तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालका सीमावर्ती भारतीय गाउँहरूमा ब्वाँसाको आतङ्क
- Author, सय्यद मोजिज इमाम
- Role, बीबीसी संवाददाता
- Published
- पढ्ने समय: ६ मिनेट
भारतको उत्तर प्रदेश राज्यस्थित बहराइच जिल्लाको एउटा क्षेत्रका बासिन्दाहरू ब्वाँसाहरूको आक्रमणबाट आतङ्कित बनेका छन्।
नेपाल-भारत सीमासँग जोडिएको उक्त क्षेत्रमा ब्वाँसाहरूले खासगरी बालबालिकालाई निसाना बनाइरहेका छन्।
तर आक्रमणमा पर्ने मामिलामा त्यहाँका बालबालिकासँगै ठूला मान्छे पनि अछुता छैनन्।
नियन्त्रणको प्रयास
जुलाई महिनायता ब्वाँसाहरूको आक्रमणमा परी छ बालबालिकाले ज्यान गुमाएका छन् भने २६ जना घाइते भएका छन्।
वन विभागका अधिकारीहरूले ब्वाँसाहरूलाई नियन्त्रणमा लिने प्रयास गर्दै आए पनि अहिलेसम्म तीन वटा मात्रै समातिएका छन्।
वन विभागका नौ वटा टोली उक्त अभियानमा जुटेका छन् र ब्वाँसाहरू बढी आउने गरेका इलाकामा चार वटा पिँजडा र छ वटा क्यामेरा राखिएका छन्।
वन विभागले ब्वाँसाहरूको खोजीका लागि थर्मल ड्रोनको समेत प्रयोग गरिरहेको छ।
ब्वाँसाहरू समात्नका लागि जारी प्रयासबीच वन विभागले मानिसहरूलाई सचेत रहन समेत आग्रह गरिरहेको छ।
बहराइचका जिल्ला वन अधिकृत अजितप्रताप सिंह भन्छन्, “हामीले गाउँलेहरूलाई बालबालिका घरबाहिर नसुताउन आग्रह गरिरहेका छौँ। यो क्षेत्रमा अधिकांश घरमा ढोका नहुँदा ब्वाँसाहरू घरभित्र छिर्ने रहेछन्।”
उत्तर प्रदेशका वनमन्त्री अरुण सक्सेनाले अहिलेसम्म तीन वटा ब्वाँसा समातिएको बताए।
तीस गाउँ प्रभावित, स्थानीयवासी रुष्ट
बहराइच जिल्लाको महसीनजिक १०० वर्गकिलोमिटरसम्म २५ देखि ३० वटा गाउँ ब्वाँसाहरूको आक्रमणबाट आतङ्कित बनेका छन्।
वन अधिकृत सिंहले बीबीसीसँग भने, “ब्वाँसाहरूले सुरुमा बालबालिकालाई गल्तीले निसाना बनाउँछन्। बर्खायाममा आफ्नो वासस्थानमा पानी छिरेपछि मानव बस्तीतर्फ आउँछन्।”
“सुरुमा गल्तीले मानिसलाई निसाना बनाए पनि पछि तिनीहरूलाई त्यसको बानी पर्छ।”
बीबीसीको टोली बहराइच जिल्लाका कैयौँ गाउँ पुग्यो। त्यसमा मैकूपुरवा पनि एक हो।
त्यहाँ एक रात ब्वाँसाले सुतिरहेका आठ वर्षीय उत्कर्षलाई टिपेर लैजान खोज्यो। तर बेलैमा उनकी आमाको निद्रा खुलेपछि ब्वाँसालाई धपाउन उनीहरू सफल भए।
“एप्रिल १७ तारिखमा त्यो घटना भएपछि गाउँमा लगातार गस्ती गरिँदै छ,” मैकूपुरवाका प्रधान अनूप सिंहले बीबीसीसँग भने।
उनका अनुसार करिब २० वर्षअघि सो क्षेत्रमा ब्वाँसाहरूले आक्रमण गर्दा तीन वटा जिल्लामा ३० जनाभन्दा बढी बालबालिकाको ज्यान गएको थियो।
सुरक्षाका लागि सङ्घर्ष
ब्वाँसाहरूको आक्रमणबाट जोगिनका लागि ग्रामीण क्षेत्रमा पहरेदारी थालिएको छ। तर राति बिजुली नहुने बेला त्यो काम गर्न पनि कम चुनौतीपूर्ण छैन।
मैकापूरवा गाउँका रामलाल भन्छन्, “ब्वाँसाहरूले लोडशेडिङको फाइदा उठाउने रहेछन्। निरन्तर बिजुली भयो भने अलि सहज हुन्थ्यो।”
मैकापूरवा गाउँमा जस्तै आसपासका गाउँमा पनि ब्वाँसाहरूले बालबालिकामाथि आक्रमण गरेका उदाहरण छन्।
अगस्ट २१ मा भोटाली गाउँनजिक ब्वाँसाहरूले एक बालिकालाई सिकार बनाएका गाउँलेहरू बताउँछन्।
वन विभागका अधिकारीहरूले मानिसहरूलाई सजग हुन आग्रह गर्दै जागरुक पनि बनाइरहेका छन्। त्यसका निम्ति माइकिङलगायतका काम गरिँदै छ।
पटका पड्काएर ब्वाँसाहरूलाई धपाउनका सकियोस् भनेर गाउँलेहरूलाई पटका पनि उपलब्ध गराइएको अधिकारीहरू बताउँछन्। पटकाको आवाज सुनेर जनावरहरू भाग्छन्।
“यो क्षेत्रमा धेरै गरिब छन्। उनीहरूको पक्की घर छैन। गर्मीमा राति घरबाहिर सुत्ने गरेकाले चुनौती थपिएको हो,” वन विभागका सिंहले भने।
अधिकारीहरूद्वारा ड्रोनको प्रयोग
वन विभागका अधिकारीहरूको निगरानीमा बहराइचका रेन्ज अधिकारी तथा उनको टोलीले बिहानदेखि बेलुकासम्म ड्रोनमार्फत् ब्वाँसाहरू पत्ता लगाउने काम गर्छ।
गाउँगाउँ पुगेर अधिकारीहरूले किसान र घाँस काट्नेहरूसँग ब्वाँसाबारे सोधपुछ पनि गर्छन्।
तर त्यसबाट अहिलेसम्म खासै सफलता हासिल नभएको अधिकारीहरू बताउँछन्।
बहराइचका रेन्ज अधिकारी मोहम्मद साकिबले बीबीसीसँग भने, “यो क्षेत्रमा अहिले सबैतिर पानी नै पानी छ। उखुहरू सप्रिसकेका छन्। त्यो भएर ब्वाँसाहरू खोज्न गाह्रो भइरहेको छ।”
उत्तर प्रदेशका वनमन्त्री अरुणकुमार सक्सेनाले मानव र वन्यजन्तुबीच हुने सङ्घर्ष रोक्नका निम्ति भविष्यमा चलाइने अभियान एवं कार्यक्रमबारे बीबीसीलाई बताए।
“आउँदा दिनमा हामी तारबार लगाउन लागेका छौँ। जोखिमका हिसाबले गाउँहरूको वर्गीकरण गर्ने र गूगल म्यापिङमार्फत् विश्लेषण गरी आवश्यक नीति लिने योजना छ,” उनले भने।
उत्तर प्रदेशको विगत
उत्तर प्रदेशमा सन् १९९६-९७मा ब्वाँसोको हमलाबारे प्रकाशित एक प्रतिवेदनमा भनिएको छ, "१ सेप्टेम्बर १९९६ सम्म उत्तर प्रदेशमा ब्वाँसोको आक्रमणमा ३३ बच्चा मारिएका थिए भने २० बच्चा गम्भीर रूपमा घाइते भएका थिए।"
यसै क्रममा १० ब्वाँसा पनि मारिएका थिए।
प्रतिवेदनका अनुसार सन् १९९६-९७मा ब्वाँसाहरूले ७४ मानिसलाई आफ्नो निसाना बनाएका थिए। यसमा धेरैजसो १० वर्षभन्दा कम उमेरका बच्चा थिए।
यो प्रतिवेदनअनुसार सन् १८७८ मा ब्वाँसोको हमलाबाट सबभन्दा धेरै नोक्सान भएको थियो। त्यसबेला एक वर्षको अवधिमा ६२४ मानिस ब्वाँसोका सिकार बनेका थिए।
मानवमाथि हमलाका कारण
मानव र ब्वाँसाबीच सङ्घर्षका उदाहरण संसारका विभिन्न क्षेत्रमा सुनिन्छ। त्यसलाई लिएर विज्ञहरूबीच फरकफरक राय पाइन्छ।
अमेरिकाको माथिल्लो प्रायद्वीपमा पनि मानव र ब्वाँसाबीच सङ्घर्ष भएका उदाहरण छन्।
मिशिगनस्थित प्राकृतिक संसाधन विभागका वन्यजन्तुविज्ञ ब्रायन रोयलका अनुसार त्यस्तो सङ्घर्ष निकै कम हुन्छ।
साप्ताहिक पत्रिका 'नोर्दन एक्स्प्रेस'सँग उनी भन्छन्, “ब्वाँसा र त्यसै छाडिएका कुकुरहरूबीच सङ्घर्ष भएका देखिएको छ। तर मानवमाथि आक्रमणका घटना निकै कम छन्।”
'वाइल्डलाइफ एसओएस'का अनुसार जलवायु परिवर्तनको असर मौसम र ऋतुहरूमा पर्न थालेको छ अनि त्यसको प्रभाव वन्यजन्तुको बच्चा पाउने समय तथा बसाइँसराइमा पर्ने गरेको छ।
लखनऊ विश्वविद्यालयस्थित वन्यजन्तुसम्बन्धी प्राध्यापक अमिता कनौजियाले बीबीसीसँग भनिन्, “यो [मान्छेमाथिको आक्रमण] नयाँ कुरा होइन। ब्वाँसाहरू समूहमा बस्छन् र तिनीहरूको सामाजिक संरचना निकै बलियो हुन्छ।”
“तिनीहरू बच्चा पाउने समय अर्थात् अक्टोबरभन्दा अघि सुरक्षित स्थानको खोजी गर्छन्। तिनीहरूलाई वयस्क नहुन्जेल पाल्छन् र सिकार गर्न पनि सिकाउँछन्।”
“त्यसै छाडिएका कुकुरहरूको खोजीमा मानव बस्तीमा छिर्दा गल्तीवश तिनीहरूले मानवमाथि आक्रमण गर्न पुग्छन् र पछि त्यो बानीमा परिणत हुन जान्छ, ” उनले थपिन्।
रेबिजको भूमिका
संसारमा ब्वाँसोको आक्रमणबारे एउटा महत्त्वपूर्ण कुरा सार्वजनिक भएको छ। त्यसअनुसार ब्वाँसाहरूको हमलापछाडि रेबिज पनि एक ठूलो कारण हो।
नर्वेको प्रकृति अनुसन्धान संस्थानको एक प्रतिवेदन उद्धृत गर्दै इन्टरन्याश्नल वुल्फ सेन्टरले लेखेको छ, "सन् २००२ देखि २०२०सम्म पूरै संसारमा ब्वाँसोले गरेका हमलाको सङ्ख्या ४८९ छ र त्यसको ७८% अर्थात् ३८० रेबिजका कारण भएको थियो।"
त्यसबाहेक ६७ हमला सिकारका लागि भएको थियो र ४२ हमला ब्वाँसाले आफ्नो सुरक्षाका लागि वा उक्साहटका कारण गरेका थिए।
उक्त सेन्टरका अनुसार करिब ४०० देखि १,१०० ब्वाँसा हिमालय क्षेत्रमा रहेका छन्। त्यसै गरी ४,००० देखि ६,००० ब्वाँसाहरू उपमहाद्वीपमा छन्।
विवाद किन?
ब्वाँसालाई लिएर विवाद हुनुको एउटा कारण उनीहरूको सङ्ख्या पनि हो।
मिशिगन प्राकृतिक संसाधन विभागले आफ्नो एक प्रतिवेदनमा अमेरिकाको माथिल्लो प्रायद्वीपमा ६३१ वटा ब्वाँसा रहेका बताएको छ।
यो तथ्याङ्कबारे विभागमा २२ वर्षदेखि कार्यरत वन्यजन्तु वैज्ञानिक क्रिस्टी सितार भन्छिन्, “सिकारी ब्वाँसोको जति पनि तस्बिर जम्मा गरिएको छ, त्यसको अर्थ माथिल्लो प्रायद्वीपमा विभागको अनुमानभन्दा धेरै ब्वाँसा छन्।”
तर यो सोचाइ सत्य नहुन पनि सक्छ।
वन्यजन्तु वैज्ञानिक ब्रायन रोयल भन्छन्, "ब्वाँसो आफ्नो झुन्डमा फर्कनुअघि कैयौँ दिनसम्म अलगअलग स्थानमा घुमिरहन्छ। ब्वाँसो सबैभन्दा लामो दूरीसम्म हिँड्न सक्ने जनावर पनि हो।
उनी भन्छन्, "एउटा ब्वाँसो प्रतिदिन १०-१२ घण्टा आफ्नो इलाकामा दौडिरहन्छ। अनि हरेक झुन्डको घुम्ने क्षेत्र निकै ठूलो हुन्छ।"
साथै ब्वाँसोका तस्बिर कता खिचिएको छ, त्यो पनि हेर्नुपर्छ।
रोयल भन्छन्,"ब्वाँसाहरू गोरेटो बाटो र सडकबाट हिँड्छन् किनभने त्यहाँबाट हिँड्न सजिलो हुन्छ। तर त्यस्ता ठाउँमा सिकारी ट्रेल क्यामेरा लगाउँछन् जसबाट ब्वाँसोको तस्बिर लिने सम्भावना अधिक हुन्छ। त्यस्ता क्यामरा घना जङ्गल र झाडीको बीचमा पनि लगाउनुपर्छ।"
यो सबैबीच एउटै ब्वाँसोको झुन्डको तस्बिर बारम्बार लिएबाट पनि सङ्ख्यामाथि विवाद हुने गरेको छ।
रोयल भन्छन्, "जस्तो कि एउटै इलाकामा बस्ने केही जमिन मालिकहरू ब्वाँसोका ४० तस्बिर खिच्छन्। त्यसैले उनीहरूले सम्भवतः चारदेखि पाँच ब्वाँसोको झुन्ड नै देखिरहेको हुन सक्छ न कि ४० फरकफरक ब्वाँसाको।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।