तीर्थ लामाः जो वन्यजन्तु बेहोस पार्ने जोखिमपूर्ण काममा रमाइरहेका छन्

तीर्थ लामा
    • Author, ईश्वर जोशी
    • Role, चितवन
  • Published
  • पढ्ने समय: ५ मिनेट

सन् २००० मा बाघ, गैँडा संरक्षण आयोजनाबाट काम थालेका राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहाका तीर्थ लामा अहिले जनावरलाई डार्ट गर्ने अर्थात् बेहोस बनाउने काम गर्छन्।

बाघ, गैँडा संरक्षण आयोजनाअन्तर्गत बाघ गणनाका लागि क्यामरा ट्र्यापिङको काम शुरू हँदा तीर्थका बुवा हर्क लामाले काम सिकाउन उनलाई सँगै लगेका थिए।

सन् २००० देखि २००५ सम्म क्यामरा ट्र्यापिङको काम गरेका लामाले सन् २००९ मा प्राविधिक तालिम लिएर त्यसपछि बाघ, गैँडालाई बेहोस बनाएर समाउने काम गर्दै आएका छन्।

उनका बुवा पनि राष्ट्रिय प्रकृति संरक्षण कोषमा बाघ, गैँडा डार्ट गर्ने प्राविधिकका रूपमा कार्यरत थिए। बुवाकै प्रेरणामा वन्यजन्तु संरक्षणको क्षेत्रमा लागेको उनी बताउँछन्।

पहिलो अनुभव

पहिलो पटक सन् २०१० मा गैँडालाई डार्ट गरेको तीर्थ बताउँछन्।

“पहिलो पटक निकुञ्ज र कोषका हाकिमसहित बुवाले गैँडाजस्तो अजङको जनावरलाई डार्ट गर्न लगाउँदा भनेको ठाउँमा लाग्छ कि लाग्दैन भनेर डर लागेको थियो,” उनी सम्झन्छन्।

तर सबैको हौसलाले पहिलो प्रयास नै सफल भएको तीर्थ बताउँछन्। उनका बुवा र ठूलो बुवा दुवैजना राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक थिए।

बाघ, गैँडालाई डार्ट गर्न परे तीर्थका बुवा हर्कमान लामा नै जाने गर्थे। अहिले त्यो बिँडो तीर्थले सम्हालिरहेका छन्।

गाउँ छिरेर मानिसलाई सताउने गरेमा, घाइते अथवा बिरामी भएमा बाघ, गैँडा, चितुवा लगायतका वन्यजन्तुलाई डार्ट गरी निकुञ्जमा लगेर उपचार गरिनुका साथै खोरमा राख्ने गरिन्छ।

बाघ, गैँडाजस्ता जनावरलाई डार्ट गर्ने काम निकै जोखिमपूर्ण मानिन्छ। तर तीर्थ त्यसमा प्रतिबद्ध छन्।

“निकै कठिन र चुनौतीपूर्ण काम हो। तर पनि दुर्लभ वन्यजन्तुलाई उद्धार गर्दा आत्मसन्तुष्टि पाइन्छ,” तीर्थ भन्छन्।

भोकै पनि बस्नुपर्ने

तीर्थका अनुसार बाघ, गैँडालाई डार्ट गर्न जाँदा सबैभन्दा पहिला तिनीहरू कस्ता ठाउँमा छन् भन्ने पत्ता लगाउन गाह्रो हुन्छ भने अर्कोतर्फ रमिता हेर्ने मानसहरूको भिडका कारण काम गर्न कठिन हुन्छ।

“हात्ती भेटरीनरीसहितको टोली लिएर डार्टमा जानुपर्छ। कहिलेकाहीँ बिहानदेखि बेलुकासम्म भोकै बस्नुपर्ने अवस्था पनि आउँछ। रूख चढेर ५-६ घण्टासम्म बाघलाई कुरेको पनि अनुभव छ,” उनी सुनाउँछन्।

डार्ट गरिसकेपछि बाघ, गैँडा बेहोस भए कि भएन लट्ठीले घोचेर पत्ता लगाउनुपर्ने हुन्छ।

तीर्थ लामा

“लट्ठीले घोच्दा जनावरले हलचल गरेन वा बेहोस भएको थाहा भयो भने रूखबाट ओर्लेर काम गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ बाघ, गैँडा अर्धचेतमा ब्युँझिने र टाउको माथि गर्ने गर्दा जोखिम हुन्छ,” तीर्थ भन्छन्।

उनका अनुसार जनावरलाई बेहोस गरेको अवस्थामा मानिसको होहल्ला बढी भयो भने पनि ब्युँझिन सक्ने जोखिम रहन्छ।

डार्ट गरेको ३० देखि ४० मिनेटमा सबै काम सकेर बाघ वा गैँडालाई खोरमा राखिन्छ।

डार्ट गर्ने व्यक्ति र प्राविधिकले डार्ट गरेका वन्यजन्तु बेहोस भएको खबर गरेपछि भेटरीनरी टोलीले तिनको नाप, रगत सङ्कलन एवं स्वास्थ्य परीक्षण गरेपछि खोरमा नराखेसम्म तीर्थको काम हुन्छ।

ज्ञान, सिप र अनुभव

बाघ, गैँडाजस्ता वन्यजन्तुलाई डार्ट गर्न त्यससम्बन्धी तीर्थसँग पर्याप्त ज्ञान, सिप र अनुभव रहेको उनीसँग खटिनेहरू बताउँछन्।

“ती सबै कुरामा उनी पोख्त छन्। तीर्थले विषम र सहज दुवै खाले परिस्थितिमा धेरैवटा बाघ र गैँडालाई डार्ट गरेका छन्,” चितवन राष्ट्रिय निकुञ्जस्थित वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले भने।

डार्ट गर्न जाँदा हुन सक्ने दुर्घटनाको आकलन गरेर काम गर्न तीर्थ सिपालु रहेका श्रेष्ठ बताउँछन्। चितवनमा डार्ट गर्ने तीर्थजस्ता तीनजना छन्।

चितवनका साथै मकवानपुर, पर्सा, रौतहट, नवलपरासी, बर्दिया, बाँके, शुक्लाफाँटा, मुस्ताङ र डोल्पासमेत गएर वन्यजन्तुलाई तीर्थले डार्ट गरेका छन्।

उनले बाघ, गैँडा, चितुवा, हात्ती, हिमचितुवा, अर्ना, नीलगाई, कृष्णसार र जरायोलाई डार्ट गरेका छन्।

तीर्थले घाइते लगायतका गरी ६०-७० वटा बाघलाई र करिब सयवटा गैँडालाई अहिलेसम्म डार्ट गरिसकेका छन्।

फरक सुविधा खासै छैन

तीर्थ लामा

कोशीमा मकुना हात्ती गाउँमा पसेर दुःख दिन थालेपछि डार्ट गर्न गएका तीर्थलाई त्यसले आक्रमण गर्दा बल्लतल्ल ज्यान जोगाउन सफल भएका थिए।

त्यो क्षण सम्झँदा अहिले पनि उनको आङ सिरिङ्ङ हुन्छ। विसं २०७४ सालमा चितवनबाट बाढीले बगाएको गैँडा फर्काउन तीर्थसहितका टोली त्रिवेणी गएका थिए।

“डार्ट गर्न जाँदा गैँडाले आक्रमण गर्दा केही इञ्चले मात्र बाँच्न सफल भएको थिएँ,” घटना सम्झँदै उनले भने।

वन्यजन्तु डार्ट गर्ने काम जोखिमपूर्ण भए पनि प्राविधिकले पाउने भत्ता अन्य कर्मचारी सरह नै हुने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौरहाका प्रमुख मधु क्षेत्री बताउँछन्।

“अन्य कर्मचारी भ्रमणमा जाँदा उनीहरूले पाउने सरहकै भत्ता डार्ट गर्न जाने प्राविधिकले पाउँछन्,” उनले भने।

उनका अनुसार डार्ट गर्ने प्राविधिकहरूले स्वास्थ्या बीमा पनि अन्य कर्मचारी सरह नै पाउँछन्।

लामो समयदेखि वन्यजन्तु संरक्षणमा संलग्न रहिआएका तीर्थ भने सरकारले दिने गरेका सेवासुविधाप्रति गुनासो गर्दैनन्।

“पैसा र नामभन्दा पनि वन र वन्यजन्तु संरक्षणमा योगदान दिन पाएकोमा गर्व छ,” उनी भन्छन्।

गैँडासँग आमुन्नेसामुन्ने

बाढीले बगाएर लगेको गैँडा डार्ट गरेर फर्काउन भारतको वाल्मिकीनगरका वन कर्मचारीहरूसँग उनी गए।

बाढीको पाँगो माटो भएको ठाउँ थियो। भारतका तीनजना वन कार्मचारी अगाडि अनि डार्ट गर्ने बन्दुक लिएर उनी चाहिँ पछाडि थिए।

भारतका वन कमर्चारीहरूले एक्कासि गैँडागैँडा भन्न थाले। खासमा उनीहरू गैँडासँग आमुन्नेसामुन्ने पो भइसकेका रहेछन्।

“गैँडाले मलाई ताकिरहँदा पछाडि फर्केर हेरेँ। एउटा रूख देखेँ अनि भागेर २०-२५ मिटरको दूरीमा रहेको एउटा रूखमा चढेँ,” घटना विवरण उनी सुनाउँछन्।

“गैँडाले नछाड्ने पारा देखाएपछि केही सिप नलागेमा बन्दुकको कुन्दाले त्यसको थुतुनोमा हान्छु भन्ने सोचेँ।”

“हात्तीका माहुते र प्राविधिकहरू तीर्थलाई गैँडाले आक्रमण गर्‍यो भन्दै हात्ती लिएर आएपछि गैँडा भाग्यो अनि भाग्यले म त्यो दिन बाँचेँ।”

त्यस दिन डार्ट गर्ने काम नै स्थगित गरिएको उनी सम्झन्छन्। त्यसको भोलिपल्ट सोही गैँडाले भारततर्फ एउटा हात्ती र एक वन कर्मचारीलाई आक्रमण गरेर घाइते बनायो।

तीर्थ कोइराला

तीर्थका अनुसार अर्धवयस्क गैँडा तुलनात्मक रूपमा बढी उत्तेजक र आक्रामक हुने गर्छन्।

“उक्त गैँडाले आक्रमण गरेको तेस्रो दिन भारततर्फ एउटा उखुबारीमा डार्ट गर्न सफल भइयो,” उनले सुनाए।

तीर्थका अनुसार गैँडाले टाउको तल गरेर कान ठाडो पारेमा आक्रमण गर्न लागेको बुझ्नुपर्छ।

डार्ट गर्ने बन्दुकको रेन्ज एक सय मिटरसम्मको हुन्छ। तर धेरै टाढा हान्दा त्यति प्रभावकारी नहुने उनी बताउँछन्।

सकेसम्म खुल्ला स्थानमा ल्याएर २० देखि ३० मिटरको दूरीमा डार्ट गर्ने गरेको उनले सुनाए।

“धेरै झाडी र मानिसहरूको होहल्ला हुने स्थानमा भने डार्ट गर्न समस्या हुन्छ,” तीर्थले थपे।

डार्ट के हो?

डार्ट गर्ने एक प्रकारको औषधि हुन्छ जुन वन्यजन्तुलाई बेहोस गर्न प्रयोग गरिन्छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु भेटनरी प्राविधिक किरण रिजालका अनुसार बाघलाई डार्ट गर्न केटामिन र मेडिटोमिन औषधि प्रयोग गरिन्छ।

गैँडा डार्ट गर्न एम ९९ (M99) एसीप्रोमाजिन, हात्तीलाई डार्ट गर्न जाइलाजिन र एम ९९ (M99) एसिप्रोडिन प्रयोग गर्ने गरिन्छ।

ती औषधि बन्दुकभित्र सिरिन्जमा राखेर बाघ, गैँडा र हात्तीको मांसपेशीमा हानेर बेहोस गरिन्छ।

उक्त औषधि मांसपेशीबाट रगत हुँदै मस्तिष्कमा पुगेपछि वन्यजन्तु बेहोस हुने गरेको रिजाल बताउँछन्।

“एक पटक डार्ट गर्दा एकदेखि डेढ घण्टासम्म जनावर बेहोस हुन्छन्,” रिजालले भने। डार्टमा औधषिको प्रयोग भने जनावरको उमेर र वजन हेरर प्रयोग गरिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।