कश्मीर विगत सात दशकदेखि यसकारण अशान्त छ

भारत-पाकिस्तान नियन्त्रणरेखामा खटिएका भारतीय सेना
Published
पढ्ने समय: ७ मिनेट

जम्मू तथा कश्मीर क्षेत्रमा सन्दिग्ध चरमपन्थी लडाकुहरूले २६ जनाको हत्या गरिदिएपछि विगत सात दशकदेखि भारत र पाकिस्तानबीच निरन्तर विवाद र द्वन्द्वको केन्द्रमा रहेको उक्त हिमाली क्षेत्र फेरि एक पटक चर्चामा आएको छ।

सन् १९४७ मा भारतको विभाजन र पाकिस्तानको स्थापना भएलगत्तै मुस्लिमबहुल उक्त क्षेत्रलाई लिएर द्वन्द्व जारी छ र परमाणुअस्त्र भएका यी दुई देशहरूले कश्मीर विवादका कारण दुई पटक युद्ध गरिसकेका छन्।

दुवै देशहरूले आफ्नो भूमि भएको दाबी गरेका भए पनि कश्मीरको केही क्षेत्रमा मात्र आफ्नो नियन्त्रण कायम गरेका छन्। केही भाग चिनियाँ प्रशासनअन्तर्गत पनि रहेको छ। उक्त क्षेत्र विश्वका अत्यधिक सैनिक गतिविधि हुने स्थानमध्ये पर्छ।

सन् २०१९ मा भारतको संसद्‌ले कश्मीरलाई निश्चित स्वायत्तता दिने विशेषाधिकार खारेज गरिदिएको थियो। त्यसै बेला जम्मू तथा कश्मीरलाई केन्द्रशासित दुई क्षेत्रका रूपमा विभाजन पनि गरियो।

त्यस बेलादेखि उक्त क्षेत्रमा भारतीय शासनविरुद्ध जारी सशस्त्र द्वन्द्व कमजोर बनेको र त्यहाँको सुरक्षाअवस्थामा सुधार आएको दाबी भारत सरकारले गर्दै आएको छ। मङ्गलवारको घटनापछि आलोचकहरूले पुन: सरकारी दाबीप्रति प्रश्न उठाएका छन्।

सन् १९४७ यताको इतिहास

नियन्त्रणरेखानजिकै रहेको पोस्टबाट संयुक्त राष्ट्र सङ्घका सैन्य अनुगमन टोलीलाई हेर्दै पाकिस्तानी सैनिक
तस्बिरको क्याप्शन, नियन्त्रणरेखानजिकै रहेको पोस्टबाट संयुक्त राष्ट्रसङ्घको सैन्य अनुगमन टोलीलाई हेर्दै पाकिस्तानी सैनिक

सन् १९४७ मा भारत र पाकिस्तान ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएपछि त्यस बेला 'प्रिन्स्ली स्टेट' भनिने सानो राज्य जम्मू तथा कश्मीरलाई उसले छानेको देशमा समाहित हुने विकल्प दिइएको थियो।

मुस्लिमबहुल उक्त राज्यका शासक हिन्दू महाराजा हरि सिंह शासक थिए। उनले भारत वा पाकिस्तान कुन रोज्ने भन्ने निर्णय गर्न सकेनन् र व्यापक दबावमा परे।

उनले पाकिस्तानसँग "यथास्थिति"मा रहने अर्थात् भारत वा पाकिस्तानमा आफ्नो राज्यलाई नगाभ्नेसम्बन्धी एउटा सम्झौतामा हस्ताक्षर गरे।

त्यसले पाकिस्तानी भूमि हुँदै कश्मीरले यातायात तथा पारवहन लगायतका सुविधा प्राप्त गर्ने बाटो खोल्थ्यो।तर भारतले आफ्ना प्रतिनिधि नपठाएपछि उससँग सम्झौतामा हस्ताक्षर हुन सकेको थिएन।

त्यसैबीच सन् १९४७ को अक्टोबरमा पाकिस्तानी आदिवासीहरूको समूहले कश्मीरमा आक्रमण गर्‍यो। हरि सिंहले कुन देशमा आफ्नो राज्यलाई गाभ्ने भन्ने निर्णय गर्न ढिलो गरेको र उक्त क्षेत्रका मुस्लिमहरूमाथि आक्रमण भएको हल्ला चलेपछि उनीहरूले आक्रमण गरेका थिए।

पाकिस्तानी आदिवासीहरूले आक्रमण गरेपछि महाराजा हरि सिंहले भारतसँग सैन्य सहायता लिए।

सन् १९४७ मा दिल्लीमा भएको एउटा सम्मेलनमा भारतका अन्तिम भाइसरोय लर्ड माउन्टब्याटन र भारतीय नेताहरू भारतलाई टुक्र्याउन सहमत भएका थिए। तस्बिरमा बायाँतर्फबाट क्रमश: पण्डित जवाहरलाल नेहरू, तात्कालिक अन्तरिम सरकारका उपाध्यक्ष लर्ड इस्मे, भारतका भाइसरोय लर्ड माउन्टब्याटन र मुस्लिम लीग फर इन्डियाका अध्यक्ष मोहम्मद अलि जिन्ना
तस्बिरको क्याप्शन, सन् १९४७ मा दिल्लीमा भएको एउटा सम्मेलनमा भारतका अन्तिम भाइसरोय लर्ड माउन्टब्याटन र भारतीय नेताहरू भारतलाई टुक्र्याउन सहमत भएका थिए। तस्बिरमा बायाँतर्फबाट क्रमश: पण्डित जवाहरलाल नेहरू, तात्कालिक अन्तरिम सरकारका उपाध्यक्ष लर्ड इस्मे, भारतका भाइसरोय लर्ड माउन्टब्याटन र मुस्लिम लीग फर इन्डियाका अध्यक्ष मोहम्मद अलि जिन्ना

भारतका गभर्नर जेनरल लर्ड माउन्टब्याटनले कश्मीर अस्थायी रूपमा भारतमा आबद्ध भए शान्ति कायम हुने र उसको अवस्था के हुने भन्ने अन्तिम टुङ्गो लगाउनका लागि मतदान गर्ने विकल्प खुला राख्दा उपयुक्त हुने विश्वासमा थिए।

त्यसै महिना हरि सिंहले भारतसँग 'इन्स्ट्रमन्ट अफ अक्सेशन' भनिने सीमित रूपमा उसको नियन्त्रणमा जानेसम्बन्धी एउटा सम्झौतामा हस्ताक्षर गरे। उक्त सम्झौतासँगै उनले कश्मीरको विदेश मामिला र रक्षासम्बन्धी नीति भारतलाई सुम्पिए।

उक्त सम्झौतासँगै भारतीय सेना कश्मीर उपत्यकामा पुगे र कश्मीरको दुईतिहाइ भूभागमा भारतको नियन्त्रण कायम रह्यो भने उत्तरतर्फको बाँकी क्षेत्रमा पाकिस्तानले नियन्त्रण कायम गर्‍यो।

सन् १९५० को दशकमा चीनले 'अक्साई चिन' भनिने राज्यको पूर्वी क्षेत्रमा चीनले कब्जा जमायो।

यद्यपि 'इन्स्ट्रमन्ट अफ अक्सेशन'मा हस्ताक्षर पहिले भएको थियो वा कश्मीरमा भारतीय सेना पहिले प्रवेश गरेका थिए भन्ने विषय भारत र पाकिस्तानबीच हालसम्म मुख्य विवादको विषय बनेको छ।

भारतले हरि सिंहले पहिले उक्त सम्झौता गरेपछि मात्र आफ्नो फौज उक्त क्षेत्रमा प्रवेश गरेकोमा जोड दिँदै आएको छ।

पाकिस्तानले चाहिँ भारतीय सेना आउनुअघि त्यस्तो सम्झौता गर्न नसकेको र उनले आफैँले पाकिस्तानसँग गरेको 'स्ट्यान्ड्स्टिल' सम्झौताको पनि पालना नगरेको दाबी गर्ने गर्छ।

भारत प्रशासित कश्मीरस्थित कुपवारा जिल्लाको सीमरी गाउँनजिकै रहेको नियन्त्रणरेखाबाट पाकिस्तानी झण्डा फहराइएको भवनतर्फ हेर्दै गरेका भारतीय सैनिक

पाकिस्तानले लगातार कश्मीरको हैसियत निर्धारण गर्नका लागि जनमतसङ्ग्रह हुनुपर्ने माग गर्दै आएको छ।

भारतले चाहिँ लगातार त्यहाँ भइरहेका सफल निर्वाचनहरूका कारण कश्मीरीहरूले उनीहरू भारतमा समाहित भएको निश्चित गरिसकेको तर्क गर्दै आएको छ।

कैयौँ संयुक्त राष्ट्रसङ्घीय प्रस्तावहरूलाई उल्लेख गर्दै राष्ट्रसङ्घद्वारा सञ्चालित जनमतसङ्ग्रह हुनुपर्ने तर्क पाकिस्तानको तर्क छ।

भारतले चाहिँ यी दुई देशबीच सन् १९७२ मा भएको सिमला सम्झौताले कश्मीर समस्याको समाधान राज्य-राज्यबीचको छलफलका आधारमा खोज्नुपर्ने गरी बाँधेको बताउँदै आएको छ।

दशकौँदेखि यी दुई देशहरू आफ्ना यस्ता अडानबाट टसमस भएका छैनन्।

अर्कोतर्फ कश्मीरीहरू चाहिँ तेस्रो विकल्पमा जान चाहन्छन्। त्यो आफ्नै स्वतन्त्र देश हो। कश्मीरीहरूको उक्त चाहनालाई न भारतले समर्थन गर्छ न त पाकिस्तानले नै।

भारतपारि सीमा क्षेत्रमा पहरा दिँदै गरेका पाकिस्तानी सैनिक

कश्मीर मामिलालाई लिएर यी दुई देशहरूबीच सन् १९४७-४८ र १९६५ मा दुई पटक युद्ध भइसकेको छ।

दुई देशहरूले सिमला सम्झौताका बेला युद्धविरामको रेखालाई नियन्त्रणरेखाका रूपमा औपचारिकता दिएका थिए। तर त्यसले पनि नियन्त्रणरेखाभन्दा टाढा रहेको सियाचिन हिमनदीमा सन् १९९९ मा भारत र पाकिस्तानी सेनाबीच झडपलाई रोक्न सकेन। त्यसलाई कतिपयले कार्गिल युद्धको नाम दिए पनि त्यो घोषित युद्ध थिएन।

सन् २००२ मा पनि भारत र पाकिस्तान युद्धको सँघारमा पुगेका थिए।

सन् १९८९ मा भारत प्रशासित कश्मीरमा इस्लामिस्टहरूको नेतृत्वमा विभिन्न समूहहरूको सशस्त्र विद्रोह सुरु भएपछि अवस्था अझ बढी जटिल बन्यो।

भारतले उक्त विद्रोहलाई दबाउनका लागि सेनालाई अतिरिक्त कानुनी शक्ति र अधिकार दिएको छ। उक्त विवादित कानुनलाई 'आर्म्ड फोर्स स्पेशल पावर एक्ट' अर्थात् आफ्सा भनेर चिनिन्छ।

समयसमयमा त्यसमा परिवर्तन भए पनि त्यस बेलादेखि भारत प्रशासित कश्मीरमा आफ्सा लागु भएको छ।

कश्मीरको इतिहाससँग सम्बन्धित केही महत्त्वपूर्ण घटनाक्रम

पाकिस्तान प्रशासित कश्मीरतर्फ नियन्त्रण रेखानजिकै रहेको केल गाउँ
तस्बिरको क्याप्शन, पाकिस्तान प्रशासित कश्मीरतर्फ नियन्त्रणरेखानजिकै रहेको केल गाउँ
  • सन् १८४६ - कश्मीर राज्यको स्थापना
  • १९४७-१९४८- पाकिस्तानी आदिवासीहरूको एउटा समूहले आक्रमण गरेपछि कश्मीरका महाराजद्वारा भारतसँग एउटा सन्धिमा हस्ताक्षर। भारत र पाकिस्तानबीच युद्ध सुरु
  • १९४९ - 'युद्धविरामरेखा' मा सहमति भएपछि कश्मीर भारत र पाकिस्तानबीच विभाजित
  • १९६२ - अक्साई चिनको सीमा क्षेत्रबारे विवाद उत्पन्न भएपछि भारत र चीनबीच छोटो युद्ध, चीन विजयी
  • १९६५ - कश्मीरको विषयमा भारत र पाकिस्तानबीच दोस्रो पटक युद्ध, त्यसपछि युद्धविराम
  • कश्मीरी राष्ट्रवादको उदय - भारत र पाकिस्तान दुवै देशको शासनअन्तर्गत भएका भूभागको एकीकरण गरेर स्वतन्त्र राष्ट्र बनाउने उद्देश्यसहित जम्मू कश्मीर लिबरेशन फ्रन्टको स्थापना
  • १९७२ - सिमला सम्झौता : युद्धका कारण पाकिस्तानबाट बाङ्ग्लादेश टुक्रिएपछि मतभिन्नता हटाउने प्रयासस्वरूप भारत र पाकिस्तानद्वारा 'लाइन अफ कन्ट्रोल' (एलओसी) अर्थात् नियन्त्रणरेखालाई युद्धविरामरेखा मान्ने सहमति
  • १९८०-१९८० का दशक - कश्मीरमा विद्रोह : भारतको शासनप्रति असन्तुष्टि बढ्दा सशस्त्र प्रतिरोध, विरोधप्रदर्शन र पाकिस्तानबाट समर्थनप्राप्त लडाकु समूहहरू उदय। हजारौँ मानिसको मृत्यु
  • १९९९ - लडाकुहरू 'लाइन अफ कन्ट्रोल' नाघेर भारत प्रशासित कश्मीरको कार्गिल पुगेपछि भारत र पाकिस्तानबीच छोटो लडाइँ
  • २००८ - भारत र पाकिस्तानद्वारा ६ दशकपछि 'लाइन अफ कन्ट्रोल' हुँदै जाने व्यापारमार्ग खुला
  • २०१० - भारत प्रशासित कश्मीरमा भारतविरोधी प्रदर्शनहरूमा १०० युवाको मृत्यु
  • २०१५ - ठूलो राजनीतिक मोड : जम्मू तथा कश्मीरमा भएको निर्वाचनमा हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी पहिलो पटक ठूलो राजनीतिक दलका रूपमा स्थापित, मुस्लिम पीपल्स डेमोक्र्याटिक पार्टी नामक क्षेत्रीय दलसँग मिलेर गठित सरकारमा सहभागी
  • २०१९ - भारतको संविधानले जम्मू तथा कश्मीरलाई दिएको विशेष मान्यता र स्वायत्तता केन्द्रीय सरकारद्वारा खारेज, दिल्लीको शासन भएका दुइटा छुट्टाछुट्टै क्षेत्र घोषित।
भारत प्रशासित कश्मीरको पहलगामस्थित धानखेत
तस्बिरको क्याप्शन, भारत प्रशासित कश्मीरको पहलगामको दृश्य

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।