म्यान्मारमा पक्राउ परेका बीबीसी पत्रकार तीन दिनपछि मुक्त र अन्य समाचार
म्यान्मारमा सैन्य सरकारले पक्राउ गरेको चार दिनपछि बीबीसीका पत्रकार आङ थुरा मुक्त भएका छन्।
लाइभ कभरेज
धन्यवाद
आज नेपालमा प्रयोगमा रहेको अक्सफोर्ड-आस्ट्राजेनेका खोप अमेरिकी परीक्षणमा सुरक्षित, थप डेढ सयलाई
कोरोनाभाइरस सङ्क्रमण पुष्टि, नेकपा
एमालेका चार नेतालाई स्पष्टीकरण पत्र, कोलकताको
उच्च न्यायालयद्वारा दीपक जैसीलाई क्षतिपूर्ति दिनेबारे विचार गर्न आदेश, राष्ट्रपति विद्यादेवी भण्डारी बाङ्ग्लादेश प्रस्थान सहितका घटनाक्रम
चर्चामा रहे।
हामीले त्यसबारे तथा विभिन्न अन्तर्राष्ट्रिय समाचार
सङ्क्षिप्त रूपमा यहाँ प्रस्तुत गर्यौँ।
यसका साथै आजका लागि हामी यो लाइभ पेज यहीँ समापन गर्दैछौँ।
धन्यवाद।
म्यान्मारमा बीबीसी पत्रकार रिहा
म्यान्मारमा पक्राउ परेका बीबीसीका पत्रकार आङ थुरा रिहा भएका छन्।
गत शुक्रवार राजधानीस्थित एउटा अदालतबाहिर समाचार सङ्कलन गरिरहँदा सादा पोसाकमा आएका व्यक्तिले थुरालाई नियन्त्रणमा लिएका थिए। उनी आज चौथो दिन रिहा भएका हुन्।
गत माघ १९ मा सैनिक कू भएपछि म्यान्मारमा ४० पत्रकार पक्राउ परिसकेका छन्। सेनाले पाँच सञ्चारमाध्यमको अनुमति पनि खारेज गरेको छ।
थुरा गत शुक्रवार मिजिमा नामक सञ्चारमाध्यममा कार्यरत पत्रकार थान टिक आङसँगै पक्राउ परेका थिए। मिजिमाको अनुमति फागुन महिनामा सरकारले खारेज गरेको थियो।
पक्राउ परेपछि उनीसँग बीबीसीको सम्पर्क हुन सकेको थिएन।
बीबीसीले सोमवार उनी मुक्त भएको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन।
१५० जनामा कोरोनाभाइरस सङ्क्रमण
नेपालमा सोमवार १५० जनामा कोभिड पुष्टि भएको छ।
यो सङ्ख्या विगत ४० दिनयताको सबैभन्दा ठूलो हो। माघ २७ गते एकैदिन १६० जना सङ्क्रमित भएका थिए।
विगत २४ घण्टामा ९९ जना निको भएको र तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क छ।
नेपालमा हाल १,०१७ जना सक्रिय सङ्क्रमित रहेका छन्।
आस्ट्राजेनेका खोप सुरक्षित भएको अमेरिकी निकायको निष्कर्ष
अमेरिका, चिले र पेरुका ३२,००० भन्दा बढी स्वयंसेवकमा परीक्षण गरेर अक्सफर्ड-आस्ट्राजेनेकाको कोभिड खोप प्रभावकारी र सुरक्षित भएको निष्कर्ष निकालिएको हो।
दीपक जैसी तिम्सिनालाई क्षतिपूर्ति दिनेबारे विचार गर्न आदेश
भिडिओ क्याप्शन सुरु हुँदैछ, दीपक जैसी तिम्सिनाः ४० वर्षपछि जेलबाहिर आउँदा केही बोल्न सकेनन्
भारतको कोलकातास्थित उच्च अदालतले केही दिनअघि कारागारमुक्त भएका इलामका दीपक जैसी तिम्सिनालाई क्षतिपूर्ति दिने विषयमा विचार गर्नु उपयुक्त हुने आदेश दिएको छ।
उच्च अदालतका मुख्य न्यायाधीशसहितको दुईसदस्यीय इजलासले आज जारी गरेको आदेशमा दीपकको परिवार विपन्न भएको तथा उनी पक्राउ र जेल परेपछि परिवारले सामाजिक चुनौती खेप्नुपरेको आफूलाई बताइएको उल्लेख गरेको छ।
"दीपक जोशी झन्डै ४१ वर्ष बिनासुनुवाइ अन्य आवश्यक प्रक्रिया अवलम्बन नगरी थुनामा परेकाले उनलाई क्षतिपूर्ति दिने आदेश राज्यलाई दिएर सहयोग गर्नुपर्छ कि भनेर हामीलाई लागेको छ। यस विषयमा राज्यलाई क्षतिपूर्तिबारे आदेश दिनु उपयुक्त हुन्छ कि भनेर विचार गर्नु उपयुक्त हुन्छ भन्ने हामीलाई लागेको छ," आदेशमा भनिएको छ।
चार पृष्ठको आदेशमा पश्चिम बङ्गाल राज्यका प्रमुख न्यायाधिवक्तालाई यो विषयमा जानकारी गराउँदै अदालतले सरकारले उपयुक्त प्रतिक्रिया जनाउने विश्वास व्यक्त गरेको छ।
“राज्यले यसलाई तत्परतापूर्वक र व्यावहारिक ढङ्गले हेर्नेछ भन्नेमा हामी विश्वस्त छौँ,” आदेशमा उल्लेख छ।
यो विषयमा आगामी दिनहरूमा विचार गरिने भन्दै अदालतले दीपकको मुद्दाका लागि तय गरिसकिएको अर्को सुनुवाइमा भने कुनै सम्बोधन नहुने प्रष्ट पारेको छ।
दीपकलाई सन् १९८० मा भारतको दार्जिलिङबाट पक्राउ गरिएको थियो।
उनको मानसिक स्वास्थ्य कमजोर भएकाले प्रत्येक ६-६ महिनामा उनको अवस्थाबारे जानकारी गराउनुपर्ने सर्तमा अदालतले उनलाई मुक्त गर्न बुधवार आदेश दिएको थियो।
उनी अहिले आफ्नो घर पुगेको र आमासँग भएको जानकारी नेपाली वाणिज्य दूतावासले दिएको पनि अदालतले जनाएको छ।
स्पष्टीकरण सोध्नुको औचित्य छैनः भीम रावल, नेकपा एमाले विवाद
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, फाइल तस्बिर
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी महासचिव ईश्वर पोखरेलले स्पष्टीकरण सोध्न पठाएको भनिएको पत्र आफूले प्राप्त नगरिसकेको बताएका छन्।
तर उनले "अवैध, अनुचित र
अलोकतान्त्रिक ढङ्गले सोधिएको स्पष्टीकरणको कुनै औचित्य नहुने" प्रतिक्रिया बीबीसीलाई दिएका छन्।
उनले पार्टी अध्यक्ष पनि रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले "आफूखुसी पदाधिकारी नियुक्ति गरेको, राष्ट्रिय
महाधिवेशनको मिति तय गरेको र पार्टीभित्र विभाजनको रेखा कोरेको" आरोप लगाएका छन्।
तीन दिनभित्र स्पष्टीकरण बुझाउन चार एमाले नेतालाई पत्राचार, 'समानान्तर गतिविधि गर्नुको कारणबारे प्रश्न'
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, फाइल तस्बिर
नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तीन अन्य नेतालाई ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र
पठाएको छ।
एमालेका कार्यालय सचिव
ईश्वरी रिजालका अनुसार नेताहरूका घरमा नै एमालेका कार्यालय सहयोगीले पत्र पुर्याएका
हुन्।
एमालेको माधवकुमार नेपाल पक्षले गत साता राष्ट्रिय कार्यकर्ता भेला
गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले स्पष्टीकरण सोध्ने
निर्णय गरेको थियो।
पार्टीले पूर्व महासचिव
नेपालबाहेक एमालेका उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे र उपमहासचिव घनश्याम भुसाललाई पनि स्पष्टीकरण पत्र
पठाएको रिजालले जानकारी दिए।
स्पष्टीकरण पत्रको ब्यहोराबारे उनले भने, “पार्टीभित्र समानान्तर समितिहरू बनाएको देखियो। उहाँहरूले
समानान्तर कार्यक्रमहरू गर्नुभयो जुन पार्टीमा निर्णय भएको छैन। त्यही भएर किन
यसो गरेको हो भनेर सोधिएको हो।”
स्पष्टीकरण पत्र ‘बुझेको’ भनिएको पक्षसँग बीबीसीले प्रतिक्रिया लिन
गरेको प्रयास सफल हुन सकेन।
सिड्नीमा बाढीको जोखिम, हजारौँ मानिसको उद्धार
तस्बिर स्रोत, Reuters
अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा ठूलो वर्षा नरोकिएपछि बाढीको जोखिमका कारण लगभग १८,००० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सिड्नीवरपर र दक्षिणपूर्वी राज्य क्वीन्सल्यान्डमा नदी र तटबन्धहरूमा पानीको बहाव बढेको छ।
अधिकारीहरूले ५० वर्षमा एक पटक हुने अवस्था यो साताभरि रहन सक्ने भन्दै नागरिकहरूलाई सचेत रहन आग्रह गरेका छन्।
प्रधानमन्त्री स्कट मोरिसनले स्थानान्तरणका लागि बाध्य भएका मानिसका लागि कोषको व्यवस्था गर्दै देशका लागि अर्को परीक्षाको घडी भएको बताएका छन्।
कुनैकुनै स्थानमा १,००० मिलिमिटरसम्म पानी परेको मौसम विभागले जनाएको छ।
सोमवार बाढीका कारण १५० विद्यालय बन्द भए भने नदीहरू सन् १९६१ को विनाशकारी बाढीको समयभन्दा ठूलो भएको बताइएको छ।
तस्बिर स्रोत, EPA
ब्रिटिश सैनिकको सङ्ख्या '१० हजारले घट्ने'
तस्बिर स्रोत, PA Media
ब्रिटिश सेनामा नियमित सैनिकको सङ्ख्या १०,००० जतिले घटाएर रोबट, ड्रोन र साइबरयुद्धमा थप ध्यान केन्द्रित गरिने अपेक्षा गरिएको छ।
अहिले हुन लागेको रक्षा समीक्षापछि ट्याङ्क र विमानको सङ्ख्या घट्न सक्छ। तर सरकारले "पानीजहाज, पनडुब्बी (सबमरीन) र जलसैनिक" को सङ्ख्या बढाइने बताएको छ।
अब सैनिकहरूको कुल सङ्ख्या घटेर ७०,००० जतिमा सीमित हुनेछ। केही वर्षदेखि सेनाको आकार क्रमशः घटाउँदै लगिएको छ।
ब्रिटिश रक्षामन्त्री बेन वलेसले यूकेको तल्लो सदन हाउस अफ कमन्समा यसबारे बोल्नेछन्।
आइतवार बीबीसी वनको एन्ड्रू मार शोमा रक्षामन्त्री वलेसले रक्षाखर्च बढेको सन्दर्भमा आफूले केही निर्णय गर्न लागेको बताएका थिए।
तर लेबर पार्टीले यूकेले थप जोखिम बेहोरहेको बेलामा सैन्य सङ्ख्या घटाउन लागिएको भन्दै आपत्ति प्रकट गरेको छ।
ब्रिटिश सेनामा अक्टोबर २०१५ मा नियमित सैनिकको सङ्ख्या ८६,०८० थियो। ज्यानुअरी २०२१ सम्म आइपुग्दा त्यो सङ्ख्या ८०,०१० पुगेको थियो।
राष्ट्रपति भण्डारी बाङ्ग्लादेश प्रस्थान
तस्बिर स्रोत, RSS
राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका लागि सोमवार बिहान बाङ्ग्लादेश प्रस्थान गरेकी छन्।
उनी मङ्गलवार स्वदेश फर्किने कार्यक्रम छ।
उनको भ्रमणका क्रममा नेपाल र बाङ्ग्लादेशबीच केही महत्त्वपूर्ण विषयमा सहमति हुनसक्ने बताइएको छ।
अहिले नेपालले बाङ्ग्लादेशसँग काँकडभिट्टा-फुलबारी-बङ्गलाबन्ध एवं बिरल-राधिकापुर पारवहन मार्ग प्राप्त गरेको छ।
यसपालिको भ्रमणमा रोहनपुर-सिंहबाद रेलरूट पारवहन मार्गको अनुमतिबारे औपचारिक निर्णय घोषणा हुनलागेको ढाकास्थित नेपाली राजदूत डा. वंशीधर मिश्रले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।
अरू के हुनेछ त राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा? यहाँ पढ्नुहोस्।
तस्बिर स्रोत, RSS
भिड बढेपछि फ्लोरिडामा रात्रिकालीन कर्फ्यू
तस्बिर स्रोत, EPA
अमेरिकाको
फ्लोरिडा राज्यस्थित माइआमी समुद्री किनारमा अधिकारीहरूले तीन सातासम्म सङ्कटकाल
बढाएका छन्।
उक्त क्षेत्रमा वार्षिक बिदा मनाउन आउने पर्यटकको भिड अस्वाभाविक रूपमा
बढेकाले त्यसले कोरोनाभाइरसको सङ्क्रमण फैलिने भन्दै सङ्कटकाल बढाइएको हो।
यो
निर्णयपछि राति ८ बजेदेखि बिहान ६ बजेसम्म कम्तीमा तीन साताका लागि कर्फ्यू लाग्नेछ।
यसअघि माइआमीका नगरप्रमुखले 'पर्यटकले भिडभाड गरेको र अस्तव्यस्त बनाएको' टिप्पणी गरेका थिए।
कोभिड महामारी सुरु भएयता फ्लोरिडा राज्यमा मात्रै २० लाख मानिस सङ्क्रमित
भइसकेका छन्।
आफ्नै नयाँ सामाजिक सञ्जाल बनाउँदै डोनल्ड ट्रम्प
तस्बिर स्रोत, Reuters
अमेरिकी पूर्वराष्ट्रपति
डोनल्ड ट्रम्प चाँडै नै नयाँ प्लेटफर्ममार्फत् सामाजिक सञ्जालमा फर्किने उनका
सल्लाहकारले बताएका छन्।
“मलाई लाग्छ हामी राष्ट्रपति ट्रम्पलाई दुईदेखि तीन महिनामा सामाजिक सञ्जालमा
फर्किएको देख्नेछौँ,” जेसन मिलरले फक्स न्यूजलाई बताए।
मिलरले त्यो माध्यम सामाजिक सञ्जालमा सबैभन्दा चर्चित हुने र त्यसले सामाजिक सञ्जाल प्रयोगलाई 'पुनर्परिभाषित' गर्ने बताए।
ज्यानुअरी ६ मा अमेरिकी
संसद् भवनमा भएको हिंसात्मक आक्रमणपछि ट्रम्पलाई ट्विटर र फेसबुकले प्रतिबन्ध
लगाएका छन्। सो आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो।
ट्रम्पले थप हिंसाका लागि उकास्न सक्ने भन्दै ट्विटरले उनको अकाउन्टलाई स्थायी निलम्बन गरेको
बताएको थियो।
तस्बिर स्रोत, Twitter
ट्रम्पले १० वर्ष मूलधारका सञ्चारमाध्यमलाई बेवास्ता गर्दै मतदाताहरूमाझ प्रत्यक्ष कुरा राख्न ट्विटरको प्रयोग गरेका थिए। उनका नौ करोड फलोअर्स थिए।
ट्रम्प कुन प्लेटफर्मबाट सामाजिक सञ्जालमा फर्किन्छन् भन्ने स्पष्ट छैन।
मिलरले त्यसबारे कुनै जानकारी नदिई सबै जना राष्ट्रपति ट्रम्पले के गर्छन् भन्ने हेर्न कुरिरहेको बताए।
उनले ट्रम्पले फ्लोरिडामा यसबारे केही उच्चस्तरीय बैठक गरेको र थुप्रै कम्पनीले ट्रम्पलाई यस विषयमा सम्पर्क गरिसकेको बताए।
“यो नयाँ प्लेटफर्म ठूलो हुनेवाला छ,” ट्रम्पले करोडौँ व्यक्तिलाई सो प्लेटफर्ममा आकर्षित गर्ने बताउँदै मिलरले भने।
नेपालमा कोभिड खोप आयात गर्न कसैको पनि परेन आवेदन
Article Information
Author, नेत्र केसी
नेपालमा कोभिड खोप आयात गर्न निजी क्षेत्रलाई अनुमति लिन दिइएको दिनको समयावधिमा कसैले पनि आवेदन नदिएको औषधि व्यवस्था विभागले जनाएको छ।
तर आपत्कालीन प्रयोगका निम्ति रुसमा निर्मित एउटा खोप दर्ताको निम्ति छुट्टै आवेदन परेको अधिकारीहरूले बताएका छन्।
आफूहरूले खोप आयात गर्ने प्रयास गरिरहेको औषधि व्यवसायीहरूले भारतको थप अर्को खोपले पनि आपत्कालीन प्रयोग र आयातका लागि अनुमति पाएकाले केही सहज हुने जनाएका छन्।
तस्बिर स्रोत, DDA
सरकारी संयन्त्रबाट थप खोप ल्याउन नसकेर खोप कार्यक्रमको तालिका प्रभावित भएको बेला निजी क्षेत्रले खोप ल्याउने र त्यसले खोप अभियानलाई सहयोग पुर्याउने ठानिएको थियो।
त्यसको निम्ति सरकारले विश्व स्वास्थ्य सङ्गठनबाट आपत्कालीन प्रयोगका लागि अनुमति पाएका खोपको दर्ता र आयातको अनुमतिका लागि आवेदन दिन सात दिनको समय तोकेको थियो।
तर उक्त समयसीमाभित्र कसैले इच्छा नदेखाएपछि सरकारले सात दिन समय थपेको छ जानकारी औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले दिएका छन्।
उनका अनुसार सात दिनको यस अवधिमा आपत्कालीन प्रयोगका लागि एउटा खोप दर्ताको आवेदन परेको छ।
प्रत्येक खेपमा आपूर्ति गर्न सकिने परिमाण र लाग्ने समय समेत खुलाएर आवेदन मागिएको थियो।
तस्बिर स्रोत, Reuters
नेपालमा कोभिड खोप भण्डारण गर्न आवश्यक तापक्रम कायम गर्न सक्ने नेपालमा एक दर्जनजति कम्पनी भए पनि खोप उत्पादक कम्पनीले खोप दिने निश्चित नभएकाले आवेदन दिन नसकिएको व्यवसायीहरूले बताएका छन्।
नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठले हालै भारतमा उत्पादन भएको अर्को खोपलाई पनि औषधि व्यवस्था विभागले अनुमति दिएकाले खोप आयातको आशा केही बढेको उल्लेख बताए।
विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन प्रयोगका लागि मान्यता दिएका सबै खोपले नेपालमा पनि मान्यता पाएमा केही सहज हुन सक्ने व्यवसायीहरूको भनाइ छ।
सरकारले निजी क्षेत्रलाई ढुवानी, भण्डारण, कर, सेवा शुल्कको विश्लेषण गरी खोपबाट १० प्रतिशत सम्म मुनाफा लिन पाउने व्यवस्था गरेको छ।
स्वागतम्
शुभप्रभात। नमस्कार।
बीबीसी न्यूज नेपालीको दैनिक लाइभ पेजमा स्वागत छ।
यो पेजमा हामी आज सोमवार दिनभरि महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना र समाचारहरू सङ्क्षिप्त रूपमा प्रस्तुत गर्नेछौँ।