ललितपुर र धनगढीमा नौजनामा पुष्टि भएको हैजा के चिन्ताजनक रूपमा देखा परेको हो

अञ्जुलीमा पानी थाप्दै

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, सङ्क्रमित पानीका कारण हैजा हुनसक्ने जानकारहरू बताउँछन्
Published
पढ्ने समय: ४ मिनेट

एक साता बीचमा नेपालका दुई स्थानमा गरी नौजनामा हैजा पुष्टि भएको अधिकारीहरूले बताएका छन्।

ललितपुरको गोदावरी क्षेत्रमा पुष्टि भएको हैजा नियन्त्रणमा आउने क्रममा रहेको अधिकारीहरूले ठानिरहँदा कैलालीको धनगढीमा पनि दुई जनामा हैजा पुष्टि भएको छ।

तर ललितपुर र धनगढीमा देखिएका हैजाबीच सम्बन्ध भने नदेखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको महामारी व्यवस्थापन शाखा प्रमुख मुकेश पौडेलले बीबीसीलाई बताए।

“गोदावरीमा देखिएको हैजा बाहिर फैलिएको अहिलेसम्म देखिएको छैन,” पौडेलले भने।

“धनगढीमा देखिएको र ललितपुरमा देखिएको हैजाबीच सम्बन्ध देखिएको छैन।”

महाशाखाका अनुसार ललितपुरको गोदावरी क्षेत्रमा सातजनामा हैजा देखिएको स्थानका मानिसहरूले प्रयोग गर्ने इनारको पानीमा दिसामा पाइने एक प्रकारको कोलिफर्म कीटाणु भेटिएको छ।

“उनीहरूले प्रयोग गरेको इनारको पानी दूषित भएको देखियो, यो कुनै बाहिरबाट आएको होइन। हाम्रो देशमा कीटाणु छन् त्यस कारण सजगता अपनाउनुपर्ने देखिन्छ,” उनले भने।

“त्यो इनारलाई हामीले सिल नै गरेर पालिकालाई साँचो बुझाइएको छ।”

चिन्ता लिनुपर्ने स्थिति हो?

अञ्जुलीमा पानी थाप्दै

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी हैजाको सङ्क्रमणले खानेपानी शुद्धताको प्रश्न पनि उठेको बताउँछन्।

उनले हैजा प्रकोप वा महामारीकै रूपमा फैलने जोखिम भने तत्काल नरहेको बताउँछन्।

ललितपुरमा धेरैमा हैजा देखिएको सुधार गृहलाई सिल गरिएको अधिकारीहरूले बताएका छन्। त्यहाँ आसपास बस्ने स्थानीयहरूको नमुना जाँच गर्दा समुदायमा फैलिएको नभेटिएको बुढाथोकीले बताए।

“यदि त्यो ठाउँ सिल नगरी त्यत्तिकै छोड्दिने हो, त्यहाँको पनि सबैको स्वास्थ्य परीक्षण नगर्ने हो भने त्यहाँबाट समाज समाजबाट सहर हुँदै महामारी र प्रकोपको रूप लिने हो,” बुढाथोकी भन्छन्।

ललितपुरमा पछिल्ला दिनहरूमा थप सङ्क्रमित नभेटिएको भए पनि सजगता अपनाउन र पानी उमालेर मात्रै प्रयोग गर्न स्थानीयहरूमा आग्रह गरिएको महाशाखाले जनाएको छ।

“नेपालमा हैजाको कीटाणु छन् भन्ने देखिएको छ। आत्तिइहाल्न पर्ने अवस्था होइन,” महामारी व्यवस्थापन शाखा प्रमुख पौडेल भन्छन्।

“तर महामारीजन्य रोग भएका कारण हात हात धुने, चर्पी प्रयोग गर्ने, तरकारी फलफूलहरू शुद्धीकरण गरिएको पानीले राम्रोसँग पखालेर मात्रै खाने जस्ता सतर्कता अपनाउनुपर्छ।”

कस्तो सावधानी अपनाउने?

हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन्

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन्

हैजा थप फैलन नदिनका लागि यसका बिरामी भेटिएका गोदावरी र धनगढीका सङ्क्रमित क्षेत्र वरिपरि र देशभरिका आम नागरिकलाई पानी प्रयोग गर्दा उमालेर मात्रै प्रयोग गर्न अधिकारीहरूले आग्रह गरेका छन्।

“जे सुकैको खाने पानी प्रयोग गरे पनि उमालेर मात्रै प्रयोग गरौँ। यो बर्सातको समयमा खानेपानीको मुहान प्रदूषित हुने इनार पनि प्रदूषित हुने। खोलामा पनि प्रदूषित हुने भएकाले खानेपानी चाहिँ जहिले पनि उमालेरै प्रयोग गर्नुपर्छ भन्ने हाम्रो आग्रह छ,” बुढाथोकीले भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा शेर बहादुर पुन हैजाबाट बच्न प्रयोग गर्ने पानी र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने बताउँछन्।

शौचालय सफा नभए सङ्क्रमित व्यक्तिले प्रयोग गरेको शौचालयबाट खानेकुरासम्म जीवाणु आइपुग्न सक्ने सम्भावना रहने डा पुन बताउँछन्

“सबै सङ्क्रमितलाई कडा लक्षण हुन्छ भन्ने छैन लक्षणविहीन पनि हुनसक्छ, राम्रोसँग हात धोइएन भने शौचालयको माध्यमबाट फैलन सक्छ र अरूमा सर्न सक्छ,” उनले भने।

हैजाको सङ्क्रमण देखिन सुरु भएको अवस्थामा अनुगमन र नियन्त्रणको पाटोलाई कडिकडाउ गर्नुपर्ने आफूले देखेको डा पुन बताउँछन्।

हैजाका दशजनामध्ये एक जनालाई कडा किसिमको सङ्क्रमण हुने बताइन्छ।

के हो हैजा?

  • हैजा गम्भीर खालको झाडापखाला हो। समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्छ
  • भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ
  • हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुन्छ
  • गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ
  • अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन्

(स्रोत: विश्व स्वास्थ्य सङ्गठन)

हैजाका लक्षणहरू

खोप

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, हैजाविरुद्धको खोप विकास भइसके पनि नेपालमा यसको सहज उपलब्धता नभएको बताइन्छ

हैजा भएका मानिसहरूलाई निरन्तर दिसा लाग्छ। उनीहरूको दिसा अधिक पातलो हुने बताइन्छ।

त्यस्तै पटकपटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिनेजस्ता समस्याहरू अधिकांश बिरामीमा देखिने चिकित्सकहरू बताउँछन्।

अधिक तरल पदार्थ खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा समेत लाग्ने उनले बताए। त्यस्तै बिरामीहरूमा अधिक थकान र बेचैनी हुने डा पुनले यसअघि बीबीसीसँग बताएका थिए।

केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ।

"ती व्यक्तिले सरसफाइमा ध्यान दिएनन् भने उनीहरूमार्फत हैजा अन्य मानिसहरूमा पनि फैलिन्छ," डा. पुनले भनेका छन्।

अधिक कमजोरीका कारण केही मानिसहरू बेहोस नै हुनसक्ने उनले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।