तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

भारतीय हमलाको 'जबाफ दिने' पक्षमा इस्लामाबाद, नेपालमा पनि छलफल र सतर्कता

भारत प्रशासित कश्मीरको पहलगाममा चरमपन्थी लडाकुहरूले गोली हानी २६ पर्यटकको हत्या गरिदिएको दुई सातापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा क्षेप्यास्त्र प्रहार गरेको छ। पाकिस्तानले भारतीय सैन्य कारबाहीको निन्दा गर्दै त्यसको जबाफ दिइने बताएको छ। यसबारे नेपालको सुरक्षा परिषद्‌मा छलफल भएको छ भने सीमा क्षेत्रमा सुरक्षा बढाइएको छ।

सारांश

  • भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा क्षेप्यास्त्र हमला गरेको बताएको छ
  • हमलाहरूमा परी २६ जनाको मृत्यु भएको पाकिस्तानी सेनाले बताएको छ, पाकिस्तानका प्रधानमन्त्रीले भारतीय कदमको निन्दा गरेका छन् भने पाकिस्तानको सुरक्षा समितिले भारतलाई 'जबाफ दिने' निर्णय गरेको छ
  • पाकिस्तानले गरेको गोलाबारीमा परी जम्मू तथा कश्मीरपट्टि १५ जना मारिएको भारतले जनाएको छ
  • भारतले पाकिस्तानमा क्षेप्यास्त्र हमला गरेपछि त्यसलाई लिएर नेपालमा पनि राष्ट्रिय सुरक्षा परिषद्‌को बैठक बसेको छ भने सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको अधिकारीहरूले बताएका छन्
  • सैन्य तनावका माझ पाकिस्तान र भारतका कतिपय क्षेत्रमा स्कूल तथा कलेज बन्द गरिएका छन्, कैयौँ उडानहरू रद्द भएका छन्
  • अमेरिकी विदेशमन्त्री मार्को रुबिओले परिस्थिति नियालिरहेको बताएका छन्
  • दुई साताअघि भारत प्रशासित कश्मीरमा भएको हमलामा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएपछि दुवै परमाणुशक्ति सम्पन्न देशबीच तनाव चर्किएको छ

लाइभ कभरेज

  1. राष्ट्रसङ्घका महासचिव ‘निकै चिन्तित’, झडप ‘चाँडै अन्त्य’ हुने ट्रम्पको आशा

    भारत र पाकिस्तानबीच चर्किएको सैन्य तनावले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस "निकै चिन्तित" भएको उनका एक प्रवक्ताले जनाएका छन्।

    महासचिवले दुवै देशलाई अत्यधिक संयम अपनाउन पनि आह्वान गरेका छन्।

    ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले दुई परमाणुशक्तिसम्पन्न छिमेकी देशहरूबीचको द्वन्द्व "चाँडै अन्त्य" हुने आशा राखेको बताए।

    चीनले पनि हमलाबाट चिन्तित भएको भन्दै दुवै देशलाई शान्ति र स्थिरतालाई पहिलो प्राथमिकता दिन भनेको छ।

  2. अहिलेसम्म हामीलाई के थाहा छ

    भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण सुरु गरेपछि घटनाक्रमहरू द्रुत गतिमा अगाडि बढिरहेको देखिन्छ। अहिलेसम्म भएका मुख्य घटना

    • दिल्लीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा "केन्द्रित, आनुपातिक अनि थप आक्रमण नउक्साउने गरी" हमला गरेको बताएको छ
    • निसाना बनाइएका स्थानमा "आतङ्कवादी संरचनाहरू" भएका र त्यहाँबाट भारतविरुद्धका हमला "नियोजित र निर्देशित" भएको दिल्लीको दाबी छ
    • इस्लामाबादले सो हमलाको "आफूले चाहेको समय र स्थानमा" जबाफ दिने बताएको छ
    • पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले यसलाई "कायरतापूर्ण" भन्दै पाकिस्तानले बदला लिने बताएका छन्
    • गत महिना कश्मीरमा पर्यटकहरूमाथि भएको घातक आतङ्कवादी आक्रमणपछि दुवै परमाणुअस्त्र सम्पन्न छिमेकी भारत र पाकिस्तानबीचको सम्बन्ध निकै तल्लो बिन्दुमा पुगेको छ
    • भारतमा विपक्षी नेताहरूले आफ्नो देशले गरेको हमलाको स्वागत गरेका छन्
  3. स्वागतम्

    नमस्कार। तपाईँहरूलाई बीबीसी न्यूज नेपालीको यो लाइभ पेजमा स्वागत छ।

    बुधवार सबेरै भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको छ।

    भारत प्रशासित कश्मीरमा एक नेपाली र अन्य २५ पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात् दिल्लीले उक्त हमला गरेको हो।

    दिल्लीले पाकिस्तानमाथि ती हमलाको आरोप लगाए तापनि इस्लामाबादले त्यसलाई अस्वीकार गर्दै आएको छ। यतिखेर दुवैतर्फबाट घटनाका विवरणहरू सार्वजनिक भएका छन्।

    हामी यो लाइभ पेजमार्फत् तपाईँलाई उक्त विकसित घटनाक्रमसँग सम्बन्धित विभिन्न जानकारी दिने छौँ।