तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डोनल्ड ट्रम्प सुटुक्क विमान फेर्न केही बेर 'ट्रकमा लुके'
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा एउटा सम्भावित खतराका कारण आफूले गोप्य रूपमा विमान फेरेको पुष्टि गरेका छन्।
"म 'सीक्रट सर्भिस' र सेनाको सल्लाहअनुसार चल्छु। उनीहरूले म अर्कै उडान र अर्कै विमानमा जाऊँ भन्ने चाहेका थिए," ट्रम्पले पत्रकारहरूसँग भने।
"उनीहरूले जे भन्छन् मैले त्यही पालना गर्नुपर्छ।"
यसअघि वाशिङ्टन पोस्टले ट्रम्पले सुटुक्क विमान फेरेको र त्यस क्रममा उनी केही बेर एउटा ट्रकमा लुकेको विवरण प्रकाशित गरेको थियो।
उक्त विवरणका अनुसार इरानबाट हुन सक्ने खतरालाई दृष्टिगत गरी उनलाई 'एअर फोर्स वन' विमानबाट अरूलाई थाहै नदिई ओरालेर अमेरिकी सेनाको अर्को विमानमा चढाइएको थियो।
अमेरिकी राष्ट्रपतिले प्रयोग गर्ने 'एअर फोर्स वन'मा सवार पत्रकारहरू र ह्वाइट हाउसका कर्मचारीहरूलाई ट्रम्प अर्को विमानमा गइसकेको कुरा थाहा थिएन।
अमेरिकी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएअनुसार ट्रम्पलाई निसाना बनाउँदै इरानबाट क्षेप्यास्त्र प्रहार हुन सक्ने "विश्वसनीय" खतरा अमेरिकाले महसुस गरेको थियो।
अङ्कारामा ट्रम्प आफैँले आफू इरानको "पहिलो निसाना" भएको बताएका थिए। वाशिङ्टन र तेहरानबीच युद्ध अन्त्य गर्ने वार्ता भङ्ग भएपछि अमेरिकाले इरानमाथि पुनः सैन्य हमला सुरु गरेको भोलिपल्ट ट्रम्प अङ्काराबाट फर्किएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।