नेपाल निर्वाचनः मतगणना परिणामको ताजा विवरण

निर्वाचन आयोगले हालसम्म प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ ७९ क्षेत्रको आधिकारिक नतिजा सार्वजनिक गरेको छ।

लाइभ कभरेज

  1. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी देशभरिका गतिविधिका ताजा विवरणका साथ सुरु भएको हाम्रो लाइभ अपडेट आजलाई यति नै। प्रिय पाठकहरूलाई धन्यवाद दिँदै हामी प्रत्यक्ष अपडेटबाट बिदा चाहन्छौँ।

  2. प्रदेशतर्फको अवस्था के छ?

    सातवटै प्रदेशसभा तर्फको शुक्रवार अपराह्णसम्मको प्रारम्भिक नतिजामा प्रत्यक्षतर्फ तीन वटा प्रदेशमा नेकपा एमाले र तीनवटा प्रदेशमा नेपाली कांग्रेस र एउटा प्रदेशमा नेकपा माओवादी अगाडि देखिएका छन्।

    एउटा प्रदेशमा भने कांग्रेस र माओवादी समान हैसियतमा छन्। उनीहरूले गठबन्धन बनाएर चुनाव लडेका थिए।

    समानुपातिकतर्फ पाँचवटा प्रदेशमा प्रतिपक्षी नेकपा एमाले अगाडि देखिएको छ।

    त्यस्तै कांग्रेस र माओवादी एक-एक प्रदेशमा अगाडि रहेका छन्।

    मतगणना

    तस्बिर स्रोत, RSS

  3. सुदूरपश्चिम प्रदेशमा माओवादी अगाडि

    सुदूरपश्चिम प्रदेशमा माओवादी ६ स्थानमा विजयी हुनुका साथै २ स्थानमा अगाडि छ भने कांग्रेस ५ स्थानमा विजयी भइ ६ स्थानमा अगाडि छ।

    त्यहाँ नागरिक उन्मुक्ति पार्टी २ स्थानमा विजयी र ३ स्थानमा अगाडि छ भने एमाले २ स्थानमा विजयी र १ स्थानमा अगाडि छ।

    त्यस्तै एकीकृत समाजवादी २ स्थानमा अगाडि रहेको छ भने १ जना स्वतन्त्रले जितेका छन्।

    सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ जना सदस्य हुनेछन्।

  4. कर्णाली प्रदेशको अवस्था

    कर्णाली प्रदेशमा कांग्रेस ५ स्थानमा विजयी र ३ स्थानमा अगाडि छ भने माओवादी ६ स्थानमा विजयी र २ स्थानमा अगाडि छ।

    त्यस्तै एमाले २ स्थानमा विजयी र २ स्थानमा अगाडि छ भने एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

    कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरी ४० जना सदस्य चयन हुनेछन्।

  5. लुम्बिनी प्रदेशको अवस्था

    लुम्बिनी प्रदेशमा एमाले ८ स्थानमा विजयी हुनुका साथै १० स्थानमा अगाडि छ भने कांग्रेस ९ स्थानमा विजयी र ८ स्थानमा अगाडि रहेको छ।

    त्यहाँ जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी २-२ स्थानमा विजयी भएका छन् भने माओवादी ३ स्थानमा विजयी हुनुका साथै २ स्थानमा अगाडि देखिएको छ।

    त्यस्तै जनमत पार्टीले १ स्थानमा र ३ जना स्वतन्त्र उम्मेदवारले जितेका छन्। राप्रपा २ स्थानमा अगाडि छ।

    लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ जना सदस्य चुयन हुनेछन्।

  6. प्रदेश-१ मा कुन दल अघि?

    प्रदेश-१ मा प्रतिपक्षी एमालेले हालसम्म १३ स्थानमा जित हासिल गरेको छ भने ११ स्थानमा अगाडि रहेको छ।

    सत्ताधारी कांग्रेसले भने उक्त प्रदेशमा १० स्थानमा जित हासिल गरेको छ र ६ स्थानमा अगाडि रहेको छ।

    त्यस्तै ५ स्थानमा जित हासिल गरेको माओवादी ४ स्थानमा अगाडि छ।

    त्यसैगरी १ स्थानमा विजयी राप्रपा १ स्थानमै अगाडि छ भने नेकपा समाजवादी ३ स्थानमा अगाडि देखिएको छ।

    प्रदेश-१ मा प्रत्यक्ष ५६ र समानुपातिक ३७ गरी ९३ जना सदस्य चयन हुनेछन्।

  7. वाग्मतीमा को अगाडि?

    वाग्मती प्रदेशमा नेपाली कांग्रेस १७ स्थानमा विजयी भएको छ। थप ७ स्थानमा अग्रता लिएको कांग्रेस यो प्रदेशमा प्रत्यक्षतर्फ हालसम्म अन्य दलभन्दा अगाडि देखिएको छ।

    दोस्रो स्थानमा रहेको एमालेले हालसम्म ८ स्थानमा जितेको छ भने ४ स्थानमा अगाडि रहेको छ। तेस्रो स्थानको माओवादीले ६ स्थानमा विजय हासिल गर्दै ७ स्थानमा अग्रता लिएको छ।

    त्यस्तै नेकपा एकीकृत समाजवादीले ४ स्थानमा जितेको छ भने १ स्थनमा उक्त दल अगाडि छ।

    उक्त प्रदेशमा नेपाल मजदुर किसान पार्टीले एक स्थानमा जितेको छ भने राप्रपाले ४ स्थानमा जित र ४ स्थानमा अग्रता लिएको छ।

    त्यहाँ हाम्रो नेपाली पार्टी १ स्थानमा विजयी भएको छ।

    वाग्मती प्रदेशमा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ गरी ११० जना सदस्य चयन हुनेछन्।

    मतगणना

    तस्बिर स्रोत, RSS

  8. गण्डकी प्रदेशमा कांग्रेस अगाडि

    गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस ८ स्थानमा विजयी भएको छ भने ८ स्थानमा अगाडि रहेको छ।

    नेकपा एमाले ८ स्थानमा विजयी भएको छ भने ४ स्थानमा अगाडि रहेको छ।

    उक्त प्रदेशमा माओवादी ३ स्थानमा विजयी भएको छ र १ स्थानमा अगाडि रहेको छ।

    त्यस्तै समाजवादीका तर्फबाट एकजना विजयी भएका छन् भने एकजना स्वतन्त्र उम्मेदवार पहिले नै निर्विरोध निर्वाचित भइसकेका छन्।

    गण्डकी प्रदेशमा प्रत्यक्षबाट ३६ र समानुपातिकतर्फ २४ गरी ६० जना सदस्य चयन हुनेछन्।

  9. मधेस प्रदेशको अवस्था

    मधेस प्रदेशमा प्रत्यक्षतर्फ नेकपा एमाले अघि देखिएको छ।

    एमालेले हालसम्म ८ स्थानमा जित हासिल गरेको छ भने ५ स्थानमा अग्रता लिएको छ।

    त्यहाँ कांग्रेसले हालसम्म १० स्थानमा जितेको छ भने १ स्थानमा अगाडि रहेको छ।

    जसपाले हालसम्म ७ स्थानमा जितेको छ भने ४ स्थानमा अगाडि रहेको छ।

    त्यस्तै ६ स्थानमा जितेको लोसपा २ स्थानमा अगाडि देखिएको छ।

    जनमत पार्टीले भने ५ स्थानमा जितेको छ र १ स्थानमा अगाडि छ।

    माओवादीले ४ स्थानमा जितेको छ।

    एकीकृत समाजवादी भने ३ स्थानमा विजयी भएको छ र १ स्थानमा अगाडि छ।

    त्यस्तै ५ स्थानमा स्वतन्त्रले जितेका छन् र अन्य १ स्थानमा पनि स्वतन्त्र नै अगाडि छन्।

    मधेस प्रदेशमा प्रत्यक्षबाट ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ जना सदस्य चयन हुनेछन्।

    मतगणना

    तस्बिर स्रोत, RSS

  10. चुनाव गराउन गएका कर्मचारी डोल्पामा अलपत्र, मौसम खुलेसँगै उद्धार कार्य सुरु, डोल्पामा खटिएका निर्वाचन कर्मचारीहरूको स्वास्थ्यमा असर, आजबाट उद्धार कार्य सुरु

      • Author, कृष्णमाया उपाध्याय
      • Role, बीबीसी न्यूज नेपाली, जुम्ला

    निर्वाचन गराउन माथिल्लो डोल्पामा खटिएका कर्मचारीको उद्धार कार्य शुक्रवार बिहानबाट सुरु भएको छ। डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीका अनुसार आज बिहान ७ बजेबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् उनीहरूलाई डोल्पा सदरमुकाम ल्याउन थालिएको हो।

    अहिलेसम्म ४३ जना कर्मचारीहरूको उद्धार भएको बताइएको छ।

    “अहिले १७ जनाको उद्धारका लागि हेलिकप्टर सालदाङ भन्ने ठाउँमा पुगेको छ। त्यसपछि थप ९० जना कर्मचारी बाँकी रहनुहुन्छ,“ उनले भने।

    कर्मचारीहरूलाई बिहीवार नै ल्याइने भनिए पनि डोल्पामा धेरै हावा चलेका कारण हेलिकोप्टर जान सम्भव भएको थिएन।

    तत्काल उद्धार गर्न कर्मचारीको माग

    त्यहाँ खटिएका धेरै जसो कर्मचारीहरू चिसोका कारण बिरामी परेकाले उनीहरूले छिटो उद्धारको माग गर्दै आएका छन्। उनीहरूमा ज्वरो आउने र झाडापखाला लाग्ने, टाउको दुख्ने र खोकी लाग्ने जस्ता समस्या देखिएको सहायक मतदान अधिकृतका रूपमा खटिएका सन्तोष बोहराले बताए।

    उनले भने,”हामीसँग रासनपानी सबै सकिएको छ। हामी यति बेला शे फोक्सुन्डो गाउँपालिकाको भिजेर भन्ने ठाउँमा १७ जनाको समूहमा छौँ।“

    यस्तै शे फोक्सुन्डो गाउँपालिकाको सालदाङमा पनि ३६ जना उद्धारको पर्खाइमा रहेको अर्का कर्मचारी कमल बोहराले जानकारी दिए। उनका अनुसार १७ कर्मचारी, १३ जना म्यादी प्रहरी, ६ जना नेपाली सेना र २ जना नेपाल प्रहरी रहेका छन्।

    “अधिकांश बिरामी परेकाले कसरी बाँच्ने भन्ने भएको छ,“ उनले बीबीसीसँग भने।

    बिरामी परेका कर्मचारीहरूलाई सदरमुकाम दुनै ल्याई उपचार प्रक्रिया अघि बढाउने जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

    जिल्ला प्रशासन कार्यालय डोल्पाले दिएको जानकारीअनुसार माथिल्लो डोल्पाको शे फोक्सुन्डो गाउँपालिकाका वडा नं ४, ५ र ७, ६ र छार्काभोट भन्ने ठाउँमा कर्मचारीहरू रोकिएका छन्।

    कर्मचारीहरू

    तस्बिर स्रोत, कमल बाेह‍रा

  11. शेखर कोइराला निर्वाचित, प्रदीप ज्ञवाली पराजित

    नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला मोरङ ६ बाट निर्वाचित भएका छन्।

    उनले नेकपा एमालेका नेता पूर्व मन्त्री लालबाबु पण्डितलाई १२ हजार बढी मतले पराजित गरे।

    कोइरालाले ३५२२४ मत ल्याएर निर्वाचित हुँदा पण्डितले मात्र २२९४६ मत ल्याए।

    यसैबीच नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली कांग्रेसका चन्द्र भण्डारीसँग झिनो मतले पराजित भएका छन्।गुल्मी क्षेत्र नम्बर १ मा प्रतिस्पर्धात्मक देखिएको निर्वाचनमा ज्ञवाली १५९२ मतले पछि परे।

    भण्डारीले ३३७४४ मत ल्याएर निर्वाचित हुँदा पूर्व मन्त्री ज्ञवालीले ३२१५२ मत ल्याए।

    शेखर
  12. कांग्रेस र एमालेको झडपका कारण प्रभावित बाजुराको मतदान पुन: शनिवार हुने, बाजुराको एक स्थानमा शनिवार मतदान, राजनीतिक असन्तुष्टिबारे बुझ्न अध्ययन टोली जाँदै

    बाजुराको बुढीगङ्गा नगरपालिकामा राजनीतिक विवाद एवं कार्यकर्ताहरूबीचको झडपका कारण मतदान स्थगित भएको थियो।त्यहाँ कांग्रेसले 'दुई बुथ कब्जा गरेको' एमालेको आरोप छ भने कांग्रेस नेताहरू एमालेले 'चार बुथ कब्जा गरेको' आरोप लगाउँछन्।

    त्यहाँ मङ्सिर १० गते पुनः मतदान गर्नको निम्ति निर्वाचन सम्पन्न गर्ने कर्मचारीहरूको टोली विहीवार नै मतदान स्थगित भएको स्थलमा पुगेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बीबीसीलाई बताए।

    उनका अनुसार सुरक्षाकर्मीसहित मतदान अधिकृत र कर्मचारीहरू पुगेका हुन्।

    भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान आयोजना गर्ने तयारी रहेको उनले बताए। राजनीतिक विवादका कारण स्थगित मतदान सर्वदलीय सहमतिपछि पुनः सञ्चालन गर्न लागिएको हो।

    “सबैसँग बैठक गरेर फेरि मतदान गराउने निर्णयमा पुगेका हौँ। त्यसैले अब कुनै अवरोध सिर्जना हुने स्थिति छैन,” उनले भने।

    जिल्लाको अन्य स्थानहरूमा समेत विभिन्न दलले असन्तुष्टि व्यक्त गर्दै पुनः मतदान गर्ने व्यवस्थाको माग गरेका छन्।

    पौडेलका अनुसार बाजुराका करिब १६ मतदानस्थलमा नेकपा एमालेले र ८ स्थानमा नेपाली कांग्रेसले पुनः मतदानको व्यवस्थाको माग गर्दै निवेदन दिएको बताइएको छ।

    “मतदानको दिन कसैले मतपेटिका कब्जा गर्ने, कहिले दुई पक्षबीच झडप हुनेलगायत समस्याहरू सिर्जना भए। मतदान नै रोकिँदै फेरि सुरु गर्दै भएकाले सबैले पुनः मतदान गर्नु पर्ने माग राख्नु भएको हो,” मुख्य आयुक्त पौडेलले प्रस्ट्याए।

    यस सम्बन्धमा भने छानबिनको लागि निर्वाचन आयोगले शनिवार अध्ययन टोली बाजुरा पठाउन लागेको जनाइएको छ।

    बाजुराकै त्रिवेणी नगरपालिका ७ स्थित मतदान केन्द्रमा निर्वाचनको दिन झडप भएको घटनामा दुई जना राजनीतिक कार्यकर्ताहरूको मृत्यु भएको थियो।

    तीमध्ये एक जनालाई प्रहरीले चलाएको गोली लागेको थियो भने अर्कोको उपचाररत अवस्थामा मृत्यु भएको सहायक जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बीबीसीलाई जानकारी दिए।

    मतदाताहरू
  13. समानुपातिकमा एमाले र कांग्रेसको १० लाख मत कट्यो, समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशत मत कटाउने दलले मात्रै सिट पाउँछन्।

    समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले १० लाख मत कटाएका छन्।

    शुक्रवार बिहान ११:४५ बजेसम्म निर्वाचन आयोगले अद्यावधिक गरेको परिणाम अनुसार नेकपा एमालेले १० लाख ५० हजार बढी मत ल्याएको छ।

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पनि समानुपातिकमा १० लाख मत पुर्‍याएको छ।

    समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो बढी मत ल्याएको छ। यो पार्टीले पाँच लाख नजिक मत ल्याएको छ।

    नेकपा माओवादी केन्द्रले चार लाख ६० हजार बढी र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार बढी मत ल्याएका छन्।

    समानुपातिकमा जनता समाजवादी पार्टीले पनि एक लाख बढी मत कटाएको छ।

    समानुपातिक तर्फ कुल सदर मतको तीन प्रतिशत मत कटाउने दलले मात्रै सिट पाउँछन्।

  14. ७९ स्थानको आधिकारिक परिणाम, कांग्रेसको अग्रता, एमाले दोस्रोमा, ५ जना स्वतन्त्र निर्वाचित

    निर्वाचन आयोगले १०;४५ सम्म सार्वजनिक गरेको विवरण
    तस्बिरको क्याप्शन, निर्वाचन आयोगले १०;४५ सम्म सार्वजनिक गरेको विवरण

    निर्वाचन आयोगले शुक्रवार बिहान १०:४५ बजेसम्म ७९ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक गरेको छ।

    पछिल्लो अद्यावधिक विवरण अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसले २५ स्थानमा जित हासिल गरेको छ। कांग्रेसले २८ स्थानमा अग्रता लिइरहेको छ।

    दोस्रो स्थानमा रहेको एमालेले २० स्थानमा जितेको छ भने २७ स्थानमा अग्रता लिइरहेको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ९ स्थानमा जित हासिल गरेको छ भने अन्य ९ स्थानमा अग्रता लिइरहेको छ।

    नेकपा एकीकृत समाजवादीले छ स्थानमा जित र चार स्थानमा अग्रता लिइरहेको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चार स्थानमा निर्वाचित भइसकेका छन् भने चार स्थानमा अग्रता लिइरहेका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले चार स्थानमा जित र दुई स्थानमा अग्रता लिएको छ।

    जनता समाजवादी पार्टीले दुई स्थानमा जित र तीन स्थानमा अग्रता लिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले पनि दुई स्थानमा जित निकाल्दै एक स्थानमा अग्रता लिएको छ।

    नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक-एक स्थानमा जित हासिल गरेका छन्।

    रौतहट, मोरङ, सर्लाही र बर्दियामा गरी पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। अझै एक स्थानमा स्वतन्त्रले अग्रता लिइरहेका छन्।

    प्रत्यक्षतर्फ जितेका निर्वाचन क्षेत्र नक्सामा हेर्नुहोस्
    तस्बिरको क्याप्शन, निर्वाचन आयोगको आधिकारिक विवरण अनुसार आज बिहान ११ बजेसम्म विभिन्न दलहरूले प्रतिनिधिसभा प्रत्यक्षतर्फ जितेका निर्वाचन क्षेत्र नक्सामा हेर्नुहोस्
  15. स्वागतम।

    बीबीसी नेपाली सेवाको निर्वाचन विशेष लाइभ पेजमा स्वागत छ। हामी यस्मा निर्वाचन र मतगणना परिणामसँग सम्बन्धित पछिल्ला विवरणहरू आज शुक्रवार दिनभर यसमा प्रस्तुत गर्नेछौँ।