पूर्वी र मध्यनेपालमा 'शनिवारसम्म हुने वर्षा' कति ठूलो हो? जोखिममा को?

तस्बिर स्रोत, Reuters
बिहीवारदेखि शनिवारसम्म पूर्वी र मध्यनेपालमा हल्का तथा मध्यम वर्षाको पूर्वानुमान भइरहँदा मौसम अधिकारीहरूले यही वर्षा प्रणाली ठूलो प्रभाव पार्ने खालको नभए पनि गत सप्ताहान्तको विध्वंसकारी वर्षाका असर 'आलै' रहेका कारण सजग रहनुपर्ने बताएका छन्।
देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै मौसम अधिकारीहरूले अझै मनसुन बाहिरिने दिनको टुङ्गो लगाउन नसकिरहँदा शनिवारसम्म पूर्वी र मध्यनेपालमा हल्का तथा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।
खासगरी बिहीवार र शुक्रवार कोशी र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
तर विभागकी सूचना अधिकारी विभूति पोखरेलले वर्षा गराउने पछिल्लो मौसमी प्रणाली अघिल्लो पटक जस्तो प्रतिकार्य आवश्यक पर्न सक्ने गरी 'रेड अलर्ट' जारी गर्नु पर्ने खालको नभएको बताउँछिन्।
एक साताअघिको विध्वंसकारी वर्षाले निम्त्याएका असरका कारण बिहीवारसम्म २३३ जनाको मृत्यु हुनुका साथै २२ जनाको अवस्था अझै अज्ञात रहेको प्राधिकरणले जनाएको छ।
सडकमा चिन्ता
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले नयाँ वर्षा प्रणालीका कारण अवरुद्ध सडक खुलाउने काममा जटिलता बनेको बताउँछन्।
“यसले पारेको सबैभन्दा ठूलो चिन्ता भनेको यस पटक थोरै मात्र वर्षा हुँदासमेत पछिल्लो ठूलो वर्षाले गलाएर राखेको वा चर्काएको जमिन पुनः चलायमान गराउला कि भन्ने छ,” प्राधिकरणका प्रवक्ता डीजन भट्टराई भन्छन्।
“हामीले यसअघि जस्तो गाडी नै नचलाउन भनेका छैनौँ। अवस्था त्यो तहको होइन। तर पानी परिरहेका बेला जोखिमयुक्त सडकमा गाडी नगुडाउनुहोस् भनेका छौँ। कम्तीमा पानी पर्ने भनिएका दिन राति गाडी नचलाउन अनुरोध गरेका छौँ।”
अधिकारीहरूले राजधानीबाट बाहिरिने एउटा मुख्य सडक पृथ्वी राजमार्गको नागढुङ्गा- मुग्लिन खण्डमा मात्र सयौँ पहिरोका धराप रहेको भन्दै त्यहाँ सजग रहेर यात्रा गर्न सुझाएका छन्।
मनसुनी वायु कायमै

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
मौसम अधिकारीहरूले यो वर्षा प्रणाली लगातार ठूलो पानी पार्ने खालको नरहेको बताएका छन्।
विभागकी वरिष्ठ मौसमविद् समेत रहेकी पोखरेलले शनिवारका लागि रहेको पूर्वानुमानमा ठूलो पानी पर्ने नदेखिएको बताउँदै पानी पर्ने क्रम क्रमश: घट्दै जाने बताउँछिन्।
“तर भोलिपर्सि थोरै पानी पर्दा पनि पहिरोका दृष्टिले सचेत रहनैपर्छ। ठूलो बाढी आइहाल्नेजस्तो मौसम प्रणाली यो होइन,” पोखरेल भन्छिन्।
एकजना मौसमविद् प्राध्यापकले बुधवार साँझ समेत काठमाण्डूमा हल्का मात्र वर्षा भएको र पूर्वानुमान अनुसार नै पनि एक-दुई स्थानका सानो क्षेत्रफलमा मात्र ठूलो वर्षा हुने देखिने बताउँछन्।
त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम केन्द्रीय विभागका प्रमुख दीपक अर्यालले यस प्रणालीपछि मनसुन कमजोर हुँदै जाने बताउँछन्।
“मनसुनी वायु अझै कायम छ। त्यसले ससानो भए पनि वर्षा गराउँछ। त्यसले पूरै मनसुन सकिनका लागि फूलपाती वा दशमी नै समेत लाग्न सक्ने देखाउँछ,” प्राध्यापक अर्याल भन्छन्।
“अब ठूलो झरी नै पर्ने अवस्था चाहीँ छैन, तर कहिलेकाहीँ ससना प्रणाली बन्ने सम्भावना रहन्छ तर त्यो पूर्वानुमानमार्फत् थाहा हुन्छ।”
उनले गत सप्ताहान्तको वर्षाका हकमा समेत पूर्वानुमान धेरै हदसम्म मिलेको बताउँछन्।
मनसुन बाहिरिने दिन अझै अस्पस्ट
भारतमा कतिपय राज्यहरूले मनसुन बाहिरिने दिन किटान गर्दै त्यसबारे उल्लेख गरेका छन् तर नेपाली मौसम अधिकारीहरू भने अझै त्यसबारे प्रस्ट भन्ने बेला भइनसकेको बताउँछन्।
अधिकारीहरूले यो वर्षलाई तोकेको मनसुन बाहिरिने दिन २ अक्टोबर अर्थात १६ असोज नाघिसकेको छ।
त्यसबीचमा सरदरभन्दा बढ्ता झन्डै २० प्रतिशत पानी परिसकेको छ।
सामान्यतया जुन १ तारिखतिर भारतको केरला तटमा आइपुग्ने मनसुन त्यसपछि पश्चिमतर्फ फैलिन थाल्छ। यस वर्ष नेपालमा जुन १० मा मनसुन भित्रिएको थियो।
सामान्य गतिमा भित्रिने र बाहिरिने अवस्थामा नेपालमा मनसुनको अवधि ११२ दिनको हुन्छ।
तर नेपालमा सन् १९७९ मा सबैभन्दा कम अवधिको ७३ दिने मनसुन देखा परेको थियो। त्यति बेला जुन २४ मा भित्रिएर सेप्टेम्बर ४ मा मनसुन बाहिरिएको थियो।
सबैभन्दा लामो अवधिको मनसुन भने सन् २००८ मा १३० दिन देखिँदा मनसुन जुन १० मा भित्रिएर अक्टोबर १० मा बाहिरिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















