होर्मुज जलमार्गबारे इरान- ओमान वार्तामा 'प्रगति,' तर मार्ग खोल्न अमेरिकासामु इरानका सर्तै सर्त

इरानको बन्दर अब्बास बन्दरगाह नजिको होर्मुज जलमार्गमा जुन २१, २०२६ मा देखिएका पानीजहाजहरू

तस्बिर स्रोत, ISNA/WANA/REUTERS

    • Author, ज्याक बर्गस र बर्न्ड डिबजम्यान जुनिअर
  • Published
  • पढ्ने समय: ४ मिनेट

होर्मुज जलमार्गमा पानीजहाज आवतजावतको सुरक्षित मार्ग व्यवस्थापनबारे इरानसँग सकारात्मक वार्ता भइरहेको ‌ओमानले जनाएको छ।

तथापि त्यस्तो कुनै सम्झौता हुँदैमा तत्काल उक्त महत्त्वपूर्ण जलमार्ग खुलिनहाल्ने तेहरानले चेतावनी दिएको छ।

शनिवार दुवै देशले वार्तामा प्रगति भइरहेको बताए तर त्यसको समय सीमा अझे अस्पष्ट छ। ओमानको विदेश मन्त्रालयले पानीजहाजहरूमाथि आक्रमण भए सो प्रक्रियामा अवरोध हुने बताएको छ।

तेहरानको सर्त बाँकी

इरानका विदेशमन्त्री अब्बास अराग्चीले ओमानसँगको वार्ता अन्तिम चरणमा पुगिरहेको बताए तर जलमार्गलाई फेरि खुला गर्न "अन्य सर्तहरू" बाँकी रहेको बताए।

विश्वको तेल तथा प्राकृतिक ग्यासको करिब २० प्रतिशत परिमाण ढुवानी हुने उक्त जलमार्गलाई फेब्रुअरीमा अमेरिका र इजरेलले आफूविरुद्ध आक्रमण गरेलगत्तै इरानले लगभग ठप्प पारिदिएको छ।

पछिल्ला दिनहरूमा भएका वार्ता सो जलमार्गमा पानीजहाज आवतजावतका निम्ति नयाँ बाटो निर्धारणसम्बन्धी इरान र ओमानबीच सहमतिको सम्भावना खोजीतर्फ लक्षित छ।

त्यस्तो बाटोका लागि दुवै देश जिम्मेवार हुने छन् र त्यसले पानीजहाज आवतजावत सहज गर्ने तर्फ प्रगति निम्त्याउने आस गरिएको छ।

तर अराग्चीले सो व्यस्त जलमार्गलाई पुनः र पूर्ण खुला गर्न अन्य सर्तहरू समेत पूरा हुनु पर्ने सङ्केत गरेका छन्।

त्यस्ता सर्तमा अमेरिकाले जुनमा दुई देशले हस्ताक्षर गरेको युद्धविराम सहमति उल्लङ्घन गरेका कारण क्षतिपूर्ति तिर्नुपर्ने पनि रहेको उनले बताए।

समझदारी पत्र (एमओयु) भनिएको उक्त सहमतिका साथै कूटनीतिक वार्ता चाँडै नै भङ्ग भयो र दुवै देशले आक्रमण-प्रत्याक्रमण थाले।

होर्मुज जलमार्गमा पानीजहाजहरू

तस्बिर स्रोत, Getty Images

इरानका सुरक्षा प्रमुख मोहम्मद बकेर जोल्कादरले तस्नीम समाचार संस्थासँग बोल्दै अमेरिकाले उसको व्यवहार "नसच्चाएसम्म" जलमार्ग नखुल्ने बताएका छन्।

उनका अनुसार जलमार्ग खोल्न अमेरिकाले ६ वटा सर्त पूरा गर्नु पर्छ जसमा इरानविरुद्ध धम्की दिन बन्द गर्नुपर्ने, इरानी बन्दरगाह लक्षित सामुद्रिक नाकाबन्दी अन्त्य हुनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा हुनुपर्ने रहेका छन्।

इरानविरुद्धका आर्थिक प्रतिबन्ध खुकुलो पारिनु पर्ने, युद्धका लागि क्षतिपूर्ति दिनु पर्ने जस्ता विषय पनि उल्लेख गरिएका छन्।

यसबीच जुलाई २० देखि रेड सीस्थित साउदी अरेबियाका बन्दरगाहलाई लक्षित गर्दै यमनका इरान समर्थित हुथी समूहले नाकाबन्दी गरिरहेको छ।

ट्रम्प के भन्छन्?

यो साताको सुरुमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग "छिट्टै" सहमति हुने बताएका थिए।

तर उपराष्ट्रपति जेडी भान्सले चाहिँ फक्स न्यूजसँग बोल्दै प्रगति भए तापनि धेरै काम बाँकी रहेको बताएका थिए।

"हामी खेलको बीचमा छौँ," भान्सले भने। "यो सकिएको छैन।"

उनका अनुसार अमेरिकी जनताका निम्ति उत्कृष्ट परिणाम हासिल गर्नाका निम्ति कूटनीतिक, आर्थिक तथा सैन्य गरी सबै किसिमका विकल्पहरू उपयोग भइरहेका छन्।

साथै युद्धभन्दा अगाडि वा फेब्रुअरी २८ भन्दा अगाडिकै परिमाणमा खाडीबाट "तेल ढुवानी" हुने उनले बताए।

"पानीजहाजहरू सुरक्षित आवतजावत गर्न सक्ने गरी मार्ग व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारे हामी काम गरिरहेका छौँ," भान्सले भने।

उक्त जलमार्ग पार गर्न पानीजहाजले इरानलाई शुल्क तिर्नु पर्छ भनेर इरानले दिइरहेको धम्की तेहरान र वाशिङ्टनबीच विमतिको एउटा मुख्य बुँदा रहेको बताइएको छ।

सो जलमार्ग पार गर्ने पानीजहाजले बोकेको सामग्रीको मूल्यको ५-७ प्रतिशतसम्म तेहरानले शुल्क लिन खोजेको एक इरानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले विगतमा विवरण दिएको थियो।

तर भान्सले ती विवरणलाई धेरै महत्त्व दिएनन्।

"इरानीहरूले होर्मुज जलमार्गमा शुल्क लगाउने उनीहरूको कुनै योजना नरहेको हामीलाई बताएका छन्," भान्सले थपे।

युएईको ट्याङ्करमा हमला?

ओमानले होर्मुज जलमार्गमा रहेका पानीजहाजमाथि कुनै पनि आक्रमण नगर्न चेतावनी दिइरहँदा शनिवार युनाइटेड अरब इमिरेट्स (युएई)ले उसको सरकारी तेल कम्पनी एडनकसँग सम्बन्धित एक ट्याङ्करलाई इरानले निसाना बनाएको बताएको छ।

युएईको विदेश मन्त्रालयले "इरानी हमला"मा एडनकको ट्याङ्करमाथि "क्षेप्यास्त्र" प्रहार भएको भनेको छ। त्यसमा कुनै हताहत भने नभएको उसले जनाएको छ।

शनिवार यूकेको सामुद्रिक व्यापार सञ्चालनसम्बन्धी निकाय यूकेएमटिओले ओमानको तट पारी "अज्ञात प्रोजेक्टाइलबाट" एक पानीजहाजमा हमला भएको र त्यसका कारण भएको आगलागी निभाइएको बताएको छ। त्यसमा कुनै हताहत नभएको पनि उसले भनेको छ।

युएईले भनेको र उसले भनेको एउटै पानीजहाज हो कि होइन भन्ने चाहिँ प्रस्ट छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।