रकेट प्रक्षेपणले दियो इलोन मस्कको अन्तरिक्ष प्रभुत्वमाथि चुनौती

ब्लु ओरिजिनको न्यू ग्लेन रकेट प्रक्षेपण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ब्लु ओरिजिनको न्यू ग्लेन रकेट प्रक्षेपण
    • Author, जर्जिना रानार्ड
    • Role, जलवायु तथा विज्ञान संवाददाता
  • Published
  • पढ्ने समय: ३ मिनेट

अमेजनका संस्थापक जेफ बेजोसको अन्तरिक्ष कम्पनीले इलोन मस्कको स्पेसएक्सको प्रभुत्वलाई चुनौती दिँदै आफ्नो पहिलो रकेट प्रक्षेपण गरेको छ।

न्यू ग्लेन रकेट फ्लोरिडाको केप क्यानाभरल स्पेस फोर्स स्टेशनबाट प्रक्षेपण गरिएको हो।

यसले विश्वका दुई धनी व्यक्तिहरू जो ठूलो र अधिक शक्तिशाली रकेटहरू व्यापारिक उडान गर्ने अन्तरिक्ष दौडमा छन् - उनीहरूलाई एकअर्काविरुद्ध दृढतापूर्वक खडा गरेको छ।

यी दुवै जना आकाशमा धेरैभन्दा धेरै भू-उपग्रहहरू राख्न, निजी अन्तरिक्ष केन्द्रहरू सञ्चालन गर्न र चन्द्रमामा मानिसहरूको नियमित यात्राको व्यवस्था गराउन चाहन्छन्।

बेजोसको टोलीले यो साताको सुरुमा प्रक्षेपणका लागि प्राविधिक अवरोधहरूको सामना गर्नुपर्‍यो तर लगत्तै त्यसबाट पार पाउन सक्यो।

केप क्यानाभरल नजिकै जम्मा भएका ब्लू ओरिजिनका कर्मचारी र त्यहाँ भेला भएको भिडले ९८ मिटर अग्लो रकेट प्रक्षेपण भएको हेरेर खुशी मनाए।

तर कम्पनीले न्यू ग्लेनको मुख्य रकेट इन्जिन वा बूस्टरलाई एट्लान्टिक महासागरको प्लेटफर्ममा अवतरण गराउन भने विफल भयो।

उसले भविष्यमा प्रक्षेपणका लागि बूस्टर पुन: प्रयोग गर्न सकिने आशा गरेको थियो तर उडानको करिब २० मिनेट पछि कम्पनीले इन्जिन हराएको पुष्टि गर्‍यो।

बेजोसको कम्पनी ब्लू ओरिजिनले स्पेसएक्ससँग प्रतिस्पर्धा गर्न संघर्ष गर्नुपरेको छ। तर यो प्रक्षेपणलाई उसको भावी व्यापारको लागि एउटा मौकाको रूपमा हेरिनेछ।

न्यू ग्लेन रकेटको नाम ६० वर्षअघि पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यात्री जोन ग्लेनको नामबाट राखिएको हो।

यो रकेट स्पेसएक्सको धेरैजसो प्रयोग हुने फाल्कन ९ रकेटभन्दा शक्तिशाली छ। यसले धेरै भू-उपग्रहहरू पनि बोक्न सक्छ र बेजोसले यसलाई आफ्नो काइपर परियोजनाको एउटा अंशको रूपमा प्रयोग गर्न चाहन्छन्। उक्त परियोजनाले ब्रोडब्यान्ड सेवा प्रदान गर्न कम्ती उचाइको कक्षमा रहने हजारौं भू-उपग्रहहरू परिचालन गर्ने लक्ष्य राखेको छ।

त्यो परियोजनाले मस्कको स्टारलिङ्क सेवासँग प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्नेछ।

न्यू ग्लेन ९८ मिटर अग्लो छ

तस्बिर स्रोत, Blue Origin Media

तस्बिरको क्याप्शन, न्यू ग्लेन रकेट ९८ मिटर अग्लो छ

जेफ बेजोसले २५ वर्षअघि ब्लु ओरिजिनको स्थापना गरेका थिए। उनले आफूले "दशौँ लाख मानिसहरू अन्तरिक्षमा काम गर्ने र बस्ने" अवस्था होस् भन्ने चाहेको दाबी गरेका थिए।

वर्षौंदेखि यो अभियानका क्रममा पृथ्वीको वायुमण्डलको किनारमा न्यू शेफर्ड भनिने सानो, पुन: प्रयोग गर्न मिल्ने रकेट उसले पठाउँदै आएको छ। अन्य यात्रु तथा सामग्रीका अतिरिक्त उक्त रकेटले सन् २०२१ मा बेजोसलाई पनि बोकेर उडान गरेको थियो।

तर ब्लू ओरिजिनले भन्दा निकै राम्रो गर्दै स्पेसएक्सले गत वर्ष मात्रै १३४ पटक आफ्नो रकेट प्रक्षेपण गर्‍यो।

र, स्पेसएक्सको नयाँ पुस्ताको स्टारशिप भनिने रकेट अझ थप शक्तिशाली छ। उक्त कम्पनीले आफ्नो सातौं परीक्षण प्रक्षेपण चाँडै गर्ने आशा राखेको छ।

स्टारशीप ब्लू ओरिजिनको न्यू ग्लेनभन्दा पनि ठूलो छ
तस्बिरको क्याप्शन, स्पेसएक्सको स्टारशीप ब्लू ओरिजिनको न्यू ग्लेनभन्दा पनि ठूलो छ

केही विज्ञहरूले न्यू ग्लेन रकेटले दुई कम्पनीहरूबीच वास्तविक प्रतिस्पर्धा गराउने र अन्तरिक्ष सञ्चालनको लागत घटाउन सक्ने बताएका छन्।

"यी दुई कम्पनीहरूले एकअर्कालाई अझ ठूलो प्रगति गर्न चुनौती दिएको तपाईँले देख्नुहुनेछ," यूकेको ओपन युनिभर्सिटीका डाक्टर सिमोन बार्बरले भनेका छन्।

सरकारहरूले रकेटहरू बनाउन र अन्तरिक्षमा मिसनहरू पठाउन ऐतिहासिक रूपमा अर्बौँ डलर खर्च गरेका छन्।

तर अमेरिकी अन्तरिक्ष निकाय नासाले जनताको पैसामा मात्र भर पर्न छाडेको छ र निजी कम्पनीहरूलाई रकेट र अन्य अन्तरिक्ष सेवाहरू प्रदान गर्न ठूलो करार सम्झौता गर्न थालेको छ।

इलोन मस्कको स्पेसएक्सले अर्बौं डलरको अन्तरिक्ष सम्झौता प्राप्त गरिसकेको छ।

आगामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको इलोनको निकट सम्बन्धले उनको कम्पनीलाई अझ बलियो बनाउन सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।