तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुवै छिमेकी देशका राजदूतलाई एकै दिन भेटेर बालेनले दिएको सङ्केत
- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
विगतका सरकार प्रमुखले राजदूतसँग गर्ने भेटघाट पनि समाचार बन्थे तर प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले भारत र चीनका राजदूतसँग सोमवार गरेको भेटवार्ता विशेष चर्चामा रह्यो।
बालेनले सरकार सम्हालेको चार महिनापछि दुई छिमेकी देशका राजदूतहरूले उनीसँग एकल भेटघाटको अवसर पाएका हुन्।
पूर्वराजदूत दिनेश भट्टराईका विचारमा प्रधानमन्त्रीले सही कदम चालेका छन्, जुन पहिल्यै हुनुपर्ने थियो, अलि ढिलो भयो। "छिमेकीहरूसँगको समझदारी कतै हामीले लूज गर्यौँ कि भन्ने लागेपछि त्यो महसुस गरेर भेट्न थाल्नुभयो कि भन्ने पनि देखिन्छ," उनको बुझाइ छ।
उनी सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री छँदा विदेश मामिला सल्लाहकार थिए।
विगतका प्रधानमन्त्री र शीर्षस्थ नेताहरूले विदेशी कूटनीतिज्ञहरूसँग कूटनीतिक मर्यादाको ख्याल नगरेर भेटघाट गर्ने गरेको भन्दै निकै आलोचना हुने गरेको थियो।
बालेन प्रधानमन्त्री भएपछि उनले नेपालस्थित विदेशी कूटनीतिज्ञहरूसँग संयुक्त भेटघाट मात्र गरेका थिए।
त्यसैले जति बेला पनि राजदूतले सीधै प्रधानमन्त्री भेट्ने परम्परा तोडेर कूटनीतिक भेटघाटलाई व्यवस्थित गर्न खोजेको बुझाइ कतिपयमा पाइन्थ्यो।
"तर बुझाइ पुगेको रहेनछ, जब कि हामीले प्रोटोकललाई व्यवस्थित गरेर पनि सन्तुलित र संयमित भएर पनि सन्देश दिन सकिन्छ," भट्टराई भन्छन्, "छिमेकीसँग सम्बन्धलाई प्राथमिकतामा राख्दै आएका थियौँ, जसरी समदूरीका कुराहरू गर्नुभयो… यसको गम्भीरता र संवेदनशीलता नबुझेर सबै एकनास हुन् भन्ने किसिमले लिनुभयो कि।"
छिमेकी देशसँग सरोकार र कारोबार कम हुने अन्य देशहरूसँगको जस्तो व्यवहारले नपुग्ने उनको भनाइ छ।
'फलदायी विचारविमर्श'
प्रधानमन्त्री बालेनको सचिवालयका अनुसार भेटवार्तामा "नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा" छलफल भएको छ।
प्रधानमन्त्री शाहले "भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने" बताएको सचिवालयले जनाएको छ।
"भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो," सचिवालयले जारी गरेको नोटमा उल्लेख छ।
भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेनसँगको भेटवार्तापछि दुई वटा तस्बिर राखेर 'ट्वीट' गरेका छन्।
त्यसमा अङ्ग्रेजीमा भनिएको छ, "आज बिहान नेपालका सम्माननीय प्रधानमन्त्रीज्यूसँग भेट गर्न पाउँदा सम्मानित महसुस गरेको छु। भारत र नेपालबीचको सुदृढ, बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने विषयमा गहन तथा फलदायी विचारविमर्श भयो।"
उनले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री बालेनलाई "न्यानो शुभकामना व्यक्त गरेको" पनि उल्लेख गरेका छन्।
'ऐतिहासिक सम्बन्ध अझ प्रगाढ'
प्रधानमन्त्री बालेनको सचिवालयले चिनियाँ राजदूतसँगको भेटबारे पनि जानकारी गराएको छ। भेटघाटमा नेपाल-चीन सम्बन्धलाई "थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको" सचिवालयले उल्लेख गरेको छ।
"भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभयो," प्रधानमन्त्री बालेनको सचिवालयले भनेको छ, "राजदूत माओमिङले पनि प्रधानमन्त्रीज्यूलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो।"
चिनियाँ राजदूतले पनि 'ट्वीट' गर्दै मैत्रीपूर्ण वातावरणमा द्विपक्षीय सम्बन्ध र व्यावहारिक सहयोगका साथै साझा चासोका विषयहरूमा छलफल गरेको बताएका छन्।
उनले भनेका छन्, "हामी दुवैकी जित हुने गरी हाम्रो सहकार्यलाई अझ गहिरो बनाउन अनि नेपाल र चीनका जनतालाई थप फाइदा पुर्याउन सहमत भएका छौँ।"
'बदलिए बालेन, भ्रमणको सम्भावना'
राजदूतहरूले सरकारका मन्त्रीहरूसँग भने भेटघाट गर्दै आएका थिए। तर त्यसले महत्त्वपूर्ण छिमेकीहरूसँगको कूटनीतिक सम्पर्क र सम्बन्ध पूर्ति गर्न नसक्ने कूटनीतिज्ञ भट्टराईको भनाइ छ।
उनका अनुसार छिमेकीलगायतका मित्रराष्ट्रहरूले सरकार प्रमुख वा उच्च तहबाटै सन्देश सुन्न र आश्वस्त हुन चाहन्छन्।
"प्रधानमन्त्रीले जुन भेट गर्नुभयो, यो राम्रो गर्नुभयो," उनी भन्छन्, "यो अझ पहिल्यै भइदिएको भए अझ राम्रो हुन्थ्यो भन्ने हाम्रो बुझाइ हो।"
यसअघि प्रधानमन्त्री बालेनले "प्रोटोकल" को विषय उठाएर भेटघाटको समय नदिएपछि भारतीय विदेशसचिवले नेपाल भ्रमण रद्द गरेको समाचारहरू आएका थिए।
दुई देशका राजदूतसँग भेटले प्रधानमन्त्री बालेनले सुरुमा कूटनीतिक भेटघाटमा कसिलो नीति लिएको देखिए पनि पछिल्लो समय उनी लचिलो बनेको सङ्केतको रूपमा पनि कतिपयले लिएका छन्।
यससँगै उनले छिमेकी देशको भ्रमणको ढोका खुला रहेको सन्देश दिएको पनि उनीहरूको बुझाइ पाइन्छ।
बालेन बदलिने सङ्केतका रूपमा पनि बुझ्न सकिनेमा पूर्वराजदूत दिनेश भट्टराई सहमत छन्।
"राजदूतहरूका तर्फबाट हाम्रा प्रधानमन्त्रीलाई उनीहरूको सरकारको के सन्देश थियो त्यो त थाहा छैन," उनी भन्छन्, "तर यो भेटघाटले वातावरण अलि सहज बनाएर भ्रमणको मार्ग प्रशस्त गर्न पनि सक्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।