दुई अमेरिकी ब्याङ्क डुबेपछि एशिया र युरोपका शेअर बजार पनि प्रभावित

जो बाइडन

तस्बिर स्रोत, Getty Images

Published

अमेरिकामा दुईवटा ठूला ब्याङ्कहरू धराशायी भएपछि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाको वित्तीय प्रणाली सुरक्षित रहेको आश्वासन फेरि दिए। तर एशिया र युरोपको शेअर बजार त्यसबाट ढुक्क हुन सकेको छैन र ब्याङ्कहरूको शेअर मूल्य ह्वात्तै घटेको छ।

सिलिकन भ्याली ब्याङ्क (एसभीबी) र सिग्नेचर ब्याङ्क सङ्कटमा परेपछि ग्राहकहरूले जम्मा गरेको निक्षेपको रक्षा गर्न अमेरिकी निकायहरूले प्रयास थालेपछि विश्वबजारमा ब्याङ्कहरूको शेअरको मूल्यमा गिरावट आउन थालेको हो।

बाइडनले ब्याङ्किङ प्रणालीलाई जोगाउन "यथोचित" कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तर लगानीकर्ताहरू अरू कर्जादाता पनि सङ्कटमा पर्ने आशङ्कामा छन्।

मङ्गलवार विश्वभरि शेअरको मूल्य घट्यो। जापानको टपिक्स ब्याङ्कको सूचकाङ्क ७% भन्दा बढीले घट्यो। तीन वर्षभन्दा बढी समयमा उक्त सूचकाङ्क सबैभन्दा नराम्रो स्थितिमा पुगेको हो।

एशियाली बजारमा मध्यदिनसम्म भएको कारोबारमा धितो लिएर कर्जा प्रवाह गर्ने सबैभन्दा ठूलो जापानी वित्तीय संस्था मित्सुबिशी यूएफजे फाइनान्शल ग्रूपको शेअर पनि ८.१% ले घट्यो।

सोमवार कुनै समयमा स्पेनका सान्टान्डेर र जर्मनीको कोम्यार्ट्स्बाङ्कको शेअर मूल्य पनि १०% भन्दा बढीले घटेको थियो।

ब्याङ्कबाहिर लाम

अमेरिकाका साना ब्याङ्कहरूले सम्भावित प्रभावबाट जोगिनका लागि आफूसँग आवश्यक पर्नेभन्दा बढी तरलता उपलब्ध रहेको कुरामा ढुक्क पार्न खोजेका भए पनि तिनले युरोपेली ब्याङ्कभन्दा बढी क्षति बेहोरेका छन्।

यो अस्थिरताले मुद्रास्फीति नियन्त्रण गर्नका लागि ब्याज दर बढाउने अमेरिकाको केन्द्रीय ब्याङ्कको योजनालाई केही समयका लागि रोक्ने अनुमान गर्न थालिएको छ।

बाइडनले निक्षेपकर्ताहरूलाई सुरक्षित बनाउनका लागि सरकारले हस्तक्षेप गरेसँगै सिलिकन भ्याली ब्याङ्कका सर्वसाधारण वा व्यावसायिक निक्षेपकर्ताले सोमवारबाट आफूले जम्मा गरेको रकम प्राप्त गर्न सक्ने बताएका छन्।

आफूले जम्मा गरेको रकम निकाल्न नपाएपछि कैयौँ व्यावसायिक ग्राहकहरू आफ्ना कर्मचारी र आपूर्तिकर्तालाई भुक्तानी दिन नसक्ने अवस्थामा पुग्ने सम्भावना देखिएको थियो।

उत्तर अमेरिकामा कार्यरत बीबीसीका प्रविधि संवाददाता जेम्स क्लेटनले क्यालिफोर्नियाको मेन्ल पार्कस्थित एसभीबी ब्याङ्कबाट आफ्नो पैसा निकाल्नका लागि दिनभरि लाम लागेका सर्वसाधारणहरूसँग कुराकानी गरेका थिए।

ब्याङ्कले विद्युतीय कारोबारको सुविधा दिन नसकेपछि उनीहरू चेक साट्न त्यहाँ पुगेका थिए।

red line
red line

सिलिकन भ्याली ब्याङ्क कसरी डुब्यो

अमेरिकी नियामक निकायले शुक्रवार मूलभूत रूपमा प्रविधि कम्पनीहरूलाई कर्जा प्रवाह गर्ने सिलिकन भ्याली ब्याङ्कको सम्पत्ति जफत गर्दै उक्त ब्याङ्क बन्द गरिदिएको थियो।

सन् २००८को वित्तीय सङ्कट पश्चात् अमेरिकी ब्याङ्कको यो सबैभन्दा ठूलो असफलता थियो।

उक्त ब्याङ्कले उच्च ब्याज दरबाट प्रभावित सम्पत्ति बिक्रीबाट भएको घाटा हटाउन पैसा उठाउने प्रयास गरिरहेको थियो।

उक्त सङ्कटबारे सूचना फैलिएपछि ग्राहकहरू आफूले जम्मा गरेको रकम निकाल्न आउन थालेपछि रकमको अभाव देखिएको थियो।

आइतवार सरकारी निकायहरूले न्यूयोर्कस्थित सिग्नेचर ब्याङ्कको व्यवस्थापन पनि आफ्नो नियन्त्रणमा लिएका थिए।

एसभीबी

तस्बिर स्रोत, Reuters

उक्त ब्याङ्कका कैयौँ ग्राहक क्रिप्टो कारोबारमा संलग्न थिए र त्यो वित्तीय संस्था एसभीबीजस्तै जोखिममा परेको मानिएको थियो।

बाइडनले ती ब्याङ्कको निक्षेप सुरक्षित बनाउनका लागि करदाताहरूमा थप भार नपर्ने वाचा गरेका छन्। उनका अनुसार नियामक निकायले ब्याङ्कहरूबाट उठाउने शुल्कबाट उक्त रकम जुटाइनेछ।

नयाँ उपाय

सर्वसाधारणहरूलाई वित्तीय संस्थाहरूमाथि विश्वास कायम राख्नका लागि अमेरिकी नियामक निकायले ब्याङ्कहरूले आकस्मिक रूपमा रकम उधारो लिन मिल्ने नयाँ उपाय सार्वजनिक गरेको छ।

यद्यपि अर्को अमेरिकी कर्जादाता सिल्भरगेट ब्याङ्क गत साता धराशायी भएपछि देखिएका पछिल्ला समस्याहरूले अन्य संस्थामा पनि जोखिम रहेको सङ्केत गरेको छ।

क्यापिटल इकोनोमिक्सका पोल एश्वर्थले अमेरिकी अधिकारीहरूले "नकारात्मक धारणा वा अभ्यास फैलिन नदिन आक्रामक रूपमा काम गरेको" बताएका छन्।

तर सधैँ असङ्गत त्रासका कारण समस्या उत्पन्न हुने भन्दै त्यस्तो उपायले काम गर्छ भन्ने सुनिश्चितता नभएकाले हामी तनावमा पर्ने उनले बताए।

red line
red line

राजनीतिक दुष्प्रभाव

एसभीबी ब्याङ्कको असफलताले सन् २००८को वित्तीय सङ्कटका बेलामा जस्तै राज्यले वित्तीय संस्थाहरूलाई नियमन गर्न अनि जोगाउन कति पहल गर्नुपर्छ भन्ने विषयमा बहस पुनः सुरु गराइदिएको छ।

अमेरिकी केन्द्रीय ब्याङ्कका प्रमुख जेरोम पावलले ब्याङ्कहरू धराशायी हुनुको कारणबारे विस्तारमा पारदर्शी समीक्षा गरिने बताएका छन्।

राष्ट्रपति बाइडनले कडा नियमको माग गर्दै लगानीकर्ता अनि ब्याङ्क सञ्चालन गर्ने सन्दर्भमा शीर्ष भूमिकामा रहेकाहरूलाई त्यसै नछोडिने कुरामा जोड दिएका छन्।

"उनीहरूले जानीजानी जोखिम लिएका हुन् … पुँजीवादले त्यसैगरी काम गर्छ," उनले भने।

यद्यपि रिपब्लिकन पार्टीका सिनेटर टिम स्कटले सरकारले गरिदिएको पछिल्लो उद्धारलाई "समस्याग्रस्त"को सङ्ज्ञा दिएका छन्।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका लागि उनी सम्भावित उम्मेदवार पनि हुन्।

"सरकारले हस्तक्षेपत गर्ने परम्परा बनाउँदा त्यसले भविष्यमा संस्थाहरूलाई अत्यधिक जोखिम मोलेपछि सरकारमा निर्भर हुने कुरा रोक्न केही गर्दैन," उनले भने।