बोका बलि दिने विषयमा जेरुसलेम किन तनावग्रस्त छ?

अल-अक्सा मस्जिदमा प्रार्थना
तस्बिरको क्याप्शन, अल-अक्सा मस्जिदमा प्रार्थना गर्दै
    • Author, मार्क शी
    • Role, बीबीसी विश्व सेवा
  • Published

जेरुसलेमको अल-अक्सा मस्जिदभित्र झडप भएपछि इजरायली प्रहरीले प्रार्थना गर्न त्यहाँ पुगेका कैयौँ प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ।

इस्लामवादी लडाकु समूह हमासले प्यालेस्टिनी मानिसहरूलाई मस्जिदको सुरक्षाको निम्ति आह्वान गरेको थियो।

यहुदी चरमपन्थीहरूले मस्जिदको भवन स्थापित विवादित परिसरमा बोकाको बलि दिन खोजेको जानकारी सार्वजनिक भएपछि ती मानिसहरू त्यहाँ पुगेका थिए। उक्त विवादित परिसरलाई यहुदीहरूले टेम्पल माउन्ट भन्छन्।

अतिवादीहरूले अहिले किन त्यस स्थानमा पशुबलि दिन खोजिरहेका छन् त?

बोकाको बलि किन?

बलि प्रथाबारे यहुदीहरूको पवित्र ग्रन्थ तोराहमा उल्लेख गरिएको छ।

तोराहका अनुसार पहिले यहुदीहरूलाई इजिप्टमा दासको रूपमा राखिएको थियो। त्यसैले उनीहरूलाई मुक्ति दिलाउनका लागि ईश्वरले इजिप्टको प्रत्येक परिवारमा जन्मिएको पहिलो छोरालाई मार्नका लागि अग्रसर भएको जनाइएको छ।

त्यतिबेला इजरेली यहुदीहरूलाई बोका मारेर त्यसको रगतले ढोकामा कुनै चिन्ह बनाउन निर्देशन दिइएको थियो। त्यसो गर्दा मृत्यु उनीहरूको घरमा नपसी अघि बढ्ने ठानिन्थ्यो।

यो "इजिप्टका सात विपत्तिहरू" मध्ये अन्तिम विपत्ति थियो। र, प्राचीन इजिप्टका एक शासकको लागि अन्तिम कठिनाइ थियो जसले यहुदीहरूलाई सामूहिक रूपमा देश छोड्ने अनुमति दिएका थिए।

जब इजरेलीहरू “वाचा गरिएको भूमि” अर्थात् हालको इजरेल पुगे तबदेखि उनीहरूले हरेक वर्ष आफ्नो मुक्तिको सम्झना स्वरूप बोकाको बलि दिने चलन सुरु भएको ठानिन्छ।

यद्यपि, निकै कम धार्मिक समूहहरूले मात्र आजसम्म यस प्रथालाई निरन्तरता दिएका छन्।

किन त्यही ठाउँमा?

मस्जिदको साङ्केतिक चित्र

टेम्पल माउन्ट यहुदी धर्ममा सबैभन्दा पवित्र स्थल हो।

यो बाइबलमा उल्लिखित दुई वटा धार्मिक स्थल रहेको ठाउँ हो। त्यहाँ केही यहुदी समूहहरूले तेस्रो मन्दिर बनाउन चाहेका छन्, ठ्याक्कै त्यहाँ जहाँ हाल मस्जिदको स्वर्णिम गुम्बज रहेको छ।

केही धार्मिक यहुदीहरूले इजिप्टबाट यहुदीहरूको मुक्तिको उत्सव मनाइने पर्व पासओभरको बलि त्यहाँ मात्र दिन मिल्ने विषयमा जोड दिँदै आएका छन्।

तर अल-अक्सा मस्जिद परिसर इस्लामको तेस्रो सबैभन्दा पवित्र स्थल हो। त्यहीँबाट पैगम्बर मोहम्मदलाई स्वर्ग लगिएको मानिन्छ। त्यहाँ यहुदीहरूलाई प्रवेश अनुमति दिइएको भए पनि गैर-मुस्लिमहरू प्रार्थना स्थलमा जान निषेधित छ।

जेरुसलेमको यो भाग इजरेलीहरूले सन् १९६७ मा भएको ६ दिन लामो युद्धपछि कब्जा गरेका थिए। त्यसपछि अल-अक्सा मस्जिदको संरक्षक इजरेल र जोर्डनले यहुदीहरूलाई मस्जिद परिसरमा प्रवेश अनुमति दिने तर प्रार्थना गर्न नदिने विषयमा सहमति जनाएका थिए।

धेरै प्यालेस्टिनीहरूले पवित्र स्थलमा पर्यटक र सशस्त्र इजरेली सुरक्षा बलहरूको उपस्थितिप्रति असन्तुष्टि जनाएका छन्। त्यहाँका विभिन्न समूहहरूले मस्जिदको सुरक्षा गर्ने प्रतिबद्धता जनाएका छन्।

अहिले के भइरहेको छ?

बलि दिने तयारी
तस्बिरको क्याप्शन, बलि दिने प्रथा बाइबलमा उल्लिखित मान्यतासँग सम्बन्धित छ

हरेक वर्ष, यहुदी चरमपन्थी समूहहरूले पासओभर पर्वको पूर्व सन्ध्यामा टेम्पल माउन्टमा पशु बलिदान गर्ने अनुमतिका लागि पहल गर्छन्।

इजरेली अधिकारीहरूले भने विगतमा त्यस्तो हुन नदिने प्रयास स्वरूप केही निश्चित व्यक्तिहरूलाई यस पर्वको मिति अगावै पक्राउ गर्ने गरेका थिए।

यस वर्ष बुधवार साँझदेखि ८ दिन लामो उक्त पर्व सुरु भयो र यो अप्रिल १३ मा सकिने छ। यो पर्व मुस्लिम समुदायको पवित्र महिना रमजानसँगै पर्ने भएकाले पनि त्यहाँको स्थिति थप तनावग्रस्त भएको हो।

यसको पछाडि कसको संलग्नता छ?

यहुदी चरम पन्थीहरूको “रिटर्न टु द माउन्ट” भनिने एक समूह एउटा घटनासँग जोडिएको छ जहाँ उनीहरूले एक मस्जिदमा बोका बलि दिन खोजेका थिए।

गत वर्ष बीबीसीले यस समूहका एक नेता राफाएल मोरिससँग अन्तर्वार्ता लिएको थियो जसले मुस्लिमजस्तै पहिरन र अल-अक्सा मस्जिदमा प्रार्थना गर्ने आफ्नो प्रयासको बारेमा कुरा गरेका थिए।

उनले आफूलाई धार्मिक र “जायोनिस्ट” यहुदीको रूपमा व्याख्या गरे।

“मलाई ‘टेम्पल माउन्ट’ यहुदी जनताहरूको हो भन्नेमा विश्वास छ, किनकि यसबारे हामीलाई बाइबलमा परमेश्वरले वाचा गर्नुभएको थियो,” उनले भने।

“हाम्रो उद्देश्य भनेको टेम्पल माउन्ट पुनः प्राप्त गर्नु हो।”

इजरेली प्रहरीले सोमबार मोरिसलाई सार्वजनिक व्यवस्थामा खलल पुर्‍याएको आरोप लगाउँदै पक्राउ गरेको थियो।

इजरेली मिडियाहरूले ‘रिटर्न टु द माउन्ट’ले मस्जिदमा सफलतापूर्वक पशु बलि दिने व्यक्तिहरू वा त्यसो गर्ने प्रयास गर्दा पक्राउ परेकाहरूलाई नगद प्रोत्साहन प्रदान गर्ने जनाएका छन्।