहरूले त्यहाँ तोडफोड र आगजनी गरेका हुन्।

  12. चितवनको भरतपुरमा पनि अनिश्चितकालीन कर्फ्यू

    चितवन जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा मध्याह्न १२ बजेदेखि लागु हुने गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा कर्फ्यू लागु हुने क्षेत्रको विवरण यसरी दिइएको छ -

    • पूर्वतर्फः केन्द्रीय बस टर्मिनल
    • पश्चिमतर्फः नारायणी पुल (पुल्चोक‌)
    • उत्तरतर्फः पोखरा बसपार्कदेखि विशालचोक
    • दक्षिणतर्फः त्रिचोक (भरतपुर विमानस्थलपछाडिको चोक)
  13. भारतीय विदेश मन्त्रालयको प्रतिक्रिया

    भारतीय विदेश मन्त्रालयले नेपालमा विकसित घटनाक्रमलाई "नजिकबाट नियालिरहेको" जनाउँदै कैयौँ मानिसको ज्यान गएको अवस्थाप्रति "गहिरो दुःख" व्यक्त गरेको छ।

    उसले जारी गरेको विज्ञप्तिमा नेपालमा रहेका भारतीय नागरिकहरूलाई सावधानी अपनाउन र नेपाली अधिकारीहरूले जारी गरेका कदम र निर्देशनहरूको पालना गर्न सुझाइएको छ।

    त्यसमा थप भनिएको छ: "निकट मित्र र छिमेकीका रूपमा हामी सम्बन्धित सबैले संयम अपनाउने र शान्तिपूर्ण माध्यम र संवादबाट जुन कुनै समस्यालाई सम्बोधन गर्ने आशा गरेका छौँ।"

  14. कांग्रेसका अर्का मन्त्रीले दिए राजीनामा, अशोक दाहाल

    कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले जेन जी प्रदर्शनमा राज्यबाट भएको बल प्रयोगप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएका छन्। धादिङ २ बाट निर्वाचित अधिकारी नेपाली कांग्रेसका सांसद हुन्।

    प्रधानमन्त्रीसँग भेट गर्न जाने अवस्था नरहेका कारण आफूले सामाजिक सञ्जालबाटै राजीनामा घोषणा गरेको उनले बीबीसी न्यूज नेपालीसँग बताए।

    "लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु। देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो? यसको जबाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन," उनले फेसबुकमा लेखेका छन्।

    उनले सरकारको कदमप्रति आपत्ति समेत व्यक्त गरेका छन्। "ससाना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात् देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रह्मले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराध बोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेस गरेको जानकारी गराउँदछु," उनले लेखेका छन्।

    अधिकारले युवापुस्ता र जनताले पटकपटक आन्दोलन गरिरहनुपर्ने अवस्थाबाट अन्त्यको कामना समेत गरेका छन्।

    यसअघि कांग्रेसका तर्फबाट गृहमन्त्री बनेका रमेश लेखकले सोमवार पदबाट राजीनामा दिएका थिए।

  15. डडेलधुरामा पनि विरोधप्रदर्शन, प्रकाश पार्की

    पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा युवाहरूले मङ्गलवार बिहानैदेखि प्रदर्शन सुरु गरेका छन्।

    यहाँका पसलहरू पूर्ण रूपमा बन्द गरेर युवा र व्यवसायीहरू विरोधप्रदर्शनमा सहभागी भएका हुन्।

    'युवा मार्न पाइँदैन', 'हाम्रो युवा फिर्ता दे', 'भ्रष्ट सरकार चाहिँदैन', 'भ्रष्टाचार स्वीकार छैन' जस्ता नारा लगाइरहेका छन्।

    बागबजार बसपार्कदेखि सुरु भएको र्‍याली तुफानडाँडा, कीर्तिपुर हुँदै जिल्ला प्रशासन कार्यालय हुँदै फेरि बागबजार फर्किएको छ।

    बसपार्क क्षेत्रमा टायर बालेर पनि युवाहरूले प्रदर्शन गरिरहेका छन्। विद्यार्थीहरू कलेज ड्रेसमै सहभागी छन्।

    यातायात र बजार पूर्णरूपमा बन्द गरिएको छ।

  16. नेपाल र बाङ्ग्लादेश बीचको फुटबल खेल रद्द, निरञ्जन राजवंशी

    जेन जीको आन्दोलनका कारण सोमवार उत्पन्न विषम परिस्थितिपछि नेपाल र बाङ्ग्लादेशबीच आज मङ्गलवार हुने मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ। अखिल नेपाल फुटबल सङ्घ एन्फाले खेल स्थगित भएको जानकारी विज्ञप्तिमार्फत् दिएको छ।

    एन्फाले सुरक्षाका कारण दुवै टोलीको प्रशिक्षण रोक्दै खेल स्थगित भएको जनाएको छ।

    खेल रद्द भएको र पाहुना टोली आजै स्वदेश फर्किने एन्फा प्रवक्ता सुरेश शाहले बीबीसीलाई बताए। उनले आजको खेलको टिकट किनिसकेकाहरुको रकम फिर्ता हुने पनि बताए।

    नेपालसँग दुईवटा अन्तर्राष्ट्रिय मैत्री फुटबल खेल्न काठमाण्डू आएको बाङ्ग्लादेश र नेपालबीच गत शनिवार भएको पहिलो मैत्री खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो।

    आजको खेलका लागि प्री-म्याच प्रेस कन्फरेन्स समेत आयोजना भइसकेको थियो। तर त्यसपछि उत्पन्न परिस्थितिका कारण नेपाल र बाङ्ग्लादेश दुवै टोलीका खेलाडीहरुले साँझको प्रशिक्षण लिन दशरथ रङ्गशाला पुग्न सकेनन्।

    भरत खवासको बिदाइ पछि सर्‍यो

    आजको खेल स्ट्राइकर भरत खवासको बिदाइ खेल पनि थियो। राष्ट्रिय टोलीबाट संन्यास लिन लागेका नेपाली सेनाका समेत स्ट्राइकर रहेका खवासले प्री-म्याच प्रेस कन्फरेन्समा राष्ट्रिय टोलीबाट अन्तिम खेल खेल्न लागेको बताएका थिए।

    खेल रद्द भएसँगै खवासलाई बिदा गर्ने कार्यक्रम पनि सरेको छ।

    फिफा विन्डोअन्तर्गत दुवै टोलीको एएफसी एशियन कप छनोटको तयारीस्वरूप यो मैत्रीपूर्ण फुटबल खेलेका थिए।

  17. राजधानीबाहिर विभिन्न स्थानमा कस्तो छ स्थिति

    ईश्वर जोशी, चितवन

    चितवनमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

    साेमवार साँझसम्म प्रहरी र प्रदर्शनकारी युवाहरूबीच पटकपटक झडप भए पनि मङ्गलवार बिहान ८ सम्म भने कुनै गतिविधि भएकाे थिएन।

    साेमवारकाे झडपमा सशस्त्र प्रहरी बल नेपाल प्रहरीका १४ जना र प्रदर्शनकारी ७ जना घाइते भएकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ। विज्ञप्तिमा दुई राउन्ड हवाईफायर र ३२ शेल अश्रुग्यास प्रहार भएको जनाएकाे छ।

    विक्रम निरौला, सुनसरी

    सुनसरीको इटहरीमा हिजोदेखि लगाइएको कर्फ्यू आज पनि जारी छ। झापाको बिर्तामोड र दमकमा आज बिहान ५ बजेपछि कर्फ्यू हटाइएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

    हिजो इटहरीमा दुई जनाको मृत्यु भएको थियो।

    माधुरी महतो, पर्सा

    पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण शिक्षण संस्था आज बन्द भएका छन्। पछिल्लो समय उत्पन्न विषम परिस्थिति र जिल्ला प्रशासन कार्यालय, पर्साद्वारा जारी कर्फ्यू आदेशका कारण आजको पठनपाठन स्थगित गर्नुपर्ने अवस्था आएको वीरगन्ज महानगरपालिकाले जनाएको छ।

    जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगर क्षेत्रलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको छ। सो आदेशपछि महानगरपालिकाभित्र सञ्चालन भइरहेका विद्यालय, कलेज लगायतका सम्पूर्ण शिक्षण संस्थामा आज पठनपाठन बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ।

    शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा प्रकाशित सूचनामा भनिएको छ, “मङ्गलवार वीरगन्ज महानगरपालिकाभित्र रहेका सम्पूर्ण शिक्षण संस्था बन्द रहने छन्। सोसम्बन्धी जानकारीका लागि यो सूचना जारी गरिएको छ।”

    यससँगै आजै जिल्ला प्रशासन कार्यालय, पर्साको सभाहलमा तय गरिएको हैजा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ।

    हाल वीरगन्ज क्षेत्रमा कर्फ्यू आदेश लागु गरिएको छ भने स्वास्थ्य क्षेत्रमा हैजाको संक्रमण नियन्त्रणका लागि विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन्। यस्तो परिस्थितिमा सुरक्षात्मक सतर्कता अपनाउँदै वीरगन्ज महानगरपालिकाले शिक्षण संस्था र सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

  18. काठमाण्डूका विभिन्न स्थानमा सडक प्रदर्शन

    काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारीले काठमाण्डूका केही स्थानमा मानिसहरू भेला भएर प्रदर्शन गरिरहेको बताएका छन्।

    सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार कलङ्की, बल्खु र नयाँबानेश्वर क्षेत्रमा मानिसहरू भेला भएर प्रदर्शन गरिरहेका छन्।

    सोमवारको प्रदर्शनको केन्द्र बनेको नयाँ बानेश्वरमा युवाहरू प्लाकार्डसहित प्रदर्शन गरिरहेको टेलिभिजनहरूले देखाएका छन्।

  19. काठमाण्डू उपत्यका र इटहरीमा कर्फ्यू

    सोमवारको जेन जी प्रदर्शनमा कम्तीमा १९ जनाको ज्यान गएपछि कर्फ्यू आदेश जारी गरेको स्थानीय प्रशासनले मङ्गलवार पनि राजधानी उपत्यकाका तीनवटै जिल्ला र पूर्वी सहर इटहरीमा पनि कर्फ्यू आदेश जारी गरेको छ।

    राजधानीका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले विभिन्न क्षेत्र तोकेर अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको जनाएका छन्।

    काठमाण्डू जिल्ला प्रशासनले काठमाण्डू महानगरपालिका चक्रपथ क्षेत्रभित्र बिहान ८ः३० बजेदेखि लागु हुने गरी उक्त आदेश जारी गरेको छ।

    त्यसै गरी ललितपुर जिल्ला प्रशासनले समेत ललितपुर महानगरपालिकाका वडा नम्बर २, ४, ९, १८, २५ मा समेत बिहान ७ बजेदेखि मध्यरातसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। ती भैँसेपाटी, इन्द्रायणि मार्ग आसपास र च्यासल क्षेत्र आसपास पर्छन्।

    भक्तपुर जिल्ला प्रशासनले बिहान ८ः३० बजेदेखि लागु हुने गरी जडिबुटी- राधेराधे- बालकोट- निकोसेरा, पेप्सीकोला क्षेत्रभित्र अर्को आदेश नहुँदा सम्मका लागि कर्फ्यू लगाउने निर्णय गरेको जनाइएको छ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इटहरी क्षेत्रमा सोमवार जारी गरेको अनिश्चितकालीन कर्फ्यू आदेश मङ्गलवार पनि कायम छ। इटहरी उपमहानगरपालिका भित्रका केही क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेका छन्।

  20. लाइभ पेजमा तपाईँलाई स्वागत छ

    बीबीसी न्यूज नेपालीको लाइभ पेजमा तपाईँलाई स्वागत छ।

    स्थानीय प्रशासनले काठमाण्डू उपत्यकाका तीन जिल्ला र सुनसरीको इटहरीमा मङ्गलवार बिहानदेखि लागु हुने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

    सोमवारको प्रदर्शनमा प्रहरीले घातक बल प्रयोग गर्दा कम्तीमा १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए।

    यो लाइभ पेजमा आज हामी दिनभरि हुने गतिविधिबारे जानकारी दिने प्रयास गर्ने छौँ।