तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

सिरियामाथि पश्चिमा हवाई आक्रमण

अमेरिका, ब्रिटेन र फ्रान्सले रासायनिक अस्त्र रहेको ठानिएका सिरियाली अखडाहरूमा संयुक्त आक्रमण गरेका छन्।

लाइभ कभरेज

  1. संयम अपनाउन आग्रह

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रमध्ये तीन मुलुक अमेरिका, ब्रिटेन र फ्रान्सले आक्रमण गरेका विवरणहरूलाई नियालिरहेको बताएका छन्।

    उनले ‘राष्ट्रसंघीय बडापत्र तथा सामान्य अन्तर्राष्ट्रिय कानून अनुसार कदम चाल्न’ उनीहरू जिम्मेवार रहेको बताए।

    गुटेरसले थपे, “अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने सुरक्षा परिषद्को प्राथमिक जिम्मेवारी हो। म परिषद्का सबै सदस्य राष्ट्रहरूलाई एकढिक्का हुन र जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दछु।”

    “म सबै सदस्य राष्ट्रहरूलाई यो खतरनाक स्थितिमा संयम अपनाउन र त्यहाँको स्थिति तथा सिरियाली जनताको पीडालाई झन् बिगार्न सक्ने अवस्था आउन नदिन आग्रह गर्दछु।”

  2. दुष्परिणाम निम्तिने इरानी चेतावनी

    इरानले आफ्नो विश्वासिलो सरकारविरूद्धको ‘त्रिपक्षीय हमला’ को निन्दा गरेको छ र क्षेत्रीय दुष्परिणाम निम्त्याउने’ चेतावनी दिएको हिज्बुल्लाहको अल-मनार टेलिभिजनले जनाएको छ।

    समाचार संस्था एएफपीले इरानी विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै भनेको छ, “संयुक्त राज्य अमेरिका र उसका साझेदार मुलुकहरूसँग कुनै प्रमाण छैन र उनीहरूले रासायनिक अस्त्र नियन्त्रणसम्बन्धी निकाय (ओपीसीडब्ल्यू) ले धारणा नबनाउँदै आक्रमण गरेका छन्। र, उनीहरू क्षेत्रीय दुष्परिणामका लागि जिम्मेवार छन्।”

    सिरियाको गृहयुद्धमा राष्ट्रपति बशर अल असदलाई सघाउन इरानले आफ्ना सयौँ फौज खटाएको र अर्बौं डलर सहयोग गरेको बताइन्छ।

  3. सिरियाली सरकारले रासायनिक हतियार प्रयोग गरेको छ?

    राष्ट्रपति बशर अल असदको सरकारले रासायनिक हतियार कहिल्यै प्रयोग नगरेको दोहोर्याउँदै आएको छ र गत शनिबार डुमामा विद्रोहीहरुले जालसाजी गरेर उक्त घटना गराएको बताएको छ।

    सरकारले उसको सम्पूर्ण रासायनियक अस्त्र निर्माणगृह सन २०१३ को आक्रमणलगत्तै अमेरिका र रुसले गरेको मध्यस्थतापछि ध्वस्त पारेको बताउँछ। त्यसपछि स्नायुप्रणालीमा असर पार्ने सरिन तत्व भरिएको रकेट दमास्कस शहरबाहिर रहेका विपक्षी नियन्त्रित क्षेत्रमा प्रहार गरिएको थियो जसबाट सयौं मानिस मारिएका थिए।

    तर रासायनियक अस्त्रविरुद्धको राष्ट्रसंघीय निकाय ओपीसीडब्लुले त्यसपछि भएका चारवटा रासायनिक अस्त्र आक्रमणमा सरकारको संलग्नता रहेको बताएको छ। त्यसमध्ये एप्रिल २०१७ मा विद्रोही नियन्त्रित नगर खान शेखुनमाथि भएको आक्रमण पनि एक हो। त्यस आक्रमणमा पनि सरिन प्रयोग गरिएको थियो र ८० जनाको ज्यान गएको थियो।