यसरी भयो विवाद उत्पन्न भएको धनुषा १ मा मतपरिणाम घोषणा, माधुरी महतो, वीरगन्ज
प्रत्यक्षतर्फ विवादित बनेको धनुषा-१ को मतपरिणाम निर्वाचन आयोगको निर्देशनसँगै सोमवार अबेर घोषणा गरियो। त्यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी बने।
आयोगको सोमवारको बैठकले धनुषा-१ का निर्वाचन अधिकृतलाई मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको थियो।
"...सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२/११/२९ गते प्राथमिकतामा पर्ने गरी पेसी तोक्ने भनी भएको आदेशबमोजिम धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को निर्वाचन परिणामको सम्बन्धमा सम्मानित अदालतबाट अन्यथा आदेश भएमा सोही बमोजिम हुने गरी हाल उम्मेदवार कायम रहेका उम्मेदवारले प्राप्त गरेको मत परिणाम घोषणा गर्न भनी धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृतलाई निर्देशन दिने," आयोगले आफ्नो निर्देशनमा भनेको छ।
त्यसलगत्तै नेकपाका विजयी उम्मेदवार यादवले आफ्नो प्रमाणपत्र बुझेका थिए।
यसअघि कालोसूचीमा परेको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन हुनुभन्दा तीन दिनअघि मात्रै आयोगले खारेज गरेको थियो।
उम्मेदवारी खारेज भए पनि मतदान प्रक्रिया सम्पन्न भइसकेकाले आयोगले मतपरिणाम सार्वजनिक नगरी रोक्दै आएको थियो। निर्वाचनको नतिजा रोकिएको विषयमा चौतर्फी विरोध बढेपछि र सर्वोच्च अदालतले तत्काल उम्मेदवारी खारेजीको निर्णयमा रोक लगाउन अस्वीकार गरेपछि आयोगले निकास निकाल्दै परिणाम सार्वजनिक गर्ने निर्णय गरेको हो।
आफ्नो उम्मेदवारी खारेजीविरुद्ध साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। त्यसमाथि सोमवार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा बहस भएको थियो।
बहसपछि अदालतले आगामी शुक्रवार (फागुन २९ गते) दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।
नेकपाले धनुषा १ मा बाहेक सात स्थानमा चुनाव जितेको छ।