तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हनुमानबारे विवादास्पद पोस्टपछि मुस्लिम पत्रकार पक्राउ
- Author, शुमाइला खान
- Role, बीबीसी उर्दू
- Published
पाकिस्तानको सिन्ध प्रान्तमा प्रहरीले हिन्दू धर्मावलम्बीहरूको देवता हनुमानको अपमान गरेको आरोपमा निन्दासम्बन्धी कानुन अन्तर्गत एक पत्रकारलाई पक्राउ गरेको छ।
यस विषयमा मिरपुरखासस्थित 'स्याटलाइट' प्रहरी चौकीमा उजुरी दर्ता भएको छ। उजुरीकर्ता रमेश कुमारले आफू लुहाना पञ्चायत मिरपुरखासको उपाध्यक्ष भएको बताएका छन्।
मार्च १९ मा आफ्ना साथीहरूसँग रहँदा असलम बलोच नामक स्थानीय पत्रकारले आफ्नो फेसबुक पेज र ह्वाट्सएप ग्रुपमा भगवान् हनुमानको तस्बिर सेअर गरेको देखेको उनको दाबी छ।
हनुमानको उक्त तस्बिर साझा गरेर अस्लम बलोचले आफू र उनीजस्ता अन्य हिन्दूहरूको धार्मिक आस्थामा चोट पुर्याएको रमेश कुमारले जाहेरीमा उल्लेख गरेका छन्।
बलोचले धर्महरूबीच शत्रुता फैलाउने र कानुनी व्यवस्था बिगार्ने प्रयास गरेको उनको दाबी छ।
प्रहरी चौकीले सोही उजुरीको आधारमा असलम बलोचविरुद्ध पाकिस्तान दण्ड संहिताको धारा २९५ ए र १५३ ए अन्तर्गत मुद्दा दर्ता गरेको छ।
पाकिस्तान दण्ड संहिताको धारा २९५ ए मा दुई धर्मका बीचमा वैरभाव फैलाउने प्रयास गर्नेहरूलाई सजाय दिइने प्रावधान छ। त्यस्तै धार्मिक आस्थामा चोट पुर्याएको खण्डमा १० वर्षसम्म कैदको व्यवस्था छ।
पाकिस्तानमा प्रायः अल्पसङ्ख्यक धर्मका मानिसहरू विरुद्ध अर्को धर्मको ईश्वर निन्दाको आरोप लाग्ने गरेको छ।
तर कतिपय अवस्थामा बहुसङ्ख्यक मुस्लिम समुदायका मानिसहरू विरुद्ध पनि निन्दाको आरोपमा मुद्दा दर्ता भएका छन्।
सामाजिक सञ्जालहरूमा राखिएको आफ्नो पोस्टमा असलम बलोचले लेखेका छन्, "क्याप्टेन श्री राम पार्क वाला।"
पाकिस्तानमा रहेका हिन्दू समुदायका मानिसहरूले उक्त पोस्टको विरोध गरेका थिए। यसैबीच सिन्ध प्रान्तका मुस्लिमहरूले पनि यसबारे चिन्ता व्यक्त गरेका छन्।
प्रान्तमा अल्पसङ्ख्यकहरूको मामिला हेर्ने मन्त्री ज्ञानचन्द इसरानीले सिन्ध प्रान्तका महानिरीक्षकलाई सम्पर्क गरेर सम्बन्धित पत्रकारलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका हुन्।
उनले आफूले कसैको धर्मको अपमान गर्न नदिने र त्यस्तो गर्नु असह्य हुने बताएका छन्।
उनले हिन्दु धर्मावलम्बीहरूको भगवान्को अपमान भएको र हिन्दूहरुको धार्मिक भावनामा चोट पुगेको बताए।
पाकिस्तानमा सिन्धलाई धार्मिक सहिष्णुताको केन्द्र समेत मानिन्छ। प्रान्तमा स्थापित शान्ति खलल पार्ने षड्यन्त्रमा स्वरूप यस्तो घटना भएको हुनसक्ने मन्त्री इसरानीको भनाइ छ।
यसैबीच प्रहरी हिरासतमा रहेका बलोचले एउटा भिडिओ सन्देश सार्वजनिक गरेका छन् जसमा उनले हिन्दू समुदायसँग माफी मागेका छन्।
उनले उक्त पोस्ट आफूले नगरेको दाबी गरेका छन्। त्यो अरू कसैले आफूलाई र आफूले अन्य साथीहरूलाई पठाएको उनले बताए।
बलोचले आफू सधैँ हिन्दू धर्मका कार्यक्रममा सहभागी हुने गरेको बताए। उजुरीकर्ताले भने यो सबै उनको षड्यन्त्र हुन सक्ने बताएका छन्।
पाकिस्तानमा अत्यधिक हिन्दूहरू सिन्ध प्रान्तमा मात्र बसोबास गर्छन्। त्यहाँको ७० प्रतिशत हिन्दू जनसङ्ख्या मिरपुरखासमा छ।
त्यस क्षेत्रमा थारपार्कर, उमरकोट र सङ्घरजस्ता सीमावर्ती जिल्लाहरू पर्छन्। यी जिल्लाहरूको सिमाना भारतसँग जोडिएको छ।
भारतमा अभिनेता पक्राउ
फरक प्रसङ्गमा भारतका कन्नड अभिनेता तथा जाति विरोधी अभियानकर्मी चेतन कुमार एक हिन्दुत्व विरोधी ट्विट गरेको आरोपमा पक्राउ परेका छन्।
उनलाई गिरफ्तार गरेर न्यायिक हिरासतमा पठाइएको छ।
चेतनले एक ट्विटमार्फत 'हिन्दुत्व झुटमा आधारित' भएको धारणा प्रकट गरेका थिए।
पछिल्लो तीन वर्षमा उनीमाथि धार्मिक भावनामा चोट पुर्याएको आरोप लागेको यो तेस्रो घटना हो।
अभिनेता चेतन कुमारलाई गत मङ्गलवार पक्राउ गरिएको थियो।
चेतन एक अमेरिकी नागरिक हुन्। सन् २००५ मा थिएटर अध्ययन गर्न भारत आएका उनी फुलब्राइट स्कलर समेत हुन्।