कमला ह्यारिसद्वारा राष्ट्रपति उम्मेदवारको मनोनयन औपचारिक रूपमा स्वीकार

कमला ह्यारिस

तस्बिर स्रोत, Reuters

Published
पढ्ने समय: ३ मिनेट

अमेरिकामा आसन्न राष्ट्रपति निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीको मनोनयन स्वीकार गर्दै उपराष्ट्रपति कमला ह्यारिसले "सबै अमेरिकीको नेतृत्व" गर्ने" र "अवसरमुखी अर्थतन्त्र" सिर्जना गर्ने वाचा गरेकी छन्।

शिकागोमा आयोजित डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले देशसामु विगतको "कटुता, निन्दा र विभाजन त्यागेर अघि बढ्ने अवसर" आएको बताइन्। चारदिने सम्मेलनको अन्तिम दिनमा भएको ह्यारिसको सम्बोधन एकता र कामदार वर्गको आकाङ्क्षामा केन्द्रित थियो।

उनले मध्यमवर्गका लागि कर कटौतीको वाचा पनि गरिन्।

ह्यारिसले यदि आफू राष्ट्रपति बन्न सफल भएमा स्वतन्त्र र निष्पक्ष चुनाव सुनिश्चित गर्ने, कानुनी राज्य स्थापना गर्ने, शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरणलाई प्रोत्साहन गर्ने बताइन्।

ह्यारिसले गाजामा युद्धविराम गर्न आह्वान गरिन्। यद्यपि उनले डेमोक्र्याटिक सम्मेनलनस्थलबाहिर भएको विरोधप्रदर्शनबारे केही बोलिनन्।

गाजा युद्धमा इजरेललाई सघाइरहेको अमेरिकी कदमको विरोधमा सम्मेलनस्थलबाहिर साताभरि प्रदर्शन भएको थियो। राष्ट्रपति जो बाइडनले सोमवार आफ्नो मन्तव्यमा त्यसबारे बोलेका थिए।

कमला ह्यारिस

तस्बिर स्रोत, Reuters

ट्रम्पको आलोचना

डेमोक्र्याटिक न्याश्नल कन्भेन्शन

तस्बिर स्रोत, Getty Images

आफ्ना प्रतिस्पर्धी डोनल्ड ट्रम्पको आलोचना गर्दै ह्यारिसले उनी "धेरै प्रकारले अनुपयुक्त व्यक्ति" भएको दाबी गरिन्।

ट्रम्पको कार्यकालमा "अराजकता र विनाश" भएको भन्दै ह्यारिसले ट्रम्पले गरेका काम झन् खराब हुन सक्ने बताइन्।

ट्रम्पले गत राष्ट्रपति निर्वाचनपछि कैयौँ राज्यमा परिणाम उल्ट्याउने प्रयास गरेको सम्झाउँदै ह्यारिसले भनिन्, "उनले तपाईँहरूको मतलाई उपेक्षा गर्न खोजेका थिए।"

उनका रिपब्लिकन साझेदारहरूले देशभर गर्भपतनमाथि प्रतिबन्ध लागु गर्न खोजेको आरोप समेत ह्यारिसले लगाइन्।

विदेश नीतिका सन्दर्भमा उनले 'विदेशका तानाशाहीहरूले ट्रम्पलाई उक्साइरहेको' बताइन्।

रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनल्ड ट्रम्पले ह्यारिस बोलिरहेकै बेला सामाजिक सञ्जालमा लेखे: "आफूले गुनासो गर्ने कुरामा किन उनले केही गर्दिनन्?"

बाल्यकालको चर्चा

कमला ह्यारिस

तस्बिर स्रोत, Reuters

राष्ट्रपति जो बाइडन प्रतिस्पर्धाबाट पछि हटेको एक महिनापछि बोल्दै कमला ह्यारिसले आफूलाई हालको स्थानसम्म पुर्‍याउने पछिल्ला सातालाई "नि:सन्देह अनपेक्षित" बताइन्।

"तर अप्रत्याशित यात्राका लागि म अपरिचित भने छैन," उनले भनिन्।

आफ्नी आमाले उनलाई र बहिनी मायालाई "होसियार" रहन र बुवाले आफ्नो सपना पछ्याउन हौसला प्रदान गरेको स्मरण गरिन्।

उनले बाल्यकाल "संगीत सुन्दै सुन्दर कामकाजी छिमेकमा रमाइलोसँग बितेको" स्मरण गरिन्।

भारतबाट आप्रवासीका रुपमा अमेरिका पुगेकी आफ्नी आमा श्यामलाले संसारले उनलाई जस्तोसुकै व्यवहार गर्दा पनि "कहिल्यै संयम नगुमाएको" बताइन्।

"वहाँले हामीलाई अन्यायबारे कहिल्यै गुनासो मात्र नगर्न बरु त्यसबारे केही गर्न सिकाउनुभयो।"

उनले थरगुड मार्सलजस्ता कानुनी क्षेत्रका अग्रणी नागरिक अधिकारकर्मीबाट प्रभावित भएर वकिल बनेको बताइन्।

"कोर्ट हाउसदेखि ह्वाइटहाउसम्म, त्यही नै सधैँ मेरो जीवनको काम बनेको छ," उनले भनिन्।

“मेरो पूरै करिअरमा सधै मेरा एउटै क्लाइन्ट छन् - मानिसहरू।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।